१. ने.क.पा. (मसाल) ले गत २०८० सालको वैशाख १८ गते अर्थात् मे १ का दिन ऐतिहासिक तीन अभियानको उद्घाटन गरेको थियो । त्यसअन्तर्गत तीनवटा अभियानहरू थिए । प्रथम, लेनिनको शतवार्षिकी स्मृति दिवस, द्वितीय, हाम्रो पार्टीको हीरक जयन्ती वा स्थापनाको ७५ औँ जन्म जयन्ती, तृतीय, ने.क.पा. (मसाल)को नवौँ महाधिवेशन । ती तीनवटै अभियानहरू भव्यरूपले सम्पन्न भएका छन् र ती तीन अभियानको आज २०८१ वैशाख १९ गते अर्थात् सन् २०२४ मे १ का दिन समापन हुँदैछ । आज हामीले सर्वहारा वर्गको महान चाड मे दिवस मनाउनुका साथै ने.क.पा. (मसाल)को नवौँ महाधिवेशन सम्पन्न भएको घोषणा पनि गर्दैछौँ ।
२. गत सालको चैत्रको अन्ततिर ने.क.पा. (मसाल)को नवौँ महाधिवेशन सम्पन्न भएको थियो । त्यो महाधिवेशनले चारवटा राजनीतिक दस्तावेजहरू पारित गरेको छ । न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्ताव । न्यूनतम कार्यक्रम र विधानमा संशोधन प्रस्तावमा पहिलेका दस्तावेजहरूमा सामान्य संशोधनहरू मात्र गरिएको थियो । राजनीतिक प्रस्तावमा अहिलेको देशको राजनीतिक स्थितिको विश्लेषण गरेर आगामी समयमा अपनाइने नीति र कार्यक्रमको निर्धारण गरिएको छ भने सङ्गठनात्मक प्रस्तावमा पार्टीको अहिलेको सङ्गठनको अवस्थाको मूल्याङ्कन गरेर आगामी दिनहरूमा अपनाइने सङ्गठनको नीति र पद्धतिबारे प्रकाश हालिएको छ । महाधिवेशनले ४७ सदस्यीय केन्द्रीय समितिको चयन गरेको छ, जसमा दुईजना वैकल्पिक सदस्य सहित ९ जनाको पीवी, २९ जनाको केन्द्रीय समिति, ९ जना वैकल्पिक सदस्यहरू र ९ जना सल्लाहकारहरू हुनुहुन्छ । त्यो केन्द्रीय समितिले कामरेड मोहनविक्रम सिंहलाई महामन्त्री र कामरेड रामप्रकाश पुरीलाई प्रवक्ताको रूपमा चयन गरेको छ । त्यो केन्द्रीय समितिले महामन्त्री सहित तीन जनाको कार्यालयको पनि गठन गरेको छ ।
३. महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनमा सर्वप्रथम आठौँ महाधिवेशनदेखि नवौँ महाधिवेशनसम्मको पाँच वर्षको अवधिमा भएका कामहरूको मूल्याङ्कन गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय परिस्थिति, देशका राजनीतिक शक्तिहरूको विश्लेषण गरिसकेपछि देशको तत्कालिक राजनीतिक परिस्थितिको मूल्याङ्कन गरेर तत्कालीन रूपमा अपनाइने नीति र कार्यक्रमहरूको पनि निर्धारण गरिएको छ । राजनीतिक प्रतिवेदनको अन्तमा हाम्रा कमजोरीहरू र ठोस कार्यक्रमहरूबारे पनि विस्तृत रूपले प्रकाश हालिएको छ ।
४. राजनीतिक प्रतिवेदनमा गत पाँच वर्षका कामहरूको मूल्याङ्कन गर्दै यो कुरा बताइएको छ कि गत पाँच वर्षको अवधि करिबकरिब पूरै सङ्घर्षको काल रहेको छ । आठौँ महाधिवेशनपछि हामीले देशव्यापी रूपमा सङ्घर्षको कार्यक्रमहरू बनाएका थियौँ र ती कार्यक्रमहरू सञ्चालन गर्न सुरु पनि गरेका थियौँ । तर त्यही बिचमा कोरोना महामारी सुरु भएकाले हामीले ती सबै कार्यक्रमहरू स्थगित गर्नुपरेको थियो । ओलीले दुई दुई पटक संसद विघटन गरेपछि हामीले प्रतिगमनका विरुद्ध सङ्घर्ष सुरु गरेका थियौँ । पहिले हामीले एक्लै र केही समयपछि विभिन्न वामपन्थी शक्तिहरूसँग संयुक्त भएर संयुक्त आन्दोलन सञ्चालन गर्ने प्रयत्न गरेका थियौँ । तर उनीहरूले आन्दोलनमा राजावादीहरूलाई समेत सामेल गर्ने नीति अपनाएपछि उनीहरूसितको हाम्रो संयुक्त आन्दोलन अगाडि बढ्न सकेको थिएन । पछि पाँच दलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध सङ्घर्ष गरेका थियौँ । त्यही बिचमा स्थानीय तथा प्रदेश र संसदका चुनावहरू पनि भएको हुनाले तिनीहरूलाई पनि हामीले सङ्घर्षका रूपमा नै उपयोग गरेका थियौँ । त्यो कालमा संसदभित्र पनि हामीले लगातार र सम्झौताहीन प्रकारले सङ्घर्ष गरेका थियौँ । त्यो क्रममा एमसीसी र नागरिकता विधेयक समेतका विरुद्ध गरेका सङ्घर्षहरू तथा तिनीहरूका विरुद्ध गरेका मतदानहरू विशेष रूपले उल्लेखनीय छन् । पार्टीभित्र देखापरेका अराजकता, अनुशासनविहिनता, गुटबन्दी र फुटपरस्त गतिविधिहरूका विरुद्ध पनि हामीले कडा सङ्घर्ष गर्नुपरेको थियो । त्यो सङ्घर्ष पनि सफलतामा टुङ्गिएको थियो । त्यो बाहेक देशमा सङ्घीयता, महङ्गी, भ्रष्टाचार आदि कैयौँ विषयहरूमा पनि हामीले लगातार सङ्घर्ष गर्दै आएका छौँ । त्यसका साथै गत पाँच वर्षको बिचमा प्रकाशन र प्रशिक्षणका कार्यक्रमहरू पनि प्रत्यक्ष वा अनलाइनको माध्यमबाट धेरै नै भएका छन् ।
५. महाधिवेशनद्वारा पारित न्यूनतम कार्यक्रममा समाजवाद र साम्यवादलाई हाम्रा दीर्घकालीन उद्देश्य र नयाँ जनवादी क्रान्तिलाई अहिलेको आधारभूत कार्यक्रम बताइएको छ । राजनीतिक प्रतिवेदनमा जनताका महान् सङ्घर्ष तथा त्याग र बलिदानद्वारा प्राप्त उपलब्धिहरू गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यलाई तत्कालीन कार्यदिशा बताइएको छ । त्यसका साथै जनजीविकासित सम्बन्धित प्रगतिशील र न्यायपूर्ण मागहरूको लागि सङ्घर्ष गर्ने कुरामा पनि विशेष जोड दिइएको छ । राजनीतिक प्रतिवेदनमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम पुरा गर्नको लागि पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा, दीर्घकालिन जनयुद्ध समेतका लागि परिस्थिति तयार पार्न प्रयत्न गर्दै तत्कालका लागि शान्तिपूर्ण जनआन्दोलनको नीति अपनाउने ठेगान गरिएको छ । संसदीय चुनावबारे परिस्थितिमा हुने परिवर्तन अनुसार बहिष्कार वा उपयोग दुवै गर्न सकिने नीतिलाई खुला राख्दै तत्कालका लागि चुनावको उपयोग गर्ने नीति अपनाइएको छ ।
६. राजनीतिक प्रतिवेदनमा भारतीय र अमेरिकी साम्राज्यवाद समेतबाट देशको राष्ट्रियतामा गम्भीर खतरा बढ्दै गएको कुरामाथि ध्यान दिँदै राष्ट्रियताको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा पनि विशेष जोड दिइएको छ । विश्वस्तरमा अमेरिकी साम्राज्यवादसित नै मुख्य अन्तर्विरोध छ । तर नेपालका सन्दर्भमा सामन्तवाद र भारतीय साम्राज्यवाद सितको अन्तर्विरोध नै प्रधान हो । त्यसका साथै दलाल र नोकरशाही पुँजीपति वर्गसित पनि हाम्रो अन्तर्विरोध छ । भारत र चीन दुवै साम्राज्यवादी शक्तिहरू हुन् तर नेपालको भूराजनीतिक परिस्थितिमाथि ध्यान दिँदा चिनसितको हाम्रो मैत्रीपूर्ण सम्बन्धबाट अमेरिका र भारतको हस्तक्षेप वा अतिक्रमणका विरुद्ध सन्तुलन कायम गर्न वा नियन्त्रण गर्न मद्दत पुग्दछ । त्यसैले चीन र भारत दुवै साम्राज्यवादी देश भएपनि हाम्रो बढी विरोध भारतीय साम्राज्यवादसित नै हुन्छ र तुलनात्मक रूपले चीनसितको मैत्री सम्बन्धमा हामीले बढी जोड दिनुपर्ने आवश्यकता हुन्छ ।
