Nepal communist party

नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन

(२०८२ साल मंसिर ६ गते राष्ट्रिय जनमोर्चाकातर्फबाट काठमाडौँमा आयोजित “नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन”बारे अन्तक्र्रिया कार्यक्रममा ने.क.पा. (मसाल)का महामन्त्री का. मोहन विक्रम सिंहद्वारा प्रस्तुत अवधारणा पत्र ।)
१. नेपालको तात्कालिक राजनीतिक परिस्थिति पहिलेदेखि नै सङ्कटग्रस्त थियो । खास गरेर, एकातिर, जनताको आन्दोलनद्वारा प्राप्त गणतन्त्र र धर्मनिरपेक्षता जस्ता महान उपलब्धिहरूमा राजावादीहरूको सङ्गठित अभियानद्वारा पुगेको खतरा तथा, अर्कातिर, देशको राष्ट्रियता र सार्वभौमिकतामाथि साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप र अतिक्रमणबाट पुगेको खतरा समेतका कारणले पहिलेदेखि नै देश सङ्कटको मुखमा उभिएको थियो । जेनजी आन्दोलनले त्यो सङ्कटलाई अरू कैयौँ गुणा बढाइदिएको छ । त्यो अवस्थामा हामीले यो स्थितिको सही मुल्याङ्कन गरेर, एकातिर, गणतन्त्र सहित जनताको आन्दोलनद्वारा प्राप्त महान उपलब्धिहरू र देशको राष्ट्रियता र सार्वभौमिकता समेतको रक्षा तथा अर्कातिर, जनजीवनसित सम्बन्धित न्यायपूर्ण र प्रगतिशील समस्याहरूको समाधानको लागि पनि जनआन्दोलनलाई उच्च स्तरमा उठाउनुपर्ने उत्तरदायित्व हाम्रा अगाडि थियो । जेनजी आन्दोलनले त्यो स्थितिलाई अरू जटिल र गम्भीर बनाइदिएको छ । त्यो अवस्थामा त्यसको समेत सही मूल्याङ्कन गरेर देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । अब हाम्रा अगाडि यो बाहेक अन्य कुनै विकल्प छैन : या त हामीले उपर्युक्त परिस्थितिमा सही दिशा निर्देशन गरेर देशलाई अगाडि बढाउनुपर्दछ, अन्यथा देशमा गणतन्त्र र राष्ट्रियता सहित देश पूरै विनाशको बाटोमा जाने कुरा अवश्यमभावी छ ।
२. भाद्र २३ र २४ गतेको आन्दोलनलाई हामीले दुई बेग्लाबेग्लै कोणबाट मूल्याङ्कन गरेर हेर्नुपर्ने आवश्यकता छ । पहिलो दिनको आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध समेतका बिरुद्धको आन्दोलन थियो । त्यसकारण त्यो सही र न्यायपूर्ण दुवै थियो । तर त्यो दिन जेनजी युवाहरूमाथि जुन भिषण नरसंहार गरियो, त्यसलाई कुनैपनि अवस्थामा सही भन्न सकिन्न । तत्कालीन प्रधानमन्त्री ओलीले यो दाबी गरिरहेका छन् कि त्यो दिन गरिएको नरसंहारको लागि उनी वा उनको सरकार जिम्मेवार छैन । त्यो दिनको गोली काण्डमा प्राप्त भएका गोलीहरू पनि प्रहरीका थिएनन् । यो कुरालाई हामीले स्वीकार गर्दछौँ कि संसारका कैयौँ देशका आन्दोलनहरूमा घुसपैठियाहरूद्वारा त्यस प्रकारका षडयन्त्रमूलक कार्वाहीहरू हुने गरेका छन् । तर त्यस प्रकारको दाबीको पक्षमा ओलीले अहिलेसम्म कुनै आधार वा प्रमाण दिन सकेका छैनन् । आउने दिनमा त्यस प्रकारको कुनै आधार प्राप्त भएमा त्यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकतालाई हामीले अस्वीकार गर्दैनौँ । तर त्यस प्रकारको कुनै आधिकारिक जानकारीको अभावमा ओलीले जे भनेका छन्, त्यसलाई जस्ताको तस्तै लिनु सही हुने छैन । त्यो अवस्थामा त्यो दिन गरिएको गोलीकाण्डको लागि ओलीको सरकार नै जिम्मेवार भएको कुरालाई कुनै पनि अवस्थामा अस्वीकार गर्न सकिन्न र त्यसबारे उच्च र निष्पक्ष छानविन भएर दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । निश्चय नै, पछि त्यस प्रकारको गोलीकाण्ड घुसपैठियाहरूद्वारा गरिएको कुरा प्रमाणित भएमा उनीहरूमाथि पनि कारबाही हुनुपर्ने कुरालाई पन्छाउनु सही हुने छैन ।
