नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
एमालेबाट कामरेड भीम रावललाई निष्कासित गरिएको छ र उनले आफ्नो बेग्लै पार्टी बनाउन पहलकदमी सुरु गरेका छन् । उनले आफ्नो पार्टीको दशौँ महाधिवेशनदेखि नै त्यो पार्टीको नेतृत्वको विरोध गर्दै आएका थिए र पछिल्ला दिनहरूमा पनि उनले आफ्नो पार्टीका नीतिहरूको चर्को विरोध गर्दै आएका थिए । त्यस प्रकारको पृष्ठभूमिमा उनीमाथि त्यस प्रकारको कारवाही अप्रत्यासित थिएन । उनले उक्त दशौँ महाधिवेशनदेखि चर्को रूपले उठाउँदै आएको विरोधको स्वरमाथि विचार गर्दा उनीमाथिको कारवाहीलाई निष्कासन भन्नुभन्दा उनको विद्रोह भन्नु नै उपयुक्त हुने छ ।
कामरेड भीम रावलमाथिको त्यो कारवाही वा विद्रोह जे भएपनि त्यो एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको परिणाम हो । उनको त्यही प्रकारको कार्यशैलीको कारणले नै पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपाको विघटन भएको थियो र माधव नेपाल समूहले एमालेबाट विद्रोह गर्नुपरेको थियो । त्यही प्रकारको स्थितिमा जुनसुकै रूपमा भएपनि भीम रावल पनि एमालेबाट अलग भएका छन् । उनको त्यो साहसपूर्ण कदमलाई हामीले स्वागत गर्दछौँ । त्यसपछि उनी कुन रूपमा अगाडि बढ्ने छन् ? त्यसको आधारमा हामीले उनको मूल्याङ्कन गर्दै जाने छौँ ।
यो आम रूपमा थाहा भएको कुरा हो कि देशको राजनीति, खास गरेर राष्ट्रियताको प्रश्नमा भीम रावलको दृष्टिकोण पहिलेदेखि नै सही र देशभक्तिपूर्ण रहँदै आएको छ । त्यसका साथै आज देशमा प्रतिगमन र साम्राज्यवादीहरूको राष्ट्रियतामाथिको खतरा पनि धेरै बढेर गएको छ । त्यो अवस्थामा उक्त दुवै विषयमा उनले सही दृष्टिकोण अपनाउने छन् भन्ने हामीले आशा र कामना पनि गर्दछौँ । त्यो दिशामा उनले उठाउने सकारात्मक कदमलाई हामीले समर्थन गर्दै जाने छौँ ।
२०८१ पौष १९ गते ।
मोहनविक्रम सिंह
महामन्त्री