Nepal communist party

प्यालेस्टाइन नरसंहार विरुद्ध जुलुस प्रदर्शन

काठमाडौँ । प्यालेस्टाइनमा इजरायली जनताको नरसंहार विरुद्ध नेकपा (मसाल), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल तथा साम्राज्यवादी युद्धविरोधी व्यक्तित्वद्वारा २०८१ कात्तिक २६ गते सोमबार  शान्तिवाटिकादेखि जमल, नारायणहिटी, नागपोखरी, लाजिम्पाट हुँदै इजरायली दूतावाससम्म मौन जुलुस प्रदर्शन गरिएको थियो ।

जुलसपछिको सभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले साम्राज्यवाद रहेसम्म विश्वमा शान्ति कायम नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘साम्राज्यवाद रहेसम्म विश्वमा शान्ति हुँदैन । साम्राज्यवाद रहेसम्म विश्वमा लुटपाट भइरहन्छ ।’ अहिले इजरायली र अमेरिकी साम्राज्यवादको मिलेमतोमा प्यालेस्टाइनी जनताको नरसंहार रहेको बताउँदै उहाँले विश्वभरिबाट साम्राज्यवादको विरोध गरिनुपर्ने बताउनुभयो ।

अध्यक्ष केसीले संयुक्त राष्ट्र सङ्घ स्वतन्त्र नभएको दाबी गर्दै भन्नुभयो– ‘संयुक्त राष्ट्र सङ्घ स्वतन्त्र छैन किनकि शक्तिराष्ट्रहरूले नै राष्ट्र सङ्घलाई फन्डिङ गर्छन् ।’

कोणसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का सचिव देव गुरुङले मध्यपूर्वमा फासिवाद देखा परेको धारणा राख्नुभयो । ‘मध्यपूर्वमा फासिवाद देखा परेको छ’ उहाँले भन्नुभयो– ‘इजरायली फासिवादले प्यालेस्टाइनी जनताको स्वाधीनता खोसिरहेको छ ।’

सचिव गुरुङले इजरायललाई नरोक्ने हो भने त्यसको असर नेपाल जस्ता तेस्रो देशमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘इजरायली साम्राज्यवादको विरोध गर्नुको विकल्प छैन ।”

कार्यक्रमको संयोजन वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले गर्नुभएको थियो ।

सहभागीले प्यालेस्टाइनमा इजरायलले गरेको नरसंहारको विरोधमा प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा ठुलो सङ्ख्यामा मसाल, राजमो, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताकार्यकर्ता तथा प्यालेस्टाइनको नरसंहारको विरोध गर्ने विभिन्न व्यक्तित्व, बुद्धिजीवीको सहभागिता रहेको थियो ।

 

पार्टी गतिविधि

Translate »
Scroll to Top