० सर्वप्रथम त यहाँलाई युगदर्शनमा स्वागत छ ।
:: धन्यवाद ।
० आरामै हुनुहुन्छ ? स्वास्थ्य अवस्था कस्तो छ ?
:: आरामै छु । ठिक छु ।
० महामन्त्रीज्यू सर्वप्रथम यो बताइदिनुहोस्, अहिले जुन एकाएक जेनजीको प्रदर्शन भयो, विध्वंस मच्चियो । यस्तो हुन्छ भन्ने तपाईंहरूले पूर्वानुमान गर्नुभएको थियो ?
:: जेनजी आन्दोलनबारे हामीले पूर्वानुमान गरेका थिएनौँ । देशमा जुन भ्रष्टाचार थियो, कुशासन थियो, त्यसले जनतामा व्यापक असन्तोष र आक्रोश भएको कुरा हामीले स्पष्ट गर्दै आएका थियौँ । त्यसबाट जनतामा कुनै प्रकारको विस्फोट हुने र त्यसमा कतिपय प्रतिगामी र साम्राज्यवादी शक्तिले आफ्ना निहित स्वार्थका लागि उपयोग गर्ने सम्भावनाको कुरा हामीले गर्दै आएका छौँ ।
सर्वप्रथम त हाम्रो भनाइ यो छ, अहिले जुन स्थिति पैदा भयो, प्रकट र प्रत्यक्ष रूपमा त्यसको लागि ओली सरकार नै जिम्मेवार छ । त्यसको (ओलीको) अधिनायकवादी र स्वेच्छाचारी कार्यप्रणाली नै अहिलेको स्थिति उत्पन्न हुनुको प्रमुख र मुख्य कारण हो तर त्यो मात्र होइन ।
वास्तवमा आज देशमा जनतामा जुन असन्तोष, आक्रोश छ† जुन कारणले अहिलेको स्थिति उत्पन्न भयो, त्यसका लागि ओली सरकारलाई मात्र दोष दिएर पुग्दैन । नेपालमा बहुदलीय वा गणतन्त्र आएदेखि बनेका सरकारहरूले सही नीति अपनाएर काम गर्न सकेनन् । पूरै देशमा भ्रष्टाचार, कुशासन बढ्दै गयो । राष्ट्रिय हितको सौदाबाजी हुँदै गयो । देशमा विदेशी साम्राज्यवादी शक्तिको हितका लागि कामगर्ने, राष्ट्रिय हितको तिलाञ्जली दिने, सौदाबाजी गर्ने प्रक्रिया बढ्दै गयो । त्यसले गर्दाखेरि देशको दिगो विकास हुन सकेन । कृषि, उद्योगको विकास पछाडि पर्यो । यी सबैको समग्र परिणामस्वरूप देशमा एउटा उकुसमुकुस र असन्तोषको अवस्था थियो । त्यसलाई अहिले जेनजी आन्दोलनले अगाडि ल्याइदियो । तर यो आन्दोलन आफैमा कसरी आयो ? यसको पछाडि कुन प्रकारका तत्त्व छन् वा कुन प्रकारको षड्यन्त्र भएका छन ? त्यो हामीलाई थाहा छैन । सायद त्यो क्रमश: अगाडि आउला । केही कुरा स्पष्ट हुँदै पनि गइरहेका छन् ।
यो कुरा स्पष्ट हुँदै गएको छ, विभिन्न पक्षले यो आन्दोलनलाई उपयोग गर्ने प्रयत्न गरेका छन् । हामीले देखेका छौँ, यसलाई जेनजी आन्दोलन भनियो । जेनजी पुस्ता भन्नुको अर्थ हुन्छ, १३देखि २८ वर्षमुनिका किसोरकिसोरी र युवा तर योभन्दा धेरै माथिको उमेरका मान्छे पनि त्यसमा सामेल थिए । त्यो बाहेक सबैलाई थाहा भएको कुरा हो, यो आन्दोलनको सिलसिलामा देशमा व्यापक ध्वंसात्मक कार्य भए । जेनजीका युवकहरूले त्यो गर्न सक्दैनथे । उनीहरूमा त्यतिखेर त्यो सोचाइ पनि थिएन । तिनीहरूको तोडफोड गर्ने त्यो क्षमता पनि थिएन । यसकारण स्पष्ट छ, त्यसमा घुसपैठ व्यापक रूपमा भएको छ ।
त्यस्ता कुन कुन तत्त्व हुन् ? राजावादीको भूमिका अगाडि देखिएको छ । राजावादीले यो चिजलाई उपयोग गरेर देशमा पुन: राजतन्त्र ल्याउन प्रयोग गरौँ भनेर पूरा प्रयत्न गरेका थिए । त्यसै गरेर कथित स्वतन्त्र पार्टीले पनि त्यो स्थितिलाई प्रयोग गर्ने कोशिस गर्यो । यसरी, त्यस्ता धेरै पक्षले काम गरेको देखिन्छ । राजनीतिक पार्टीको बिचमा जुन अन्तरघात, अन्तरकलह छन्, त्यसले पनि काम गरेको हुन सक्छ । त्यो बाहेक साम्राज्यवादी शक्तिले, भारतीय साम्राज्यवादी वा अमेरिकी साम्राज्यवादीले पनि त्यो स्थितिलाई उपयोग गर्द कोसिस गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न किनभने, अमेरिकाले यस्ता काम धेरै देशमा गर्दै आएको छ ।
अहिले जो नयाँ मन्त्रिपरिषद् बन्यो, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री भइन्, दलाई लामाबाट उनलाई शुभकामना आएको थियो । यो आश्चर्यको कुरा त हो नै, असामान्य कुरा पनि हो । स्वाभाविक हुँदै होइन । दलाई लामाले अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीलाई शुभकामना दिएका थिएनन् । त्यसैले वास्तवमा त्यो शुभकामना मात्र होइन । त्यसको पछाडि कुन राजनीतिले काम गरेको छ ? त्यो पनि एउटा रहस्यमय प्रश्न भएको छ ।
