नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
लेनिन जयन्ती र पार्टीको स्थापना दिवस सम्बन्धी
विशेष वक्तव्य
आज वैशाख ९ गते तदनुसार अप्रिल २२, १५६ औँ लेनिन जयन्ती र हाम्रो पार्टीको ७७ औँ स्थापना दिवस पनि हो । त्यसैले आजको दिनले विश्व र नेपालको पनि कम्युनिस्ट आन्दोलनका लागि ठुलो ऐतिहासिक महत्त्व राख्दछ ।
लेनिनको नेतृत्वमा नै माक्र्सवादमा उच्च सिर्जनात्मक विकास भएको थियो र उनको नामबाट नै अहिलेको युगलाई लेनिन युग पनि भनिन्छ । उनको नेतृत्वमा नै मानवजातिको इतिहासमा पहिलोपल्ट समाजवादी क्रान्ति सम्पन्न भएको थियो । त्यसै गरेर नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीको इतिहास धेरै नै महत्त्वपूर्ण रहेको छ । आफ्नो जन्मकालदेखि अहिलेसम्म, एकातिर, देशभित्र सामन्तवाद र, अर्कातिर, साम्राज्यवादका विरुद्ध गणतन्त्र र राष्ट्रियताका पक्षमा त्यसले लगातार महत्त्वपूर्ण ऐतिहासिक सङ्घर्ष गर्दै आएको छ । पहिले राणा शासन तथा पछि पञ्चायती तानाशाही व्यवस्था र राजतन्त्र समेतका विरुद्धको सङ्घर्षमा त्यसको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । त्यसै गरेर भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद समेतका विरुद्ध त्यसले लगातार सङ्घर्ष गर्दै आएको छ । त्यसरी नेपालको प्रजातन्त्रका साथै देशको राष्ट्रियताको रक्षाका लागि पनि त्यसले सँधैँ सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको छ ।
कम्युनिस्ट आन्दोलनमा देखापर्ने विभिन्न प्रकारका भड्कावहरूका विरुद्ध सङ्घर्ष नगरिकन कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । विश्व कम्युनिस्ट आन्दोलनद्वारा त्यो कुरा प्रमाणित भएको छ । माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओले आफ्नो समयका विभिन्न प्रकारका अवसरवादका विरुद्ध लगातार र सम्झौताहीन प्रकारले सङ्घर्ष गरेको लामो इतिहास हाम्रो अगाडि छ । हाम्रो पार्टीले पनि त्यसका लागि लगातार सङ्घर्ष गर्दै आएको छ । हाम्रो पार्टीले देशभित्र पार्टीमा देखापर्ने विभिन्न प्रकारका दक्षिणपन्थी, “मध्यपन्थी” वा उग्र“वामपन्थी” भड्कावहरूका विरुद्ध लगातार सङ्घर्ष गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न प्रकारका भड्कावहरू, खास गरेर सोभियत संशोधनवाद, चीनिया संशोधनवाद वा रिमको नव–ट्रास्कीवाद,का विरुद्ध लामो सङ्घर्ष गर्दै आएको छ । त्यस प्रकारको गौरवपूर्ण अन्तर्राष्ट्रिय र राष्ट्रिय क्रान्तिकारी इतिहासको पृष्ठभूिममा नै आज हामीले लेनिन जयन्ती र पार्टीको स्थापना दिवस मनाइरहेका छौँ । नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी इतिहासलाई अरू अगाडि बढाउन, हाम्रो जिम्मेवारी हुन्छ भन्ने विश्व क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पनि बढीभन्दा बढी योगदान दिने हाम्रो अन्तर्राष्ट्रिय दायित्व हुन्छ ।