३. भदौ २४ गते जुन घटनाहरू घटे, तिनीहरूको प्रकृति भदौ २३ गतेको आन्दोलनको प्रकृति भन्दा बिलकुल बेग्लै छ । त्यसबाट राजनीतिक महत्त्वका कैयौँ गम्भीर तथ्यहरू अगाडि आउँछन् । प्रथमत: भाद्र २४ गतेको आन्दोलन जेनजीहरूको आन्दोलन नै थिएन र त्यो दिनका सबै गतिविधिहरूलाई घुसपैठियाहरूले आˆनो हातमा लिएको कुरा घटनाक्रमबाट प्रस्ट हुन्छ । त्यो दिनका सबै घटनाक्रमहरूमाथि विचार गर्दा त्यो दिन पूरै नै घुसपैठियाहरूको नियन्त्रण भएको कुरामा कुनै शङ्का रहन्न । त्यो दिन देशव्यापी रूपमा तोडफोड, आगजनी वा ध्वंसात्मक कार्यहरू पनि भएका छन् । सिंहदरबार र सर्वोच्च अदालत जस्ता महत्त्वपूर्ण सरकारी अड्डाहरू जलाइएका छन् भने पुलिसका पनि करिब ४५० जति पुलिस स्टेसनमा तोडफोड गरिएको छ । विभिन्न जिल्लामा पनि विभिन्न सरकारी वा अड्डा अदालतमा तोडफोड गरिएको छ । विभिन्न राजनीतिक पार्टीका कैयौँ कार्यालयमा देशव्यापी रूपमा नै तोडफोड गरिएको छ । जसमध्ये राष्ट्रिय जनमोर्चाका, बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतका कार्यालयहरूमा तोडफोड गरिएको छ वा आग लगाइएको छ । विभिन्न राजनीतिक पार्टीका कार्यालयहरूमा पनि आगो लगाउने वा तोडफोड गर्ने कार्यहरू गरिएका छन् । कैयौँ पार्टीका शीर्षस्थ नेताहरूमाथि शारीरिक रूपले हिंसात्मक हमला गर्ने कार्य गरिएको छ, जसमध्ये एकजना शीर्षस्थ नेताको पत्नीलाई जलाउने प्रयत्न गरिएको छ । कैयौँ व्यवसायी प्रतिष्ठानहरूमा पनि तोडफोड वा आगजनी वा लुटपाट गर्ने कार्यहरू गरिएका छन् । जेनजीहरूको आन्दोलनको त्यस प्रकारको कुनै नीति वा कार्यक्रम थिएन । त्यसकारण त्यो दिनको गतिविधिका लागि उनीहरू जिम्मेवार नभएको कुरा प्रस्ट छ ।
४. अब यो प्रश्न अगाडि आउँछ : आखिर त्यो दिनको त्यस प्रकारको अवाञ्छित कारबाहीको लागिको जिम्मेवार थियो ? यो कुरा पनि प्रस्ट छ कि त्यो दिनको त्यस प्रकारको कारबाही अकस्मात् र स्वत:स्फूर्त रूपले भएको कारबाही थिएन । स्वत:स्फूर्त रूपले केही घन्टाभित्र देशभरि व्यापक रूपमा त्यस प्रकारका ध्वंसात्मक कार्यहरू हुनु सम्भव पनि थिएन र लामो तयारीपछि नै त्यस प्रकारका कारबाहीहरू भएको कुरा प्रस्ट छ । त्यो लामो छानबिन र अनुसन्धानपछि नै प्रस्ट हुने कुरा हो । के सरकारले त्यस प्रकारको कारबाही गरेका दोषीहरूलाई सजाय दिन सक्ला ? अन्यथा देशमा त्यस प्रकारका घटनाहरूको बारम्बार पुनरावृत्ति भइरहनेछ । अहिले जुन तत्त्वहरूले त्यस प्रकारका कार्यहरू गरे, उनीहरूद्वारा भविष्यमा पनि त्यस प्रकारका कार्यहरूको पुनरावृत्ति भइरहनेछ र त्यसबाट दीर्घकालीन रूपले नै धेरै क्षति पुग्ने छ । त्यसैले त्यसप्रति जनताको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा यो पनि गम्भीर प्रश्न अगाडि आएको छ, त्यस दिनको त्यस प्रकारको आगलागी, तोडफोड वा हिंसात्मक कार्यहरूलाई रोक्नका लागि प्रहरी र मुख्यत: सेनाद्वारा किन कुनै कारबाही गरिएन ? सेना सक्रिय भएपछि भाद्र २५देखि त्यस प्रकारका कारबाही बन्द भए । यदि सेनाले ध्यान दिएको भए २४ गते सिंहदरबार र