दलाई लामाले शुभकामना दिनुको पछाडि एउटा अर्थ स्पष्ट छ ।त्यसले बताउँछ, उनले अहिलेको नेपालमा जुन परिवर्तन भयो, जुन सरकार बन्यो, त्यसले उनको हितलाई मदत गर्छ भन्ने उनको मूल्याङ्कनको आधारमा त्यो शुभकामना दिएका हुन् । उनको चाहना भनेको तिब्बतलाई मुक्त गराउनु र त्यहाँ दलाई लामालाई पुनस्र्थापना गर्नु हो । त्यो अमेरिकी रणनीतिको एउटा महत्त्वपूर्ण अङ्ग हो । दलाई लामाले अमेरिकी रणनीतिअन्तर्गत नै काम गरिरहेका छन् । एमसिसीको एउटा मुख्य उद्देश्य पनि तिब्बतमाथि आक्रमण गरेर दलाई लामालाई पुन: त्यहाँ पुनस्र्थापित गर्नु हो । अमेरिकाले तिब्बतमा हमलाका लागि नेपाललाई आफ्नो युद्धभूमि बनाउन उपयोग गर्न पनि एमसिसी ल्याएको हो । नेपालमा अहिले भएको राजनीतिक परिवर्तनबाट अमेरिकाको तिब्बत सम्बन्धी नीतिलाई मदत पुग्ने देखेर नै दलाई लामाले सुसिला कार्कीको सरकारलाई समर्थन गरेको कुरा बुझ्न गाह्रो पर्दैन ।
दलाई लामाका पछाडिदशकौँदेखि अमेरिकी साम्राज्यवादको शक्तिले काम गर्दै आएको कुरा संसारभरि थाहा छ ।दलाई लामाको शुभकामनाले अमेरिकाको त्यो योजनासँग जोडिएको र यो अहिलेको गतिविधिलाई अमेरिकाले आफ्नो साम्राज्यवादी हितलाई उपयोग गर्न खोजेको सम्भावनालाई पनि गम्भीर रूपमा अगाडि ल्याएको छ । अहिलेको यो जेनजी आन्दोलन सामान्य र उपरी रूपमा जस्तो देखिन्छ, त्यही मात्र हो भन्न मुस्किल पर्दछ । यसको लागि धेरै अध्ययन होला, अनुसन्धान होला, नेपालको राजनीतिमा यो कुरा प्रस्ट हुँदै जाला । केही समय लाग्ने छ, सबै कुरा प्रस्ट हुनका लागि ।
देशका सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिका भवन, प्रधानमन्त्री निवासमा भएको आगजनी तथा देशभर जुन तोडफोड वा आगलागी समेत भएको छ, यो सबैको पछाडि युवा शक्तिको भूमिका नै मुख्य रहेको छ भन्ने हाम्रो सोचाइ छैन । यसका पछाडि कैयौँ अवाञ्छित शक्ति लागेका छन् । अहिले देशमा विद्यमान लोकतान्त्रिक प्रणाली वा सम्पूर्ण देशलाई प्रतिगमनको दिशामा लैजानका लागि, देशलाई साम्राज्यवादको पक्षमा ल्याउनका लागि, खासगरी अमेरिकी साम्राज्यवादको रणनीति कार्यान्वयन गर्नको लागि अरू गम्भीर षड्यन्त्र हुँदै जानेछन् भन्ने हामीलाई लागेको छ । त्यो देशका लागि एकदम गम्भीर स्थिति हो । यसबारे सबै देशभक्त, प्रजातन्त्रप्रेमी, गणतन्त्रप्रेमी जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।
निश्चित रूपमा यो घटनाका लागि ओलीको नीति प्रत्यक्ष रूपमा जिम्मेवार छ । ओलीको सरकारले देशमा भ्रष्टाचार बढाएर लग्यो । आफ्नै पार्टीभित्र पनि तानाशाही नीति अपनाइयो । सर्वोच्च अदालतको फैसलाको समेत अपव्याख्या गरेर उनले सामाजिक सञ्जालमाथि रोक लगाए । सर्वोच्च अदालतले यो भनेको थियो, कानुन बनाएर नियमन गर । निश्चय नै सामाजिक सञ्जाललाई नियमन गर्नुपर्छ भन्ने हाम्रो पनि सोचाइ हो तर ओलीले अधिनायकवादी तरिका अपनाएर कानुन बनाउनतिर नलागीकन सामाजिक सञ्जालमाथि रोक लगाए । त्यसले गर्दा पनि युवा वर्गमा ठुलो असन्तोष वा आक्रोश देखापर्यो ।
आन्दोलनको पहिलो दिनमा व्यापक सङ्ख्यामा युवाको हत्या गरियो । हजारभन्दा बढी मानिस घाइते भए । यसले पनि व्यापक असन्तोष पैदा गर्यो । यी तात्कालिक र प्रकट रूपमा अगाडि आएका कारण मात्र हुन् । हामीलाई लाग्छ, कुरा यति मात्र छैन, यो भन्दाभित्र धेरै कुराले काम गरेका छन् । जो हामीले क्रमश: हेर्दै जानेछौँ । त्यतातिर हामी मात्र होइन, सम्पूर्ण देश र जनताको ध्यान जानुपर्छ भन्ने हाम्रो सोचाइ रहेको छ ।
० आन्दोलनको दुई दिनमध्येेमा दोस्रो दिन भदौ २४ गते ध्वंसात्मक आगजनी, तोडफोड भयो । त्यस क्रममा सत्तारूढ पार्टीहरू भ्रष्टाचारमा संलग्न भएको कारणले उनीहरूका कार्यालय वा निजी घरहरूमा तोडफोड वा आगलागी गर्ने गरेको भनिन्छ तर राष्ट्रिय जनमोर्चा त्यस प्रकारको कुनै पनि भ्रष्टाचारमा संलग्न नभएको हुँदाहँुदै पनि त्यसका चार वटा कार्यालयहरूमा गरिएको आक्रमणलाई कसरी लिनु भएको छ ?