नेपाल र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनप्रतिका जिम्मेवारीहरू पूरा गर्ने बेलामा आजको नेपालको र विश्वको कम्युनिस्ट आन्दोलनको वस्तुस्थितिप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । नेपाल र विश्वको कम्युनिस्ट आन्दोलनको इतिहास अत्यन्त गौरवपूर्ण भएपनि समग्र रूपमा आज त्यसको स्थिति अत्यन्त कमजोर अवस्थामा छ । आखिरमा किन र कसरी त्यो कमजोर भएको हो ? त्यो कुरा पत्ता लगाएपछि वा लगाउन सकेपछि नै कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउन र नेपालमा नयाँ जनवादी क्रान्ति तथा सम्पूर्ण विश्वमा समाजवादी क्रान्ति सफल पार्नु सम्भव हुने छ । त्यो कार्य कठिन अवश्य छ । तर असम्भव अवश्य पनि छैन । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको अजेय हतियारका आधारमा त्यो दिशामा बढ्नु सम्भव छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्त भौतिक परिस्थितिको ठोस विश्लेषण तथा क्रान्तिकारी आन्दोलनको लामो अनुभवपछि नै अगाडि आएको हो र विश्वको इतिहासद्वारा त्यो लगातार सही सिद्ध हुँदै आएको छ । आज विश्वको र नेपालको पनि कम्युनिस्ट आन्दोलन किन कमजोर भएको छ भने कम्युनिस्टहरू त्यो दार्शनिक सिद्धान्तबाट विमुख हुँदै गएका छन् र उनीहरूको झुकाव माक्र्सवादी–लेनिनवादी दर्शन भन्दा पुँजीवादतिर बढेर गएको छ । कम्युनिस्ट आन्दोलनको जग माक्र्सवादी–लेनिनवादी दर्शनमाथि नै बनेको थियो । त्यो जग नै हल्लिएपछि कम्युनिस्ट आन्दोलन कमजोर हुनु स्वाभाविक हो र त्यो भएको पनि छ । कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउने कार्य त्यही विन्दुबाट पूरा गरेर नै सम्पन्न गर्नुपर्दछ, जुन कारणले त्यसको जग हल्लिएको छ । त्यो कार्य हो कम्युनिस्ट आन्दोलनलाई पुन: माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आधारमा पुनस्र्थापित गर्नु । कम्युनिस्ट आन्दोलनलाई पुन: शक्तिशाली बनाउनका लागि अन्य कुनै उपाय छैन ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन भएपछि कम्युनिस्ट आन्दोलन कसरी धराशायी हुँदै जान्छ ? सोभियत सङ्घ, चीन र संसारका कैयौँ देशका समाजवादी व्यवस्थाहरू धराशायी भएका वा संसारका लामो गौरवपूर्ण र क्रान्तिकारी इतिहास भएका ठुला–ठुला कम्युनिस्ट पार्टीहरूको पतन भएको थुप्रै उदाहरणहरू हाम्रा अगाडि छन् । त्यस प्रकारको पतनको प्रक्रिया यो हदसम्म पनि अगाडि बढ्दछ कि उनीहरूले त्यस प्रकारको पतनलाई आदर्श मान्न थाल्दछन् र त्यसमा आनन्द मान्न वा त्यसैमा गौरवान्वित हुन पनि थाल्दछन् । हामीले चीनको उदाहरण लिन सक्दछौँ । त्यो देश पूरै पुँजीवादी मात्र भएको छैन, त्यो साम्राज्यवादी अवस्थामा पनि पुगेको छ । तर त्यहाँको पार्टीले आफ्नो पार्टीलाई अझै पनि कम्युनिस्ट पार्टी मान्दछ र त्यहाँको व्यवस्थालाई उच्च र परिष्कृत समाजवादी व्यवस्था मान्दछ । पहिले समाजवादबाट पतनको चरम अवस्थामा पुगिसकेपछि पनि सोभियत सङ्घको कम्युनिस्ट पार्टीले लामो समयसम्म त्यहाँको पार्टी कम्युनिस्ट पार्टी भएको मात्र दावी गर्दैनथ्यो, त्यो देशको व्यवस्थालाई पनि समाजवादी नै भएको बताउँथ्यो । त्यो, विश्वका थुप्रै कम्युनिस्ट