नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
आज २०८१ साल चैत १५ गतेका दिन भएको राजावादीहरूको प्रदर्शनले जुन हिंसात्मक रूप लिएको छ, त्यसलाई ने.क.पा. (मसाल) ले तिव्र शब्दमा निन्दा र भ्रत्र्सना गर्दछ । त्यस प्रकारको गतिविधिबाट उनीहरूको आन्दोलनको उद्देश्य देशमा गणतन्त्र मात्र होइन, सम्पूर्ण रूपले लोकतन्त्रलाई समाप्त गर्ने तथा निरङ्कुश र फासिष्ट शासन कायम गर्ने नै भएको कुरामा कुनै शङ्का रहन्न । उनीहरूको आजको प्रदर्शनको प्रकृतिबाट देशमा राजतन्त्रको पुनस्र्थापना भएमा त्यसको परिणामस्वरुप देशमा कुन प्रकारको आतङ्क र दमनको स्थिति उत्पन्न हुनेछ ? त्यसको स्पष्ट चित्र हाम्रा अगाडि आएको छ । त्यो अवस्थामा देशमा राजतन्त्रको पुनस्र्थापनाको प्रयत्नलाई सम्पूर्ण रूपले पराजित गर्न लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षपातीहरू एकतावद्ध भएर सङ्घर्षमा उत्रनुपर्ने आवश्यकतामा ने.क.पा. (मसाल) ले जोड दिन्छ ।
आजको हिंसात्मक प्रदर्शनको क्रममा राजावादीहरूले गणतन्त्र पक्षधर शक्तिहरूका कार्यालय र निवासमा समेत तोडफोड गरेका छन् । त्यस सिलसिलामा एकिकृत समाजवादी पार्टीको कार्यालय तथा त्यसका नेता कामरेड माधव नेपालको भाइको घरमा समेत भएको तोडफोडको हाम्रो पार्टीले कडा शब्दमा निन्दा गर्दछ र त्यस प्रकारको कार्यविधिप्रति गम्भीर क्षोभ प्रकट गर्दछ । उनीहरूले कतिपय पत्रपत्रिकाका कार्यालयहरूमा आगजनी पनि गरेका छन् र त्यस प्रकारको आगजनीबाट एउटा पत्रकारको मृत्यु भएको कुरा पनि थाहा भएको छ ।
उनीहरूको त्यस प्रकारको कारबाही यहाँसम्म निम्न, असामाजिक रूपमा देखा परेको छ कि उनीहरू स्वास्थ्य सम्बन्धी संस्थानमा आगलागी गर्न र तोडफोड गर्न समेत पछाडि परेका छैनन् । उनीहरूको त्यस प्रकारको कार्यविधिको जति निन्दा गरेपनि कम हुनेछ । वास्तवमा उनीहरूको त्यस प्रकारको कार्यविधि नेपालको इतिहासमा लामो समयदेखि देखा पर्दै आएको राजतन्त्रको नै अभिव्यक्ति हो ।
हामीलाई विश्वास छ, उनीहरूको त्यस प्रकारको प्रतिक्रियावादी, अराजकतावादी वा आतङ्कवादी गतिविधिलाई नेपाली जनताले अवश्य पनि समर्थन गर्ने छैनन् र उनीहरू त्यसका विरुद्ध कडा सङ्घर्षमा उत्रने छन् । करिब एक शताव्दीदेखि निरङ्कुश राजतन्त्र वा विभिन्न प्रकारका प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्दै आएका नेपाली जनताले राजतन्त्रको पुनस्र्थापनको कुचेष्टालाई कुनै पनि अवस्थामा सफल हुन दिने छैनन् । उनीहरुको प्रतिक्रियावादी र अराजकतावादी गतिविधिका बिरुद्ध अहिलेदेखि नै जनताका विभिन्न समुहहरूबाट जुन प्रकारका कडा प्रतिक्रियाहरू अगाडि आउन थालेका छन्, त्यसबाट नेपाली जनताले राजतन्त्रको पुनस्र्थापनाको कडा प्रतिरोध गर्ने कुरामा कुनै शङ्का रहँदैन । नेवार समुदायले आजै नै उनीहरूका लागि हिन्दु राष्ट्र र राजतन्त्र सह्य नहुने प्रकारको अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् । हामीले उनीहरूको त्यस प्रकारको अभिव्यक्तिको उच्च रूपले समर्थन गर्दै देशका अन्य जनसमुदायहरू पनि गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा अगाडि आउँदै जानेछन् भन्ने कुरामा अगाध विश्वास प्रकट गर्दछौँ ।
