Nepal communist party

प्रेस वक्तव्य (२०८१ माघ १३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

ट्रम्प विधिवत् प्रकारले नै अमेरिकाको राष्ट्रपति बनिसकेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेको लगत्तै उनले कैयौँ घोषणा गरेका छन् र कार्वाहीहरू गर्न थालेका छन् । त्यसबाट उनको शासन कालमा उनले अरू जोडदार प्रकारले साम्राज्यवादी र फासीवादी नीतिहरू अपनाउँदै जाने र विश्वमा अरू तनाव र युद्धको स्थिति तयार हुँदै जाने सम्भावना देखा पर्दै गइरहेको छ । त्यो अवस्थामा उनका त्यस प्रकारका नीतिहरूका विरुद्ध शान्ति र लोकतन्त्रको रक्षा तथा युद्धका विरुद्ध विश्वस्तरमा नै आवाज उठाउनुपर्ने आवश्यकता पहिलेभन्दा कैयौँ गुणा बढेर गएको छ । यो सोच्नका लागि आधार छ कि उनका साम्राज्यवादी र फासिवादी नीतिहरूका कारणले विश्वमा त्यस प्रकारको विरोधको स्थिति तयार हुँदै जानेछ र त्यसको परिणामस्वरूप अन्त्यमा उनको पराजय नै हुनेछ ।
यो कुनै लुकेको कुरा होइन कि उनले अहिले जुन प्रकारका नीतिहरू अगाडि बढाउन खोजिरहेका छन्, ती कुनै अकस्मात अगाडि आएका कुराहरू होइनन् र चुनावको बेलादेखि नै उनले त्यस प्रकारका विचारहरू अगाडि ल्याउने गरेका थिए । तैपनि अमेरिकी जनताद्वारा उनलाई ठुलो समर्थन प्राप्त भयो र उनले भारी मतले चुनाव जिते । उनको पद ग्रहणको बेलामा पनि उनले त्यस प्रकारका विचारहरू प्रकट गरेका थिए र तालीको ठुलो गड्गडाहडका साथ उनका त्यस प्रकारका विचारहरूलाई स्वागत गरिएको थियो । त्यसबाट अमेरिकाको जनमत नै ठुलो पैमानामा उनका साम्राज्यवादी र फासिष्ट विचारहरूद्वारा प्रभावित भएको देखिन्छ । यो कुरा ठिक त्यस्तै हो, जस्तो कि हिटलरका जातिवादी र फासिष्ट विचारहरूलाई जर्मनीका जनताले अन्धानुकरण गरेका थिए र त्यसको परिणामस्वरूप पूरै विश्व मात्र होइन, स्वयं जर्मनीका जनताले पनि ठुलो क्षति उठाउनु परेको थियो । पछि स्वयम् जर्मनीका जनता उनका नीति र कारबाहीहरूका विरुद्ध वीरतापूर्ण प्रतिरोधमा उत्रेका थिए । वास्तवमा ट्रम्पले जुन प्रकारका विचारहरू अगाडि ल्याएका छन्, ती विचारहरूले अमेरिकी जनता होइन, त्यहाँका ठुला पुँजीपतिहरूका विचारहरूको नै प्रतिनिधित्व गर्दछन् । त्यसैले त्यस प्रकारका नीतिहरूका विरुद्ध अमेरिकी जनताको विरोध वा आन्दोलन एउटा अपरिहार्य आवश्यकता हो ।
ट्रम्पको मुख्य नारा अमेरिका प्रथम भन्ने नै रहेको छ । जसरी कि हिटलरले जर्मन जाति संसारको नै श्रेष्ठ जाति हो भन्ने नारा दिएर जर्मनीका जनतालाई आकर्षित गर्ने प्रयत्न गरेका थिए, त्यही प्रकारले ट्रम्पले ‘अमेरिका प्रथम’को नारा दिएर सम्पूर्ण अमेरिकी जनताको समर्थन प्राप्त गरेर आफ्ना साम्राज्यवादी र फासिवादी नीतिहरूलाई सफल पार्ने प्रयत्न गरेका छन् ।