पार्टीहरूलाई त्यस प्रकारको भ्रम दिन पनि सफल भएको थियो । नेपालमा डा. केशरजङ्ग रायमाझीले पनि राजावादी लाइन समातिसकेपछि पनि लामो समयसम्म आफूलाई सच्चा कम्युनिस्ट भएको नै दाबी गर्दथे । तर पछि उनले कम्युनिस्ट पार्टीको विघटन गरेर आफ्नो सक्कली रूपको प्रदर्शन गरे । कुनै लुकेको कुरा होइन कि अहिले नेपालका पनि कतिपय समूहहरूले आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधार नै भएको दाबी गर्दछन् । उनीहरूले आफ्नो सदस्यको ठुलो सङ्ख्या सङ्गठनको ठुलो आकार वा संसद वा सत्तामा समेत महत्त्वपूर्ण स्थान भएको आधारमा त्यस प्रकारको दाबी गर्दछन् र उनीहरू त्यसरी आम जनता मात्र होइन, वामपन्थी जगतमा पनि ठुलो भ्रम दिन सफल भएका छन् । तर माक्र्सवादी–लेनिनवादी दृष्टिकोण, राजनीतिक लाइन वा सङ्गठनात्मक प्रणाली समेतका आधारमा मूल्याङ्कन गर्दा उनीहरू माक्र्सवादी–लेनिनवादी दर्शनबाट धेरै नै टाढा पुगेको र कम्युनिस्ट पार्टी नरहेको कुरामा कुनै शङ्का रहन्न । तैपनि सही माक्र्सवादी–लेनिनवादी दृष्टिकोणको अभावमा थुप्रै मानिसहरूले उनीहरूलाई कम्युनिस्ट नै मान्दछन् र उनीहरूका पछि पनि लाग्दछन् । त्यसरी दिग्भ्रमित भएका विश्व र नेपालका पनि थुप्रै उदाहरणहरू हाम्रा अगाडि छन् र त्यो कारणले विश्व कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको छ । त्यही कारणले नै आज विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । माक्र्सवादी–लेनिनवादी दर्शनको सही समझदारी र त्यसको प्रकाशमा नै त्यस प्रकारको भ्रमलाई साफ गर्न सकिने छ । त्यसरी नै विश्वको र नेपालको पनि कम्युनिस्ट आन्दोलनले सही, सशक्त र क्रान्तिकारी दिशा लिन सक्ने छ ।
आज यो लेनिन जयन्ती र पार्टीको स्थापना दिवसको अवसरमा हामीले आफूलाई माक्र्सवादी–लेनिनवादी दर्शनद्वारा सही प्रकारले प्रशिक्षित गर्ने प्रतिबद्धता गर्नुपर्दछ र त्यसरी नै नेपालको कम्युनिस्ट आन्दोलनलाई सही र क्रान्तिकारी दिशामा अगाडि बढाउन र विश्व कम्युनिस्ट आन्दोलनमा पनि बढी भन्दा बढी योग्दान दिन सम्भव हुने छ ।
माथि हामीले अहिलेको विश्व र नेपालको पनि कम्युनिस्ट आन्दोलनको आधारभूत समस्या र त्यसको पुनस्र्थापनाको आवश्यकताबारे चर्चा गर्यौँ । त्यसका साथै आज लेनिन जयन्ती र पार्टीको स्थापना दिवसको अवसरमा हामीले देशको वर्तमान स्थिति र त्यसप्रतिको हाम्रो दायित्वबारे पनि विचार गर्नुपर्ने आवश्यकता छ । आज हाम्रो देश गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको छ । अझ अर्को शब्दमा भन्ने हो भने आज देश चौतर्फी सङ्कटको मुखमा उभिएको छ । त्यस प्रकारको अवस्थामा हाम्रो नीति के हुनुपर्दछ ? त्यसबारे पनि हामी स्पष्ट हुनुपर्दछ । आजको देशभित्रको एउटा मुख्य समस्या के हो भने गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध राजावादीहरूले लगातार हमला गरिरहेका छन् । त्यो अवस्थामा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि सङ्घर्ष गर्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ । तर अहिले देशमा प्रतिगामी शक्तिहरूको गतिविधि जसरी बढेर गएको छ, त्यसका लागि राजावादीहरूलाई मात्र दोष दिनु सही हुने छैन । नेपालमा बहुदलीय व्यवस्था वा गणतन्त्र आएपछि सत्तामा पुगेका गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूको शासन कालमा बढेको भ्रष्टाचार र कुशासन समेतका कारणले जनतामा बढेको निराशा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरूप्रति बढेको अविश्वास तथा असन्तोषका कारणले पनि राजावादीहरूलाई यो व्यवस्था वा गणतन्त्रमाथि हमला गर्नका लागि बहाना मिलेको छ । जनतामा देखापरेको त्यस प्रकारको निराशा, असन्तोष वा अविश्वासलाई पूरै नै गलत पनि भन्न सकिन्न । वास्तवमा हामीले प्रतिगामी खतराको कडा र सम्झौताहीन प्रकारले प्रतिरोध गर्दै गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरूका सबै गलत नीति र क्रियाकलापका विरुद्ध पनि सङ्घर्ष गर्दै जानुपर्दछ । उनीहरूका विरुद्ध त्यस प्रकारको सङ्घर्ष गर्नुका साथै प्रतिगामी खतराका विरुद्ध उभिने राजनीतिक शक्तिहरूसित तालमेल, सहकार्य वा गठबन्धन गर्ने पनि हाम्रो नीति हुनुपर्दछ । हामीले जनतालाई यो चेतना दिनुपर्दछ कि आज देशमा जुन समस्याहरू छन, त्यसको समाधान प्रतिगमन नभएर अग्रगमन नै हो र, त्यसैले, जनतालाई प्रतिगमनको पक्षमा लागेर देशलाई प्रतिगमनको दिशामा जानको लागि बल पुर्याउने होइन, अग्रगमनको पक्षमा नै सङ्घर्षलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।
भारतीय साम्राज्यवादले लामो समयदेखि नेपालमा आफ्नो प्रभुत्व कायम गर्न योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । आफ्नो नेपालप्रतिको त्यस प्रकारको साम्राज्यवादी दृष्टिकोणका कारणले नै त्यसले अहिलेसम्म नेपालको संविधानलाई स्वीकार गरेको छैन र त्यसको निर्देशनमा नै कतिपय मधेशवादी सङ्गठनहरूले त्यसमा (संविधानमा) संशोधन गर्न खोजेका छन् । हामीले पनि विद्यमान संविधानमा संशोधन गरेर सङ्घीयतालाई खारेज गर्न चाहन्छौँ । त्यसरी संविधानमा संशोधनको हाम्रो विचार अग्रगामी प्रकारको छ । तर उनीहरूले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा नै आँच पुग्ने गरी त्यसमा संशोधन गर्न चाहन्छन् ।
भारतले नेपालमा भारतीयहरू बहुसङ्ख्यक हुने गरी नागरिकता ऐनमा संशोधन गर्न दबाब दिँदै आएको छ र भारतीय दबाबमा नेपालका विभिन्न सरकारहरूले संविधानमा त्यसरी संशोधन गर्दै आएका छन् । त्यसका पछाडिको उनीहरूको उद्देश्य फिजी वा सिक्किममा झैँ नेपालको संसदमा भारतीयहरूको बहुमत गराएर नेपाललाई भारतमा मिलाउनु नै हो । त्यसरी उनीहरूको रणनीति प्रथम चरणमा तराईलाई भारतमा मिलाउनु र अन्तमा पूरै नेपाललाई भारतमा गाभ्नु हो । त्यसरी भारतीय साम्राज्यवाद नेपालको अस्तित्वको लागि नै गम्भीर खतरा बनेको छ । भारतका कट्टरपन्थी हिन्दु शासक वर्गले नेपालका राजावादी शक्तिहरूलाई प्रोत्साहित गर्ने तथा नेपालमा साम्प्रदायिकता फैलाउने काम पनि गरिरहेका छन् ।
