Nepal communist party

प्रेस वक्तव्य (२०८१ भाद्र १० गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

सत्य निरूपण सम्बन्धी विधेयक संसदका दुबै सदनद्वारा पारित भएको छ । संसदका ३ वटै राजनीतिक शक्तिहरू समेतले बहुमतद्वारा त्यसलाई पारित गरेका छन् । त्यसलाई नेपालको शान्ति प्रक्रियाको ठुलो उपलब्धिका रूपमा प्रशंसा गरिदै छ ।

प्रथमतः यो कम गम्भीर चिन्ताको विषय होइन कि सशस्त्र द्वन्द्वकालमा भएका मानवताको उल्लङ्घन र जघन्य अपराधसित सम्बन्धित ६० हजार भन्दा बढी उजुरीहरू अहिलेसम्म विना छानविन वा कार्वाही अहिलेसम्म थन्किएर बसेका छन् । अहिले त्यस सम्बन्धी विधेयक पारित भइसकेपछि पनि त्यस अनुसार सीमित रूपमा पनि कुनै कार्वाही हुने कुराको कुनै ग्यारेन्टी छैन ।

सशस्त्र द्वन्द्वकालमा दुबै पक्षद्वारा भएका मानवअधिकारको हनन् र जघन्य प्रकारका अपराधहरूबाट ठुलो सङ्ख्यामा जनता पीडित भएका छन् । सत्ता र माओवादी दुबै पक्षहरूद्वारा हाम्रा साथीहरू र समर्थकहरूको पनि ठुलोे सङ्ख्यामा अपहरण, सर्वस्व वा हत्या हुने गरिएको थियो । अहिले संसदका दुबै सदनहरूद्वारा पारित गरिएको त्यसरी पीडित जनतालाई न्याय दिने भन्दा विभिन्न प्रकारका अपराधका लागि दोषीहरूलाई उन्मुक्ति दिनेतर्फ नै उन्मुख भएको देखिन्छ । त्यसैले हाम्रो पार्टीले त्यसप्रति कडा विरोध जनाउँदछ ।
संसदमा भ्रष्ट्राचार सम्बन्धी मुद्दाहरूमा केही खास अवधिपछि त्यसबारे मुद्दा नचल्ने प्रकारले कानुनमा संशोधन गर्ने जुन कुरा उठिरहेको छ, त्यसको पनि हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । त्यस प्रकारको संशोधनको पछाडिको उद्देश्य गत कालमा विभिन्न प्रकारका अपराधसम्बन्धी कार्यहरूमा संलग्न विभिन्न सत्तारूढ दलहरूका प्रधानमन्त्री, मन्त्री सांसद वा अन्य उच्च पदाधिकारीहरूलाई गत कालमा उनीहरूले गरेका भ्रष्ट्राचारका लागि उनीहरूलाई कार्वाहीहरूबाट बचाउनु नै हो । त्यसकारण त्यस प्रकारको संशोधन सम्बन्धी विचारका पछाडि कुनै नियतले काम गरेको कुरा प्रष्ट्र छ ।

सहकारी सम्बन्धी मुद्दामा जुन छानविन भइरहेको छ, त्यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो छानविन कहाँसम्म निष्पक्ष र प्रभावशाली प्रकारले सम्पन्न हुने छ ? त्यो कुरा त्यसको प्रतिवेदन आएपछि नै प्रष्ट हुनेछ । प्रतिवेदन जुनसुकै प्रकारले आएपनि त्यससित सम्बन्धित निर्णायात्मक महत्त्वको कुराहरू यी हुन ः प्रथम, सहकारिताको रकमको हिनामिना वा ठगी गर्ने व्यक्तिहरूलाई उनीहरूको अपराध अनुसार दण्ड जरिवाना हुन्छ वा हुँदैन ? द्वितीय, ठगिएको रकम पीडित जनतालाई फिर्ता हुन्छ वा हुँदैन । सरकारले पहिलेका कैयौँ प्रतिवेदनहरूलाई कुनै कार्वाही नगरी रद्यीको टोकरीमा फ्याँकिदिने गरेको छ । सहकारिताको रकमको समस्या लाखौँ जनतासित सम्बन्धित भएको हुनाले माथि उल्लेखित दुबै विषयहरूमा कडा कार्वाही गर्नको लागि हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।

