– मोहनविक्रम सिंह
इजरायलद्वारा इरानमाथि आक्रमणको कारणले मध्यएसियामा युद्धको गम्भीर स्थिति उत्पन्न भएको छ । इरानको आणविक केन्द्रमा हमला गरेर अमेरिका पनि त्यो युद्धमा सामेल भएको छ । त्यो युद्धका कारणले जुन स्थिति उत्पन्न भएको छ, त्यो इरान र इजरायलको मात्र समस्या होइन, त्यो युद्धका कारणले पूरै मध्यएसियामा तनाव पैदा हुने र त्यो युद्धले विश्वयुद्धको रूप लिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसरी इरान र इजरायलका बिचको युद्ध खालि त्यहाँको स्थानीय वा क्षेत्रीय समस्या मात्र नभएर सम्पूर्ण विश्वको शान्तिको समस्या हो । त्यसैले हामी नेपाली जनता र नेपाल सरकारको पनि त्यसप्रति गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा खालि इरान र इजरायलका बिचमा सम्झौता हुनुपर्छ र त्यहाँ शान्ति कायम हुनुपर्छ भन्नु मात्र पर्याप्त हुने छैन । त्यो युद्धबारे विचार गर्ने बेलामा कसको पक्ष न्यायपूर्ण रहेको छ र कसको पक्ष अन्यायपूर्ण ? त्यसप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

आज त्यहाँ जुन युद्ध भइरहेको छ, त्यसको मूल कारण प्यालेस्टाइनको समस्या हो । आजभन्दा करिब साढे सात दशकपहिले अमेरिकी साम्राज्यवादको समर्थनमा प्यालेस्टाइनीलाई जबरजस्ती आफ्नो देशबाट हटाएर त्यहाँ यहुदीको इजरायल राज्यको स्थापना गरियो । अहिलेको युद्ध वा तनावको समस्या साढे सात दशकपहिलेको त्यही घटनाको उपज हो । त्योबाहेक त्यसले मध्यएसियाका कैयौँ देशमा आफ्ना सैनिक अखडा पनि निर्माण गरेको छ ।
अमेरिकाले मध्यएसियामा आफ्नो प्रभुत्व कायम गर्न नै त्यसरी आफ्नो किल्लाको रूपमा इजरायल राज्यको स्थापना गरेको थियो । त्यसरी कुनै जातिलाई आफू बसेको ठाउँबाट जर्बजस्ती हटाएर नयाँ राज्यको स्थापना गर्नु अवश्य पनि न्यायपूर्ण कुरा थिएन । त्यसरी आफ्नो देशबाट धपाइएका प्यालेस्टाइन खाडीका विभिन्न देशमा शरणार्थी भएर फैलिए । त्यो बेलादेखि नै प्यालेस्टाइनीले आफ्नो मातृभूमिको मुक्तिको लागि सशस्त्र सङ्घर्ष चलाउँदै आएका छन् । त्यसरी त्यो सङ्घर्ष मानवजातिको इतिहासको नै अत्यन्तै लामो, कठिन र कष्टसाध्य सङ्घर्ष हो ।
प्यालेस्टाइनको त्यो मुक्ति आन्दोलन खालि उनीहरूसम्म मात्र सीमित रहेको छैन, गत करिब पौने एक शताब्दी लामो कालमा त्यो सङ्घर्ष कैयौँ चरण हुँदै अगाडि बढ्दै आएको छ । अब त्यो सङ्घर्ष खालि प्यालेस्टाइनको मात्र सङ्घर्ष नभएर विश्वभरि कैयौँ राष्ट्र वा न्यायप्रेमी जनताले पनि त्यो आन्दोलनलाई समर्थन गरेका छन् । त्यसरी त्यो आन्दोलन एउटा अन्तराष्ट्रिय महत्त्वको आन्दोलन बन्न गएको छ । मध्यएसियाका कैयौँ देशले प्यालेस्टाइनको पक्षमा कैयौँपल्ट युद्ध पनि चलाएका छन् भने त्यहाँका कैयौँ सशस्त्र समूहले पनि प्यालेस्टाइनको पक्षमा सशस्त्र कारबाही गर्दै आएका छन् ।
अहिले त्यहाँ भएको युद्ध वा सशस्त्र कारबाहीको प्रारम्भ गत साल अक्टोबर ७ तारिखको घटनाबाट सुरु हुन्छ । त्यो बेला प्यालेस्टाइनको एउटा समूह हमासले इजरायलमा आक्रमण गरेर हजारभन्दा बढी मानिसको हत्या गरेको थियो भने दुई सयभन्दा बढी मानिसलाई अपहरण पनि गरेको थियो । त्यो काण्डमा १० जना नेपाली मारिएका थिए र एक जना नेपाली, विपिन जोशी अपहरित भएका थिए । उनी अहिलेसम्म पनि मुक्त भएका छैनन् । हमासद्वारा निःशस्त्र जनतामाथि गरिएको त्यस प्रकारको हिंसात्मक कारवाही आतङ्कवादी थियो र हाम्रो पार्टीले त्यो बेला नै त्यसको भर्त्सना गरेको थियो ।
सात अक्टोबरको हिंसात्मक कारबाही अवश्य पनि गलत थियो तर त्यही घटनालाई बहाना बनाएर इजरायलले बम बर्साएर करिब साठी हजारभन्दा बढी प्यालेस्टाइनीको हत्या गरिसकेको छ, जसमा ठुलो सङ्ख्यामा महिला, बालबालिका पनि छन् । त्यहाँका अस्पताल, शिक्षण संस्था, निजी घरलाई पनि भत्काएर तिनीहरूलाई खण्डहर बनाइएको छ । निश्चय नै त्यस प्रकारको घोर दमनका बाबजुद प्यालेस्टाइनीले इजरायलमाथिको आफ्नो सशस्त्र सङ्घर्ष जारी नै राखेका छन् । मध्यएसियाका अन्य कतिपय सशस्त्र समूहले पनि इजरायलका विरुद्ध सशस्त्र युद्ध चलाइरहेका छन् । इजरायल सरकारले गाजामा जाने बाटामा नाकाबन्दी गरेर त्यहाँ जाने राहत सामग्रीमा रोक लगाउने वा ती सामग्रीको वितरण गर्दा जम्मा भएका निःशस्त्र जनतामाथि आकाशबाट बम बर्साएर हत्या गर्ने कार्यसमेत गरिरहेको छ । त्यस प्रकारका अमानवीय कारबाही वा नरसंहारका लागि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अपराधी घोषित गर्दै अन्तर्राष्ट्रिय अदालतले उनको नाममा पक्राउ पुर्जी पनि जारी गरेको छ ।
इजरायलको छिमेकी कैयौँ देशसित युद्ध पनि चलिरहेको छ । त्यस सन्दर्भमा इरानसितको त्यसको युद्ध विशेष रूपले चर्किएको छ । गत महिनामा इजरायलले कैयौँपल्ट मिसाइल पठाएर इरानमाथि आक्रमण गरेको छ भने इरानले पनि कैयौँ पल्ट इजरायलमाथि आक्रमण गरेको छ । हालै जुन १३ मा पनि इजरायलले इरानमाथि आक्रमण गरेको थियो र त्यसको जवाफमा इरानले पनि लगातार इजरायलमाथि आक्रमण गरिरहेको छ ।
प्रथमतः इजरायल राज्यको स्थापना नै जबर्जस्ती र अमानवीय तरिकाले गरिएको थियो । त्यसका साथै प्यालेस्टाइनी जनतालाई दबाउन इजरायल सरकारले जुन बर्बरनीति अपनाउने र दमनसमेत गर्ने गरेको छ, त्यो घोर अमानवीय छ । यहाँ यो पनि उल्लेखनीय छ कि इजरायलका प्रधानमन्त्री बन्जामिन नेतन्याहु आफ्नो देशका एक जना अत्यन्त भ्रष्ट व्यक्ति हुन् । इजरायलका अदालतमा भ्रष्टचारको आरोपमा उनीमाथि मुद्दा पनि चलिरहेको छ । अदालतद्वारा आफूमाथि कारबाही हुन नदिन उनले इजरायलको अदालत अधिकारलाई पनि सीमित पार्न कानुन बनाउने कोसिस गरेका थिए । त्यसका विरुद्ध पनि इजरायलमा ठुलो जनप्रदर्शन भएको थियो । उनीमाथि यो पनि आरोप लगाउने गरिन्छ कि उनले आफूमाथि मुद्दा चल्न नदिन र प्रधानमन्त्रीको कुर्ची बचाउनका लागि नै युद्धलाई भड्काउने कोसिस गरेका थिए र त्यसमा युद्धविराम गर्ने संयुक्त राष्ट्रसमेतका प्रस्तावलाई अस्विकार गर्दै आएका थिए । त्यसरी उनी संसारको नै एक नम्बरको युद्धपिपासु बन्न पुगेका छन् । उनको स्वार्थ यही कुरामा थियो कि युद्ध लामो समयसम्म चलिरहोस् । त्यसबाट स्वयम् इजरायलका जनतालाई नै कति क्षति पुग्दछ ? त्यसप्रति उनलाई कुनै चिन्ता थिएन । उनको त्यस प्रकारको युद्धले पनि अमेरिकाको पूरा समर्थन रहने गऱ्यो । संयुक्त राष्ट्रमा इजरायल वा युद्धविरामका विरुद्धका कैयौँ प्रस्तावलाई अमेरिकाले भिटो लगाएर रोक्ने गरेको छ । त्यसैले इजरायल र अमेरिकाको त्यस प्रकारको नीतिको हामीले कडा शब्दमा विरोध गर्दै आएका छौँ र अहिले पनि गर्दछौँ ।
इजरायल सरकारको स्थापनापछि त्यसले प्यालेस्टाइनमाथि जुन बर्बर दमन गर्दै आएको छ, अमेरिकी साम्राज्यवादको समर्थनबिना सम्भव हुँदैनथ्यो । अहिले इरानमाथि आक्रमण गरेर अमेरिका प्रत्यक्ष रूपले नै इजरायलको पक्षमा उभिएको छ । त्यसैले अमेरिकाको त्यस प्रकारको कारबाहीको पनि कडा शब्दमा विरोध गर्नु आवश्यक भएको छ । त्यही पृष्ठभूमिमा गत जुन २२ को मध्यरातिमा अमेरिकाले इरानका आणविक केन्द्रमा हमला गरेको थियो । अमेरिकाको त्यो आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकाको सैन्य वा हवाइ ग्राउन्डमा हमला गरेको थियो । इरानद्वारा अमेरिकाको सैनिक अड्डामा गरिएको त्यो हमला संसारको अहिलेसम्मको नै विरलै कारबाही हो । यो थाहा भएको छ कि त्यही दिन खाडीस्थित अन्य कतिपय देशका अमेरिकाका सनिक अखडामा पनि हमला गरिएको छ । अहिले संसारभरि नै इरानमाथि आक्रमणको लागि अमेरिकाको निन्दा भइरहेको छ ।
आज इरान र इजरायलका बिचमा मात्र होइन, पूरै मध्यएसियामा तनाव र युद्धको जुन स्थिति पैदा भएको छ, त्यसको पछाडिको मूल कारण प्यालेस्टाइनीलाई उनीहरूको देशबाट निष्काशित गरेर इजरायल राज्यको स्थापना गर्नु नै हो । त्यसैले हामीले सर्वप्रथम प्यालेस्टाइनीको स्वतन्त्र र सार्वभौमराज्यको स्थापनामा जोड दिन्छौँ । त्यसरी नै त्यहाँ साढे सात दशकदेखि चल्दै आएको समस्याको समाधान हुनेछ तर त्यसका लागि सबैभन्दा ठुलो बाधा अमेरिकी साम्राज्यवाद नै बनेको छ । त्यसले आफ्नो साम्राज्यवादी स्वार्थको लागि जबर्जस्ती इजरायल राज्य स्थापना गरेको थियो । त्यसको आडमा नै त्यो अहिलेसम्म अडेको छ । त्यो (इजरायल) प्यालेस्टाइनी जनतामाथि दमन गर्न र उनीहरूको न्यायपूर्ण हकबाट वञ्चित गर्न पनि सफल हुँदै आएको छ । अमेरिका मात्र होइन, अन्य साम्राज्यवादी देशले पनि इजरायल र त्यसका अन्यायपूर्ण कार्वाहीलाई समर्थन गर्दै आएका छन् । त्यसैले प्यालेस्टाइनी जनताको न्यायपूर्ण हकका लागि विश्व साम्राज्यवादका विरुद्ध नै सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ ।
