साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले सातौँ पदयात्रा सम्पन्न गरेको छ । २०८१ भदौ १ गते शनिबारका दिन कागेश्वरी मनहरा नगरपालिकाको कौवापार्क देखि कागेश्वरी झरना हुँदै सुन्दरीजलसम्म सो पदयात्रा सम्पन्न भएको हो । पदयात्रामा १६ जना स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
स्रष्टालाई प्रगतिशील साहित्यिक आन्दोलनमा उत्प्रेरित गर्ने उद्देश्यका साथ सञ्चालित पदयात्रामा कविता, गीत, यात्रा संस्मरण, साहित्यिक आन्दोलनको महत्त्वलगायतको विषयमा प्रस्तुति दिइएको थियो । पदयात्रामा समीर सिंह, भीष्म जोशी, मेष्मा पुन, कविता चौधरी, मदन पाण्डे, समष्टि बुढा, ईश्वरी भट्ट, ध्रुव बस्याल, गोविन्द शर्मा, किरण थापा, कुसुम राना, रन्जु थापामगर, युग सर्वनाम, रविन पुनमगर, टोपेन्द्र रानामगरलगायतको सहभागिता थियो ।