७. आज देशमा प्रतिगमनको खतरा धेरै नै बढेर गएको छ । त्यसकारण त्यसका विरुद्धको सङ्घर्षमा धेरै नै जोड दिनुपर्ने आवश्यकता छ । त्यसका लागि प्रतिगमनका विरुद्ध भएका शक्तिहरूसित कार्यगत एकता वा गठबन्धन गरेर सङ्घर्ष गर्नु आवश्यक छ । गतकालमा हामीले बारम्बार त्यसरी सङ्घर्ष गर्दै आएका छौँ । कतिपय पक्षहरूका ढुलमुल र अवसरवादी नीतिहरूका कारणले गतकालमा बनेका कैयौँ गठबन्धनहरू टुट्ने गरेका छन् । खास गरेर माओवादी केन्द्रको ढुलमुल र अवसरवादी नीतिका कारणले त्यस प्रकारका गठबन्धनहरू टुट्ने गरेका छन् र हालै पनि त्यही प्रकारको घटनाको पुनरावृत्ति भएको छ । नेकाभित्रको प्रतिपक्ष पनि संधैं त्यस प्रकारको गठबन्धनका विरुद्ध रहँदै आएको छ र हालै गठबन्धन टुट्नुका पछाडि त्यो पक्ष पनि काफी हदसम्म जिम्मेवार छ । जुनसुकै कारणले भएपनि प्रतिगमनका विरुद्धको गठबन्धन टुट्दा प्रतिगमनलाई नै मद्दत पुग्ने कुरा स्पष्ट छ । तैपनि देशमा अहिले पनि प्रतिगमनको गम्भीर खतरा छ । त्यसकारण हामीले सम्भव भएसम्म प्रतिगमनका विरुद्ध गठबन्धनको निर्माणका लागि प्रयत्न गर्दै र त्यस प्रकारको सम्भावना नभएको अवस्थामा आफ्नो स्वतन्त्र पहलकदमीमा जनतालाई गोलबन्द गर्दै प्रतिगमनका विरुद्ध सङ्घर्ष अगाडि बढाउन पहल गरिरहनुपर्दछ ।
८. संसारका कैयौँ देसहरूमा युद्धहरू बढ्दै गइरहेका छन् । खास गरेर रूस र युक्रेन, प्यालेस्टाइन र इजरायल तथा इरानका बिचमा युद्धहरू तीव्र हुँदै गइरहेका छन् । ती युद्धहरूमा रूस, चीन, अमेरिका र युरोप समेत संलग्न हुँदै गएकाले विश्वयुद्ध वा आणविक युद्ध हुने खतरा पनि बढ्दै गइरहेको छ । आणविक युद्ध भयो भने मानव जातिको ठुलो संहार हुने छ । त्यसकारण हाम्रो पार्टीको नवौँ महाधिवेशनले साम्राज्यवादका विरुद्ध र विश्व शान्तिका लागि समेत अन्तर्राष्ट्रिय स्तरमा नै पहल गर्ने निर्णय गरेको छ ।
९. आज देश र जनताका अगाडि जुन प्रकारका समस्याहरू छन् वा हाम्रा अगाडि जुन प्रकारका जिम्मेवारीहरू छन्, तिनीहरूलाई पुरा गर्नको लागि शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता छ । हाम्रो महाधिवेशनले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रश्नहबारे सही नीति र कार्यक्रम दिएको छ । तर ती जिम्मेवारीहरू पुरा गर्नको लागि शक्तिशाली जनआन्दोलन र एउटा अनुशासित र सङ्गठित कम्युनिस्ट पार्टीको पनि आवश्यकता हुन्छ । त्यो आवश्यकता पुरा गर्न महाधिवेशनमा पारित सङ्गठनात्मक प्रस्तावले त्यस प्रकारको पार्टीको निर्माणका लागि आवश्यक नीति र कार्यक्रमको निर्माण गरेको छ । त्यो प्रस्तावमा यो कुरामाथि विशेष जोड दिइएको छ कि, लेनिनवादी सङ्गठनात्मक प्रणाली र जनवादी केन्द्रीयताका आधारमा नै एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण हुन सक्दछ । कम्युनिस्ट आन्दोलनमा देखा परिरहेका अनुशासनविहिन र अराजकतावादी सोचाइहरूले कम्युनिस्ट आन्दोलनलाई विश्व स्तरमा र नेपालमा पनि धेरै नै कमजोर पार्दै लगिरहेका छन् । त्यसकारण पार्टीलाई अनुशासित र सङ्गठित बनाउँदै शक्तिशाली बनाउनको लागि सबै प्रकारका अनुशासनविहिन र अराजकतावादी सोचाइहरूका विरुद्ध पनि सङ्घर्ष गर्नको लागि महाधिवेशनले जोड दिएको छ ।
अन्तमा, हामीले हाम्रो पार्टीको नवौँ महाधिवेशनले पारित गरेका नीति र कार्यक्रमहरूका आधारमा देशव्यापीरूपमा आन्दोलन उठाउन र शक्तिशाली तथा अनुशासित र सङ्गठित कम्युनिस्ट पार्टीको निर्माण गर्न पार्टीका सबै सदस्य, समर्थक र आम जनता समेतसित अपील गर्दछौँ ।
२०८१ वैशाख १९
नेपाल कम्युनिस्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय