नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
११५ औँ महिला दिवसको अवसरमा हामीले विश्वभरिका महिलाहरूको मुक्ति आन्दोलन र सङ्घर्षप्रति ऐक्यवद्धता प्रकट गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
आजभन्दा ११५ वर्ष अगाडिबाट सुरु भएको महिला दिवसको परम्परा विभिन्न मुक्ति र अधिकारका आन्दोलन र सङ्घर्ष सहित निरन्तर अगाडि बढिरहेको छ । ती सङ्घर्ष र आन्दोलनका परिणामस्वरूप महिला अधिकारको क्षेत्रमा व्यापक विस्तार हुनाको साथै अन्तर्राष्ट्रिय महासन्धि पनि भएका छन् । त्यो सकारात्मक कुरा भएपनि महिला अधिकार सम्बन्धी महासन्धि र कानुनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन नगर्दा महिला हिंसा, बलत्कार र हत्याका घटना विश्वव्यापी रूपमा घटिरहेका छन् । हामीले महिला अधिकार सम्बन्धी महासन्धि र कानुनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन चाहन्छौँ ।
नेपालमा महिला अधिकारको क्षेत्रमा केही प्रगति भएको भएपनि महिला अधिकार सम्बन्धी कानुनलाई प्रभावकारी प्रकारले कार्यान्वयन नगरिएकोले वा प्रभावकारी कानुनको अभावका कारण महिलामाथि हुने हिंसा, बलत्कार र हत्याका घटना बारम्बार भइरहेका छन् । त्यस प्रकारका अपराधका अभियुक्तहरूलाई कानुनको दायरामा ल्याउन राज्य असफल भइरहेको अवस्था छ । यस सन्दर्भमा निर्मला पन्त हत्याकाण्ड उल्लेखनीय रहेको छ । उक्त हत्याकाण्डमा संलग्न अभियुक्तबारे छानवीन गरी तिनीहरूलाई कारबाहीको दायरामा ल्याउन राज्य र सरकार अहिलेसम्म सफल हुन सकिरहेका छैनन् । यो घटनाले नेपालमा महिला हिंसा, बलत्कार र हत्याको अवस्था तथा राज्यको भूमिकाबारे गम्भीर प्रश्न खडा हुने गरेको छ । हामीले महिलाविरुद्ध हुने हिंसा, बलत्कार र हत्या सम्बन्धीका कानुनलाई प्रभावकारी प्रकारले कार्यान्वयन गर्नका लागि सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।
अहिले देशमा प्रतिगमनको गम्भीर समस्या उत्पन्न भएर गएको छ । प्रतिगामी शक्तिहरूले जनताको बलिदान र सङ्घर्षबाट प्राप्त भएका उपलब्धिलाई समाप्त गरेर देशमा निरङ्कुश व्यवस्थाका लागि अभियान चलाइरहेका छन् । प्रतिगमनले सामन्तवाद र निरङ्कुशतालाई मजबुद बनाउने भएकोले यदि देशमा त्यस प्रकारको स्थिति उत्पन्न भएमा जनताका मौलिक अधिकारका साथै जनताका सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि समाप्त हुने कुरा निश्चित छ । त्यो अवस्थामा महिला अधिकार पनि कुण्ठित हुनुुको साथै उनीहरूको सुरक्षाको प्रश्न पनि गम्भीर बन्न पुग्ने छ । त्यसैले सम्पूर्ण नेपाली जनता तथा महिलाको आन्दोलन र सङ्घर्ष देशमा प्रतिगमनका विरुद्ध केन्द्रित हुनुपर्ने आवश्यकतामाथि हामीले जोड दिन चाहन्छौँ ।
देशमा साम्राज्यवादी शक्तिहरूको चलखेल पनि बढ्दै गइरहेको छ । साम्राज्यवादी शक्तिहरूले देशमा जातिवाद, क्षेत्रीयतावाद, विखण्डन, साम्प्रादायिक भावनालाई मलजल गरिरहेका छन् । नेपालमा सङ्घीयतालाई माध्यम बनाएर उनीहरूले त्यस प्रकारका गतिविधिलाई तीव्र बनाउने काम गरेका छन् । त्यसबाट सामाजिक सद्भाव भत्किनुका साथै राष्ट्रिय एकतामा गम्भीर समस्या बढ्दै गइरहेका छन् । साम्राज्यवादी शक्तिहरूको बढ्दो प्रभावका कारण देशको सार्वभौमिकता, राष्ट्रियता र स्वाधीनतामा गम्भीर आँच पुग्दै गएको छ । हामीले महिला दिवसको अवसरमा महिला आन्दोलन र सङ्घर्षलाई देशको राष्ट्रियता र स्वाभिमानको रक्षार्थ खडा गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिन चाहन्छौँ ।
अहिले विश्वमा तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको छ । साम्राज्यवादी स्वार्थहरूले सम्पूर्ण विश्वलाई त्यतातिर धकेल्दै लगिरहेका छन् । विगतका युद्धहरू जस्तै सम्भावित हुन सक्ने युद्धले पनि ठुलो मानव विनाश निम्त्याउने छ । यसबाट सबै भन्दा बढी प्रभावित महिला नै हुने छन् । त्यसैले तेस्रो विश्वयुद्धका लागि जुन वातावरण बन्दै गइरहेको छ, त्यसको विरोध गर्नु विश्वका सम्पूर्ण जनताको दायित्व बन्न गएको छ । महिला दिवसको अवसरमा हामीले विश्वका सम्पूर्ण महिलाको शक्ति साम्राज्यवादी युद्धका विरुद्धमा खडा हुनुपर्ने आवश्यकतामाथि जोड दिन चाहन्छौँ ।
महिला समस्या नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा नै गम्भीर छ । महिला अधिकार र कानुनको केही विकास भएको भएपनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्ने, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका अधिकारबाट बञ्चित गराउने काम कैयौँ मुलुकमा अद्यावधि कायम छ । त्यसबाट महिला हिंसा, बलत्कार र हत्याको डरलाग्दो अवस्थाको विश्वव्यापी चित्र अगाडि आउँछ । पुँजीवादी युगमा महिलाको अधिकार सुनिश्चित हुँदैन । त्यसका लागि समाजवादी व्यवस्थाको स्थापना हुनुपर्ने आवश्यकता छ । त्यस प्रकारको व्यवस्थाको लागि महिला मुक्ति आन्दोलनलाई पनि वर्गीय सङ्घर्षसित जोडेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता हुनेछ । तर तत्काल पुँजीवादी युगमा पनि सम्भव भएसम्म विभिन्न तहका सङ्घर्ष र आन्दोलन गरेर महिला अधिकारको क्षेत्रलाई सुधार गर्दै विस्तृत बनाउन सकिन्छ । हामीले त्यसका लागि पनि जोड दिन्छौँ ।
अन्तमा, यस सन्दर्भमा हामीले प्रसन्नता व्यक्त गर्न चाहन्छौँ कि अन्तर्राष्ट्रिय सैद्धान्तिक महिला सेमिनार सन् २०२५ को सेप्टेम्बर महिनामा काठमाडौमा हुँदै छ । त्यो सेमिनारले महिला अधिकारलाई अरू सुदृढ बनाएर लैजाने छ भनेर हामीले आशा गर्दछौँ ।
२०८१ फागुन २३ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)