नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
(ने.क.पा. (मसाल)को हालै बसेको पीवीको बैठकद्वारा पारित)
भारतको आम चुनाव सम्पन्न भएको छ । प्रधानमन्त्री मोदीले चुनावमा ४०० पारको नारा दिएका थिए । त्यसका पछाडिको उद्देश्य संविधानमा परिवर्तनका लागि समेत आवश्यक बहुमत प्राप्त गर्नु थियो । यो स्पष्ट थियो कि उनले त्यस प्रकारको बहुमत प्राप्त गर्नुका पछाडिको उद्देश्य संविधानमा तानाशाही शासन कायम गर्ने र धर्मनिरपेक्षता हटाउने प्रकारको संशोधन गर्नु नै थियो । त्यसैले अहिलेको चुनाव मुख्य रूपले भारतको संविधानको रक्षाको प्रश्नमा नै भएको थियो । यो खुसीको कुरा हो कि जनताले मोदीलाई त्यस प्रकारको बहुमत दिएनन्, त्यसैले उनको संविधानमा प्रतिगामी प्रकारको संशोधन गर्ने उद्देश्यको ठुलो हार भएको छ र त्यस अर्थमा विपक्षको ठुलो जीत भएको छ । अहिले भारतमा भएको चुनावको सबैभन्दा ठुलो विशेषता वा प्रधान पक्ष त्यही नै हो ।
भाजपालाई सरकार बनाउनका लागि सामान्य बहुमत पनि प्राप्त भएन । त्यसकारण उनले कतिपय अन्य साना दलहरूको समर्थन लिएर सरकार बनाउनु परेको छ । ४०० पारको नारा दिएर चुनाव लडेको भाजपालाई सामान्य बहुमत पनि प्राप्त नहुनु मोदीको ठुलो नैतिक पराजय हो । त्यस प्रकारको पराजय हुनुका पछाडि मुख्यतः उनका गलत प्रकारका नीति र कार्यशैली नै जिम्मेवार छन् ।
सर्वप्रथम त कट्टर हिन्दुवादी नीतिका कारणले जनतामा उनीप्रति व्यापक असन्तोष पैदा भएको थियो । उनले सधैँ आफूलाई ‘घुस पनि खान्न र खान पनि दिन्न’ भन्ने नारा दिएर आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै आएका थिए । तर सर्वोच्च अदालतले ‘इलेक्ट्रोलर बन्ड’, अर्थात् गोप्य तरिकाले पार्टीहरूलाई चन्दा दिने कानुनी पद्धति,लाई प्रकाशमा ल्याइदिएपछि भाजपाले ठुलो पैमानामा भ्रष्टाचार गरेको कुरा आम रूपमा आयो । त्यसरी गोप्य चन्दा लिएर उनले ठुला कम्पनीहरूलाई ठुलो पैमानामा ठेक्का र लाइसेन्स पनि दिने गरेको कुरा आम रूपमा थाहा भयो ।
चुनावको बेलामा उनले घोर अप्रजातान्त्रिक र तानाशाही तरिका अपनाए । निर्वाचन आयुक्तहरूको नियुक्तिमा पनि उनले स्वेच्छाचारी तरिका अपनाएका थिए र त्यसैको परिणाम यो भएको थियो कि चुनावका बेलामा मोदी वा भाजपाले कैयौँ गलत प्रकारका तौरतरिकाहरू अपनाउँदा पनि त्यसबारे परेका उजुरीहरूबारे निर्वाचन आयोगले कुनै कारवाही गरेन । उनले मिडियाहरूलाई पनि आफ्नो पक्षमा उपयोग गरेर स्वतन्त्र पत्रकारितामाथि नाङ्गो प्रकारले अङ्कुश लगाउने काम गरे ।
चुनावका बेलामा उनले भारतीय काँग्रेसको बैङ्क खाता रोक्का गरिदिए । कैयौँ विरोधी नेता वा मुख्यमन्त्रीहरू समेतलाई ठिक चुनावको बेलामा विभिन्न प्रकारका आरोपहरू लगाएर जेलमा हाल्ने काम गरे । चारवटै धामका शङ्कराचार्यहरू वा भारतका धेरै सन्त महन्तहरूले राम मन्दिरको निर्माण पुरा नभएकोले त्यसमा प्राण प्रतिष्ठान गर्न हुँदैन भनेर विरोध गर्दा पनि उनले जवर्जस्तीपूर्वक त्यसमा प्राण प्रतिष्ठान गर्ने काम गरे । त्यसका पछाडिको उनको उद्देश्य