त्यो समस्याको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । इजरायल राज्यको स्थापना अमेरिकी साम्राज्यवादको बलमा अन्यायपूर्वक गरिएको भए पनि (इजरायल राज्यलाई) पूरै समाप्त गरेर त्यहाँ बसोवास गर्ने यहुदीलाई राज्यविहीन गराउनु अवश्य पनि न्यायसङ्गत कार्य हुने छैन । त्यसैले हामीले प्यालेस्टाइनको एउटा स्वतन्त्र र सार्वभौम राज्यको निर्माणका साथै इजरायल राज्यको अस्तित्वलाई पनि स्वीकार गर्दछौँ । त्यसरी ती दुवै राज्यको स्थापनाबाट लामो समयदेखि प्यालेस्टाइन र इजरायल राज्यका बिचमा भएको शत्रुतापूर्ण सम्बन्धको अन्त हुने र त्यो कारणले मध्यएसियामा भएको तनाव र युद्धको स्थितिको पनि अन्त हुनेछ भन्ने हाम्रो मत रहेको छ । अहिले प्यालेस्टाइन र यहुदी जनताका बिचमा जुन वैमनस्यताको स्थिति उत्पन्न भएको छ, त्यसको कारण अमेरिकी साम्राज्यवाद र त्यसको साम्राज्यवादी स्वार्थको लागि काम गर्ने इजरायलको प्रतिक्रियावादी वा फासिष्ट सरकार नै हुन । त्यसैले अमेरिकी साम्राज्यवाद र त्यसको दलाल सरकारका विरुद्ध सङ्घर्ष गर्नु प्यालेस्टाइन र यहुदी जनता दुबैको साझा कर्तव्य बन्न जान्छ । त्यसरी नै त्यहाँ प्यालेस्टाइनी र यहुदी जनताका बिचमा मैत्रीपूर्ण सम्बन्ध कायम हुनेछ र त्यहाँको करिब साढे सात दशकदेखिको तनावको स्थितिको पनि अन्त हुनेछ ।
अहिले अमेरिकाले इरान र इजरायलका बिचमा युद्धविराम भएको घोषणा गरेको छ । प्रथमतः जबसम्म प्यालेस्टाइन एउटा स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्यको निर्माण हुँदैन वा त्यस प्रकारको राज्य निर्माणको लागि साम्राज्यवादी शक्ति वा इजरायलको फासिष्ट सरकारले बाधा पुऱ्याइरहन्छ, प्लालेस्टाइन जनताको मुक्ति आन्दोलन निरन्तर चलिरहनुपर्ने कुरा प्रष्ट छ र त्यो चली पनि रहनेछ तैपनि अहिले इजरायल र प्यालेस्टाइनको युद्धमा युद्धविराम भएर शान्ति कायम हुन्छ भने पनि त्यसले दुबै देशका जनताको धनजनमा जुन क्षति भइरहेको छ, त्यो रोकिनेछ र तात्कालिक रूपमा त्यो स्वागतयोग्य कुरा नै हुनेछ तर इजराइल राज्यको स्थापना नै प्यालेस्टाइनी जनतामाथिको अन्यायपूर्ण कारबाहीको जगमाथि भएको थियो र दशकौँदेखि उनीहरूमाथि बर्बर प्रकारका दमन हुँदै आएका छन् । अमेरिकी साम्राज्यवाद वा इजरायल सरकारको त्यस प्रकारको चरित्रका कारणले उनीहरूले लगातार प्यालेस्टाइनी जनता वा त्यसको समर्थनमा उभिएका राष्ट्र र राजनीतिक समूहमाथि आक्रमणको नीतिलाई कहाँसम्म त्याग्नेछन् र अहिले घोषित युद्धविरामको नीतिलाई कहाँसम्म विश्वसनीय प्रकारले अगाडि बढाउनेछन् ? त्यो कुरा निश्चित रूपले भन्न सकिने अवस्था छैन तैपनि प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलन अन्तमा सही निष्कर्ष वा विजयमा पुग्ने कुरामाथि दृढ विश्वास गर्दै तात्कालिक रूपमा अहिले त्यहाँ घोषणा गरिएको युद्धविरामको सफलताको कामना पनि गर्दछौँ ।
त्यस प्रकारको पृष्ठभूमिमा अमेरिकी साम्राज्यवाद र त्यसको दलाल इजरायल सरकारका विरुद्ध आवाज उठाउँदै त्यहाँको समस्यालाई यथार्थ र न्यायपूर्ण धरातलमा समाधानको लागि जोड दिनु विश्वभरका न्यायप्रेमी जनता र हामी नेपाली जनताको पनि कर्त्तव्य हुन जान्छ ।
