Nepal communist party

प्रेस वक्तव्य (२०८१ जेष्ठ ३२ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

१. ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भएको छ । त्यसले देशको राजनीतिक स्थितिको मूल्याङ्कन गरेर तात्कालिक नीति र कार्यक्रम सम्बन्धी कतिपय निर्णयहरू गर्नुका साथै सङ्गठनात्मक विषयमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

२. पार्टीको २०८० सालको चैत्रको अन्त्यतिर सम्पन्न भएको महाधिवेशनपछिको त्यो केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक थियो । हाम्रो पार्टीले २०८० वैशाख १८देखि २०८१ को वैशाख १९ गतेसम्म “ऐतिहासिक तीन अभियान” सञ्चालन गरेको थियो । त्यसको मुख्य उद्देश्य पार्टीमा क्रान्तिकारी रूपान्तरण गर्नु थियो । त्यही प्रकारको पृष्ठभूमिमा हाम्रो पार्टीको नवौँ महाधिवेशन सम्पन्न भएको थियो । त्यो महाधिवेशन लगत्तै पछि भएको केन्द्रीय समितिको बैठक मुख्यतः तात्कालिक औपचारिक निर्णयहरू गर्नुसम्म नै सीमित भएको थियो । तर अहिलेको बैठकको मुख्य जिम्मेवारी “ऐतिहासिक तीन अभियान”को पृष्ठभूमि तथा नवौँ महाधिवेशनको निर्देशनमा पार्टीमा क्रान्तिकारी रूपान्तरणका लागि ठोस निर्णयहरू गर्नु नै थियो । निश्चय नै, एउटै केन्द्रीय समितिका निर्णयहरूद्वारा पार्टीमा क्रान्तिकारी रूपान्तरणको उद्देश्य पुरा हुन सक्दैन । त्यही पनि अहिलेको बैठकले त्यसका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ र तिनीहरूद्वारा क्रान्तिकारी रूपान्तरणको दिशामा कमसेकम प्रारम्भिक आधार तयार भएको छ भन्ने हामीले आशा र विश्वास गरेका छौँ । बैठकले तत्कालीन राजनीतिक प्रस्ताव पारित गरेको छ । त्यसलाई बेग्लै प्रकाशित गरिनेछ ।

३. केन्द्रीय समितिले नयाँ जनवादी क्रान्तिको लागि आधार र परिस्थिति तयार पार्नको लागि प्रयत्न गर्दै तत्कालका लागि मुख्य रूपले महान् जनआन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिगमनका विरुद्धको सङ्घर्ष तथा राष्ट्रियताको रक्षाका लागि साम्राज्यवादका विरुद्धको सङ्घर्षमा जोड दिने कार्यनीति बनाएको छ । त्यसका साथै सङ्घीयता विरुद्धको सङ्घर्षलाई पनि लगातार अगाडि बढाउने निर्णय गरेको छ ।

४. देशमा प्रतिगमनको खतरा धेरै नै बढेर गएको छ । एकातिर, २०४६ सालपछि सत्तामा आएका राजनीतिक दलहरूका गलत प्रकारका नीति र क्रियाकलाप तथा, अर्कातिर, प्रतिगमनप्रतिको उनीहरूको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीतिहरूका कारणले प्रतिगामी शक्तिहरूलाई आफ्नो स्थिति मजबुत पार्ने अवसर प्राप्त भएको छ । त्यही कुरा एक वा अर्को प्रकारले साम्राज्यवादी शक्तिहरूबारे पनि सत्य हो । पहिलेको भारतीय विस्तारवादले अब साम्राज्यवादको चरणमा प्रवेश गरेको छ । नेपालका धेरैजसो राजनीतिक शक्तिहरूले भारतीय विस्तारवाद भएको कुरालाई पनि स्वीकार्दैनन भने कतिपय वामपन्थी शक्तिहरूले त्यसलाई विस्तारवादीको रूपमा स्वीकार गरे पनि अहिले त्यसले साम्राज्यवादी चरणमा प्रवेश गरेको वास्तविकतालाई स्वीकार गर्न सकेका छैनन् । देशका कैयौँ राजनीतिक शक्तिहरूले आफ्नो सत्ता बचाउन वा प्राप्त गर्नको लागि भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाउने गरेका छन् ।

