नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
संयुक्त राष्ट्रसङ्घको महासभा बैठकमा प्यालेस्टिाइन र इजरायलको बिचको युद्धबारे छलफल हुँदा नेपालले तटस्थ बस्ने जुन निर्णय गर्यो त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आर्कषण भएको छ । त्यसको त्यस प्रकारको नीतिले भारतप्रतिको पिछलग्गुपनलाई नै बताउँदछ । संयुक्त राष्ट्रसङ्घको सभामा नेपाल तटस्थ रहेको नीतिबाट नेपाल सरकारले आफ्नो परराष्ट्र नीति स्वतन्त्र रूपले स्पष्ट गर्न नसकेको कुरा नै बताउँदछ । नेपाल सरकारले अपनाएको त्यस प्रकारको नीतिलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।
लेवनानस्थित संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाको कार्यालयमा इजरायलले गरेको हमलाको हाम्रो पार्टीले गलत मान्दछ र त्यसको विरोध गर्दछ । त्यसले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घका निर्णयहरूको पनि अतिक्रमण गर्ने इजरायल सरकारको फासिवादी प्रवृत्तिलाई नै बताउँदछ । इजरायल सरकारले संयुक्त राष्ट्रसङ्घको महासचिवलाई इजरायलमा आगमनको लागि भिसा नदिने र लेवनानमा स्थित संयुक्त राष्ट्रसङ्घको शान्ति सेनालाई त्यहाँबाट हटाउन गरेको मागबाट पनि त्यसको फासिष्ट, शान्तिविरोधी र मानवताविरोधी चरित्रलाई नै बताउँदछ ।
इजरायल सरकारले गाँजामा जुन प्रकारको नरसंहार गर्ने र अन्यत्र पनि हमला गर्ने जुन नीति अपनाएको छ, त्यसका विरुद्ध विश्वव्यापी रूपमा नै आवाज उठिरहेको छ र त्यहाँ युद्धविराम गर्नको लागि विश्वस्तरबाट माग भइरहेको छ । तर इजरायल सरकारले संयुक्त राष्ट्रसङ्घ र विश्वव्यापी रूपमा उठेको त्यस प्रकारको जनमतको उपेक्षा गर्दै आएको छ ।
हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ कि ७ अक्टोवरमा हमासले इजरायलका नि:शस्त्र र निरअपराध जनतामाथि गरेको कार्य गलत र आतङ्कवादी थियो र हामीले त्यही बेला नै त्यसको विरोध गरेका थियौँ । तर, त्यो घटनाका आधारमा प्यालेस्टाइनहरूलाई आफ्नो मातृभूमिबाट जबरजस्तीपूर्वक लखेटेपछि उनीहरूले आफ्नो मातृभूमिको मुक्तिको लागि साढे सात दशकदेखि जुन सङ्घर्र्ष गर्दै आएका छन्, त्यसलाई गलत भन्न सकिँदैन । त्यही बेलादेखि नै प्यालेस्टाइन जनताले आफ्नो मातृभूमिमा फर्किने न्यायपूर्ण हकको लागि मुक्ति सङ्घर्ष चलाइरहेका छन् । त्यसकारण ७ अक्टोवरको घटनाको कारणले प्यालेस्टाइनहरूले साढे सातदशकदेखि चलाइरहेको आन्दोलनको औचित्यता कम हुन्न र त्यो घटनालाई आधार बनाएर इजरायल सरकारले प्यालेस्टाइनी जनतालाई सफाया गर्नको लागि जुन नरसंहार चलाइरहेको छ, त्यसलाई हामीले गलत मान्दछौँ र त्यसको भ्रत्र्सना गर्दछाँै ।
इजरायलले अहिले जुनसुकै प्रकारको फासिस्ट नीति अपनाएको भएपनि त्यो देशमा ठुलो सङ्ख्यामा शोषित, उत्पीडित र महेनतकश जनता पनि छन् । उनीहरूले त्यहाँको सरकार अपदस्त गर्नको लागि लगातार सङ्घर्ष गरिरहेका छन् । हामीले त्यहाँका जनतासित ऐक्यवद्धता प्रकट गर्दै इजरायल राज्यको अस्तित्वलाई पनि स्वीकार गर्दछौँ । त्यसैले हामीले प्यालेस्टाइन र इजरायल दुवै राज्यहरूको अस्तित्वलाई समर्थन गर्दछौँ ।
हामीले इजरायल सरकारको त्यस प्रकारको फासिस्ट र नरसंहारको नीतिका विरुद्ध विश्वव्यापी रूपमा विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ र त्यसबारे विश्वव्यापी रूपमा उठेको आवाजसित हाम्रो ऐक्यवद्धता प्रकट गर्दछौँ । त्यसका साथै त्यसबारे आवाज उठाउन सम्पूर्ण नेपाली जनतासित पनि अपिल गर्दछौँ ।
२०८१ कार्तिक ०३ गते ।
मोहनविक्रम सिंह
महामन्त्री