Nepal communist party

प्रेस वक्तव्य (२०८१ कार्तिक ०३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

सहकारी रकमको अपचलनको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई गिरफ्तार गरेपछि त्यसबारे देशमा बढी चर्चा र परिचर्चा भइरहेको छ । त्यसबारे ने.क.पा.(मसाल)को दृष्टिकोणबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

१. यो आम रूपमा थाहा भएको कुरा हो कि सरकारी रकमको हिनामिना वा ठगी अहिले देशको गम्भीर राष्ट्रिय समस्या बन्न गएको छ । त्यसरी लाखौँ जनता ठगिएका छन् र उनीहरूको अरवौँ रुपैयाँ हिनामिना भएको छ । त्यसरी पीडित जनताले आफ्नो ठगिएको रकम फिर्ता गर्न तथा त्यस प्रकारको ठगीका जिम्मेवारका विरुद्ध कारबाही गर्न लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । उनीहरूको सङ्घर्ष न्यायपूर्ण छ र हामीले उनीहरूको आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछाँै ।

२. हामीले बाराम्बार यो माग गर्दै आएका छौँ कि सहकारी रकमको हिनामिना र ठगी गर्ने व्यक्तिहरूमाथि छानवीन गरेर उनीहरूको अपराध अनुसार उनीहरूमाथि कारबाही गर्नुपर्दछ । उनीहरूले आफ्नो सम्पत्तिमा हेराफेरि गरेर अन्य व्यक्तिको नाममा लुकाएको सम्पत्ति समेत जफत गरेर सहकारी पीडितहरूको सम्पत्ति फिर्ता गर्नुपर्दछ । लाखौँ जनतासँग सम्बन्धित यो मुद्दा अत्यन्तै गम्भीर विषय हो र त्यसको समाधानको लागि सरकारले कडा कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

३. रास्वपाका अध्यक्ष रवि लामिछाने पनि सहकारी सम्बन्धी रकमको हिनामिनामा सम्बन्धित भएको कुरा बारम्बार उठ्ने गरेको छ । कतिपय प्रहरी कार्यालयका रिपोर्टहरूमा त्यो कुराको उल्लेख भएको वा कतिपय अदालतहरूमा त्यसबारे उजुरी परेको कुरा पनि सञ्चार माध्यमहरूमा आउने गरेको छ । त्यो अवस्थामा उनीमाथि पनि आवश्यकता अनुसार छानवीन गर्नुपर्ने कुरालाई गलत मान्न सकिदैन् । त्यही पनि यो कुरामा हाम्रो जोड छ कि उनीमाथि कुनै पूर्वाग्रहको आधारमा होइन, सत्य र तथ्यको आधारमा निष्पक्ष छानवीन गरेर न्यायोचित कारबाही गरिनुपर्दछ ।

४. देशका भष्टाचार सम्बन्धी कतिपय मुद्दाहरूमा छानवीन वा कारबाही नगरिएकाले रवि लामिछानेबारे गरिएको कारबाही पूर्वाग्रह हो भन्ने पनि गरिएको छ । त्यस प्रकारका भष्टाचार सम्बन्धी सबै मुद्दाहरूमा छानवीन वा कारबाही गर्नु आवश्यक छ । शक्तिको आड वा अन्य कुनै कारणले त्यस प्रकारका मुद्दाहरूलाई दबाएर राख्नुलाई हामीले सही मान्दैनौँ । तर अन्य कतिपय मुद्दाहरूमा कारबाही नभएको भनेर त्यस प्रकारको कुनै मुद्दामा कारबाहीको विरोध गर्ने तर्कलाई पनि हामीले सही मान्दैनाँै । त्यसैले अन्य कतिपय मुद्दाहरूमा कारबाही नभएको आडमा अहिले रवि लामिछानेबारे हुन थालेको कारबाही पनि अन्यायपूर्ण छ भन्ने दाबीलाई हामीले तर्कसङ्गत वा न्यायपूर्ण मान्दैनौँ ।

५. रवि लामिछानेको गिरफ्तारी सन्दर्भमा सरकार मरिसक्यो र हामीलाई जुठो पर्‍यो भन्ने जुन शब्दावलीको प्रयोग गरिएका छन्, यी राजनीतिक शब्द होइनन् र राजनीतिमा यस प्रकार अराजनीतिक शब्दावलीहरूको प्रयोगलाई हामीले गलत मान्दछौँ ।

६. अन्त्यमा अहिलेको मुख्य समस्या लाखाँै जनताको सहकारी रकमको हिनामिना र ठगीको नै हो । उक्त समस्यालाई समाधान गर्न गम्भीर कारबाही गर्न हामीले सरकारसँग माग गर्दछौँ ।

२०८१ कार्तिक ०३ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

पार्टी गतिविधि

Translate »
Scroll to Top