राम मन्दिरको नाममा चुनाव जित्नु नै थियो । तर त्यति गर्दागर्दै पनि राम मन्दिरको कार्डले काम गरेन । राम मन्दिर बनेको अयोध्यामा नै भाजपाको हार भयो । स्वयं हिन्दु धर्मको गढ मानिएको र भाजपाको नै सरकार भएको उत्तर प्रदेशमा भाजपाको लज्जाजनक हार भयो । पहिले बनारसमा उनले चार लाख भोटको अन्तरले चुनाव जितेका थिए । तर अहिले उनले करिब डेढलाख अन्तरले मात्र चुनाव जिते । त्यसले पनि मोदी माथिको जनताको विश्वासमा ह्रास आएको कुरालाई नै बताउँछ ।
काश्मिरको स्वायत्तशासन खतम गरेर त्यसलाई भारतीय सङ्घमा मिलाउने काम गरेका थिए । उनले सोचेका थिए, त्यो कार्यपछि उनको जनाधारमा धेरै बृद्धि हुने छ । तर त्यही काश्मिरको चुनावमा उनले एकजनासम्म पनि आफ्नो उम्मेदवार उठाउन सकेका थिएनन् ।
उनको चुनाव शैली पनि अत्यन्त तल्लो स्तरको र अराजनीतिक प्रकारको थियो । उनले चुनावको बेलामा कुनै राजनीतिक मुद्दाहरू उठाएका थिएनन । उनको मुख्य जोड राजनीतिक प्रचार गर्ने भन्दा पनि तल्लो स्तरका गालीगलौज र झुट्ठा आरोपहरू लगाएर विरोधी पक्षलाई बदनाम गर्नेतिर नै बढी केन्द्रित भएको थियो । चुनावको बेलामा मोदीले गरेका प्रचारहरू कति तल्लो स्तरका थिए, त्यो कुरा त्यो बेलाका सत्ता पक्षका, मुख्य रूपले मोदीका यी केही आरोपहरूबाट प्रस्ट हुन्छ ः काँग्रेसको जित भयो भने महिलाहरूका मङ्गलसूत्रहरू खोसेर लैजाने छन्, कसैका दुईवटा भैंसी भए जफत गर्ने छन्, जनताबाट लुटेको सम्पत्ति मुसलमानलाई वितरण गरिने छ, राम मन्दिरमा ताला लगाएर बाबरी मस्जिद बनाइने छ आदि आदि । उनले योसम्म पनि प्रचार गरेका थिए कि उनी भगवानका प्रतिनिधि हुन् वा उनलाई आनो कत्र्तव्य पुरा गर्न भगवानले नै पठाएको थियो । उनले पुरीको जगन्नाथलाई पनि आफ्नो भक्त बताएका थिए र आफूलाई त्यो भन्दामाथि राखेका थिए । उनको त्यस प्रकारको अत्यन्त तल्लो स्तरको प्रचार शैलीलाई भारतीय जनताले पचाउन सकेनन् र उनलाई ४०० पार होइन, सामान्य बहुमत पनि दिएनन् । भारतीय जनताले त्यसरी प्रकट गरेको उच्च प्रकारको जनमतलाई हाम्रो पार्टीले अभिनन्दन गर्दछ । वास्तवमा भारतीय जनताले चुनावका बेलामा गरेको त्यस प्रकारको निर्णयले भारतमा संविधानमा संशोधन गरेर देशलाई फाशिष्ट शासनतिर लैजाने तथा धर्मनिरपेक्षतालाई समाप्त गर्ने मोदीको प्रतिगामी उद्देश्यलाई धराशायी बनाइदिएको छ ।
मोदीले विपक्षीहरूप्रति मात्र होइन, आफ्नै पार्टीभित्र पनि तानाशाही प्रकारको नीति अपनाएका थिए । पार्टीका धेरै पुराना, प्रतिष्ठित वा उनीभन्दा उच्च तहका कैयौँ नेताहरूलाई विस्थापित गर्ने नीति अपनाएका थिए, जसबाट प्रधानमन्त्रीको पदमा उनको प्रतिस्पर्धा गर्ने कोही नहोस् । उनको त्यस प्रकारको नीतिले गर्दा उनको आफ्नै पार्टी वा राष्ट्रिय स्वयंसेवक दल पनि पूरै नै चुनावमा सक्रिय भएन । त्यसबाट पनि मोदीलाई धेरै नै क्षति पुग्यो ।
पार्टीभित्रको त्यो अन्तर्विरोध अझै पनि शान्त भएको छैन र त्यो लगातार चलिरहेको छ । आउने दिनहरूमा त्यो कुन रूपमा प्रकट हुने छ र त्यसले पार्टी वा सरकारमा मोदीको नेतृत्वमा कुन प्रकारको असर पार्ने छ त्यो आउने दिनहरूमा स्पष्ट हुँदै जानेछ ।
