नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
युक्रेनको युद्धबाट विश्व साम्राज्यवादको चरित्रबारे धेरै कुरा छर्लङरग भएको छ । युक्रेनको युद्धबाट त्यहाँ जनधनको ठुलो क्षति भएको छ । युद्ध रोकिएपछि पनि त्यहाँको उद्धारका लागि ठुलो धनराशी र दशाब्दिऔंको लामो समय लाग्ने छ । त्यहाँको युद्धको लागि रूसी साम्राज्यवाद र पश्चिमी साम्राज्यवाद दुवै जिम्मेवार छन् ।
युक्रेनको युद्धबाट यो कुरा प्रस्ट हुन्छ कि कुनै साम्राज्यवादी शक्तिले आÇना साम्राज्यवादी स्वार्थका लागि कुनै देशलाई कहाँसम्म बरबाद गर्न सक्दा रहेछन् । कुनै देशमाथि गर्ने आक्रमण मात्र होइन, युद्धको बेलामा दिने सहायता पनि उनीहरूको साम्राज्यवादी स्वार्थद्वारा नै निर्देशिन हुने कुरा पनि युक्रेनको युद्धबाट छर्लङ्ग भएको छ । युक्रेनको युद्धमा सबैभन्दा धेरै मद्दत अमेरिकाले नै गरेको छ । तर अब अमेरिकाका राष्ट्रपति ट्रम्पको भनाइबाट प्रस्ट भएको छ कि त्यहाँ अमेरिकाले जे–जति मद्दत गरेको थियो, त्यसको एकएक पैसाको हिसाब गरेको थियो । युक्रेन दुर्लभ खनिज पदार्थहरूले भरिएको एउटा धेरै नै धनी देश हो । अमेरिकाले युद्धमा पैसा वा हतियारले मद्दत गर्नुको पछाडि मुख्य उद्देश्य त्यहाँका दुर्लभ खनिज पदार्थहरूमाथि कब्जा गर्नु नै थियो भन्ने कुरामा अब कुनै शङ्का रहेको छैन ।
नाटोका देशहरूले सुरुदेखि नै युक्रेनलाई मद्दत गरेका थिए र अहिले पनि उनीहरूले रूसका विरुद्ध पूरै मद्दत गर्ने कुरा गरिरहेका छन् । प्रथम त त्यो युद्धको प्रारम्भ नै पश्चिमी समाजवादी देशहरूको साम्राज्यवादी स्वार्थ पूरा गर्न भएको थियो । उनीहरूले जेलेन्स्की जस्तो साम्राज्यवादको दलाललाई युक्रेनको राष्ट्रपति बनाए र युक्रेनलाई नाटोको सदस्य बन्नका लागि पहलकदमी गर्न लगाए । त्यसका पछाडिको उद्देश्य रूसी साम्राज्यवादसित उनीहरूको अन्तर्विरोध र रूसको सीमासम्म आÇनो सीमा फैलाउनु थियो । त्यही कारणले नै रूसले युक्रेनमाथि आक्रमण ग¥यो र त्यो युद्ध सुरु भयो । रूसको ध्यान पनि युक्रेनको दुर्लभ खनिज पदार्थहरूमाथि थियो र त्यस प्रकारका खनिज पदार्थहरूको प्रचुरता भएको भागमा नै उसले कब्जा गरेको तथ्यबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।
अमेरिकाले रुस र युक्रेनका बिचमा शान्ति सम्झौताका लागि पहल गरिरहेको छ । तर त्यस प्रकारको पहलका पछाडि उसको मुख्य ध्यान युक्रेनका दुर्लभ खनिज पदार्थमाथि नै भएको कुरा अब छर्लङ्ग भएको छ । युरोपियन देशहरूले त्यो युद्धलाई कायम राख्न जेलेन्स्कीमाथि दबाब दिइरहेका छन् । त्यसका पछाडि उनीहरूको उद्देश्य पनि युक्रेनका खनिज पदार्थहरुलाई कब्जा गर्नु नै भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसका साथै त्यो युद्ध लम्बिएमा आÇना हतियारहरुको ठुलो व्यापार गरेर नाफा कमाउने उनीहरूको उद्देश्यले पनि काम गरेको कुरा अनुमान गर्न सकिन्छ । त्यही उद्देश्य पूरा गर्न उनीहरूले त्यहा“ जेलेन्स्कीलाई सत्तारुढ गराएका थिए र अब पनि उसलाई पूरै युद्धमा लगाउन चाहन्छन् ।
माथि जुन कुरा लेखियो, त्यसबाट के प्रष्ट हुन्छ भने जुनसुकै देशको साम्राज्यवाद होस् त्यसको मुख्य उद्देश्य कुनै देशको हित गर्नु होइन, बढीभन्दा बढी नाफा कमाउनु नै हुन्छ । उनीहरुका शान्ति, मानवता वा लोकतन्त्रको प्रचारका पछाडि मुख्य उद्देश्य त्यही नै हुन्छ । कुनै देशसितको मित्रता वा शत्रुता दुवै अवस्थामा उनीहरुको मुख्य उद्देश्य त्यही नै हुन्छ । त्यसरी त्यो कुरामा कुनै शङ्का छैन कि साम्राज्यवाद संसारका सबै उत्पीडित राष्ट्र र जनताको दुश्मन शक्ति हो । अहिलेको युक्रेन युद्धले मात्र होइन, साम्राज्यवादको उत्थानदेखि उनीहरूले अपनाउ“दै आएका सबै नीति र क्रियाकलापहरूबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।