:: हाम्रा बुटवल, अर्घाखाँची, प्युठान र सुर्खेतका कार्यालयहरूमा तोडफोड गर्ने वा आगो लगाउने काम भएको छ । यसमा कतिपय हाम्रो पार्टीसँग मतभेद राख्ने तत्त्व पनि सामेल हुन सक्छन् । राजनीतिमा हामीले कैयौँ पक्षका गलत नीतिको आलोचना गर्दै आएका छौँ । राजावादी खतरा र प्रतिगामी भूमिकाको विषयमा हामीले सबभन्दा बढी आलोचना गरेका छौँ । घन्टी पार्टीको नेतृत्वले जुन सहकारीको क्षेत्रमा ठुलो पैमानामा रकम अपचलन गरे, भ्रष्टाचार गरे, त्यसको पनि सम्झौताहीन किसिमले आलोचना गर्ने हामी नै हौँ । एमालेका नीतिको त हामीले कडा विरोध गरिराखेका छौँ । त्यसैले यो हुन सक्छ, जुन तत्त्वको राजनीतिक कारणले हामीसँग तीव्र वा कटु मतभेद छ, उनीहरूको पनि यसमा भूमिका हुन सक्छ । भारतीय साम्राज्यवादको नेपालमा धेरै नै हस्तक्षेप छ । त्यसले तराईमा पनि अतिक्रमण गरिरहेको छ । त्यसले नेपालको संविधानलाई स्वीकार गरेको छैन । नेपालको सिमा अतिक्रमण वा कालापानीमा कब्जा समेतका विषयहरूमा हामीले त्यसका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएका छौँ । राष्ट्रियताको सङ्घर्षमा हाम्रो पार्टी सबैभन्दा अगाडि छ । ठिक त्यसै गरेर अमेरिकी साम्राज्यवादले नेपालमा जुन हस्तक्षेप गरेको छ, त्यसको पनि हामीले तीव्र शब्दमा आलोचना गरिराखेका छौँ । यस्ता धेरै कारण हुन सक्छन्, जुन कारणले कतिपय पक्षहरूले हाम्रा कार्यालयहरूमा हस्तक्षेप गरेका हुन सक्छन् ।
हामीलाई लाग्दछ, हामी माथिको आक्रमणमा जेनजी पुस्ताको कुनै भूमिका रहेको छैन । अहिलेसम्म आएका रिपोर्टबाट थाहा भएको छ, धेरैजसो अराजक तत्त्व सामेल भएका छन्, नाम जेनजी पुस्ताको दिइएको छ । कतिपय राजनीतिक दलका तत्त्वबाट पनि गुण्डागर्दी भएको छ, त्यसरी, हाम्रा कार्यालयहरूमा आक्रमणको लागि यस्तो विभिन्न कारणहरूले काम गरेको हुन सक्दछ ।
० अब अलिकति राष्ट्रपतिको भूमिकाको विषयमा कुराकानी गरौँ । उनले जसरी संसद विघटन गरेर संसद् भन्दा बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाए । फेरि पनि आफूले संविधान बचाएको भन्ने उनको दाबी छ । समग्रमा राष्ट्रपतिको भूमिकालाई तपाईंँको पार्टीले कसरी लिन्छ ?
:: जसरी संवैधानिक आधारबिना बाहिरको मान्छेलाई प्रधानमन्त्री बनाइयो र त्यस्ता प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरियो,त्यो कार्यलाई हामीले सही भन्न सक्दैनौँ । त्यो संवैधानिक कार्य होइन । त्यो एउटा पक्ष हो तर जुन प्रकारको दबाब उनीमाथि थियो, आन्दोलनकारी जेनजी ग्रुप, सेना, सबैतिरबाट पनि जुन दबाव थियो, त्यो पृष्ठभूमिमा हामीले विचार गर्नुपर्दछ । त्यसकारण त्यो अवस्थामा उनले गरेका गलत कार्य कति उनले स्वेच्छाले गरेका हुन् ? कति बाध्यता थियो ? त्यसलाई हामीले मूल्याङ्कन गरेर हेर्नुपर्छ ।
० अनि राष्ट्रपतिको भनाइ छ, तपाईंले भनेजस्तो यदि मैले दूरदर्शितापूर्ण कदम नचालेको भए संविधान नै खारेज हुन्थ्यो । त्यसो भएको हुनाले मैले त्यो एङ्गलबाट ठिक गरँे भन्ने उनको दाबी छ । भनेपछि त्यो परिस्थितिजन्य थियो भन्ने तपाईंको पनि भनाइ हो ?
:: राष्ट्रपतिको कतिपय सकारात्मक भूमिका रहेको भन्ने कुरा आएको छ तर मैले भनिहालेँ नि, उनले कति हदसम्म स्वेच्छाले गल्ती गरेका छन्, कतिपय चारैतिरको दबाबको कारणले गरेका छन् ? त्यो क्रमश: स्पष्ट हुँदै जाला भन्ने लाग्छ । एकतर्फी रूपमा उनलाई पूरै दोष दिनु पनि सही हुन्न जस्तो लाग्छ ।
० अब के हुन्छ ? जस्तो कि हिजो राष्ट्रपतिले वक्तव्य जारी गरेर फागुन २१ गतेको चुनावलाई सफल पार्न दलहरू लाग्नुपर्यो भनेर आह्वान गर्नुभएको छ । तपाईंहरू चुनावको तयारीमा लाग्नुहुन्छ ?
:: होइन, त्यसबारेमा हामीले केही सोचेका छैनौँ । अहिले स्थिति स्पष्ट भएको छैन । चुनाव पनि हुन्छ कि हुन्न ? भए कस्तो हुन्छ ? कुन कानुनअन्तर्गत हुन्छ ? यस्ता धेरै कुरामा हामीले विचार गर्नुपर्ने छ । त्यसैले अहिले हामी त्यसबारे केही भन्न सक्ने स्थितिमा छैनौँ । पहिले स्थिति अलिकति स्पष्ट होस् । हाम्रो पार्टीले यो सबै पक्षमाथि विचार गरेर त्यसबारेमा निर्णय गर्ने छ ।
यो हामीले स्पष्ट पारेका छौँ, जसरी प्रधानमन्त्रीको नियुक्त गरियो, त्यो सही हुन गएको छैन । दोस्रो, जसरी प्रतिनिधिसभाको विघटन गरियो, त्यो पनि सही हुन गएको छैन । त्यसका साथै जुन चुनावको प्रश्न हो, त्यसलाई हामीले अलि गम्भीरतापूर्वक विचार गर्नुपर्ने छ । हाम्रो पार्टीले त्यसबारेमा कुनै ठोस निर्णय लिनेछ ।
० यो जुन संसद् विघटन भयो, त्यसको बार एसोसिएसनले पनि विरोध गरेको छ किनभने संविधानको व्यवस्था अनुसार धारा ७६को ७ अनुसार मात्रै संसद् विघटन गर्न मिल्छ, अन्य विकल्प छैन । त्यस्तो अवस्थामा यो विषयमा सर्वोच्चमा रिट पर्यो भने के हुन्छ ? संसद् पुनस्र्थापना हुने सम्भावना हुन्छ कि हुन्न ?