सर्वोच्च अदालतलाई समेत बचाउन सकिन्थ्यो । सिंहदरबारमा आगलागी हुँदा कैयौँ ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्त्वका दस्ताबेजहरू ध्वस्त हुन गएका छन् भने सर्वोच्च अदालत र अन्य जिल्लाका अदालतहरूका मिसिलहरू जलाइदा विभिन्न गम्भीर प्रकारका अपराध सम्बन्धी मुद्दाहरूका मिसिलहरू समेत नष्ट भएका छन् । त्यसबाट यो कुराको अनुमान गर्न गाह्रो पर्दैन कि विभिन्न प्रकारका अपराधमा संलग्न वा थुनामा परेका व्यक्तिसित सम्बन्धित कागजपत्र नष्ट गर्नका लागि योजनाबद्ध प्रकारले सर्वोच्च अदालत वा विभिन्न जिल्लाका कागजपत्रहरू जलाउने काम गरिएको थियो । त्यस प्रकारको गतिविधिसँग जेन्जीहरूको कुनै संलग्नता नभएको कुरा प्रस्ट छ । त्यो अवस्थामा त्यस प्रकारका अपराधजन्य कारबाहीहरूबारे छानबिन गरेर दोषी व्यक्तिहरूलाई सजाय दिनु कति धेरै आवश्यक छ ? त्यो कुरा प्रस्ट छ ।
५. सामान्यत: वा प्रकट र बाहृय रूपले जेनजी आन्दोलन नयाँ युवाहरूको स्वत:स्फूर्त आन्दोलन हो । तर त्यो, त्यसको एउटा पक्ष मात्र हो । त्यो आन्दोलनका पछाडि कैयौँ गलत तत्त्वहरूले सुनियोजित प्रकारले काम गरिरहेका थिए । तिनीहरूमध्येे मुख्य भूमिका अमेरिकी साम्राज्यवादको नै रहेको छ । इण्डोप्यासिफिक क्षेत्रमा चीनका विरुद्ध घेराबन्दीका लागि त्यसले इण्डोप्यासिफिक रणनीति वा घेराबन्दीकाअन्तर्गत योजनाबद्ध प्रकारले काम गरिरहेको छ । त्यही रणनीति पूरा गर्न नै त्यसले एमसीसीलाई पनि अगाडि ल्याएको छ र त्यसमा नेपाललाई पनि सामेल गरिएको छ । तिब्बतलाई अमेरिकाले चीनको नै अङ्ग भएको स्वीकार गर्दछ । तर त्यहाँ दलाई लामालाई पुनस्र्थापना गर्नु पनि त्यसको रणनीतिको उद्देश्य हो । त्यो उद्देश्य पूरा गर्न तिब्बतमाथि आक्रमण गर्नु आवश्यक हुने छ र त्यसका लागि अमेरिकालाई नेपाललाई युद्धभूमि बनाउनु आवश्यक हुने छ । त्यो कार्य पूरा गर्न त्यसलाई नेपालमा पूरै नै अमेरिकाको निर्देशनमा चल्ने सरकारको आवश्यकता हुने छ । नेपालका अहिलेसम्मका सरकारहरूले एमसीसी समेतलाई पारित गरेर अमेरिकापरस्त नीति अपनाएका भएपनि उनीहरूले अर्कातिर चीनसित पनि मैत्रीपूर्ण नीति अपनाउने गरेका छन् । त्यसैले अमेरिकाले पुराना सरकारहरूलाई अपदस्त गराएर पूरै नै अमेरिकाको निर्देशनमा चल्ने सरकारहरू कायम गर्न चाहन्छ । त्यसैको लागि पहिले कथित स्वतन्त्र पार्टीको गठन गरिएको थियो । त्यही उद्देश्य पूरा गर्न अहिले जेनजी आन्दोलनलाई पनि उपयोग गर्ने प्रयत्न गरिएको छ । त्यसरी मूल रूपमा अहिलेको जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित आन्दोलन हो । कैयौँ ठोस् प्रमाणहरूद्वारा त्यो कुरा पुष्टि पनि भएको छ । त्यसको सबैभन्दा पहिलो र ठोस प्रमाण त यो हो कि दलाई लामाले अहिलेको अन्तरिम सरकारलाई शुभकामना दिएका छन्, जब कि यस भन्दा पहिले कुनै सरकारलाई उनले त्यसरी शुभकामना दिएका थिएनन् । खुला प्रकारले नै ‘स्वतन्त्र तिब्बत’को आन्दोलनलाई समर्थन गरिरहेका कतिपय तत्त्वहरूले जेनजी आन्दोलनलाई आफूले नै नेतृत्व गरेको दाबी गरिरहेका छन् । त्यो जेनजी आन्दोलनको दौरानमा ‘टीओबी’ बिल्ला लगाएका कतिपय ग्रुपहरू पनि खुला प्रकारले नै सक्रिय भएका थिए । अमेरिकी एम्बेसीद्वारा सञ्चालित हजारौँ नेपाली युवाहरू पनि त्यो आन्दोलनमा सक्रिय भएका थिए । त्यसरी अहिलेको जेनजी आन्दोलन मुख्य रूपले अमेरिकी साम्राज्यवादद्वारा नै सञ्चालित भएको कुरा दिनको उज्यालो झँै प्रस्ट छ । अमेरिकाले कैयौँ देशमा त्यसरी जेनजीहरूलाई सञ्चालन गर्ने गरेको छ र त्यही सिलसिला अहिले नेपालमा पनि देखापरेको छ ।