५. अमेरिकी साम्राज्यवादको बढिरहेको खतराप्रति पनि ने.क.पा. (मसाल) बाहेक देशका सबैजसो राजनीतिक शक्तिहरूले स्पष्ट र दृढ नीति अपनाउन सकेका छैनन् । अमेरिकी साम्राज्यवादले एमसीसीलाई संसदमा पारित गराउन तथा एसपीपीबारे सरकारसित सम्झौता गर्न ता सफल नै भएको छ । यद्यपि सरकारले त्यो सम्झौतालाई कार्यान्वयन गर्न तयार नभएको कुरा अमेरिकालाई लेखेर पठाएको छ । अब अमेरिकाले नेपालको संसद र सरकारलाई समेत आफ्नो प्रत्यक्ष प्रभुत्वमा ल्याउनको लागि योजनाबद्ध प्रकारले काम गरिरहेको छ र कथित स्वतन्त्र पार्टी त्यही योजनाको एउटा कडी हो । अमेरिकी दबाबको नै परिणाम थियो कि पहिले नेपालको नागरिकता समेत नभएको व्यक्तिलाई नेपालको सरकारको उपप्रधानमन्त्री र गृहमन्त्री बनाइएको थियो । अहिले सहकारीको अरबौँ रुपैयाँ अपचलन गरेको व्यक्तिलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाइएको छ । त्यसको परिणामस्वरूप सरकारी हिनामिनाको छानविन वा कारबाही गर्ने काममा पनि अवरोध पुगेको छ । त्यस प्रकारको गृहमन्त्रीको नेतृत्वमा काम गर्दा प्रशासन र पुलिसको समेत प्रतिष्ठामा धेरै नै आँच पुगेको छ ।

६. त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि ठुलो पैमानाको सहकारी रकमको हिनामिना गरेको व्यक्तिलाई गृहमन्त्री बनाउने काम मात्र गरिएको छैन, त्यस प्रकारका अपराधजन्य कामको लागि जिम्मेवार व्यक्तिको संरक्षणको लागि राज्यले आफ्नो पुरा शक्ति लगाएको छ । यो दुःखको कुरा हो कि अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी तथा षड्यन्त्रकारी भूमिकाका विरुद्ध देशका कुनै राजनीतिक शक्तिहरूले स्पष्ट दृष्टिकोण अपनाउन सकेका छैनन् र ने.क.पा. (मसाल) ले त्यो सङ्घर्षलाई अगाडि बढाउन परिरहेको छ । तर हामीलाई विश्वास छ, जनताले त्यो वास्तविकतालाई बुझ्दै जानेछन र देशमा अमेरिकी साम्राज्यवादका विरुद्ध शक्तिशाली आन्दोलन उठ्नेछ । यस सन्दर्भमा यो कुरा पनि स्पष्ट छ कि या त हामीले अमेरिकी साम्राज्यवादका विरुद्ध शक्तिशाली आन्दोलन उठाउनु पर्ने छ वा देशमा अमेरिकी साम्राज्यवादको प्रभुत्व कायम हुने छ ।

७. सहकारीको अरबौँ रुपैयाँको अपचलन अहिले देशको गम्भीर राष्ट्रिय प्रश्न बनेको छ । सरकार, खास गरेर एमाले र माओवादी सहकारी अपचलनमा दोषी व्यक्तिको संरक्षण गर्नका लागि नाङ्गो प्रकारले लागेका छन् । त्यसरी उनीहरूको राजनीतिक चरित्रमा कहिल्यै नमेटिने गरी ठुलो दाग लागेको छ । यो अत्यन्तै दुःखको कुरा हो कि त्यसरी लाखौँ जनताको रकम हिनामिना गर्ने व्यक्ति वा त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने राजनीतिक सङ्गठनहरूलाई अहिले पनि जनताको ठुलो समर्थन प्राप्त छ । उनीहरूले आगामी चुनावमा पुनः जनताबाट ठुलो सङ्ख्यामा मत प्राप्त गरेर सत्तामा आउने योजनाअन्तर्गत काम गरिरहेका छन् । त्यसकारण हामीले सहकारी सम्बन्धी अपचलन र राज्यद्वारा त्यसको संरक्षणका विरुद्ध जोडदार रूपले आवाज उठाउँदै त्यस प्रकारका तत्त्वहरूका विरुद्ध जनचेतना उठाउन पनि प्रयत्न गर्नुपर्दछ ।

८. यस प्रसङ्गमा केही दिन पहिले प्रधानमन्त्री प्रचण्ड पोखरा गएको बेलामा सहकारी पीडितहरूले उनका विरुद्ध प्रदर्शन गरेर उनलाई कालो झण्डा पनि देखाएका थिए । जनताको त्यो आक्रोश न्यायपूर्ण छ र हामीले त्यसलाई स्वागत गर्दछौँ । तर त्यसरी आफूमाथि भएको अपचलनका विरुद्ध सडकमा उत्रिएका जनतामाथि प्रहरीले लाठिचार्ज गर्ने तथा कैयौँ प्रदर्शनकारीलाई गिरफ्तार गर्ने समेत काम गरेका थिए । त्यस प्रकारको दमनको हाम्रो पार्टीले कडा शब्दमा भ्रत्र्सना र विरोध समेत गर्दछ । हामीले सरकारलाई यो चेतावनी दिन चाहन्छौँ कि यदि सहकारी रकमको अपचलन गर्ने व्यक्तिका विरुद्ध कारबाही गरिएन र सरकारले त्यस प्रकारको ठगीमा संलग्न व्यक्तिहरूका विरुद्ध समयमा नै न्यायोचित कारबाही गरेन भने जनताको त्यो आक्रोशले अरू उग्र र व्यापक रूप लिँदै जाने कुरा निश्चित छ ।