अमेरिकाले चीनका विरुद्धको आफ्नो रणनीतिक मोर्चावन्दी वा तिब्बतमा दलाई लामाको पुनस्र्थापनाका लागि तिब्बतमाथि कब्जा गर्नका लागि नेपाललाई आफ्नो युद्धभूमिका रूपमा प्रयोग गर्न चाहन्छ । त्यही रणनीतिअन्तर्गत नै अमेरिकाले दबाब दिएर नेपालको संसदद्वारा एमसीसी पनि पारित गर्न लगाएको छ । त्यसरी नेपाल विश्वका महाशक्तिहरूका बिचको युद्धको चक्रव्यूहमा पर्ने पनि ठुलो खतरा उत्पन्न भएको छ । नेपालमा युरोपियन साम्राज्यवादीहरूको प्रभाव पनि निकै बढ्दै गइरहेको छ । उनीहरूले एनजीओ वा इसाई धर्मका आधारमा पनि नेपालमा आफ्नो गतिविधि बढाउँदै लगिरहेका छन् । त्यसले गर्दा नेपालमा जातिवादको लहर पनि बढ्दै गइरहेको छ । विभिन्न साम्राज्यवादी शक्तिहरूको दबाबमा नै नेपालले सङ्घीयतालाई स्वीकार गरेको छ र त्यो आज नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता तथा देशको दिगो विकासको लागि पनि गम्भीर खतरा बन्दै गइरहेको छ ।
माथि हामीले प्रतिगमन वा विभिन्न साम्राज्यवादी शक्तिहरूका कारणले देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको अवस्थाको जुन चर्चा गर्यौँ, देशका कैयौँ सम्झौतापरस्त राजनीतिक शक्ति वा विभिन्न सामाजिक तप्काहरूका कारणले पनि त्यो सङ्कट झन बढेर गएको छ । यहाँसम्म कि कतिपय वामपन्थी शक्तिहरूमा पनि एक वा अर्काे रूपमा त्यस प्रकारका सम्झौतापरस्त सोचाइहरू देखापर्ने गरेको पाइन्छ । त्यसकारण त्यस प्रकारका प्रवृत्तिहरूको भण्डाफोर गरेर प्रतिगामी वा साम्राज्यवादी शक्तिहरूका विरुद्ध जनताको चेतना बढाउनेतिर हाम्रो निश्चित ध्यान जानुपर्ने आवश्यकता छ । त्यसैले नै हामीले देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूको सशक्त प्रकारले सङ्घर्ष गर्न सक्ने छौँ । उपर्युक्त प्रकारको स्थितिमा प्रतिगामी खतराबाट गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा, विभिन्न साम्राज्यवादी शक्तिहरूबाट देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्नु, नेपाललाई साम्राज्यवादीहरूको युद्धको मैदान बनाउने कार्यबाट रोक्नु, देशलाई जातिवादको दलदलबाट बचाउन तथा सङ्घीयतालाई खारेज गर्नु पनि अहिलेका हाम्रा तात्कालिक जिम्मेवारीहरू बन्न गएका छन् । जनताका विभिन्न समस्याहरूको समाधानका लागि वा उनीहरूका न्यायपूर्ण मागहरू पूरा गर्न सङ्घर्ष गर्नुपर्ने हाम्रो अहिलेको जिम्मेवारी हुन गएको छ । ती सबै जिम्मेवारीहरू हामीले त्यो बेला नै पूरा गर्न सक्ने छौँ, जब हामी सही अर्थमा कम्युनिस्ट बन्ने छौँ वा अर्को शब्दमा, कम्युनिस्ट जस्ता कम्युनिस्टहरू बन्ने छौँ । माक्र्सवादी–लेनिनवादी शिक्षाको आधारमा नै हामी कम्युनिस्ट जस्ता कम्युनिस्ट बन्न सक्नेछौँ । त्यसपछि नै हामी देश र जनताप्रतिका जिम्मेवारीहरू वा अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनप्रतिको दायित्व पनि पूरा गर्न सफल हुने छौँ । आज यो लेनिन जयन्ती र पार्टीको स्थापना दिवसको अवसरमा हामीले कम्युनिस्ट जस्तो कम्युनिस्ट बन्ने प्रतिबद्धता प्रकट गरौँ ।
२०८२ वैशाख ०९ गते
(मोहनविक्रम सिंह)
(महामन्त्री)