अमेरिकन र युरोपियन साम्राज्यवादी देशहरूका क्रियाकलापहरूबाट युक्रेन एक प्रकारले पूरै ध्वस्त भएको छ । जेलेन्स्की खाली साम्राज्यवादी शक्तिहरूका गोटी मात्र भए र उनले आÇना देश र जनताको हितमाथि ध्यान दिएर भन्दा साम्राज्यवादीहरूका लागि नै लडाई लड्ने काम गरे र उनको त्यस प्रकारको साम्राज्यवादपरस्त नीतिबाट युक्रेनका जनतालाई धेरै नै क्षति पुग्यो ।
युक्रेनको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्दछ र सिक्नु पनि पर्दछ । युक्रेन खनिज पदार्थहरूका दृष्टिकोणले धेरै सम्पन्न राष्ट्र हो र त्यसको त्यो प्राकृतिक सम्पन्नता नै त्यसका लागि अभिषाप बन्न पुग्यो । अफ्रिकाको पनि त्यही प्रकारको अनुभव हाम्रा अगाडि छ । अहिले ग्रिनल्याण्डमाथि कब्जा जमाउन अमेरिकाले जुन प्रयत्न गर्न थालेको छ, त्यसका पछाडि पनि ग्रिनल्याण्डमा प्रचुर मात्रामा दुर्लभ प्राकृतिक सम्पदा हुनु नै हो र त्यो कुरा प्रष्ट भएको छ । नेपाल पनि प्राकृतिक दृष्टिकोणले धेरै सम्पन्न राष्ट्र हो । नदी, बनजङ्गल, पहाड र हिमालय समेतका दृष्टिकोणले नेपाल धेरै नै सम्पन्न छ । नेपालमा ठुलो मात्रामा युरेनियम भएको पनि पत्ता लागेको छ । अब नेपालमा पेट्रोल र ग्या“स समेतको सम्भावना भएको कुरा थाहा हु“दै छ । संसारभरको, युक्रेन र अफ्रिका समेतको अनुभवबाट हामीले के बुझ्नु पर्दछ भने त्यस प्रकारको प्राकृतिक सम्पदा नै नेपालको लागि अभिषाप बन्न सक्दछ । त्यो प्राकृतिक सम्पदाबाट नेपालको विकासमा मद्दत पुग्नु भन्दा त्यसमाथिकब्जा जमाउन विभिन्न साम्राज्यवादीहरुको ध्यान जान सक्दछ वा त्यसका लागि उनीहरुका बिचमा युद्धको स्थिति उत्पन्न हुन सक्दछ । त्यसरी नेपाल युद्धको भूमि पनि बन्न सक्दछ । युक्रेनमा जलेनेस्की जस्तै नेपालका विभिन्न साम्राज्यवादपरस्त राजनीतिक पार्टी वा तत्वहरूले साम्राज्यवादीहरू त्यस प्रकारका उद्देश्यहरू पूरा गर्न उनीहरूको सेवा पनि गर्न सक्दछ । यो सम्पूर्ण देश र नेपाली जनताका लागि गम्भीर चिन्ताको कुरा हो । भविष्यमा त्यसका दुरगामी परिणामहरू हुन सक्दछन् । त्यसकारण त्यस प्रकारको सबै सम्भावनाका विरुद्ध नेपाली जनताको उच्च प्रकारको राजनीतिक चेतना हुनु पर्दछ । त्यसका लागि दुईवटा कुराप्रति हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ ः प्रथम, आÇना क्षुद्र फाइदाहरूका लागि विभिन्न साम्राज्यवादी शक्तिहरूको सेवा गर्ने भन्दा त्यसका विरुद्ध स्पष्ट र सचेत सङ्घर्षको नीति । द्वितीय, आÇना क्षुद्र फाइदाहरूका लागि एक वा अर्को प्रकारले साम्राज्यवादपरस्त नीति अपनाउने राजनीतिक पार्टी वा एनजीओ र आइएनजीओहरूप्रति स्पष्ट दृष्टिकोण । तर त्यो निकै नै दुःख र दुर्भाग्यको कुरा हो कि नेपालमा राजनीतिक वा समाजका विभिन्न क्षेत्रहरुमा एक वा अर्को रूपमा साम्राज्यवादपरस्त सोचाइहरू बढ्दै गइरहेका छन् र तिनीहरूका विरुद्ध नेपाली जनतामा समयमा नै उच्च चेतनाको विकास हुन नसकेमा त्यसले नेपाललाई गम्भीर दुर्भाग्य वा सङ्कटको मुखमा लैजाने कुरा निश्चित छ । तर हामीले आशा र विश्वास गर्नुपर्दछ र उच्च प्रकारको शतर्कतापूर्वक देशलाई त्यस प्रकारको कुनै पनि दुर्घटनामा लैजाने प्रयत्नहरुका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गरिरहनु पर्दछ । त्यसरी नै हामीले देशलाई सम्भावित कुनै पनि प्रकारको दुर्घटनाबाट बचाउन सक्नेछौं र बचाउनु पनि पर्नेछ ।
२०८१ फागुन २० गते ।
माेहन विक्रम सिंह
महामन्त्री