९. २०८४ मा आगामी आम चुनाव हुने कुरा छ । तर केपी शर्मा ओलीले त्यो भन्दा पहिले नै संसदलाई विघटन गराएर देशलाईमध्येावधि चुनावतिर लैजाने योजनाअन्तर्गत काम गरिरहेको देखिन्छ । जुनसुकै रूपमा चुनाव भएपनि हामीले आफूलाई चुनावको लागि तयार गर्दै लैजानुपर्दछ । त्यस विषयमा सबैभन्दा महत्त्वपूर्ण आवश्यकता यो हो कि हामीले सङ्गठनात्मक विस्तार र सुदृढिकरण तथा जनआधारको निर्माणको लागि विशेष पहलकदमी गर्नुपर्दछ । द्वितीय, अहिलेको बदलिएको परिस्थितिमा गठबन्धन वा चुनावी तालमेलप्रति हामीले वस्तुपरक दृष्टिकोण अपनाउनुपर्दछ । प्रतिगमनको खतरा बढेको हुनाले अहिले पनि त्यसका विरुद्ध गठबन्धनको आवश्यकता छ भन्ने हाम्रो ठहर छ । तर पहिले प्रतिगमनका विरुद्ध बनेको गठबन्धनमा समावेश भएका विभिन्न पक्षहरूले गलत प्रकारको कार्यप्रणाली अपनाउने गरेको हुनाले आगामी चुनावको समयमा पनि गठबन्धन वा चुनावी तालमेलको सम्भावना अत्यन्त कम देखिएको छ । त्यो अवस्थामा हामीले एक्लै पनि चुनावमा जाने किसिमले तयारी गर्दै जानुपर्दछ । यद्यपि स्थानीय स्तरमा कतै त्यस प्रकारको सम्भावना देखिएमा त्यसलाई सन्तुलित प्रकारले उपयोग गर्ने पनि हाम्रो नीति हुने छ ।

१०. एक्लै चुनावमा जाँदा हामीलाई बढी नोक्सान पुग्ने आशङ्का पनि कैयौँ तिरबाट गर्ने गरिन्छ । तर त्यसको एउटा सकारात्मक र महत्त्वपूर्ण पक्ष भएकोप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । एक्लै चुनावमा जाँदा हामीलाई पुग्ने सबैभन्दा महत्त्वपूर्ण राजनीतिक लाभ के हुने छ भने हाम्रो पक्षमा भएका सबै जनताको मत सुरक्षित हुने छ र हामीलाई राजनीतिक भण्डाफोरलाई पनि पूर्ण रूपले अगाडि बढाउन सक्ने अवसर प्राप्त हुने छ । त्यसरी त्यसबाट दीर्घकालमा जनताको चेतना उठाउन जनआधारको निर्माण गर्न र सङ्गठनात्मक विस्तार समेतका लागि हामीलाई महत्त्वपूर्ण मदत पुग्ने छ ।

११. हाम्रो पार्टीले विभिन्न वामपन्थी शक्तिहरूसित मिलेर देश र राष्ट्रिय समस्याहरूबारे संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिने गरेको छ । तर अहिले वामपन्थी शक्तिहरूमा देखापरेका वैचारिक भ्रामक सोचाइहरूका कारणले उनीहरूसित मिलेर संयुक्त वामपन्थी आन्दोलन सञ्चालन गर्ने सम्भावना धेरै नै कम देखा परिरहेको छ । पहिले हामीले कैयौँ आन्दोलनमा वा विभिन्न चुनावमा पनि माओवादी र एमालेसित मिलेर काम गरेका थियौँ । कैयौँपल्ट उनीहरूको नेतृत्वका सरकारहरूलाई पनि समर्थन गरेका थियौँ । तर एमालेले प्रतिगमन वा अधिनायकवादको बाटो समातेको हुनाले त्यससित त्यस प्रकारको कार्यगत एकता सम्भव हुन गएको छैन । भविष्यमा उसले सकारात्मक नीति अपनाएमा त्यस प्रकारको सम्भावनालाई पूरै अस्वीकार गर्न पनि सकिन्न । एमालेको नेतृत्वमा देखापरेको प्रतिगमन समेतका विरुद्ध हामीले माओवादीसित कैयौँपल्ट कार्यगत एकता गरेका थियौँ तर, प्रथम, गतकालमा विभिन्न चुनावी तालमेलको बेलामा त्यसले कैयौँ पटक अन्तर्घातको नीति अपनाएकाले तथा, द्वितिय, प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदका लागि गठबन्धनमा हेराफेरि गर्ने नीति अपनाएको हुनाले र एमाले र एउटा साम्राज्यवाद परस्त सङ्गठनसित नै एकता गर्ने नीति अपनाएकोले तत्काल त्योसित पनि कार्यगत एकताको सम्भावना रहन गएको छैन ।