अमेरिकालाई प्रथम बनाउनका लागि उनले भौगोलिक, राजनीतिक, सामरिक र आर्थिक दृष्टिकोणले समेत कैयौँ योजनाहरूको घोषणा गरेका छन् । प्रथम त, उनले क्यानडालाई, जो एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र हुनुका साथै संयुक्त राष्ट्र अमेरिकाभन्दा भौगोलिक रूपले धेरै ठुलो छ, लाई अमेरिकामा मिलाउने घोषणा गरेका छन् । त्यसका साथै उनले ग्रिनल्याण्ड, जो संसारको सबैभन्दा ठुलो र धेरै नै खनिज पदार्थहरूले सम्पन्न टापू हो,लाई कब्जा गर्ने र पनामा नहरमाथि पनि कब्जा गर्ने घोषणा गरेका छन् । उनले मेक्सिको खाडीको नाम पनि अमेरिकाको खाडी राख्ने बताएका छन् । उनका त्यस प्रकारका नीतिहरूबाट अमेरिकाको भौगोलिक क्षेत्रफलको अहिलेभन्दा धेरै नै विस्तार हुने छ । त्यसरी अमेरिकालाई महान् बनाउने योजनाबाट अमेरिकी जनता दङ्गदास छन् र उनीहरूले ट्रम्पलाई जोडदार प्रकारले समर्थन गरेका छन् । तर उनको त्यस प्रकारको नीतिबाट विश्वभरमा ट्रम्प र अमेरिका समेतका विरुद्ध व्यापक असन्तोष उत्पन्न हुनेछ र त्यसबाट प्रकारान्तरले अमेरिकालाई अरु धेरै क्षति पुग्नेछ भन्ने कुराप्रति ट्रम्प वा उनलाई समर्थन गर्ने जनताको कमै ध्यान गएको पाइन्छ ।
ट्रम्पले तुरुन्तै अवैध आप्रवासीहरूलाई अमेरिकाबाट निष्काशित गर्न वा उनीहरूलाई अमेरिकामा प्रवेश गर्न रोक्ने घोषणा गरेका छन् । अमेरिकामा बसोवास गर्ने त्यस प्रकारका आप्रवासहरूको सङ्ख्या एक करोड भन्दा धेरै बढी भएको अनुमान गरिन्छ । त्यस सिलसिलामा विदेशी आप्रवासीहरूलाई ठुलो पैमानामा धरपकड गर्ने र देश निकाला गर्ने काम समेत सुरु भएको छ । उनको त्यस प्रकारको नीति अमेरिकामा बढ्दै गएको आर्थिक सङ्कट र बेरोजगारीको परिणाम हो । अमेरिकामा बढ्दै गएको आर्थिक सङ्कट र बेरोजगारीका कारणले आप्रवासीहरूलाई त्यहाँबाट हटाएर ट्रम्पले त्यहाँको बेरोजगारीको समस्यालाई समाधान गर्न चाहन्छन् ।
अमेरिका सहित विकसित पुँजीवादी देशहरूमा पिछडिएका वा विकासोन्मुख देशहरूबाट ठुलो सङ्ख्यामा मानिसहरू रोजगारीको लागि त्यहाँ जाने गर्दछन् । तर अनुभवले यो बताइरहेको छ कि उनीहरूले स्थायी रूपले त्यसरी आफ्नो समस्याको समाधान गर्न सक्ने छैनन् । अहिले अमेरिकाबाट उनीहरू जसरी निष्कासित हुनु परिरहेको छ, त्यसरी नै उनीहरू अन्य विदेशी देशहरूबाट पनि निष्काशित हुँदै जानुपर्ने छ । पहिले मानिसहरू त्यति सजिलैसित युरोपका देशहरूमा जाने गर्दथे, अब यसरी जान पाउँदैनन् । युरोपका विभिन्न देशहरूमा पनि बढ्दो आर्थिक सङ्कट र बेरोजगारीका कारणले विदेशी आप्रवासीका विरुद्ध आवाज उठिरहेको छ । भारतमा पनि नेपालीहरूले पहिले त्यहाँ जति सजिलैसित काम पाउँथे अब पाउन छाडेका छन् । अरबका खाडीहरूमा पनि त्यहाँको मध्ययुगिन र निरङ्कुश शासन प्रणालीका कारणले त्यहाँ जाने नेपालीहरूले कैयौँ प्रकारका अन्याय र प्रतिबन्धको सामना गर्नुपर्दछ । त्यसले त्यहाँ रोजगारी झन् पछि झन् कठिन हुदै गइरहेको छ । संसारका विभिन्न भागहरूमा बढ्दै गएको युद्धको स्थितिले पनि ती देशहरूबाट आप्रवासीहरू लगातार पलायन गर्ने स्थितिको सिर्जना हुँदै गइरहेको छ ।