६. नेपालको जेनजी आन्दोलनमा मुख्य भूमिका अमेरिकाको नै रहेको छ । तर, त्यसका साथै अन्य कतिपय देशी वा विदेशी पक्षहरूले पनि त्यसलाई आˆना स्वार्थका पक्षमा उपयोग गर्ने प्रयत्न गरेका छन्, जसमा भारतीय साम्राज्यवाद, नेपालका राजावादीहरू र अन्य कतिपय राजनीतिक पक्षहरू पनि आउँछन् । त्यो बाहेक असामाजिक र अपराधिक तत्त्वहरूको पनि त्यो आन्दोलनमा ठुलो पैमानामा घुसपैठ भएको पाइन्छ । भारतले बल्लबभाइ पटेलको समयदेखि नै नेपाललाई भारतमा सामेल गराउने नीति अपनाउँदै आएको छ र अहिले मोदी सरकारले पनि पटेलको त्यही नीतिलाई अगाडि बढाउन प्रयत्न गरिरहेको छ । त्यसले राजावादीहरूलाई अगाडि सारेर नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छ र त्यसका लागि नेपालका राजावादीहरूलाई अगाडि बढाउने प्रयत्न गरिरहेको छ । पूर्व राजा ज्ञानेन्द्रको गोरखपुरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसितको भेटघाट, त्यसपछि उनको बढेको सक्रियता र उनको स्वागत कार्यक्रममा आदित्यनाथको फोटाको प्रदर्शन समेतबाट अहिलेको राजावादीहरूको आन्दोलनका पछाडि भारतका कट्टर हिन्दुवादीहरूको हात रहेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसरी नेपालको गणतन्त्र वा धर्मनिरपेक्षताका विरुद्ध भारतका कट्टर हिन्दुवादी शासक वर्ग र नेपालका राजावादीहरू एउटै पङ्क्तिमा उभिएको कुरामा कुनै शङ्का रहन्न । उनीहरूको त्यस प्रकारको खुला र छद्म गठबन्धन नेपालको गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता समेतका लागि गम्भीर प्रकारको खतरा हो । नेपालका अन्य कतिपय राजनीतिक शक्तिहरूले पनि जेनजी आन्दोलनबाट फाइदा उठाउन खुला वा छद्म प्रकारले त्यसमा सामेल भएको कुराहरूका कैयौँ उदाहरण पनि अगाडि आएका छन् ।
७. नेपालको राजनीतिक इतिहासमा जेनजीहरूको लामो र गौरवपूर्ण भूमिका रहेको छ । जेनजी भन्नाले सामान्यत: १३देखि २८ वर्ष सम्मका युवाहरूलाई नै भन्ने गरिन्छ । पहिले त्यो शब्दको प्रयोग नगरिएको भएपनि त्यो शब्दले सबै युवा वा विद्यार्थीहरूलाई बताउँछ । नेपालमा निरङ्कुश राणा शासन, पञ्चायती तानाशाही शासन, राजतन्त्र, बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै प्रकारले देखापरेका प्रतिगमन, देशमा बेग्लाबेग्लै समयमा हुने विदेशी हस्तक्षेप र अतिक्रमण समेतका विरुद्धको आन्दोलनमा युवाहरूको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । नेपालको वामपन्थी वा प्रजातान्त्रिक आन्दोलनका कैयौँ शीर्षस्थ नेताहरूले पनि जेनजी उमेरको कालमा नै विभिन्न पार्टी र आन्दोलनहरूमा प्रवेश गरेका थिए र जीवनभरि नै कैयौँ जेल, नेल, भूमिगत जीवन समेतको सामना गर्दै आएका थिए । नेपालका धेरैजसो सहिदहरू पनि त्यही कालमा नै सहिद भएका थिए । नेपालको भविष्य पनि अन्तत: जेनजीहरूमाथि नै निर्भर छ । तर उनीहरूले त्यस प्रकारको सकारात्मक भूमिका त्यो बेला नै खेल्न सक्छन्, जब उनीहरू उच्च प्रकारको दर्शन, सिद्धान्त, नीति, कार्यक्रम वा देश र जनताको