अहिले मोदीको नेतृत्वमा वैशाखीको भरमा सरकार बन्न लागेको भएपनि त्यो स्थायी हुने कुरामा शङ्का नै छ । उनले जुन वैशाखीहरूको मदत लिएर सरकार बनाउन प्रयत्न गर्दैछन्, ती अत्यन्त अविश्वसनीय र अस्थिर भएको र त्यसका लागि उनीहरू बदनाम भएको कुरा भारतीय राजनीतिको खुला तथ्य हो । सत्ता सहयात्री दलहरूले महत्त्वपूर्ण मन्त्रालयहरू, जस्तै कि वित्त, गृह, परराष्ट्र र रक्षा मन्त्रालयहरू तथा स्पिकर समेतको पदको माग गर्न थालेका छन् । तर मोदीले ती मन्त्रालय र स्पिकर समेतको पद छाड्न चाहँदैनन् । भारतमा अहिले पुनः प्रधानमन्त्री बन्न पाएकोमा उनले प्रकट रूपमा प्रसन्न भएको प्रदर्शन गर्न सक्दछन् । तर वास्तविकता यो हो कि उनी ठुलो चेपुवामा परेका छन् । यो स्पष्ट छ कि अहिलेको चुनावपछि अन्तर्राष्ट्रिय रूपमा र भारतमा पनि उनको प्रतिष्ठा धेरै कम भएको छ र उनको शक्ति पनि धेरै क्षीण भएको छ ।
हामीले पहिले नै भनेका थियौँ, भारतमा भाजपा वा काँग्रेस पक्षमध्येे जसको जित भएपनि नेपालप्रति उनीहरूको नीति साम्राज्यवादी नै हुने छ । तर ती दुवैमध्येे कुन पक्षको जित हुन्छ, त्यसको नेपालमा बेग्लाबेग्लै असर पर्ने कुरा हामीले पहिले नै उल्लेख गरेका थियौँ । भाजपाको जित भएमा त्यसबाट नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता विरुद्धका प्रतिगामी शक्तिहरूलाई नै बल पुग्दथ्यो । तर विपक्षीको जित भएमा उनीहरूको नेपालप्रतिको नीति साम्राज्यवादी भएपनि उनीहरू, कम से कम, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा भएकाले नेपालको गणतन्त्र, धर्मनिरपेक्षतालाई बल पुग्ने कुरा स्पष्ट थियो । जेहोस्, अहिले भारतमा भाजपाको सरकार बन्न लागेको भएपनि त्यो धेरै नै कमजोर र अस्थिर प्रकारको हुने भएकाले त्यसबाट नेपाललाई, अर्थात् नेपालको गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध नेपालका प्रतिगामीहरूलाई बल पुग्ने सम्भावना कमै छ । तर त्यस प्रकारको सम्भावना एकदम छैन भन्ने पनि होइन । भारतमा जुनसुकै प्रकारको सरकार भएपनि उनीहरूको नेपालप्रतिको साम्राज्यवादी नीति कायम नै रहने छ । त्यसकारण त्यसका विरुद्धको हाम्रो सङ्घर्षको नीतिमा निरन्तरता हुनु आवश्यक छ ।
अहिले भारतको चुनावमा विपक्षलाई बहुमत प्राप्त हुन सकेन र उनीहरूको सरकार बन्न सकेन । गठबन्धनबाट विपक्षमा भएका कैयौँ दलहरू फुटेर गएको हुनाले नै त्यस्तो भएको हो । तैपनि पहिलेको तुलनामा भारतमा विपक्ष धेरै शक्तिशाली भएको छ । त्यसकारण मोदीको नेतृत्वमा सरकार बने पनि विपक्षको धेरै नै बढेको शक्तिका कारणले मोदीले संविधानमा कुनै संशोधन गर्न नसक्ने कुरा त प्रस्ट नै छ । त्यसका साथै उनले खोजेजस्तो तानाशाही प्रकारको कार्यप्रणाली र कट्टर हिन्दुवादी नीतिलाई पनि जबरजस्तीपूर्वक लैजान नसक्ने कुरा निश्चित छ । कम से कम आंशिक रूपमा, त्यो भारतमा सम्पन्न भएको चुनावको सकारात्मक पक्ष हो ।
२०८१ जेष्ठ २५ गते ।
मोहनविक्रम सिंह
महामन्त्री