इजरायल सरकारले प्यालेस्टाइनी जनतामाथि गरेको अन्यायपूर्ण र अमानवीय दमन, त्यसको इरानमाथिको आक्रमण र अमेरिकाले पनि इरानमाथि गरेको हमला समेतबारे नेपाल सरकारले सही नीति अपनाउन सकेको छैन । त्यसको नीति एक वा अर्को प्रकारले अमेरिका वा भारतपरस्त रहने गरेको छ । त्यसको त्यस प्रकारको नीतिका कारणले संयुक्त राष्ट्र सङ्घका बैठकमा पनि नेपाल सरकारले सही र स्पष्ट नीति अपनाउन सकेको छैन । हामीले नेपाल सरकारको त्यस प्रकारको गलत परराष्ट्रनीतिको आलोचना गर्दै प्यालेस्टाइनको समस्याबारे सही नीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
यसका लागि नेकपा (मसाल) ले प्रशन्नता प्रकट गर्न चाहन्छ कि प्यालेस्टाइनी न्यायपूर्ण मुक्ति आन्दोलनको पक्षमा र इरानमाथि इजरायल र अमेरिकी साम्राज्यवादले गरेको आक्रमणका विरुद्ध नेपालका वामपन्थी शक्तिहरू एकताबद्ध भएर आज एउटा मञ्चमा उभिएका छन् । हामीलाई विश्वास छ, आज हाम्राबिचमा कायम यो ऐक्यबद्धताले आउने दिनमा पनि झन् ठुलो नेपालका वामपन्थी शक्तिका बिचमा अरू पनि राष्ट्रिय वा अन्तराष्ट्रिय समस्याबारे संयुक्त आन्दोलन उठाउनको लागि बलियो संयुक्त मोर्चा निर्माण गर्न वातावरण तयार पार्दै लैजानेछ । त्यसरी आजको यो ऐक्यबद्धतालाई हामीले खालि प्यालेस्टाइनको मुक्ति आन्दोलनका पक्षमा र इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमण विरुद्ध एकताको सीमित अर्थमा मात्र नलिएर त्यसले नेपालका वामपन्थी शक्तिका बिचमा संयुक्त मोर्चा निर्माणको पनि परस्परमा विश्वासको वातावरण तयार पार्नेछ भन्ने आशा गर्नुपर्दछ ।
यस सन्दर्भमा यसका लागि हामीले प्रशन्नता प्रकट गर्दछौँ कि हिजो असार १० गते विभिन्न वामपन्थी सङ्गठनसित सम्बन्धित विद्यार्थीहरूले पनि प्यालेस्टाइनको मुक्ति आन्दोलन र अमेरिकी साम्राज्यवाद तथा इजरायलले इरानमाथि गरेको आक्रमणका विरुद्ध संयुक्त रूपले प्रदर्शन गरेका थिए । ती सबै विद्यार्थीलाई पनि हामीले बधाई दिन चाहन्छौँ ।
आजको कार्यक्रमलाई खुला प्रदर्शनका रूपमा सञ्चालन गर्ने हाम्रो सोचाइ भए पनि वर्षाको मौसममाथि ध्यान दिएर हामीले यसलाई आन्तरिक कार्यक्रमको रूपमा सञ्चालन गर्नुपरेको छ तैपनि आगामी दिनमा आवश्यकताअनुसार यस प्रकारका कार्यक्रमलाई अरू उच्च र खुला रूपमा सञ्चालन गर्ने पनि हाम्रो प्रयत्न हुनेछ ।
अन्तमा, आज यो कार्यक्रममा उपस्थित सबै सहभागीलाई नेकपा (मसाल) ले अभिनन्दन गर्न चाहन्छ । हाम्रो यो कार्यक्रमले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा र इरानमाथि भएको अमेरिका र इजरायलको आक्रमणका विरुद्धको नेपाली जनताको समर्थनलाई पनि व्यक्त गर्दछ । त्यसैले हामीले आजको यो महत्त्वपूर्ण र ऐतिहासिक कार्यक्रममा उपस्थिति भएकोमा तपाईंहरूप्रति सम्मान र आभार प्रकट गर्न चाहान्छौँ ।
(२०८२ साल असार ११ गते प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा र इरानमाथि अमेरिकी साम्राज्यवाद र फासिष्ट इजरायल सरकारद्वारा गरिएको आक्रमणका विरुद्ध काठमाडौँमा आयोजित वामपन्थीको संयुक्त कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री सिंहद्वारा प्रस्तुत मन्तव्य । यो मन्तव्य केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले वाचन गर्नुभएको थियो ।)