सेवाको भावनाद्वारा निर्देशित हुन्छन् । त्यसको लागि उनीहरू लामो अनुभव र परीक्षाका बिचबाट खारिनुपर्ने आवश्यकता हुन्छ । त्यसपछि नै आˆनो सिद्धान्त वा देश र जनताको सेवाको लागि उनीहरू कहाँसम्म इमानदार, दृढ र टिकाउ छन् भन्ने कुरा थाहा हुन्छ । एकाध दिन, एकाध महिना, एकाध वर्ष वा एकाध दशकको कार्यद्वारा नै कसैको विषयमा ऊ कहाँसम्म देश र जनताको नेतृत्वका लागि योग्य वा विश्वासी छ भन्ने कुराको निक्र्याेल गर्न मुस्किल पर्दछ । खाली जेनजी उमेरले नै सबै कुराको फैसला गर्दैन । विभिन्न प्रकारका असामाजिक, अपराधजन्य वा भ्रष्ट कार्यहरूमा लगाएका लाखौँ युवकहरूका उदाहरणहरू पनि हाम्रा अगाडि छन् । खाली जेनजी उमेरका कारणले नै कुनै व्यक्ति वा समूह महत्त्वपूर्ण राजनीतिक आन्दोलन वा देशको नेतृत्व गर्न समर्थ हुँदैन भन्ने कुरा अहिलेको जेनजी आन्दोलनको अनुभवबाट पनि प्रस्ट भएको छ । उनीहरूमा हुने सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन नहुनुको परिणाम नै थियो कि उनीहरूको आन्दोलनभित्र गलत तत्त्वहरू ठुलो पैमानामा घुक्ष्सपैठ गर्न सफल भए र उनीहरू त्यस प्रकारको घुक्ष्सपैठलाई रोक्न असफल भए ।
८. जेनजी आन्दोलनको दौरानमा लाखौँ युवाहरू सडकमा उत्रिए । तर त्यो असङ्गठित समूह थियो । उनीहरूभित्र दर्जनौँ गु्रपहरू थिए । अहिले उनीहरूका कैयौँ गु्रप देखापर्न थालेका छन् र उनीहरूको बिचमा कैयौँ मत मतान्तरहरू पनि देखा परिरहेका छन् । तर जेनजी आन्दोलनको दौरानमा उनीहरूको कुनै एउटा पनि गु्रप भएको थियो भन्न मुस्किल पर्दछ । त्यो अवस्थामा उनीहरूद्वारा आन्दोलनलाई कुनै दिशा निर्देशन दिनु सम्भव थिएन र भएन पनि र भविष्यमा पनि कुनै असङ्गठित भीडद्वारा कुनै आन्दोलनलाई सही दिशा निर्देशन दिनु कहिल्यै पनि सम्भव नहुने कुरा प्रस्ट छ । संसारको कुनै देशमा त्यस्तो भएको छैन र नेपालमा पनि त्यस्तो सम्भव हुने छैन । त्यो अवस्थामा खाली अराजकताको स्थितिको मात्र सिर्जना हुन सक्दछ । अहिले देशमा बनेको अन्तरिम सरकारलाई जेनजीहरूको सरकार भन्ने गरिन्छ । तर त्यसबारे स्वयम् जेनजीहरूमा मतैक्यता पाइँदैन । कतिपय जेनजीहरूले यो सरकारलाई आˆनो बताउँछन् भने कतिपयले त्यसको विरोध पनि गरिरहेका छन् । सरकारमा पनि साम्राज्यवादसित सम्बन्धित विभिन्न एनजीओ, आइएनजीओहरू संलग्न व्यक्तिहरूको नै प्रमुखता देखिन्छ । कतिपय अमेरिका वा तिब्बतसित जोडिएका व्यक्तिहरूले नै प्रधानमन्त्री वा विभिन्न मन्त्रीहरूको मनोनयन वा तिनीहरूको हेरफेरमा खुला रूपले भूमिका खेलेको पनि देखिन्छ । राजनीतिक दृष्टिकोणले जेनजीहरूको हुन ? त्यो कुरा पनि प्रस्ट छैन । उनीहरूले बेग्लाबेग्लै पार्टीहरू बनाउने कुराहरू पनि गर्दछन् । तर त्यस्ता पार्टीहरूको नीति, कार्यक्रम वा नेतृत्वबारे उनीहरूमा कुनै स्पष्टता पाइँदैन, वा भनौँ, उनीहरूमा अन्यौलता नै पाइन्छ । वास्तवमा उनीहरूले बेग्लाबेग्लै राजनीतिक शक्तिहरूका नीति वा नाराहरूलाई नै बाकेर हिडेको पनि देखिन्छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो अवस्थामा उनीहरूको गतिविधिबाट देशमा बढी राजनीतक अस्थिरता, अन्योल वा अराजकताको स्थिति नै देखा पर्दै जानेछ । जुन देशहरूमा जेनजीहरूका आन्दोलनहरू चलेका छन्, त्यहाँ देशको राजनीतिमा कुनै स्थिरता आउनुको सट्टा अन्योल वा अराजकको स्थिति नै देखापर्ने गरेको छ । त्यो अवस्थामा यो कुराप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ : हाम्रो देश त्यही प्रकारको राजनीतिक अस्थिरता अन्योल र अराजकताको स्थितिमा त गइरहेको छैन ? कुनै देशी वा विदेशी शक्तिहरूले नेपाललाई त्यसरी असफल राष्ट्रको अवस्थामा पुर्‍याएर आˆना स्वार्थहरू पूरा गर्ने प्रयत्न त गरिरहेका छैनन् ? त्यसप्रति सबै चेतनशील र प्रबुद्ध जनमत समूहहरूको ध्यान जानु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ र त्यसले नै देशको भविष्यलाई पनि निर्धारित गर्ने छ ।
९. जेनजी आन्दोलन र अन्तरिम सरकारको गठनपछि त्यो सरकारले उठाएको सबैभन्दा महत्त्वपूर्ण कदम थियो : प्रतिनिधि सभाको विघटन । बताइरहनुपर्ने आवश्यकता छैन कि प्रतिनिधि सभा वा सांसद बहुदलीय व्यवस्थाको मुटु हो र प्रतिक्रियावादी शक्तिहरू, मुख्य रूपले राजावादीहरू सँधै त्यसका विरुद्ध उभिदै आएका छन् । यो आश्चर्यको कुरा हो कि जेनजी आन्दोलनको पहिलो शिकार प्रतिनिधि सभा नै बन्यो । त्यो अवस्थामा यो पनि प्रश्न उठाउने ठाउँ छ, जुन व्यक्तिहरूले पर्दाभित्रबाट जेनजी आन्दोलनको सञ्चालन गरिरहेका थिए, कहीँ उनीहरूको दरबारसित नै निकट सम्बन्ध ता थिएन ? र दरबारको अभिलाषा पूरा गर्न नै उनीहरूले सांसदको विघटनमा मुख्य जोड त दिएका थिएनन् । संसदको विघटनपछि दुईवटा कुराहरू अगाडि आएका छन् । पहिलो, विघटित संसदको पुनस्र्थापनाको लागि आवाज उठ्ने गरेको छ । दोस्रो, संसदको चुनावका लागि तयारी अगाडि बढिरहेको छ । सर्वप्रथमत: संसदको विघटन नै असंवैधानिक हो र त्यसको पुनस्र्थापनाको मागलाई कुनै पनि अवस्थामा गलत भन्न सकिन्न । अर्कातिर, त्यो मुद्दा अहिले सर्वाेच्च अदालतमा छ र त्यसले संसदको पुनस्र्थापना गर्दछ भने त्यसलाई स्वागत नै गर्नुपर्ने छ । अर्कातिर, चुनाव हुन्छ भने पनि त्यसलाई बहिष्कार गर्नु सही हुने छैन । अन्तत:, संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान सम्भव छैन । त्यसका लागि नयाँ जनवादी क्रान्ति र त्यसपछि समाजवादी व्यवस्थातिर जानु आवश्यक छ । तर त्यो एउटा दीर्घकालिन प्रक्रिया हो । संसदीय प्रणालीमा कैयौँ कमजोरी भएता पनि कुनै निरङ्कुश वा तानाशाही व्यवस्थाका तुलनामा त्यो प्रगतिशील व्यवस्था हो । खासगरेर अहिले प्रतिक्रियावादीहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समेत समाप्त गर्न र देशमा राजतन्त्रको पुनस्र्थापना गर्नको लागि अभियान चलाइरहेको अवस्थामा गणतन्त्र वा बहुदलीय व्यवस्थाको रक्षा तात्कालिक दृष्टिकोणले राष्ट्रिय आवश्यकता हो । त्यसैले विघटित संसदको पुनस्र्थापना वा नयाँ चुनाव – दुवै अवस्थामा बहुदलीय व्यवस्थाको रक्षा वा उपयोग अहिलेको लागि सही नीति हुने कुरा प्रस्ट छ ।