:: सर्वोच्चमा रिट पर्यो भने संविधान अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद्को विघटन दुवैलाई खारेज गर्नुपर्छ तर हामीले देखेका छौँ, खिलराजको पालामा रिट पर्यो तर उनको कार्यकाल हुँदासम्म त्यसबारे फैसला गरिएन । सर्वोच्चले कतिपय बेलामा यस प्रकारको पक्षपातपूर्ण नीति अवलम्बन गर्ने गरेको छ । त्यसकारण यसबारे कसरी कारबाही हुन्छ ? हुन्छ कि हुन्न ? त्यसबारे अहिले नै केही भन्न सकिँदैन ।
० प्रधानमन्त्री सुशीला कार्कीको विषयमा तपाईंहरूको वक्तव्यमा व्यक्तिगत रूपमा उहाँलाई हाम्रो केही भन्नु छैन भनिएको छ तर इतिहास हेर्ने हो भने खिलराज रेग्मीको सन्दर्भमा एकपटक सर्वोच्चको प्रधानन्यायाधीश भइसकेको व्यक्ति राज्यको अर्को अङ्गको प्रमुख बन्न पाइन्न भनेर फैसला गर्ने त सुशीला कार्की नै हो । यो इस्युमा तपाईंहरूको भनाइ के छ ?
:: त्यो त हामीले भनिसक्यौँ, अहिले प्रधानमन्त्रीको नियुक्ति संवैधानिक छैन । त्यसकारण हामीले त्यसलाई गलत ठहर्याएका छौँ र विरोध गरेका छौँ । व्यक्तिगत रूपमा भन्नुहुन्छ भने पहिले सर्वोच्चको प्रधानन्यायाधीश भएको बेलामा उहाँको भूमिका राम्रो रहेको थियो । सराहनीय रहेको छ । कैयौँ विषयमा उहाँले गरेका निर्णय बढी सकारात्मक रहेका छन्, महत्त्वपूर्ण रहेका छन् । त्यस्तै अरू कतिपय न्यायाधीशको विषयमा हामीले आलोचना पनि गरेका छौँ तर अन्य कतिपय प्रधानन्यायाधीशको विषयमा उहाँहरूको भूमिकाको विषयमा पनि आलोचना, विरोध भएका छन्, बदनाम भएका छन् । व्यक्तिगत रूपमा भन्नुहुन्छ भने सुशीला कार्कीबारे त्यस प्रकारको चिज आएको हामीले थाहा पाउँदैनौँ ।
त्यसैले मैले भनेँ, अहिले जुन प्रकारको भूमिका उहाँको रहृयो, पहिलो त प्रधानमन्त्री चयन हुनु नै गलत भयो । उहाँले आफैले गरेको फैसलाको विरुद्ध थियो त्यो । संविधानसँग नमिल्ने कुरा हो । त्यस्तो अवस्थामा अहिलेको भूमिकाको विरोध गरेका छौँ तर उहाँको पहिले प्रधानन्यायाधीश भएको बेलाको भूमिका वा उहाँले गरेका निर्णयहरूमाथि विचार गरेर उहाँको व्यक्तिगत विषयमा आलोचना छैन भनेका हौँ ।
० अब सेनाको विषयमा कुराकानी गरौँ अलिकति । सेनाले आफ्नै अगाडि सिंहदरबार जलेको, सङ्घीय संसद् जलेको जस्ता विषयमा तमासा हेरिराख्यो । त्यसको विरोध भइराखेको छ । तर अर्कोतर्फ महानता के पनि देखायो भने उसले चाहेको भए सम्पूर्ण नेतादेखि लिएर राष्ट्रपति उसको कब्जामा थिए अथवा उसको नियन्त्रणमा थिए । उसले चाहेको भए सैनिक शासन लागु गर्न सक्दथ्यो तर सेनाले महानता देखायो, उदारता देखायो भन्ने खालको मिडियाचर्चा पनि छ । यस विषयमा के लाग्छ ? सेनाले गरेको के हो ? सेनाको भूमिका कस्तो हो ?
:: सेना छँदाछँदै यस्ता विध्वंसका जुन कार्यहरू भए, त्यो गम्भीर चिन्ताको विषय हो । हामीलाई के लाग्छ भने सेनाले चाहेको भए त्यसलाई रोक्न सक्थ्यो । जस्तो कि हामीले प्युठानमा राष्ट्रिय जनमोर्चाकै कार्यालयको कुरा गरौँ, त्यहाँको ब्यारेकको अगाडिबाट उनीहरू हाम्रो कार्यालयको घर पोल्न जान्छन् । सेनाले चाहेको भए त्यसलाई रोक्न सक्दथ्यो । यस्ता धेरै विषय छन् । यस सन्दर्भमा सेनाको जुन भूमिका रह्यो, त्यो सन्तोषजनक रहेन भन्ने हामीलाई लागेको छ ।
० अनि पछिल्लो घटना, जस्तो कि सेनाले कू गरेन । राष्ट्रपतिलाई स्वाभाविक रूपमा काम गर्न दियो भन्ने कुरा । यो भूमिका कस्तो हो ?
:: यस विषयमा हामीले यत्ति मात्र भनेका छौँ, अहिले देशको राजनीतिमा सेनाको जुन भूमिका बढेर गयो, जस्तो प्रधानमन्त्री बनाउने विषयमा, त्यो राम्रो भएन । त्यो राम्रो लक्षण होइन । यसप्रति सम्पूर्ण नेपाली जनता सतर्क हुनुपर्दछ भन्ने लाग्दछ किनभने संसारका धेरै देशमा त्यस्तो भएको छ । सेनाको कारणले त्यहाँको बहुदलीय व्यवस्था खतम भएको छ । लोकतन्त्र खतम भएको छ । गणतन्त्र खतम भएको छ । तानाशाही व्यवस्था कायम भएका छन् । हाम्रो जोड यो कुरामा छ, नेपालमा त्यस्तो हुन नपाओस् ।
० अब देशमा जेनजीको सरकार बनेको छ । यो नयाँ परिस्थितिमा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ? जेनजी सरकारसँग तपाईंहरूको व्यवहार कस्तो हुन्छ ?
