काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) सम्वद्ध जनवर्गीय मोर्चाहरुको केन्द्रीय प्रशिक्षण कार्यक्रम समापन भएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८२ साउन ३० गते शुक्रबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभा कक्षमा सो कार्यक्रम समापन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले कार्यकर्ताहरूमा भरपूर मात्रामा सहनशीलता हुनुपर्नेमा जोड दिनुभयो । ‘कुनै पनि व्यक्तिको हित सामाजिक हितसँग जोडिएको हुन्छ’ उहाँले भन्नुभयो– ‘कार्यकर्ताले आफूमा भएको व्यक्तिगत हितलाई सामाजिक हित, परिवतर्नको हित र क्रान्तिको हितअन्तर्गत राख्नुपर्दछ ।’ कुनै पनि कार्यकर्ता वा व्यक्तिले गरेको व्यवहारबाट नै उसको भविष्य कस्तो हुन्छ भन्ने सुनिश्चित हुने महामन्त्री सिंहको थप भनाइ थियो । त्यस्तै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले कार्यकर्ताहरूले चिन्तनमनन र व्यवहारलाई राम्रोसँग परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
एवम् प्रकारले वामपन्थी नेता आनन्द शर्माले पार्टीको नीतिलाई जनताका बिचमा पु¥याउने काम जनवर्गीय मोर्चाहरूको भएको हुँदा जनवर्गीय मोर्चाका शीर्ष नेतृत्वहरूलाई प्रशिक्षणमा सहभागी गराइएको बताउनुभयो । प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षता र रामप्रकाश पुरीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीको तर्फबाट प्रेम पौडेल, सावित्रा रेग्मी, समष्टि बुढामगर, कुवेर भण्डारी, मेसको तर्फबाट कृष्ण बराललगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको पनि आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रम साउन १६ गतेदेखि सुरु भएको थियो । कार्यक्रममा विविध विषयमा विभिन्न विषयविज्ञले प्रशिक्षण दिनुभएको आयोजकले जनाएको छ ।