Nepal communist party

प्रेस वक्तव्य (२०८१ जेष्ठ १५ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

आज गणतन्त्र दिवस हो । २०६५ सालमा आजकै दिनमा नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणाम स्वरूप नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएको थियो र गणतन्त्रको स्थापना भएको १५ वर्षको अवधिमा देशमा जति विकास र सुशासन कायम हुनुपर्दथ्यो, त्यो हुन सकेको छैन । गणतन्त्रको यस प्रकारको असफलताबाट फाइदा उठाएर प्रतिगामी शक्तिहरूले गणतन्त्र नेपालका लागि उपयुक्त नभएको दाबी गर्दै राजतन्त्रको पुनस्र्थापनाका लागि अभियान चलाइरहेका छन् । नेपालमा निरङ्कुश शासनको लामो इतिहास र राजाको प्रत्यक्ष नेतृत्वमा कायम भएको पञ्चायती तानाशाही व्यवस्थाको पृष्ठपोषणको इतिहासमाथि विचार गर्दा राजतन्त्रको पुनःस्थापनापछि त्यसको विकास, जनहित र सुशासनमा कुनै मदत नपुग्ने, तर देश झन् प्रतिगमन वा बर्बादीमा नै जाने कुरा अवश्यम्भावी छ । त्यो अवस्थामा एकातिर, अहिले गणतन्त्रअन्तर्गत देखापरेका सबै कमजोरीहरूका विरुद्ध सङ्घर्ष गर्दै देशको विकास र सुशासन कायम गर्न सङ्घर्ष गर्ने र अर्कातिर, देशमा राजतन्त्रको पुनस्र्थापनाका लागि गरिने सबै प्रयत्नहरूका विरुद्ध सङ्घर्ष गर्ने हाम्रो जिम्मेवारी हुनुपर्दछ ।

राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि मुख्य हतियार हिन्दु धर्मलाई नै बनाएका छन् । धर्म व्यक्तिगत आस्थाको विषय हो र जनताले कुनै पनि धर्मलाई अपनाउने स्वतन्त्रतालाई हामीले सम्मान गर्दछौँ । तर कुनै पनि धर्मलाई कुनै पनि प्रतिगामी उद्देश्यको पूर्तिको लागि उपयोग गर्ने कार्यलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । धर्मलाई विभिन्न प्रतिगामी राजनीतिक उद्देश्यहरूका लागि उपयोग गर्ने कार्य विश्वव्यापी रूपमा नै भइरहेका छन् र त्यो कार्य नेपालमा पनि भइरहेको छ । हाम्रो देशमा खास गरेर इसाई धर्मलाई पश्चिमी साम्राज्यवादी उद्देश्य पुरा गर्न तथा हिन्दु धर्मलाई राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयोग गर्ने प्रयत्न व्यापक र सुनियोजित प्रकारले भइरहेको छ । भारतका कट्टर हिन्दुवादीहरूले नेपालमा हिन्दु र मुस्लिमहरूका बिचमा वैमनस्यता फैलाएर साम्प्रदायिक स्थिति पैदा गर्ने काम पनि गरिरहेका छन् । नेपालमा सबै धर्मालम्बीहरूका बिचमा सद्भावना र मैत्री सम्बन्ध रहने गरेको छ । तर भारतीय कट्टरपन्थी हिन्दुवादीहरूले नेपालमा धार्मिक सम्प्रदायिक वातावरणको स्थिति निर्माण गर्ने प्रयत्न गरिरहेका छन् । त्यसप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

नेपाल विभिन्न जातजाति, धर्म र संस्कृति भएको देश हो । त्यस प्रकारको स्थितिमा धर्मनिरपेक्षताले नै सबैका बिचमा शान्ति र सद्भावना कायम हुन सक्दछ । तर राजावादीहरूले धर्मनिरपेक्षताको अन्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि अभियान चलाइरहेका छन् । देशमा एकपटक हिन्दु राष्ट्र कायम भयो भने त्यसको रक्षाको लागि हिन्दु राजा चाहिन्छ भनेर राजतन्त्रको पुनस्र्थापना गर्ने रणनीतिअन्तर्गत नै उनीहरूले नेपालमा धर्मनिरपेक्षतालाई समाप्त गर्न तथा हिन्दु राष्ट्र बनाउनका लागि अभियान चलाइरहेका छन् । उनीहरूको त्यो अभियान सफल भयो भने नेपाली जनताको लामो सङ्घर्ष तथा त्याग र बलिदानद्वारा प्राप्त गणतन्त्रमा खतरा पुग्ने छ र देश प्रतिगमनतिर जानेछ । त्यस्तो हुन नदिनका लागि सम्पूर्ण नेपाली जनता गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि कटिबद्ध हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

२०८१ जेष्ठ १५ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

 

पार्टी गतिविधि

Translate »
Scroll to Top