Nepal communist party

वक्तव्य (२०८२ वैशाख १५ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

वक्तव्य

शिक्षकहरूमाथि सरकारले गरेको कुटपिटलाई ने.क.पा. (मसाल)ले गम्भीर रूपमा लिन्छ र त्यसका लागि सरकारको कडा शब्दमा भत्र्सना गर्दछ । त्यसले सरकारको गैह्र जिम्मेवार चरित्रलाई बताउँछ । त्यो घटनाबाट खाली शिक्षकहरूका मागहरू पूरा गर्ने प्रश्नमा मात्र होइन, सम्पूर्ण देशको लागि नै वर्तमान सरकार अत्यन्त अनुत्तरदायी भएको देखिन्छ ।

यो सामान्य कुरा होइन कि शिक्षकहरूले हजारौँको सङ्ख्यामा राजधानीमा आएर आन्दोलन गर्दैछन् । पहिले उनीहरूले पालिका तहबाट सुरू गरेर प्रदेश तह हुँदै राजधानीमा आएर आफ्नो आन्दोलन सुरू गरेका हुन् । राजधानीमा पनि उनीहरूले प्रदर्शन सुरू गरेको पुग–नपुग एक महिना भइसक्यो । त्यो अवस्थामा सरकारले उनीहरूका माग पूरा गर्नुको सट्टा उनीहरूप्रति दमनको नीति अपनाउँदै छ । हाम्रो पार्टीले उनीहरूका मागहरूलाई शीघ्र पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

शिक्षकहरूका माग सही र न्यायपूर्ण छन् । उनीहरूका माग त्यो सहमतिमाथि नै आधारित छन्, जो पहिले शिक्षकहरू र सरकारका बिचमा भएको थियो । अहिलेको आन्दोलनको जुन स्थिति पैदा भएको छ, त्यो सरकारले स्वयं गरेको सम्झौता अनुसार ऐन नबनाएको हुनाले नै उत्पन्न भएको हो । सरकारले कतिपय विरोधी पक्षहरूले उचालेको हुनाले नै शिक्षकहरू आन्दोलनमा उत्रेको बताइरहेको छ । त्यस प्रकारको आलोचना पूरै गलत छ । जस्तो कि माथि भनियो, शिक्षकहरूले विरोधी पार्टीहरूले उचालेर होइन, पालिका तहदेखि नै उनीहरूले आफ्ना मागहरूलाई उठाउँदै आएका छन् र विभिन्न विरोधी पक्षहरूले उनीहरूका न्यायपूर्ण मागहरूलाई नै समर्थन गरिरहेका छन् । सरकारले शिक्षकहरूलाई विरोधी पक्षहरूसित जोडेर आफ्नो ग्रैहजिम्मेवार चरित्रमाथि पर्दा हाल्ने प्रयत्न गरिरहेको छ । सरकारको त्यस प्रकारको चरित्रले गर्दा खाली शिक्षकहरूबारे मात्र होइन, देशको सम्पूर्ण स्थिति र भविष्यबारे पनि गम्भीर आशङ्का उत्पन्न भएको छ । त्यसबारे गम्भीर हुन हाम्रो पार्टीले सम्पूर्ण देशभक्त र न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

