नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
गाजामा इजरायलको हमलाबाट अहिलेसम्म करिब साठी हजार मानिसहरू, बालक, वृद्ध, महिला, गर्भवती महिला, शिशुसहितको मृत्यु भइसकेको छ । त्यहाँ ठुलो पैमानामा घर, विद्यालय, विश्वविद्यालय समेत इजरायली बमबर्षाबाट नष्ट भइसकेका छन् । त्यहाँ खाद्यान्नको समेत ठूलो अभाव भएर भोकमरीको स्थितिको सिर्जना भएको छ । यहाँसम्म कि त्यहाँ राहतको लागि बाहिरबाट आउन थालेका राहत सामग्रीका गाडीहरूमाथि पनि रोक लगाइन्छ र सीमित रूपमा त्यहाँ पुगेका सामग्री वितरण गर्दा जम्मा भएका मानिसहरूमाथि पनि इजरायलद्वारा माथिबाट बम खसालेर हत्या गर्ने गरिन्छ । त्यसरी, समग्र रूपमा गाजाको स्थिति अत्यन्त गम्भीर छ र त्यसप्रति नेपाली जनताको पनि ध्यान जानुपर्ने आवश्यकता छ ।
प्यालेष्टाइनी जनता वा गाजामा भइरहेको त्यस प्रकारको अमानवीय र वर्बर अत्याचारप्रति सारा संसारको ध्यान गएको छ । कैयौं देशहरूका सरकारहरूले त्यसका विरुद्ध आवाज उठाएको छन् । संयुक्त राष्ट्र सङ्घमा पनि त्यसका विरुद्ध ठूलो आवाज उठेको छ । अमेरिका र त्यसका पक्षमा भएका केही मुठ्ठीभर देशहरूका सरकारहरूको त कुरै भएन । उनीहरूले प्यालेष्टाइनी जनताका विरुद्ध इजरायल सरकारका कार्वाहीहरूलाई पूरै समर्थन गरिरहेका छन् । त्यही प्रकारले नेपाल सरकारले पनि अमेरिकी साम्राज्यवादपरस्त नीति अपनाएर इजरायल सरकारले प्यालेष्टाइनी जनतामाथि वा गाजामा गरिरहेको अत्याचार तथा अमेरिका र इजरायल समेतले इरानमाथि गरेको आक्रमणको पनि कुनै विरोध गरेको छैन । तर यो खुशीको कुरा हो कि नेपालका वामपन्थी शक्तिहरु, नागरिक समुदाय वा स्वतन्त्र बुद्धिजीवि समेत आम जनताले संयुक्त भएर गाजामा इजरायलको फासिष्ट सरकारले गरिरहेको नरसंहारको विरोध, प्यालेष्टाइनी जनताको मुक्ति आन्दोलनको समर्थन वा इरानमाथि अमेरिकी साम्राज्यवाद र त्यसको दलाल इजरायलको फासिष्ट सरकारले गरेको हमलाका विरुद्ध पनि आवाज उठाइरहेका छन् वा आन्दोलन गरिरहेका छन् । त्यसका साथै नेपालको सरकारले उक्त प्रश्नमा स्पष्ट र सही नीति अपनाउन नसकेकोमा पनि हामीले त्यसको कडा आलोचना गर्दछौँ ।
इजरायलको अमानवीय चरित्र यहाँसम्म नाङ्गो रूपमा देखा परेको छ कि इजरायली सेनाले साइप्रसबाट गाजाका लागि खाद्य सामग्री, औषधी र केटाकेटीका सामानहरु लगेर जान थालेको जहाजलाई जुलाई २६ तारिखमा अन्तराष्ट्रिय जलक्षेत्रमा अपहरण गरेर त्यसलाई इजरायलको बन्दरगाहमा लगिएको थियो र त्यसमा बसेका बेलायत, अमेरिका, स्पेन, चिली, नर्वे, स्वीडेन, आयरल्याण्ड, टर्की समेतका कतिपय सांसद वा शान्तिकर्मीहरू तथा फिलिस्ताइनी मूलका युरोपेली नागरिकहरू समेतलाई पक्राउ गरिएको थियो । हाम्रो पार्टीले इजरायल सरकारको त्यस प्रकारको अमानवीय कारर्बाहीको तिव्र शब्दमा भ्रत्र्सना गर्दै गिरÇतार व्यक्तिहरुलाई तुरुन्तै रिहाइ गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
रुसी सेनामा भर्ना भएर युक्रेनको युद्धमा ठूलो संख्यामा नेपालीहरू मारिएका थिए । उनीहरूका शवहरू नेपालमा ल्याइएको घटनाहरूप्रति पनि ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यसरी युक्रेनमा कति नेपालीहरू मारिएका थिए, कति जना त्यहाँ बन्दीको अवस्थामा छन् वा कतिजना बेपत्ता छन् ? त्यो पूरै विवरण अझै थाहा हुन सकेको छैन । नेपाल र रुसका बिचमा नेपालीहरु रुसी सेनामा भर्ना हुनेबारे कुनै सम्झौता भएको छैन र त्यो युद्धमा जुन नेपालीहरूको मृत्यु भयो, ती सबै अवैध रूपले नै रुसी सेनामा भर्ना भएका थिए । त्यो अवस्थामा यो गम्भीर प्रश्न नउठाइकन रहन सकिन्न, नेपालसित मैत्रीपूर्ण सम्बन्ध भएको रुसले किन त्यसरी अबैध प्रकारले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना गर्यो ? त्यसबारे गम्भीर रुपले कुरा उठाउनको लागि हामीले नेपाल सरकारसित माग गर्दछौँ । प्रश्न कुनै विदेशी सेनामा नेपालीहरू वैध वा अवैध प्रकारले भर्ना भएको कुरा मात्र होइन, संसारको कुनै पनि विदेशी सेनामा नेपालीहरूलाई भर्ना गर्ने कुरालाई हाम्रो पार्टीले पहिलेदेखि नै विरोध गर्दै आएको छ र अहिले रुसी सेनामा नेपालीहरू भर्ना भएर मृत्यु भएको घटनाप्रति पनि हामीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछौँ । त्यसरी नेपालीहरूलाई अवैध रुपले रुसी सेनामा भर्ना हुनेबारे सरकारले किन कुनै प्रभावशाली कदम उठाउन सकेन ? त्यसप्रति पनि हामीले गम्भीर आपत्ति प्रकट गर्दछौँ । त्यसरी मृत्यु हुने नेपालीहरूको लागि जुन क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ, त्यो पनि कहाँसम्म पर्याप्त र न्यायसङ्गत छ ? त्यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नका लागि हामीले सरकारको ध्यान आकर्षित गर्न चाहान्छौँ ।
२०८२ साउन १६ गते ।
मोहन विक्रम सिंह
महामन्त्री