१०. चुनावको सन्दर्भमा उठिरहेका कैयौँ प्रश्नप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । चुनावको सन्दर्भमा कतिपय पक्षहरूले जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखको चुनावमा जोड दिइरहेका छन् र त्यो चुनाव नभएमा चुनावको विरोध गर्ने कुरा गरिरहेका छन् । अहिले त्यस प्रकारको सोचाइ जेनजी आन्दोलनको सन्दर्भमा अगाडि आइरहेको भएपनि त्यो, संविधानको निर्माणको बेलादेखि नै कतिपय पक्षहरूले उठाउँदै आएको बासी नारा हो । नेपाल जस्तो प्रजातान्त्रिक अभ्यास कम भएको देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीले देशलाई अधिनायकवादतिर नै लैजाने छ । त्यस प्रकारको व्यक्ति प्रमुख प्रणालीबाट साम्राज्यवादी शक्तिहरूलाई पनि नेपालमा आˆना स्वार्थहरू पूरा गर्नको लागि बढी सजिलो हुने छ । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणाली कुनै पनि अवस्थामा कुनै पनि प्रकारले देशको हितमा नहुने भएको हुनाले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ । चुनावको सन्दर्भमा वर्तमान संविधानलाई खारेज गरेर त्यसलाई पुनर्लेखन गर्ने कुरा पनि जोडले उठ्ने गरेको छ । यहाँसम्म कि कतिपय पक्षहरूले त्यसलाई चुनावको पूर्व सर्तको रूपमा पनि प्रस्तुत गर्ने गरेका छन् र त्यो सर्त पूरा नगरेसम्म चुनाव नहुने कुरा पनि गरिरहेका छन् । राजावादी, क्षेत्रीयतावादी वा जातिवादीहरूको सुरुदेखि नै अहिलेको संविधानप्रति विरोध रहेको छ र उनीहरूले त्यसलाई खारेज गर्ने वा पुनर्लेखन गर्ने कुरामा जोड दिँदै आएका छन् । कतिपय वामपन्थी शक्तिहरूले पनि, निश्चय नै क्रान्तिकारी कोणबाट, त्यसप्रति आˆनो विरोध जनाउँदै आएका छन् । अहिलेको संविधान अवश्य पनि सर्वमान्य छैन । त्यसमा समावेश गरिएको सङ्घीयताले पनि देशमा अनावश्यक आर्थिक बोझ बढाउने, विकासलाई कुण्ठित गर्ने, तथा राष्ट्रिय विखण्डन र जातीय बैमनस्यता बढाएर लैजाने नै बढी सम्भावना छ । त्यो अवस्थामा सङ्घीयतालाई खारेज गर्नका लागि लगातार पहलकदमी गर्नुपर्ने आवश्यकता छ । तैपनि गणतन्त्र, धर्मनिरपेक्षता र मौलिक अधिकार संविधानका महत्त्वपूर्ण र सकारात्मक विशेषताहरू हुन् । प्रतिक्रियावादी र क्षेत्रीयतावादी तत्त्वहरूले सुरुदेखि नै तिनीहरूको विरोध गर्दै आएका छन् र, त्यसैले, अहिले पनि उनीहरूले विद्यमान संविधानलाई खारेज गर्ने वा पनुर्लेखन गर्ने कुरामा जोड दिँदै आएका छन् । संविधान नेपालको प्रजातान्त्रिक आन्दोलनको अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो र त्यसका लागि नेपाली जनताले करिब ६ दशक लामो अवधिसम्म सङ्घर्ष गरेका छन् र २÷२ पल्टको संविधान सभाको चुनावपछि नै वर्तमान संविधानको निर्माण भएको हो । त्यसकारण त्यसलाई खारेज गर्ने जस्ता कुराबाट जनताले त्यसलाई गरेको लामो सङ्घर्ष वा त्याग र वलिदानको अवमूल्यन हुन जानेछ । त्यसैले संविधानलाई खारेज गर्ने जस्तो कुनै पनि कुरा पूरै गलत छ र त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ । देशमा नयाँ जनवादी वा समाजवादी क्रान्तिको अवस्थामा अवश्य पनि वर्तमान संविधानलाई खारेज गरेर नयाँ संविधानको निर्माण गर्नुपर्ने छ । तर तत्काल त्यस प्रकारको स्थिति उत्पन्न भएको छैन र त्यसका लागि अझै लामो सङ्घर्षका बिचबाट जानु पर्ने छ ।