वास्तवमा अहिले अमेरिकामा आप्रवासीहरूले जुन समस्याको सामना गर्नु परिरहेको छ, त्यो एउटा विश्वव्यापी समस्या हो । त्यसरी त्यो समस्याको स्थायी समाधान आफ्ना–आफ्ना देशहरूमा नै दीगो विकासका लागि प्रयत्न गर्नु नै हो । निश्चय नै त्यो कार्य सजिलो छैन । विभिन्न देशहरूमा भएका विद्यमान अन्यायपूर्ण व्यवस्था वा गैरजिम्मेवार र जनविरोधी सरकारहरूका विरुद्ध सङ्घर्ष गरेर नै त्यो समस्याको समाधान हुन सक्दछ । त्यसैले सबै देशमा रोजगारीका लागि गएका आप्रवासीहरूले दीर्घकालीन रूपमा त्यो ऐतिहासिक आवश्यकताप्रति ध्यान दिनुपर्ने आवश्यकता छ । विश्वभरमा फैलिएका नेपालीहरूको पनि यो कुरामा ध्यान जानुपर्ने आवश्यकता छ कि अन्त्यमा काम लाग्ने आफ्नै देश हो र देशको दिगो विकासबाट नै उनीहरूका समस्याहरूको समाधान हुन सक्दछ ।
ट्रम्पले अमेरिकामा बसोवास गर्ने आप्रवासीहरूले अहिलेसम्म प्राप्त गर्दै आएको जन्मसिद्ध नागरिकताको अधिकारलाई पनि समाप्त गर्ने घोषणा गरेका छन् । तर त्यो अमेरिकाको संविधानद्वारा प्रदत्त अधिकार हो । त्यसका विरुद्ध अमेरिकाको सर्वाेच्च अदालतमा मुद्दा परेको छ र अदालतले ट्रम्पको त्यो घोषणाका विरुद्ध स्टे अर्डर दिएको छ । अन्त्यमा त्यसबाट के फैसला हुनेछ ? त्यो कुरा केही दिनपछि मात्र थाहा हुनेछ ।
ट्रम्पले आफ्नो चुनाव प्रचारको दौरानमा बारम्बार यो घोषणा गरेका थिए, उनी युद्धका विरुद्ध र शान्तिका पक्षमा छन् । उनले राष्ट्रपति बनेको २४ घन्टाभित्र नै युक्रेनको युद्ध समाप्त गर्ने छन् । तर अब व्यवहारमा उनको त्यो घोषणा चुनावको प्रचारवाजी थियो भन्ने कुरा छर्लङ्ग हुँदै गएको छ । उनले क्यानडा, ग्र्रीनल्याण्ड वा पनामा नहरबारे प्रकट गरेका विचारहरूबाट पूरै उत्तरी अमेरिकी महाद्वीपमा नै तनाव, अशान्ति र युद्धको स्थिति पैदा हुने सम्भावना बढ्दै गइरहेको छ । निश्चय नै उनका त्यस प्रकारका घोषणाहरूबाट पैदा भएको तनाव वा युद्धको स्थिति त्यहीँसम्म मात्र सीमित रहने छैन र त्यो संसारका अन्य भागहरूमा पनि फैलिँदै जानेछ ।
उनले अहिले चीनप्रति पूरै आक्रामक नीति अपनाएको देखिन्छ । त्यसले गर्दा पनामा नहर दक्षिण चीन सागर, ताइवान र व्यापार समेतका पक्षमा चीनसित तत्काल नै अमेरिकाको चीनसित भिडन्त हुने सम्भावना बढ्दै गइरहेको छ । उनको नीतिका कारणले एमसीसी वा दलाई लामाको प्रश्नमा समेत तिब्बतप्रतिको अमेरिकाको नीति कुन प्रकारले अगाडि आउने हो ? त्यो जान्न हामीले सायद अझै केही समय पर्खनुपर्ने छ । ट्रम्पले तत्काल नै क्वाडको बैठक बोलाउने निर्णय गरेका छन् । स्पष्ट छ कि त्यो बैठकको मुख्य उद्देश्य चीनका विरुद्ध घेराबन्दी गर्नु नै हो । त्यसले विश्वको राजनीतिलाई अवश्य