आज राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनबाट उत्साहित भएर उनीहरूले करिब एक शताब्दीदेखि नेपाली जनताले राजतन्त्र, निरङ्कुश शासन वा विभिन्न प्रकारका प्रतिगमनका विरुद्ध गर्दै आएको सङ्घर्षको गौरवपूर्ण इतिहासलाई विर्सछन् भने त्यो उनीहरूको ठुलो गल्ती हुनेछ ।
हाम्रो पार्टीले प्रतिगमनको खतरालाई बारम्बार गम्भीर रूपमा लिदैँ आएको छ र त्यसका विरुद्ध जनतामा उच्च प्रकारको चेतना तथा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधरहरूका बिचमा बलियो ऐक्यवद्धतामा जोड दिँदै आएको छ । त्यस प्रकारको ऐक्यवद्धताका कैयौँ ऐतिहासिक उपलब्धिहरू पनि हुने गरेका छन् । तर दुःखको कुरा हो कि त्यस प्रकारको ऐक्यवद्धतामा एक वा अर्काे प्रकारले बारम्बार खलल पुग्ने गरेको छ । तर आज राजावादीहरूले देखाएको हिंसात्मक र फासिष्ट प्रकारको प्रदर्शनबाट गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सबै शक्तिहरूले शिक्षा लिनुपर्ने र आफ्नो बिचको ऐक्यवद्धतालाई मजबुत पारेर प्रतिगमनका विरुद्धको सङ्घर्षमा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
यो कुराप्रति हाम्रो पूरा ध्यान छ कि आज देशमा भएको व्यवस्थाका कारणले जनताका समस्याहरू समाधान हुन नसकेको मात्र होइन, अरू कुशासन र भ्रष्टाचार पनि बढ्दै गएको छ । तर त्यसको समाधान प्रतिगमन होइन, अग्रगमन हो । देश र जनताका समस्याहरूको समाधान विश्वभरको इतिहासले गलत सावित गरेर फ्याँकिसकेको राजतन्त्रतर्फ गएर होइन, अरू उच्च र उन्नत प्रकारको लोकतान्त्रिक व्यवस्थामा गएर नै हुन सक्दछ । त्यसकारण उच्च र उन्नत प्रकारको लोकतन्त्रको लागि सङ्घर्षलाई तिव्र पार्दै प्रतिगमनका दिशामा फर्कने सबै प्रकारका प्रयत्नहरूका विरुद्ध हामीले कडा सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै गणतन्त्र पक्षधर शक्तिहरूका बिचमा सङ्घीयताको प्रश्नमा भएको मतभेदप्रति पनि हाम्रो ध्यान छ । सङ्घीयताले देशलाई विनासतर्फ नै लैजानेछ । त्यसकारण त्यसका विरुद्धको सङ्घर्षलाई अरू अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । तर गणतन्त्र पक्षधरहरूका बिचमा त्यो प्रश्नमा मतभेद भएपनि प्रचण्डको विरोध तथा गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा हाम्रा बिचमा जुन एकता छ, त्यसलाई मजबुत धरातलमा स्थापित गर्दै देशलाई प्रतिगमनतिर लैजाने सबै प्रयत्नका विरुद्धको सङ्घर्षलाई देशव्यापी रूपमा अगाडि बढाउन हामी कटिबद्ध हुनुपर्ने आवश्यकतामा ने.क.पा. (मसाल) ले जोड दिन्छ ।
२०८१ चैत्र १५ गते ।
(मोहनविक्रम सिंह)
(महामन्त्री)