Nepal communist party

प्रेस वक्तव्य (२०८२ भाद्र २४)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

हिजो जेनजीको आन्दोलनको दौरानमा सरकारले गरको क्रूर दमनको कार्यप्रति ने.क.पा.(मसाल)ले गम्भीर प्रकारको क्षोभ प्रकट गर्दछ र सबै मृतकहरूप्रति श्रद्धाञ्जली, उनीहरूका सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

हाम्रो पार्टीले पहिले नै यो स्पष्ट गरेको थियो कि सामाजिक सञ्जाललाई नियमन गर्नु आवश्यक थियो । त्यसबारे सर्वोच्च अदालतले पनि परमादेश दिएको थियो । तर सर्वोच्च अदालतले त्यसबारे कानुन बनाएर नै नियमन गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतको त्यो निर्देशन अनुसार नगरेर सरकारले दर्ता गर्ने सुचनालाई पालना नगरेको भन्दै एकैसाथ उनीहरूमाथि रोक लगाउने काम गर्‍यो । सरकारको त्यस प्रकारको स्वेच्छाचारी कारवाहीका कारणले नै जनतामा व्यापक आक्रोश उत्पन्न भयो । त्यसकारण हिजोको घटनाका लागि मुख्य रूपले सरकार नै जिम्मेवार छ ।

हिजोको प्रदर्शनलाई दबाउनका लागि सरकारले शक्तिको अनावश्यक रूपले बढी प्रयोग गरेको छ । त्यसैको परिणाम हो कि हिजोको आन्दोलनको सिलसिलामा २० जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । उनीहरूमध्येे कैयौँ जना गम्भीर रूपमा घाइते छन् । यति ठुलो दमनको लागि हाम्रो पार्टीले कडा शब्दमा सरकारको विरोध र भ्रत्र्सना गर्दछ । हिजोको जेनजीको आन्दोलन र सरकारको दमनसित सम्बन्धित विभिन्न पक्षहरूबारे हाम्रो पार्टीले गम्भीरतापूर्वक अवलोकन गरिरहेको छ र पार्टीको उच्च स्तरीय बैठक बसेर साँझसम्म हाम्रो पार्टीले आफ्नो नीति बाहिर ल्याउने छ ।

हिजोको घटनाक्रम सामान्य होइन र त्यो अत्यन्त गम्भीर प्रकारको रहेको छ । त्यो एउटा राष्ट्रिय महत्त्वको प्रश्न बनेको छ । त्यसकारण त्यसबारे हामीले अन्य पक्षहरूसित पनि छलफल गरेर एउटा साझा समझदारी बनाउन प्रयत्न गर्ने छौँ ।

अन्तमा, अहिले देशमा जुन प्रकारको राजनीतिक स्थिति उत्पन्न भएको छ, त्यसबारे सही र सन्तुलित प्रकारको नीति अपनाउन नसकेमा त्यसका दुर्गामी गम्भीर प्रकारका दुष्परिणामहरू हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । विभिन्न देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले यो स्थितिलाई आफ्ना निहित स्वार्थका लागि प्रयोग गर्ने प्रयत्न पनि गर्न सक्दछन् । त्यसप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।
२०८२ भाद्र २४ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top