११. अहिलेको संसारमा कुनै पनि देशको राजनीतिक गतिविीि वा आन्दोलन विशुद्ध रूपले राष्ट्रिय हुँदैन र त्यसमा अन्तर्राष्ट्रिय शक्तिहरूको पनि ठुलो चलखेल वा घुसपैठ हुन्छ । अहिलेको हाम्रो देशको राजनीति पनि त्यसबाट अपवाद छैन । देशको राजनीति मात्र होइन, प्रशासन, सुरक्षा आदि सबै क्षेत्रमा उनीहरूको घुसपैठ हुने गरेको कुरा आम रूपमा थाहा भएको कुरा हो । उनीहरूको त्यस प्रकारको रणनीतिको एउटा कडीको रूपमा जेनजी आन्दोलन पनि अगाडि आएको छ । त्यो आन्दोलनको दौरानमा देशमा जुन ठुलो पैमानामा ध्वंसात्मक कार्यहरू गरियो, त्यसका पछाडि नेपाललाई असफल राष्ट्र बनाउने साम्राज्यवादीहरूको, खास गरेर सीआईए र रअ को, रणनीतिले काम गरेको कुराको पनि अनुमान गर्न सकिन्छ । त्यसका साथै अहिलेको दक्षिणपूर्वी र दक्षिण एसियाको महत्त्वपूर्ण भू–राजनीतिक स्थितिमा, खास गरेर अमेरिका र चीनका बिचमा बढिरहेको अन्तर्विरोध वा द्वन्द्वको पृष्ठभूमिमा नेपालको विशेष रणनीतिक महत्त्व भएको कुरा प्रस्ट छ । त्यो अवस्थामा नेपाललाई विभिन्न साम्राज्यवादी देशहरूले आˆनो प्रकारले उपयोग गर्न योजनाबद्ध प्रकारले कामगर्ने कुरा निश्चित छ । त्यसरी नेपाल विभिन्न साम्राज्यवादी देशहरूको एउटा क्रिडास्थल नै बनेको छ भने पनि सायद अप्रासङ्गिक हुने छैन । साम्राज्यवाद खाली सैनिक वा आर्थिक रूपमा मात्र आउने गर्दैन त्यसले धर्म, सस्कृति, शिक्षा, साहित्य, मनोविज्ञान आदिका क्षेत्रमा पनि प्रवेश गरेर नेपालमा आˆनो प्रभुत्व कायम गर्ने वा सम्पूर्ण नेपाली जनतालाई आˆनो साम्राज्यवादी रणनीतिको पक्षमा उपयोग गर्ने पनि प्रयत्न गर्दछ र हाम्रो देशमा त्यो कार्य खुला वा छद्म रूपमा ठुलो पैमानामा भइरहेको पनि छ । नेपालमा बिचबिचमा देखापर्ने कैयाँै घटनाहरूबाट त्यस प्रकारको साम्राज्यवादी सञ्जालका कैयौँ उदाहरण प्रकट रूपमा पनि देखापर्ने गरेका छन् । त्यसकारण हामीले हाम्रो देशभित्रका राजनीतिक गतिविधिहरूलाई, जसभित्र जेनजी आन्दोलन पनि आउँछ, त्यस प्रकारको अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा पनि हेर्ने र बुझ्ने प्रयत्न गर्नुपर्दछ ।
१२. संसारका विभिन्न देशहरूमा भएका तनाव वा युद्धहरूले पनि हाम्रो देशलाई एक वा अर्काे प्रकारले प्रभावित गरिरहन्छन् । आज संसारका कैयौँ भागमा युद्धको स्थिति बढ्दै गइरहेको छ र तिनीहरूको परिणामस्वरूप तेस्रो विश्वयुद्धको रूप लिने खतरा पनि बढ्दै गइरहेको छ । यदि आजको युगमा कुनै विश्वयुद्ध हुन्छ भने, प्रथम, प्रथम र द्वितीय विश्वयुद्धको बेलामा जस्तै तिनीहरू मुख्य रूपले युरोपसम्म मात्र नै सीमित रहने छैनन् र त्यो संसारभरमा फैलिने सम्भावना रहनेछ । द्वितीय, त्यसले आणविक युद्धको रूप लिने सम्भावना पनि अत्यधिक छ । आणविक युद्धको अर्थ हुने छ, सम्पूर्ण मानव जातिको विनाश । आज सारा संसार त्यस प्रकारको विष्फोटक खतराको मुखमा उभिएको छ । त्यस प्रकारको भयानक स्थितिको मुख्य स्रोत साम्राज्यवाद नै हो । त्यो अवस्थामा हामीले कुनै पनि देशमा हुने साम्राज्यवादीहरूको गतिविधिलाई अन्तर्राष्ट्रिय सन्दर्भमा, अर्थात साम्राज्यवादको विश्वव्यापी गतिविधिका सन्दर्भमा, नै हेर्नुपर्दछ । आजको संसारको मुख्य समस्या भनेको, एकातिर, युद्धको खतरा र, अर्कातिर, विश्व शान्तिको प्रश्न हो । ती प्रश्नहरू स्वयम् हाम्रो देश र हाम्रो जीवनसित पनि जोडिएका छन् । त्यसकारण हामीले युद्धको विरोध वा शान्तिको रक्षाको प्रश्नलाई हाम्रो पनि जिम्मेवारीको रूपमा लिनुपर्दछ र युद्धको विरोध र शान्तिको रक्षाको लागि बढी भन्दा बढी आवाज उठाउनु वा योगदान दिनु हाम्रो पनि अन्तर्राष्ट्रिय कर्तव्य बन्न जान्छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

पार्टी गतिविधि

Translate »
Scroll to Top