पोखरा विमानस्थलको निर्माणबारे करिब १० अर्ब रुपियाँ भ्रष्टाचार भएको तथ्य संसदको सार्वजनिक लेखा समितिको उपसमितिले बाहिर ल्याएको छ । त्यो समाचारप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । कुरा यो मात्र होइन कि त्यो अत्यन्त ठुलो पैमानाको भ्रष्टाचार हो । त्यससित सम्बन्धित त्यो भन्दा ठुलो र गम्भीर कुरा यो हो कि त्यो घटनाले देशमा भ्रष्टाचारले कति गहिरो जरा हालेको छ, त्यो कुरालाई उदाङ्गो बनाउँदछ । त्यस प्रकारको भ्रष्टाचारमा संलग्न उच्च अधिकारी र उच्च राजनीतिक नेतामाथि निष्पक्ष र उच्चस्तरीय छानविन र कारवाही हुनु ता आवश्यकता छ नै तर विद्यमान भ्रष्ट प्रणालीमाथि ध्यान दिँदा त्यो कारवाही पनि कहाँसम्म हुने छ ? त्यो कुरामा शङ्का नै छ । पोखराको विमानस्थल भ्रष्टाचार काण्डबाट प्रशासन र उच्च राजनीतिक तहमा व्याप्त त्यस प्रकारका भ्रष्टाचारले गर्दा नै देशको विकास हुन नसकेको कुरा प्रस्ट भएको छ । त्यो अवस्थामा भ्रष्टाचारका विरुद्ध उच्च जनचेतना उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

काश्मिरको पहलगामको हिंसात्मक घटनापछि भारत र पाकिस्तानका बिचमा गम्भीर प्रकारको तनावको स्थिति उत्पन्न भएको छ र त्यहाँ युद्ध हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यस सन्दर्भमा भारतले पाकिस्तान र भारतका बिचमा भएको सिन्धुजल सन्धि खारेज गर्ने घोषणा समेत गरेको छ । स्थानीय रूपमा भएको एउटा घटनाका लागि पाकिस्तानका लाखौँ जनताको जीवनसित सम्बन्धित सम्झौतालाई खारेज गर्नु अवश्य पनि सही होइन र त्यो चरम प्रकारको अमानवीय कार्य हो । त्यसका पछाडिको मोदीको उद्देश्य पाकिस्तानका विरुद्ध उग्रराष्ट्रवादी वा हिन्दुवादी भावना पैदा गरेर भारतमा आफ्नो राजनीतिक स्थिति मजवुत पार्ने तथा छिट्टै हुन थालिरहेको विहारको चुनावलाई प्रभावित गर्ने उद्देश्यले पनि काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

त्यस सिलसिलामा पाकिस्तानले भारतका विरुद्ध एटम बम प्रयोग गर्ने धम्की पनि दिन थालेको छ । भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्रहरू हुन् । उनीहरूका बिचमा आणविक युद्ध भएमा त्यसको असर खाली ती दुई देशहरूसम्म मात्र सीमित रहने छैन । तर आणविक युद्धको कुरा गर्न जति सजिलो छ, त्यति सजिलो त्यसलाई सुरू गर्नु अवश्य पनि सजिलो छैन जेहोस्, बिना एटम बम पनि, जस्तै कि गतकालमा कैयौँपल्ट हुने गरेको छ, ती दुई देशका बिचमा युद्ध सुरू भयो भने त्यसको असर सम्पूर्ण दक्षिण एसियामा र केही हदसम्म पूरै विश्वमा पनि पर्ने छ ।

