नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
यही चैत्र १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा भएको सर्वदलीय बैठक र त्यसले प्रतिगमनका विरुद्ध प्रकट गरेको ऐक्यवद्धतालाई ने.क.पा. (मसाल) ले स्वागत गर्दछ । चैत्र १८ गते पनि संसदमा सत्तामा वा प्रतिपक्षमा भएका राजनीतिक दलहरूले चैत्र १५ गतेको राजावादीहरूको हिंसात्मक गतिविधिका विरुद्ध प्रकट गरेका विचारहरूलाई पनि हाम्रो पार्टीले समर्थन गर्दछ । १७ गतेको सर्वदलीय बैठक वा १८ गतेको संसदमा समेत १५ गतेको राजावादीहरूको हिंसात्मक गतिविधिको भ्रत्र्सना गर्दै त्यस प्रकारको गतिविधिका लागि मुख्य रूपमा पूर्व राजा नै जिम्मा भएको विचार पनि प्रकट गरिएको थियो र उनको त्यस प्रकारको गतिविधिका लागि उनका विरुद्ध कानुन अनुसार कारबाही गर्ने कुरामा पनि जोड दिइएको थियो । त्यस प्रकारका विचारहरूलाई हाम्रो पार्टीले समर्थन गर्दछ ।
हाम्रो पार्टीले लामो समयदेखि नै देशमा प्रतिगमनको गम्भीर खतरा भएको कुरामा जोड दिँदै आएको छ र त्यसका विरुद्ध गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा भएका राजनीतिक शक्तिहरूको ऐक्यवद्धतामा जोड दिँदै आएको छ । चैत्र १५ गतेको घटनाक्रमबाट हाम्रो त्यस प्रकारको सोचाइको औचित्यता अरू प्रमाणित भएको छ र १७ गतेको सर्वदलीय बैठक र १८ गते सत्ता वा प्रतिपक्षका राजनीतिक शक्तिहरूद्वारा प्रकट गरिएका विचारहरुबाट त्यो दिशामा प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकतामा आम सहमति बन्दै गएको थाहा हुन्छ । त्यो स्वागतयोग्य कुरा हो ।
यो कुरा स्पष्ट छ कि त्यो दिनको त्यस प्रकारको हिंसात्मक कारबाही शीतल निवासमा भएको सल्लाह र त्यहाँको निर्देशन अनुसार नै भएको थियो । त्यसकारण त्यो दिनको घटनालाई हामीले उनीहरूको गणतन्त्र, धर्मनिरपेक्षतामाथि योजनावद्ध हमलाको रूपमा नै लिनुपर्ने आवश्यकता छ ।
सत्ता र विपक्षमा राजनीतिक दलहरूका बिचमा सैद्धान्तिक वा राजनीतिक रूपमा कैयौँ मतभेदहरू भएको कुराप्रति हाम्रो ध्यान छ । त्यही प्रकारले सङ्घीयताको प्रश्नमा अन्य पक्षहरूसित हाम्रो गम्भीर मतभेद भएको कुरा पनि आम रूपमा थाहा नै छ । तर हाम्रो त्यो मतभेद भएपनि त्यसबारे आफ्नो सङ्घर्षलाई बेग्लै सञ्चालन गर्दै प्रतिगमनको विरुद्धको सङ्घर्षमा समान विचारधारा राख्ने अन्य पक्षहरूसित संयुक्त भएर सङ्घर्षमा सहभागी हुने हाम्रो नीति रहँदै आएको छ र आउने दिनहरूमा पनि त्यो नीति कायम रहनेछ । हामीले अन्य पक्षहरूसित पनि आपसका बेग्लाबेग्लै मतभेदका बावजुद प्रतिगमनको सङ्घर्षमा ऐक्यवद्धता कायम गर्न अपील गर्दछौँ ।
अन्त्यमा १५ गतेको आफ्नो हिंसात्मक र समाजविरोधी गतिविधिका कारणले पूर्व राजा र राजावादीहरू धेरै नै बदनाम र कमजोर भएर गएका छन् । तर उनीहरूले संसदभित्र वा बाहिर प्रकट गरेका विचार वा उनीहरूको गतिविधिबाट उनीहरूले गणतन्त्र र धर्मनिरपेक्षताप्रतिको विरोध तथा राजतन्त्रको पुनस्र्थापना गर्ने सोचाइलाई परित्याग गरेका छन् भन्ने निष्कर्ष निकाल्नु सही हुने छैन । प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ र त्यो गम्भीर रूपमा छ । त्यसकारण प्रतिगमनका विरुद्ध व्यापक एकता कायम गर्न विभिन्न राजनीतिक शक्तिहरूसित अपील गर्दै प्रतिगमनको खतराका विरुद्ध जनताको पनि गम्भीर ध्यान आकर्षित गर्न चाहन्छाँै । यो वास्तविकताप्रति हामीले आफ्नो ध्यान हटाउन हुने छैन कि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेतका जुन ऐतिहासिक उपलब्धिहरू हामीले प्राप्त गरेका छौँ, त्यसका लागि नेपाली जनताले करिब १ शताब्दी लामो सङ्घर्ष तथा त्याग र बलिदान गर्नु परेको छ । त्यसकारण तिनीहरूको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको जिम्मेवारी हुन्छ ।
२०८१ चैत्र २० गते
(मोहनविक्रम सिंह)
(महामन्त्री)