:: यो सरकारलाई हामीले विरोध गरेका र्छौं । यसको हामीले आलोचना गरेका छौँ । प्रधानमन्त्री बनाउने, मन्त्री छान्ने जुन कुरा भएका छन्, त्यो पनि प्रजातान्त्रिक तरिकाले भएको छैन । कुनै पनि प्रकारको भिड वा मतको आधारमा प्रधानमन्त्री छान्ने, लागु गर्ने तरिका राम्रो होइन । सुरुदेखि नै उनीहरूको यो प्रकृति सही रहेको छैन । संवैधानिक र प्रजातान्त्रिक प्रकारको रहेको छैन । अब हेरौँ, उनीहरूको कार्यप्रणाली कस्तो हुन्छ ? के हुन्छ ? हामीले हेर्दै जान्छौँ ।
० उनीहरूले भनिरहेका छन्, शक्तिशाली भ्रष्टाचार छानबिन आयोग बनाउने र २०४६ सालदेखि यताका सम्पूर्ण सत्तामा बसेका नेताहरूको सम्पत्ति छानबिन गर्ने अथवा अन्यायपूर्वक ढङ्गले निजी सम्पत्ति जम्मा गरेको छ भने त्यसलाई राष्ट्रियकरण गर्ने भन्ने खालको कुरा आएको छ, यो कदमबारे के तपाईंहरूको समर्थन हुन्छ ?
:: यस विषयमा हाम्रो स्पष्ट धारणा छ । हामीले हाम्रो वक्तव्यमा पनि यो कुरा ल्याएका छौँ । भ्रष्टाचार आजको नेपालको गम्भीर समस्या हो । उच्च राजनीतिक तहदेखि तल्लो तहसम्म व्यापक भ्रष्टाचार छ । यसले गर्दाखेरि देशको विकास पछाडि परेको छ । भ्रष्टाचारको कारणले नेपालका सरकारले, यहाँको उच्च प्रशासनयन्त्रले नेपालका प्राकृतिक सम्पत्तिको विषयमा विदेशीसँग सम्झौता गरेर नेपालको नदीनाला दिइरहेको छ । त्यो खतरा अहिले पनि छ । नेपालमा युरेनियमको राम्रो खानी छ भन्ने कुरा आएको छ । दैलेखमा पेट्रोलियमको खानी छ । त्यहाँ पेट्रोलियम पदार्थको धेरै ठुलो भण्डार छ भन्ने कुरा पनि आएको छ । देशमा भ्रष्टाचार रह्यो भने ती सबैबाट पनि देशलाई फाइदा हुन सक्दैन । यसमा विदेशीको आँखा पर्यो भने विदेशीले केही पैसा दिएर यहाँको राजनीतिक तहसँग, प्रशासनसँग साँठगाँठ गरेर उनीहरूले तिनीहरूमाथि कब्जा जमाउन सक्दछन् ।
यसरी देशमा उद्योगको विकास हुन सक्दैन, त्यो पनि भ्रष्टाचारकै कारण हो । नेपालमा कुनै रोजगारी नभएर लाखौँ युवा बाहिर जानु परेको छ । त्यो पनि भ्रष्टाचारकै कारणले हो । अमेरिका, भारतसित नेपालका गलत सम्झौता हुने गरेका छन् । नेपालका सरकार, प्रशासनको कुशासनको पछाडि भ्रष्टाचारले काम गरेको छ । यसरी भ्रष्टाचार नेपालको गम्भीर समस्या भएकाले त्यसलाई समाप्त गर्नका लागि, यसलाई निवारण गर्नका लागि छानबिन गर्ने कुरालाई हामीले समर्थन गर्दछौँ । त्यसमा हामी यो चाहन्छौँ कि त्यस क्रममा कुनै पक्षपात नगरियोस् । पूर्वाग्रह नगराखियोस् र राजनीतिक प्रतिशोध नराखियोस् किन कि कुनै नीति सही भएर पनि सही किसिमले कार्यान्वयन गरिन्छ कि गरिन्न ? त्यो महत्त्वपूर्ण प्रश्न हो । भ्रष्टाचार नेपालको महारोग भएकाले त्यसका विरुद्ध उठाइने कदमलाई हामी दृढतापूर्वक समर्थन गर्दछौँ ।
० अब हामी अन्तर्वार्ताको करिब अन्तिमतर्फ छौँ । जेनजीले सङ्घीयता खारेज गर्नुपर्छ भन्ने कुरा ल्याएका छन् तर स्थानीय तह गैरदलीय हुनुपर्दछ भनिरहेका छन् । यो धारणालाई कसरी लिनुहुन्छ ?