पनि अरू अशान्त र युद्ध उन्मुख बनाउँदै लैजाने कुराको अनुमान गर्न सकिन्छ । आफू राष्ट्रपति बनेको २४ घन्टाभित्र युक्रेनको युद्ध समाप्त गर्ने घोषणा गरेका ट्रम्पले अब युद्धविराम गर्नको लागि रूसलाई धम्की दिन र त्यसका विरुद्ध सेन्सर लगाउने कुरा गर्न थालेका छन् । ट्रम्पको त्यो नीतिबाट युक्रेनको युद्ध छिट्टै समाप्त हुने कम, तर त्यो युद्धको नाटोका देशहरूमा समेत विस्तार हुने नै बढी सम्भावना देखिन्छ । त्यसरी उनले व्यवहारमा बाइडेनको युक्रेनको युद्धलाई निरन्तरता दिने तथा त्यसलाई पूरै युरोपी महाद्वीपमा विस्तारित गर्ने नीतिलाई नै अनुकरण गर्न खोजेको देखिन्छ । उनले नाटोमा पनि आफ्नो सुरक्षा सम्बन्धी खर्च राष्ट्रिय आयको दुई प्रतिशतबाट ५ प्रतिशत बनाउने कुरामा जोडदिइरहेका छन् र अन्यथा अमेरिका नाटोबाट नै अलग हुने कुरा गरिरहेका छन् । उनको त्यो नीतिबाट अमेरिका र नाटोका बिचमा पनि तनाव बढ्दै जाने सम्भावना देखिन्छ ।
अमेरिकाले इजरायल राज्यको स्थापना गरेर तथा त्यसलाई शक्तिशाली बनाएर सम्पूर्ण मध्यएसियामा आफ्नो नियन्त्रण गर्न चाहन्छ । प्रथमत: इजरायल राज्यको स्थापना प्यालेस्टाइनी जनताको दमनमाथि आधारित छ । त्यसले गर्दा मध्यएसियामा प्यालेस्टाइन मुक्ति आन्दोलन जस्तो एउटा दीर्घकालीन समस्या पैदा भएको छ, जसलाई पराजित गर्नु अमेरिकाको लागि कहिल्यै पनि सम्भव हुने छैन । अमेरिकाको इजरायल र प्यालेस्टाइन सम्बन्धी नीतिबाट पूरै मध्यएसियामा अमेरिका विरुद्ध व्यापक रोष र असन्तोष उत्पन्न भएको छ । अहिले इरानसित पनि अमेरिकाको गम्भीर प्रकारको अन्तर्विरोध पैदा भएको छ । त्यस प्रकारको पृष्ठभूमिमा मध्यएसियामा अमेरिकाको स्थिति बलियो हुँदै जानु भन्दा झन् पछि झन् कमजोर हुँदै जाने कुरा नै स्पष्ट छ ।
ट्रम्प अमेरिकाका ठुला पुँजीपति वा एकाधिकार पुँजीवादका प्रतिनिधि हुन् । त्यसैले उनले प्रधान रूपले अमेरिकाका ठुला पुँजीपतिहरूको स्वार्थको नै प्रतिनिधित्व गर्दछन् । अहिले उनको सबैभन्दा बढी ध्यान यो कुरामा छ कि अमेरिका गम्भीर प्रकारको आर्थिकको स्थितिमा पुगिरहेको छ र अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाको व्यापार वा डलर तथा अमेरिकाको प्रतिष्ठा समेतको अवमूल्यन हुँदै गइरहेको छ । उनको अमेरिका ‘प्रथम’को नाराका पछाडि मुख्य रूपले अमेरिकी एकाधिकार पुँजीवाद ‘प्रथम’ नै हो । अर्को शब्दमा उनको मुख्य ध्यान अमेरिकी एकाधिकार पुँजीवादको संरक्षण र विश्वमा त्यसको प्रभुत्व कायम गर्नु नै हो । त्यसका लागि उनले सर्वप्रथमत: अमेरिकामा आउने विदेशी उत्पादनलाई कम गर्ने कुरामा जोड दिएका छन् र विदेशबाट अमेरिकामा आउने सामानहरूमा बढी कर लगाउने घोषणा गरेका छन् । उनको त्यो नीतिबाट संसारका विभिन्न देशहरूसित उनको एक प्रकारले व्यापारिक शीतयुद्ध नै सुरु हुने छ ।
