काठमाडौँ । नेकपा (मसाल) केन्द्रीय कार्यालयले एक सय बत्तिसौँ माओ जन्मजयन्ती मनाएको छ । २०८१ पुस ११ गते तदनुसार डिसेम्बर २६, २०२४ का दिन राजधानीको हार्दिक होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले नेपालमा माओ विचारधाराको झन्डा उठाउने शक्ति मसाल नै भएको बताउनुभयो ।
‘नेपालमा माओत्सेतुङ विचारधारालाई आत्मसात गर्ने मसालले नै हो’ उहाँले भन्नुभयो– ‘त्यसैले माओ विचारधाराको झन्डा उठाउने मसालले नै हो ।’
उहाँले माओ विचारधाराको सिद्धान्त संसारभरिका संशोधनवादीले अस्विकार गरे पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले त्यसलाई अगाडि बढाइरहेको दाबी गर्नुभयो ।
उहाँले माओत्सेतुङ विचारधाराले लेनिनवादलाई अरू समृद्ध पारेको बताउनुभयो ।
सोही कार्यक्रममा मन्तव्य राख्दै अर्का अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार वामपन्थी नेता आनन्द शर्माले माओजयन्ती मनाउनु भनेको माओका सिद्धान्तलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।
चीन पनि जनवादी क्रान्तिको समयमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रमा रहेको स्मरण गर्दै उहाँले अगाडि भन्नुभयो– ‘अर्धसामन्ती तथा अर्धऔपनिवेशिक तेस्रो मुलुकका सर्वहारा क्रान्ति माओत्सेतुङ विचारधाराबिना हुन सक्दैन ।’
पथप्रदर्शक सिद्धान्त माओवाद मान्नेहरूको आलोचना गर्दै उहाँले भन्नुभयो– ‘एकातिर माओका योगदानलाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने, अर्कातिर, माओका योगदानलाई अतिक्रमण गर्ने दुवै तरिका गलत हुन् ।’
नेता शर्माले माओ विचारधाराबिना नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभयो ।
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले कार्यक्रममा मन्तव्य राख्दै माओत्सेतुङले चिनियाँ जनतालाई न्याय दिने काम गरेको बताउनुभयो ।
उहाँले शोषितपीडित जनताको पक्षमा सर्वहारा क्रान्ति सम्पन्न गरेको पनि बताउनुभयो ।
‘चीनको अवस्था पनि नेपालको जस्तै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक थियो’ उहाँले भन्नुभयो– ‘यस्तो देशका जनतामाझ माओको भूमिका अतुलनीय र युगयुगसम्म स्मरणीय थियो ।’
उहाँले सहकारीमार्फत चिनियाँ अर्थतन्त्रलाई समाजवादतर्फ अगाडि बढाएको प्रसङ्ग पनि जोड्नुभयो ।
कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्की, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार गणेश अधिकारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरू लालबहादुर थापा, रामकुमार क्षेत्री र सुधा शर्माको आतिथ्य रहेको थियो ।
मसालका ३ नं. ब्युरो प्रवक्ता समीर सिंहको अध्यक्षता तथा मसालको काठमाडौँ प्रवक्ता जगतप्रसाद रेग्मीको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो ।