Nepal communist party

इजरायली नरसंहार विरुद्ध अन्तरक्रिया

काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरिएको नरसंहारका विरुद्ध प्रगतिशील रूपान्तरण आन्दोलनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा २०८१ कात्तिक १३ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।

आन्दोलनका संयोजक श्याम श्रेष्ठको सहजीकरणमा अगाडि बढेको सो कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधि आनन्द शर्माले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनको क्रममा उहाँले प्यालेस्टाइनमाथि इजयरायली आक्रमणलाई “नरसंहार” को सङ्ज्ञा दिनुभयो । ‘इजरायलले प्यालेस्टाइनमाथि गरेको युद्धलाई आक्रमण मात्रै भन्न सकिन्न बरु नरसंहार भनिनुपर्दछ’ उहाँले भन्नुभयो ।

नेता शर्माले इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्याउने क्रममा युद्ध र अन्तर्राष्ट्रिय स्तरका सन्धिसम्झौता, आचारसंहिता वा घोषणालाई नमानेको धारणा राख्नुभयो ।

‘गत लामो समयदेखि इजरायलले प्यालेस्टाइनमा अमानवीय नरसंहार त मच्याएकै छ’ उहाँले भन्नुभयो–’उसले कुनै पनि अन्तर्राष्ट्रिय सन्धिसम्झौता, घोषणा र आचारसंहितालाई मानेको छैन । लेबनानमा संयुक्त राष्ट्र सङ्घको निकायमाथि नै उसले आक्रमण गरेको छ । यसबाट इजरायलको युद्धपिपासु र अराजक चरित्रबारे स्पष्ट हुन सकिन्छ ।’

उहाँले इजरायलको यस्तो आक्रमणलाई प्यालेस्टाइनको वंश नै सखाप पार्ने उद्देश्यका साथ अगाडि बढाइरहेको आरोप पनि लगाउनुभयो ।

‘हिटलरको नाजिवादले जस्तै इजरायलले प्यालेस्टाइनबाट अहिलेको सम्पूर्ण पिँढी नै समाप्त गर्न चाहान्छ’ उहाँले इजरायली साम्राज्यवाद अहिले अत्यन्त गम्भीर रूपमा आएको बताउनुभयो ।

इजरायललाई अमेरिकाद्वारा दिइएको आडभरोसातर्फ इङ्गित गर्दै उहाँले अमेरिकी साम्राज्यवाद विश्व मानव समुदायको एक नम्बर दुस्मन भएको धारणा पनि उहाँको थियो ।

‘हामीले इजरायलको मात्रै विरोध गर्‍यौँ भने गलत निष्कर्षमा पुग्ने छौँ’ उहाँले भन्नुभयो– ‘इजरायलको पछाडि अमेरिकी साम्राज्यवाद छ । अमेरिकी साम्राज्यवाद नै वर्तमान विश्व मानव समुदायको लागि मुख्य खतरा हो । त्यसका विरुद्ध हामीले सशक्त प्रकारले आवाज उठाउनुपर्दछ ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले धारणा राख्दै इजरायलमा मानवअधिकारको असीमित उल्लङ्घन भइरहेको धारणा राख्नुभयो ।

‘समुद्रसँग जोडिएको सानो गाँजापट्टीमा  २३ लाख मानिसहरू बस्छन्’ उहाँले इजरायली आक्रमणको फेहरिस्त प्रस्तुत गर्दै भन्नुभयो– ‘गत वर्ष अक्टोबर ७, २०२३ देखि त्यहाँ ७० हजार टन बम वर्षा गरिएको छ । १९ लाख मानिस विस्थापित छन् । १६ हजार बालबालिका मारिएका छन् । ९७ हजार मानिस घाइते भएका छन् ।’

प्यालेस्टाइनका अस्पतालमा आक्रमण गरिएको, राहत, उद्धारको अवसर नदिइएको र शान्ति मिसनमाथि समेत आक्रमण गरिएको भन्दै महासचिव भट्टले प्रश्न गर्नुभयो– ‘यो भन्दा गम्भीर मानवअधिकारको उल्लङ्घन अरू केही हुन सक्छ ?’

विश्व बैंकले गाजालाई पहिलोको अवस्थामा फर्काउन ८० वर्ष लाग्ने बताएको सन्दर्भ जोड्दै उहाँले प्यालेस्टाइनमा अकल्पनीय मानवअधिकार उल्लङ्घन भइरहेको ठोकुवा गर्नुभयो ।

अमेरिका, जर्मनी र इटालीले ६८ प्रतिशत इजरायललाई हतियार आपुर्ति गरेको भन्दै उहाँले यो युद्ध वा नरसंहारका लागि अमेरिकी साम्राज्य नै मुख्य जिम्मेवार रहेको तर्क अगाडि सार्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा (माओवादी केन्द्र) का सचिव देव गुरुङले इजरायलमाथि टेकेर अमेरिका दक्षिण एसिया पस्ने दाउमा रहेको बताउनुभयो । ‘अमेरिकाको टार्गेट इजरायलसम्म मात्रै होइन’ उहाँले भन्नुभयो– ‘अमेरिकाले चीनका विरुद्ध दक्षिण एसियामा प्रवेश गर्न चाहान्छ ।’ उहाँले अमेरिकाले मुख्यतः चीन विरुद्ध एसियामा प्रवेश गर्न चाहेको र त्यसका लागि इन्डोप्यासिफिक रणनीति अगाडि सारेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अमेरिका इजरायलसम्म मात्र आउने छ भने सोच्यौँ भने भुल हुने छ । उसको टार्गेट चीन हो । त्यसैले उसको दक्षिण एसिया प्रवेश गर्ने रणनीतिका विरुद्ध हामी सचेत हुनुपर्दछ ।’

उहाँले अमेरिकी साम्राज्यवादका विरुद्ध नेपाली सार्वसत्ता बचाउन सडक सङ्घर्षमा ओर्लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले झन्पछि झन् साम्राज्यवादीहरू युद्धको नियम उल्लङ्घन गर्दै गएको स्पष्ट पार्दै उनीहरूको मानवता विरोधी क्रियाकलापको डटेर विरोध गर्नुपर्ने बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले हजारौँ बालबालिका, वृद्धवृद्धा र आमाहरूलाई सखाप पारेर इजरायलले प्यालेस्टाइनलाई मानवविहीन बनाउन खोजेको बताउनुभयो ।

कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीका राजेश नेपाली, नेकपा (एकीकृत समाजवादी) का प्रेमल खनाल, जनता समाजवादी पार्टीका अर्जुन थापा, श्रमिक कम्युनिस्ट पार्टीका पूर्णबहादुर सी, जनता समाजवादी पार्टीका (जसपा) का रणध्वज कन्दङ्वा, पिपुल्स हेल्थ मुभमेन्टका संयोजक शरद वन्त, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का कृष्ण शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा उत्तरार्धमा हाउसबाट पर्शुराम तामाङ, सुबोधराज प्याकुरेल, दिवस केसी र राजकुमार पासवानले पूरक टिप्पणी राख्नुभएको थियो ।

पार्टी गतिविधि

Translate »
Scroll to Top