Nepal communist party

प्रेस वक्तव्य (२०८१ माघ २१ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो स्पष्ट धारणा छ कि सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्ने, गालीगलौज गर्ने, व्यक्तिगत गोपनीयतालाई भङ्ग गरिदिने, छाडा र अश्लिल क्रियाकलाप सम्प्रेषण गर्ने जस्ता क्रियाकलापमाथि नियन्त्रण र नियमन गरिनुपर्ने आवश्यकता छ । तर त्यसलाई नियन्त्रण र नियमन गर्ने भन्दा पनि प्रेस स्वतन्त्रतामाथि नै प्रतिबन्ध लगाउने प्रकारका कैयौँ विषय यस विधेयकमा समावेश रहेका छन् । विधेयकले ‘वर्ग’ लगायत कतिपय सामाजिक र राजनीतिक विसङ्गतिको विरुद्ध विरोध गर्न पाउने प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको र कतिपय द्विअर्थी लाग्ने प्रावधानले राज्यशक्तिको दुरुपयोगतालाई बढाएर लैजाने स्पष्ट छ । यस प्रकारको अवस्थामा हाम्रो पार्टीले त्यस प्रकारको विधेयकको विरोध गर्दछ र प्रेस स्वतन्त्रता एवं जनताको मौलिक अधिकारको सुरक्षा हुने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिन्छ ।
पाथीभरामा केबुल सञ्चालन सम्बन्धी भइरहेको विवादप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । विकास कार्यलाई वृद्धि गरेर लैजानुपर्ने कुरालाई हामीले सही मान्दछौँ र त्यस प्रकारको कार्यलाई पर्यटन विशेष स्थलमा पनि सुदृढ गरेर लैजानुपर्दछ । संसारभरि महŒवपूर्ण स्थान, धार्मिक वा पर्यटकीय स्थलमा केबुलकार वा सडक सुविधाको व्यवस्था गर्ने प्रचलन रहँदै आएको छ । त्यसैले पाथीभरामा केबुलकार सञ्चालनमा ल्याउने कार्यलाई हामीले गलत मान्दैनौँ । तर त्यसका साथै अर्को पक्षतर्फ पनि हाम्रो ध्यान छ कि त्यहाँका जनताको संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासको पक्षलाई पनि राज्यले गम्भीर रूपले सम्बोधन गर्नुपर्दछ । त्यसरी त्यहाँ विकासको कार्य र जनताको संस्कृति तथा सभ्यताको संरक्षणको बिचमा सही र उपयुक्त योजना बनाउनुपर्नेमा राज्यको गम्भीर ध्यान जानुपर्दछ भन्ने हाम्रो दृढ मत रहेको छ । यसका साथै पाथीभरामा केबुलकारको स्टेशन धार्मिक स्थलभन्दा केही दूरीमा टाढा हुनु अनिवार्य छ र त्यो कति दूरीमा हुने भन्ने कुरा त्यहाँका जनता र केबुलकार सञ्चालकहरुको आपसी सहमति र सल्लाहबाट निश्चित गरिनुपर्नेमा हामीले जोड दिन्छौँ ।

२०८१ माघ २१ गते ।

रामप्रकाश पुरी

प्रवक्ता

पार्टी गतिविधि

Translate »
Scroll to Top