: पहिलो कुरा त उनीहरूको जोड सबै विषयहरूमा गैरदलीय हुनुपर्दछ भन्ने करामा छ । उनीहरूको जोड पार्टीहरू खतम हुनुपर्दछ, मन्त्रीहरूको नियुक्ति पनि गैरदलीय आधारमा हुनुपर्दछ भन्ने छ । यसरी गैरदलीय प्रकारले जाने भन्ने कुरा आधारभूत रूपमै गलत छ । त्यो सोचाइलाई हामीले सही मान्दैनौँ किनभने नेपालमा खास गरेर राजावादीले पहिलेदेखि नै दलीय प्रणालीको विरोध गर्दै आएका छन् । जेनजी पुस्ताले पनि त्यही गैरदलीय प्रकारको दृष्टिकोण अपनाएको पाइन्छ । त्यो, गैरप्रजातान्त्रिक, प्रतिगामी सोचाइ हो । यसमा राजावादी प्रभावले असर गरेको हुन सक्छ । त्यसकारण यो सही हुँदैन ।
सङ्घीयता खारेज गर्ने कुरालाई हामी समर्थन गर्दछौँ । सङ्घीयता खारेज गर्नुको अर्थ हो, प्रादेशिक संरचना समाप्त गर्नु तर स्थानीय निकायलाई कायम राख्नुपर्दछ । त्यसो गर्नका लागि स्थानीय निकाय गैरदलीय हुनुपर्दछ भन्ने कुरालाई हामीले सही भन्दैनौँ । उनीहरूको जोड गैरदलीयमा मात्रै होइन, उच्च तहको सबै निकाय गैरदलीय हुनुपर्दछ भन्नेमा छ । सायद उनीहरूले चुनावमा पनि त्यही प्रकारको नीति ल्याउन सक्छन् । यो सोचाइ संसारभरि चलेको प्रजातान्त्रिक सिद्धान्तको विरुद्ध छ ।
दलीय सिद्धान्तको सबै प्रतिगामी शक्तिले विरोध गर्दै आएका छन् । नेपालमा पनि राणाकालदेखि नै प्रतिक्रियावादी शक्तिले दलीय सिद्धान्तको विरोध गर्दै आएका थिए । पञ्चायती कालमा पनि दलमाथि प्रतिबन्ध लगाइएको थियो र निर्दलीय व्यवस्थामा जोड दिइएको थियो । त्यसैले यो कुनै नयाँ कुरा होइन । त्यस प्रकारको सोचाइले देशलाई प्रतिगमनतिर लैजान्छ ।
उनीहरूले उमेरको कुरा पनि ल्याइरहेका छन् । उनीहरूले वृद्ध अवस्थामा पुगिसकेका मान्छेहरू पार्टी या सरकारको नेतृत्वमा रहनुहुन्न भन्ने कुरा ल्याएका छन् । त्यो कुरालाई पनि हामीले सही मान्दैनौँ । यो संसारमा कहीँँ नभएको कुरा हो ।
हामीले संसारमा हेरौँ । कम्युनिस्टको कुरा त छँदैछ । कैयौँ वयोवृद्ध व्यक्तिहरूले पनि कम्युनिस्ट आन्दोलन वा पार्टीमा नेतृत्व गरेका छन् । माक्र्स, एङ्गेल्स, स्तालिन र माओ तथा हो ची मिन्ह र क्यास्ट्रोहरूले समेत वृद्ध अवस्थामा नेतृत्वदायी भूमिका खेलेका थिए । बुर्जुवा प्रजातान्त्रिक देशहरूमा पनि त्यो भएको छ । वृद्ध अवस्थामा पुगेका मान्छेहरू पनि राष्ट्रपति वा प्रधानमन्त्री बनेका थुपैै्र उदाहरणहरू छन् । आफ्नो देशका लागि महत्त्वपूर्ण योगदान दिएका छन् वा दिने गरेका छन् । अहिले संसारको कुनै देशको संविधानमा यति उमेर पुगेपछि पार्टी वा सरकारको नेतृत्वका लागि योग्य हुँदैन भन्ने लेखिएको छैन, त्यस प्रकारको प्रचलन पनि कतै छैन ।
नेपालमा एकपल्ट त्यो प्रचलन आएको थियो । ओलीको पालामा उनले ७० वर्ष उमेर पुगेकालाई नेतृत्वमा लैजानु हुँदैन, दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहनुहुँदैन भन्ने नियम पार्टीमा पारित गराएका थिए तर पछि त्यो नियमबाट उनलाई नै अप्ठ्यारो पर्यो । उनको उमेर ७० वर्ष नाघेकाले उनी नेतृत्वबाट हट्नु पर्दथ्यो । सरकारको नेतृत्वबाट हट्नु पर्दथ्यो । उनको दुई कार्यकालभन्दा पनि बढी हुन थाल्यो अनि त्यसैले उनले त्यो नियमलाई संशोधन गर्नुपर्छ भन्न थाले ।
त्यही प्रकारले उनको विद्या भण्डारीसित पनि मतभेद भएको छ । उनले कुनै राष्ट्रपति सक्रिय राजनीतिमा आउनुहुन्न भन्ने कुरामा जोड दिइरहेका छन् । तर कुनै पूर्व राष्ट्रपति कुनै देशको सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर संसारको कुनै देशको संविधान वा कानुनमा लेखिएको छैन । त्यसबारे नैतिकताको प्रश्न उठाउने गरिएको छ । स्वयम् सम्बन्धित व्यक्तिले नै सोच्ने वा निर्णय गर्ने कुरा हो । तर कुनै देशको संविधान, कानुन वा कुनै पार्टीको निर्णले त्यो कुरामा नियन्त्रण लगाउन सक्दैन । आफ्नो स्वेच्छाले कतिपय पूर्व राष्ट्रपतिहरू सक्रिय राजनीतिमा नआएका वा आएका पनि दुवै प्रकारका उदाहरणहरू छन् । त्यही प्रकारले सक्रिय राजनीतिमा आउने वा नआउने त्यसबारे कुनै निर्णय गर्ने स्वतन्त्रता स्वयम् विद्यामा नै हुन्छ र कुनै पार्टीले निर्णय गरेर त्यो स्वतन्त्रतामा प्रतिबन्ध लगाउन मिल्दैन । त्यस सन्दर्भमा ओलीले विद्यामाथि प्रतिबन्ध लगाउने जुन प्रयत्न गरे, त्यसका पछाडि उनको अधिनायकवादी सोचाइले नै काम गरेको छ ।
