नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
नेपाल सरकारले रुग्ण उद्योगहरूलाई निजिकरण गर्नेबारे निर्णय गर्न थालेको कुरा कतिपय सञ्चार माध्यमहरूले बाहिर ल्याएको समचारप्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले ती उद्योहरूलाई निजीकरण गर्नेबारे जुन निर्णय गर्दैछ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।
अहिले सरकारले जुन उद्योगहरूलाई रुग्ण भएको बताउँदै छ, ती उद्योगहरू त्यसरी रुग्ण हुनुको पछाडि, प्रथम, सरकारको सार्वजनिक उद्योगहरूप्रतिको नीतिगत रूपमा नै गलत दृष्टिकोण र, द्वितीय, गैरजिम्मेवार र भ्रष्ट प्रशासकीय कार्यप्रणाली जिम्मेवार छ । त्यसका साथै ती उद्योगहरूको निजीकरण पछाडि ती उद्योगहरूको स्वामित्वमा रहेको ठुलो पैमानाको सार्वजनिक सम्पत्तिमाथि कव्जा गर्ने नियतले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
नेपालको संविधानमा समाजवादोन्मुख राज्यको निर्माण गर्ने कुरा बताइएको छ । त्यो अवस्थामा सार्वजनिक क्षेत्रका उद्योगहरूलाई अरु पोत्साहित गर्दैै जानेतिर ध्यान दिनुपर्ने हो तर त्यसको विपरीत सरकारले सार्वजनिक क्षेत्रमा भएका उद्योगहरूलाई संरक्षण गर्नुको सट्टा तिनीहरूलाई निजीकरण गर्ने प्रयत्न गर्दैछ । त्यसले सरकार संविधानले निर्धारित गरेको सिद्धान्तप्रति नै इमान्दार नभएको कुरालाई बताउँछ ।
विश्वमा समाजवादी व्यवस्थाको पतनको साथै सार्वजनिक क्षेत्रमा भएका उद्योगहरूलाई निजीकरण गर्ने अभियान विश्वव्यापी रूपमा नै चलेको छ । पुँजीवादी अर्थशास्त्रको नीतिगत रूपमा नै राज्यले कुनै उद्योगहरू पनि सञ्चालन गर्न हुन्न भन्ने मान्यता रहेको छ । त्यही सिद्धान्त अनुसार नै सरकारले सार्वजनिक क्षेत्रमा भएका उद्योगहरूलाई राम्ररी सञ्चालनन गरेर रुग्ण अवस्थामा पुर्याउने र तिनहरूलाई निजीकरण गर्दै जाने नीति अपनाएको कुरा प्रस्ट छ । सरकारकोे त्यस प्रकारको नीतिको समाजवाद पक्षधर सबै राजनीतिक शक्तिहरूले विरोध गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
२०८१ कार्तिक ०६ गते ।
मोहनविक्रम सिंह
महामन्त्री