रूस र यूक्रेन तथा इजरायल र प्यालेष्टाइनका बिचमा चलिरहेको युद्धप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । रूस र युक्रेनका बिचमा जुन युद्ध चलिरहेको छ, त्यो मुख्य रूपले अमेरिकी साम्राज्यवाद र नाटो तथा रूसी साम्राज्यवादका बिचमा चलिरहेको युद्ध हो । त्यो युद्ध खास गरेर नाटोले यूक्रेनलाई नाटोमा सामेल गर्न खोजेको हुनाले नै सुरू भएको हो । त्यसकारण आफ्नो सिमानामा नाटोले मोर्चाबन्दी गर्न थालेकोले र यूक्रेन त्यसमा सामेल हुन थालेकोले नै रूसले यूक्रेनमाथि आक्रमण गरेको हो । त्यसरी एकातिर, पश्चिमी साम्राज्यवाद र अर्कातिर रूसी साम्राज्यवादका बिचको अन्तद्र्वन्द्वका कारणले यूक्रेनका जनताले ठुलोे क्षति उठाउनु परेको छ । त्यसैले त्यो युद्धका लागि हामीले रूसी र पश्चिमी साम्राज्यवाद दुवैको विरूद्ध भ्रत्र्सना गर्दछौँ ।

इजरायलले प्यालेष्टाइनमाथि गरेको बर्वर र क्रुर नरसंहारका लागि पनि हामीले विरोध गर्नुका साथै कडा क्षोभ प्रकट गर्दछौँ । अमेरिकाको समर्थनमा यहुदीहरूद्वारा प्यालेष्टाइनीलाई आफ्नो मातृभूमिबाट धपाइएको हुनाले उनीहरूले सातदशक भन्दा बढी समयदेखि आफ्नो मातृभूमिको मुक्तिको लागि सङघर्ष गरिरहेका छन् । उनीहरूको सङ्घर्ष न्यायपूर्ण हो र हामीले उनीहरूको सङ्घर्षलाई सँधै समर्थन गर्दै आएका छौँ । अहिले इजरायलले गाजापट्टिमा प्यालेष्टाइनी जनतामाथि, जसमा ठुलोे सङ्ख्यामा महिला र बालबालिका पनि छन्–माथि गरिरहेको वर्वर आक्रमणको पनि हामीले कडा शब्दमा भत्र्सना गर्दछौँ ।

माथि उल्लेखित दुबै युद्धहरूको परिणामस्वरूप तेस्रो विश्वयुद्ध वा आणविक युद्ध नै हुने ता होइन ? त्यो गम्भीर आशङ्का उत्पन्न भएको छ । यदि त्यसो भयो भने त्यो युद्ध कुनै खास क्षेत्रमा मात्र सीमित नरहेर त्यसको असरबाट सम्पूर्ण मानवजातिलाई नै क्षति पुग्ने सम्भावना रहने छ । त्यसैले ती दुबै युद्धहरूलाई हामीले कुनै खास देश वा भूमिसित सम्बन्धित युद्धका रूपमा लिनु गम्भीर गल्ती हुनेछ, किनभने तिनीहरूबाट सम्पूर्ण विश्व नै प्रभावित हुने गम्भीर खतरा बढ्दै गइरहेको छ । त्यस्तो अवस्था आउन नदिनको लागि विश्वका सम्पूर्ण जनताले शान्तिको पक्षमा र साम्राज्यवादका विरूद्ध आवाज उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

२०८१ भाद्र १० गते ।

मोहनविक्रम सिंह
महामन्त्री

 

पार्टी गतिविधि

Translate »
Scroll to Top