१२. सत्तामा नभएका अन्य कतिपय वामपन्थी शक्तिहरूसित मिलेर गतकालमा हामीले कैयौँपटक संयुक्त आन्दोलन चलाएको लामो इतिहास छ । तर अहिले उनीहरूसित पनि कार्यगत एकताको सम्भावना कम देखा पर्दै गइरहेको छ । प्रथमतः उनीहरूले रणनीतिक नारालाई नै तत्कालीन कार्यदिशाको रूपमा प्रस्तुत गर्ने गरेका छन् । त्यसले गर्दा तात्कालिक सङ्घर्षहरूबारे उनीहरूको दृष्टिकोण सही हुन गएको छैन । द्वितीय, देशमा बढिरहेको प्रतिगमनको खतराप्रति उनीहरूको दृष्टिकोण सही नभएको मात्र होइन, त्यसले गर्दा राजावादीहरूप्रति उनीहरूको दृष्टिकोण एक वा अर्को प्रकारले सम्झौतापरस्त हुँदै गरेको देखिन्छ । आफ्नो त्यस प्रकारको दृष्टिकोणका कारणले उनीहरू गणतन्त्रका विरुद्ध उभिन पुगेका छन् र उनीहरूको त्यस प्रकारको नीतिबाट प्रतिगमनलाई मद्दत पुग्ने गरेको छ । त्यसले गर्दा उनीहरूसँग हाम्रो कार्यगत एकताको सम्भावना पनि एकदम कम भएको छ । तैपनि परस्परमा समझदारी हुन सकेका विषयमा उनीहरूसित कार्यगत एकता गर्न सकिने हाम्रो नीति कायम छ ।

१३. हाम्रो पार्टीले आठौँ महाधिवेशनपछि देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रम बनाएको थियो र तिनीहरूलाई प्रारम्भ पनि गरेको थियो तर कोरोनाको कारणले हामीले ती सबै कार्यक्रमहरूलाई स्थगित गर्नु गरेको थियो । हाम्रो पार्टीको नवौँ महाधिवेशनले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू सञ्चाल गर्ने निर्णय गरेको छ । तर अहिले वर्षाको याम आउन थालेकोले तत्काल हामीले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू बनाएका छैनौँ । तैपनि सङ्घीयता र भ्रष्टचारका बिरुद्ध देशव्यापी रूपमा सङ्घर्षका कतिपय कार्यक्रमहरू सञ्चालन गर्नुको साथै सहकार्यता सम्बन्धी समस्याहरूबारे राष्ट्रिय रूपमा नै स्पष्ट धारणा बनाउनका लागि नै केन्द्रीय स्तरमा विचार गोष्ठिको आयोजना गर्ने निर्णय पनि गरिएको छ । त्यस बाहेक विभिन्न जिल्लामा आम सभा वा कोण सभाहरू राख्ने निर्णय पनि गरिएको छ । त्यसका साथै आर्थिक रूपमा र कैयौँ सङ्गठनात्मक कार्यहरूबारे पनि निर्णय गरिएको छ ।

१४. पहिले भ्रममा परेर फुटपरस्त तत्त्वहरूका पछि लागेर गएका दाङका धेरै कामरेडहरू पुनः मसालमा नै फर्केर आउनुभएको छ । हामीले उहाँहरूलाई अभिनन्दन गर्दछौँ । हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका थियौँ कि भ्रममा परेर पार्टीलाई छाडेर जाने कुनै पनि इमान्दार साथीहरूप्रति हामीमा कुनै प्रकारको पूर्वाग्रह हुँदैन । पहिले पनि त्यसरी गएका कैयौँ साथीहरू फर्केर आएका र हामीले स्वागत गरेका थुपै्र उदाहरणहरू छन् । केही दिन पहिले पनि त्यसरी भ्रमवश गएका साथीहरूलाई फर्केर आउनको लागि आह्वान गरेर हामीले वक्तव्य दिएका थियौँ । अहिले पनि हामीले दाङका साथीहरूले जस्तै भ्रमवश पार्टी छोडेर गएका सबै साथीहरूलाई फर्केर आउन आफ्नो आह्वान दोहोयार्‍उँछौँ ।

२०८१ जेष्ठ ३२ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

 

पार्टी गतिविधि

Translate »
Scroll to Top