पहलगामको घटना सामान्य आतङ्कवादी घटना मात्र होइन, भारतबाट अङ्ग्रेज गएपछि भारत र पाकिस्तान दुईवटा देशहरू बने । काश्मिरको प्रश्नलाई लिएर पाकिस्तान र भारतको बिचमा युद्ध भयो । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा काश्मिरमा जनमत सङ्ग्रह गराउने, उनीहरू भारत र पाकिस्तान मध्ये कुनमा मिल्न चाहन्छन् वा स्वतन्त्र हुन चाहन्छन्, त्यो कुराको स्वयं काश्मिरका जनतालाई नै फैसला गर्न दिने निर्णय भएको थियो । भारत र पाकिस्तान दुवै त्यसका लागि सहमत भएका थिए । तर पछि भारतले त्यो फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्‍यो र सम्पूर्ण काश्मिरमा आफ्नो अधिकार भएको दाबी गर्‍यो ।
भारतको त्यस प्रकारको नीतिका कारणले नै गत करिब साढे सातदशकदेखि काश्मिर अशान्त छ । त्यहाँका जनताले संयुक्त राष्ट्र सङ्घमा भएको सहमति अनुसार जनमत सङ्ग्रहको माग गर्दछन् र त्यसका लागि आन्दोलन गरिरहेका छन् । पहिले काश्मिरलाई स्वायत्त शासनको अधिकार दिइएको थियो । पछि मोदी सरकारले त्यो अधिकारलाई पनि समाप्त गरेर त्यसलाई पूरै भारतीय सङ्घमा सामेल गर्‍यो । त्यो कारणले पनि त्यहाँका जनतामा धेरै नै असन्तोष बढिरहेको छ । भारतले उनीहरूको आन्दोलनलाई आतङ्कवादी गतिविधि बताउँछ र शक्तिद्वारा त्यसलाई दबाउने कोशिस गर्दै आएको छ । यो सत्य हो कि काश्मिरमा कैयौँ आतङ्कवादी सङ्गठनहरू पनि छन् र उनीहरूले आतङ्कवादी तरिकाहरू अपनाएर निर्दोष जनताको पनि हत्या गर्ने गर्दछन् । निश्चित रूपले, पहलगामको हिंसात्मक घटना एउटा आतङ्कवादी घटना नै थियो, किनभने त्यहाँ निरपराध र नि:शस्त्र जनताको हत्या गरिएको थियो, जसमा काश्मिरमा घुम्न गएका एकजना नेपालीको पनि हत्या गरिएको थियो ।

काश्मिरको समस्याको समाधान एउटै तरिकाले हुन सक्दछ, संयुक्त राष्ट्रसङ्घमा भएको सम्झौता अनुसार त्यहाँ जनमत सङ्ग्रह गराएर त्यहाँका जनतालाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार दिनु पर्छ । काश्मीरबारे भारतले जुन नीति अपनाएको छ, त्यो साम्राज्यवादी नीति हो ।

पहलगामको घटनापछि भारत र पाकिस्तानका बिचमा पैदा भएको धमिलो पानीमा पूर्व राजाले “हिन्दुकरण”को कार्ड फ्याँकेर माछा मार्ने प्रयत्न गरेका छन् । यो बुझ्न गाह्रो पर्दैन कि त्यसका पछाडिको उनको उद्देश्य आफूलाई पक्का हिन्दुवादी र मोदीको हिन्दुवादी नीतिको पक्षमा भएको देखाएर नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि भारतका कट्टर हिन्दुवादी शासकवर्गको अनुग्रह प्राप्त गर्नु नै हो । त्यसैले उनले पहलगाममा भएको हत्याकाण्डलाई हिन्दुहरूमाथि भएको हत्याकाण्ड भनेर त्यसलाई हिन्दुकरण गर्ने प्रयत्न गरेका छन् ।

भारतका मोदीले हिन्दुस्तानका प्रत्येक घटनालाई हिन्दुत्वको रङ्ग दिने प्रयत्न गर्दछन् र त्यही प्रकारले पूर्व राजाले पनि आफूलाई पक्का हिन्दुवादीको रूपमा प्रस्तुत गरेर मोदीको समर्थनद्वारा नेपालमा राजतन्त्रको पुनस्र्थापनाको सपना पूरा गर्न पासा फ्याँकेका छन् । पूर्वराजाको त्यो नीति अनुसार नै राजावादीहरूले पाकिस्तानको काठमाडौँ स्थिति राजदुतावासका अगाडि पहलगाममा हिन्दुहरूको हत्या भएको बताएर विरोध प्रदर्शन पनि गरेका छन् । राजावादीहरूको त्यस प्रकारको प्रयत्नले नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि उनीहरूले बारम्बार गरेका प्रयत्नहरू, जसमध्ये चैत्र १५ गतेको तोडफोड र आगलागी समेतको हिंसात्मक कारबाही पनि आउँछ, को असफलतापछि उनीहरूमा पैदा भएको निराशालाई नै बताउँछ ।

२०८२ वैशाख १५ गते ।

(मोहनविक्रम सिंह)
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top