अहिले नेका, माओवादी, एमाले, जसपा आदिमा पनि पुरानो नेतृत्वलाई हटाउनका लागि आवाज उठिरहेको छ । त्यो खालि जेनजी पुस्ताले मात्र ल्याइराखेको छैन, स्वयम् राजनीतिक पार्टीभित्रका मानिसहरूले पनि त्यस प्रकारको विचार ल्याइराखेका छन् किनभने यसका पछाडि उनीहरूमा पुराना नेतालाई हटाएर फेरि नेतृत्वको महत्त्वाकाङ्क्षा पूरा गर्ने इच्छाले काम गरेको छ ।
को नेता रहन्छ ?को रहन्न भन्ने कुरा उमेरको आधारमा निर्धारण गर्ने कुरा होइन । त्यो दृष्टिकोणको आधारमा, कार्यशैलीका आधारमा र अर्को सबभन्दा बढी महत्त्वपूर्ण विषय सिङ्गो पार्टीको उसमाथि विश्वास छ कि छैन भन्ने आधारमा यसको फैसला हुन्छ । उनीहरू जतिसुकै राम्रा होउन््, पार्टीले उनको नीतिलाई मन पराएन । उनमा कार्यक्षमता देखेन भने कुनै पनि बेला हटाउन सक्छ, उमेर कुर्नु पर्दैन । केशरजङ्ग रायमाझीलाई हामीले हटाएका थियौँ, उनी वृद्ध भएका थिएनन् । त्यसैले त्यो उमेरसित जोडिएको कुरा होइन, संसारमा कहीँँ पनि यस्तो प्रणाली छैन । त्यसकारण जेनजीको पुस्ताले उमेरको जुन कुरा ल्याइराखेको छ, त्यो गलत छ ।
कुनै पनि नेतृत्वका लागि जवानी चाहिन्छ । जवान भनेको के हो भने त्यो उमेरको कारणले मात्र होइन, उसको विचार, कार्यक्षमता सबै जवानको जस्तो हुनुपर्छ । कोही मान्छे जवानै हुन्छन् तर उनीहरूले आफ्नो उत्साह गुमाइसकेका हुन्छन् । हिम्मत गुमाएर, आँट गुमाएर वृद्धजस्ता भएका हुन्छन् । त्यस्ता व्यक्तिहरू राजनीतिक नेतृत्वको लागि योग्य हुदैनन् । अर्कोतिर, कोही वृद्ध भएपनि उनीहरूमा जवानको जस्तो उत्साह, जाँगर, क्षमता छ भने उनीहरू नेतृत्वका लागि योग्य हुन्छन् ।
स्तालिनले द्वितीय विश्वयुद्धमा जुन भूमिका खेले, त्यसको परिणामस्वरूप नै हिटलरको निर्णयात्मक हार भएको थियो । तर त्यो बेला उनी जवान थिएनन् र वृद्ध भइसकेका थिए । तैपनि उनले युद्धमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसरी उमेरको हिसाब गरेर नै कसैलाई नेतृत्वबाट हटाउनुपर्दछ भन्ने सोचाइ सही होइन ।
यस सन्दर्भमा जेनजीको नाममा जुन विचार आइराखेका छन्, ती उनीहरूकै हुन् कि उनीहरूमा कसैले ल्याएका हुन् ? त्यो स्पष्ट हुन बाँकी छ ।
जेनजीले नेपालमा महत्त्वपूर्ण इतिहास कायम गरेका छन् । मान्छेको आम सोचाइ छ, हाम्रा युवा पुस्ता, नयाँ पिढी कर्तव्यविमुख भइसके, उनीहरूमा जाँगर छैन, उत्साह छैन, जोस छैन । उनीहरूमा खालि विदेश पलायन गर्ने मात्र सोचाइ छ । राजनीतिको कुनै मतलब छैन । यस्तो कुरा धेरै आएको थियो । अहिले जेनजीले एकदुई दिनमा जुन प्रकारको भूमिका खेले, त्यसबाट देखिन्छ, मूल रूपमा नयाँ पुस्तामा पनि जोस, उत्साह छ । त्यो अत्यन्तै सन्तुष्टिको कुरा हो । त्यसले नेपालको भविष्यबारे आशा गर्न सकिन्छ । तर त्यति हुनु मात्र पर्याप्त छैन । त्यसका साथसाथै उनीहरूमा सही दृष्टिकोण हुनुपर्छ, सही नीति हुनुपर्छ, राजनीतिक परिपक्वता हुनुपर्छ, वैचारिक स्पष्टता हुनुपर्छ । यदि त्यो भएन भने उनीहरूको त्यो जोस, उत्साह, कार्यक्षमता जति छ, त्यसलाई कुनै पनि प्रतिक्रियावादी शक्तिले उपयोग गर्न सक्छ । सामन्तवादी शक्तिले उपयोग गर्न सक्छ । गलत तत्त्वले उपयोग गर्न सक्छ ।
हामीले भदौ २४ गतेको घटनामा देख्यौँ । त्यति ठुलो मात्रामा ध्वंसात्मक कार्यहरू भए । काठमाडौँमा बढी भए, अन्यत्र पनि भए । त्यसमा धेरै युवा पुस्ताका नै थिए तर सबै २८ वर्षमुनिका थिएनन् ।
संसारमा युवा पुस्ता भनेको खालि सही भूमिका खेल्ने, सही राजनीति गर्ने, देश सेवा गर्ने मात्र हुँदैनन् । डाँका, चोर, बदमास, पाकेटमार पनि हुन्छन् । त्यस प्रकारका अपराधजन्य कार्यहरू गर्ने मानिसहरू पनि ठुलो सङ्ख्यामा युवकहरू नै हुन्छन् र वृद्धहरू कम हुन्छन् । त्यसकारण युवा हुँदैमा सबै राम्रो भूमिका हुन्छ भन्ने होइन । जेनजी पुस्ता पनि सही दृष्टिकोण, परिपक्वता, सही दर्शन, सिद्धान्तको आधारमा दीक्षित हुनुपर्छ । त्यस्तो अवस्थामा नै उनीहरूले देशको वा समाजका लागि महत्त्वपूर्ण योगदान दिन सक्छन् । यदि उनीहरूमा त्यस प्रकारको क्षमता वा दृष्टिकोण भएन भने कुनै पनि प्रतिक्रियावादी शक्तिले वा कुनै गलत तत्त्वले एक वा अर्काे प्रकारले उनीहरूलाई बहकाएर उपयोग गर्न सक्छन् ।
० अन्तमा, युगदर्शनमार्फत भन्नुपर्ने केही कुरा छुटेका छन् ?