यो कुरा स्पष्ट छ कि ट्रम्पको नीतिबाट अमेरिका र विश्वमा पनि धेरै असर पर्ने छ । त्यस सन्दर्भमा बुभ्mनुपर्ने कुरा के छ भने अन्तत्त्वगत्वा उनका नीति वा उनको भूमिका नै निर्णयात्मक हुने छैन । उनका विरुद्ध संसारमा कैयौँ शक्तिहरू अगाडि आउने छन् र उनीहरूसित अमेरिकाले कडा प्रतिसपर्धा गर्नुपर्नेछ । स्वयं अमेरिकामा पनि उनका विरुद्ध स्वरहरू उठ्न थाल्नेछन् वा आन्दोलनहरू हुन थाल्नेछन् । अहिले संसदका तल्लो र उपल्लो दुवै सदनमा उनको बहुमत छ । तर त्यो बहुमत सधैँ रहने छैन वा त्यहाँबाट पनि उनका अध्यादेशहरूको विरुद्ध आवाज उठ्न थाल्नेछ । उनका विरुद्ध अमेरिकाको न्यायपालिकामा पनि कैयौँ याचिकाहरू दाखिल हुन थाल्नेछन् र न्यायपालिकाले उनका फासिवादी कदमहरूमा नियन्त्रण गर्न थाल्ने छ । उनको विजयपछि प्रारम्भमा उनका पक्षमा जनलहरको जति लहर उठेपनि उनका फासिवादी नीतिहरूका कारणले स्वयं अमेरिकामा पनि उनका विरुद्ध जनमत तयार हुन थाल्नेछ ।
ट्रम्पले त्यहाँका ठुला पुँजीपतिहरूको स्वार्थका लागि, एकातिर, अमेरिकाका मेहनतकस जनताको शोषणलाई बढाएर लैजान र, अर्कातिर, विश्वव्यापी रुपमा नै आफ्नो प्रभुत्व कायम गर्न चाहान्छन् । त्यसको त्यस प्रकारको नीतिबाट नै अमेरिकी साम्राज्यवादको विश्वका उत्पीडित राष्ट्रहरू र जनतासितको त्यसको अन्तर्विरोध बढ्दै जानेछ र बढ्दै पनि गइरहेको छ । त्यसको परिणाम अन्तमा साम्राज्यवादको पराजय तथा शान्ति र लोकतन्त्रको विजय नै हुनेछ ।
ट्रम्प राष्ट्रपति बनेपछि उनले अपनाएका नीतिहरू र त्यसबाट विश्वमा पर्न सक्ने परिणामबारे माथि जे उल्लेख गरिएको छ, ती निश्चित रुपले प्रारम्भिक कुराहरू नै हुन् । यो कुराको अनुमान गर्न सकिन्छ उनका साम्राज्यवादी र फासीवादी नीतिहरू गम्भीर रुपमा देखा पर्दै जाने छन् र त्यसको सम्पूर्ण विश्वमा र स्वयं अमेरिकामा पनि कैयौँ गम्भीर परिणाम हुँदै जाने छन् । त्यसरी यो कुरामा कुनै शङ्का छैन कि उनको शासनकाल सम्पूर्ण विश्व र स्वयं अमेरिकाका लागि पनि अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ । उनले जुन अमेरिका प्रथमको नारा दिएका छन्, त्यसको उद्देश्य खालि अमेरिकाका ठुला पुँजीपतिहरूको सेवा गर्ने नै हो तर स्वयं उनीहरूलाई पनि ट्रम्पका नीतिहरूले फाइदा पुग्न सक्ने छैन । किनभने पुँजीवादको विनासको मूल कारण स्वयं उनीहरूको नै चरित्रमाथि अन्तर्निहित हुन्छ र त्यो कारण पुँजीवादी उत्पादन प्रणालीको चरित्रमा निहित हुन्छ । त्यसको परिणाम यो हुनेछ कि ट्रम्पले ठुला पुँजीपतिहरूको सेवाका लागि जुन कदम उठाउँदै जाने छन्, त्यसको परिणामस्वरूप विश्वमा र अमेरिकामा पनि अमेरिकी साम्राज्यवादप्रतिको असन्तोष र विरोध अरू बढ्दै जाने छ र त्यसको स्थिति अरू कमजोर हुँदै जानु अवश्यमभावी छ ।

२०८१ माघ १३ गते ।

मोहनविक्रम सिंह
महामन्त्री

पार्टी गतिविधि

Translate »
Scroll to Top