:: एउटा कुरा भन्नुपर्ने आवश्यकता छ : हाम्रो देशको राजनीतिमा र संसारमा पनि कैयौँपल्ट जनतालाई, युवा पुस्तालाई उपयोग गरेर देश र जनतालाई नोक्सान पुर्याएका धेरै उदाहरण छन् । यसको मुख्य कारण हो, युवक वा जनतामा सही राजनीतिक चेतना नहुनु । सही राजनीतिक चेतना भएन भन के गलत, के सही ? त्यो उनीहरूले बुझ्न सक्दैनन्, छुट्याउन सक्दैनन्, हावामा जता पनि दगुर्छन् । त्यसैले युवा पुस्तालाई भन्नुस् या जनतालाई, धेरैपल्ट धेरै गलत तत्त्वले प्रयोग गरेको संसारभरको इतिहास छ । हिटलरले प्रयोग गर्यो, अरूले प्रयोग गरे । त्यसकारण हाम्रो जोड नयाँ पुस्तामा वा जनतामा सही राजनीतिक चेतना ल्याउनुमा हुनुपर्छ ।
सही राजनीतिक चेतना भएन भने लोकप्रियतावादी सोचाइले विकास गर्छ । यो एक प्रकारको नकारात्मक र ध्वंसात्मक सोचाइ हो । गलत राजनीतिक शक्तिले युवालाई प्रयोग गर्न सक्छन् । सामन्तवादी शक्तिले उपयोग गर्न सक्छन् । त्यसकारण जनतामा सही राजनीतिक चेतना ल्याउनु धेरै महत्त्वपूर्ण काम हो र त्यसप्रति हाम्रो ध्यान जानुपर्छ ।
अहिलेको स्थितिमा जनतामा जति राजनीतिक चेतना हुनुपर्ने हो, त्यति छैन । त्यसैले कतिपय अपराधी वा भ्रष्ट तत्त्वहरूले पनि चुनावमा विजय प्राप्त गर्दछन् । उनीहरूले त्यस प्रकारको सफलता कसरी प्राप्त गर्दछन् ? जनतामा सही चेतनाको अभावमा नै त्यस्तो हुने गर्दछ । त्यसकारण जनतामा चलिरहने चेतना ल्याउनका लागि प्रयत्न गर्नु अत्यन्त महत्त्वपूर्ण कार्य हो ।
अब अन्तमा एउटा कुरा भन्छु । आज देशको जुन गम्भीर प्रकारको स्थिति छ, त्यसमा राजनीतिक शक्तिको पनि ध्यान जानुपर्ने आवश्यकता छ । हामीले बुझ्नुपर्छ, राजनीतिक शक्तिका गलत नीतिका कारणले, गलत कार्यशैलीका कारणले, गलत कार्यप्रणालीका कारणले पनि जनतामा धेरै असन्तुष्टि देखा पर्छन् । दुई प्रकारले† एउटा त नेतृत्वले गलत प्रकारका विचार वा नीति ल्याए पनि कार्यकर्ताहरूले त्यसलाई रोक्न सक्दैनन् । अर्काे जनताप्रतिका नै राजनीतिक पार्टीहरू वा उनीहरूका सरकारहरूले गलत नीति अपनाउने गर्दछन् । त्यसको परिणामस्वरूप पनि जनतामा असन्तोष र निराशाका भावहरू पैदा हुन्छन् । तिनीहरूको बलमा प्रतिक्रियावादी शक्तिहरूले खेल्ने मौका पाउछन् ।
ओलीले पहिलेदेखि नै कैयौँ गलत नीतिहरू अपनाउँदै आइरहेका थिए । एमाले र माओवादीको एकता भएको बेलामा पनि उनको अधिनायकवादी शैलीले गर्दाखेरि त्यो पार्टी एकता फुट भएको थियो । पछि उनले बारम्बार संसद्को विघटन गरे । ठिक यसै गरेर मतभेद हुनेबित्तिकै मतभेद राख्नेलाई निकालिदिने काम गरे ।
विद्या भण्डारी सक्रिय राजनीतिमा आउन वा एमालेको सदस्य बन्न खोजेकोमा कुनै कानुन, संविधान, नियम वा स्वयम् एमालेको विधानले पनि उनलाई रोक्न सक्दैन । तर ओलीले आफ्नो नेतृत्वमा प्रतिस्पर्धाको डरले नै उनलाई रोक्ने काम गरेका छन् ।
अब राष्ट्रिय जनमोर्चाको भूमिकाको कुरा गरौँ । राष्ट्रिय जनमोर्चाको भूमिका जति सशक्त हुनुपर्दथ्यो, त्यति रहेको छैन । राष्ट्रिय जनमोर्चाको नीति निश्चित रूपमा सही छ । राष्ट्रिय जनमोर्चाले अरू पार्टीले जस्तो कुनै भ्रष्टाचार गरेको छैन । सरकारमा गएका बेलामा पनि हाम्रा साथीहरूले भ्रष्टाचार गरेनन् । संसद्मा गएको बेलामा एउटा पनि हाम्रो सांसदले यति लामो समयसम्म एक पैसा दुरूपयोग गरेको कुनै उदाहरण छैन । त्यति स्वच्छ छवि छ राजमोको । तैपनि चुनावमा त्यसलाई कम सफलता मिल्ने गर्दछ । स्वच्छ र निष्कलङ्क भएको राजनीतिक पार्टीलाई कम भोट मिल्नु र भ्रष्ट राजनीतिक तत्त्वहरूलाई बढी सफलता मिल्नु – देशको राजनीतिको यो एउटा गम्भीर विडम्बना हो । त्यही कारणले नै देशको विकास पछाडि परेको र सत्तामा गएका राजनीतिक पार्टीमा भ्रष्टाचार बढेर गएको छ । चुनावमा देखापरेको त्यस प्रकारको विपरित पद्धतिको अन्त भएमा नै देशको विकास हुन सक्नेछ । तर जबसम्म चुनाबमा अपराधजन्य कार्यमा संलग्न वा भ्रष्ट तत्त्वहरूको विजय हुने गर्दछ, त्यो बेलासम्म देशको विकास हुन सक्ने छैन । त्यसकारण त्यस प्रकारको गलत पद्धतीबाट मुक्त हुन जनतामा उच्च प्रकारको चेतना आउनुपर्दछ र जनतामा त्यस प्रकारको चेतना ल्याउन प्रयत्न गर्ने राजनीतिक पार्टीहरूको पनि दायित्व हुन्छ र हुनुपर्दछ ।
अन्तमा, नेकपा (मसाल)को कुरा गरौँ । हामी पनि जनताका बिचमा जति सशक्त रूपले जानु पथ्र्यो वा जनताको चेतना उठाउनसशक्त भूमिका खेल्नु पर्दथ्यो, त्यति हाम्रो पार्टीले पनि गर्न सकेको छैन । यसले पनि देशको राजनीतिमा गलत तत्त्वलाई मौलाउन मौका मिलेको छ । त्यसकारण हामीले आफ्नो पार्टीको भूमिकालाई सशक्त पार्नको लागि पनि विशेष रूपले ध्यान दिनुपर्ने आवश्यकता छ ।
० युगदर्शन मिडियाका लागि महत्त्वपूर्ण समय दिनुभयो, त्यसको लागि महामन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद।
:: धन्यवाद ।
पार्टी गतिविधि
नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन
November 23, 2025
वर्तमान राजनीतिक परिस्थिति र अवस्थाबारे महामन्त्री मोहनविक्रम सिंह
September 16, 2025
Depends of Stalin
March 25, 2025