Nepal communist party

प्रेस वक्तव्य (२०८२ भाद्र २७ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

ने.क.पा. (मसाल)को पीवीको आजै बसेको बैठकले देशको वर्तमान स्थितिबारे विस्तृत र गहन छलफल गरेको छ । त्यो बैठकका निष्कर्षहरूलाई सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।
१. बैठकले सर्वप्रथम जेन–जीको आन्दोलनको सिलसिलामा ठुलो पैमानामा र अनावश्यक रूपले शक्तिको प्रयोग गरेर ठुलो सङ्ख्यामा युवकहरूको जुन हत्या भयो, उनीहरूप्रति सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका सन्तप्त परिवारप्रति बैठकले हार्दिक समवेदना प्रकट गर्‍यो । त्यसका साथ साथै त्यो आन्दोलनमा घाइते भएका सबै प्रदर्शनकारीहरूको शीघ्र स्वास्थ्य लाभका लागि पनि बैठकले कामना गरेको छ ।
२. हाम्रो पार्टीले पहिलेदेखि नै केपी शर्मा ओलीको अधिनायकवादी र स्वेच्छाचारी कार्यशैलीको विरोध गर्दै आएको छ । ओली सरकारको त्यस प्रकारको कार्यशैली नै अहिले देशमा उत्पन्न असामान्य प्रकारको स्थितिको लागि जिम्मेवार छ । सर्वप्रथमत: सर्वाेच्च अदालतले कानुन बनाएर सामाजिक सञ्जाललाई नियमन गर्न भनेर निर्देशन दिएको अवस्थामा त्यस प्रकारको कानुन नबनाइकन ठाडै सामाजिक सञ्जालमाथि रोक लगाइयो । त्यसले गर्दा युवा पीढीमा धेरै नै असन्तोष र आक्रोश उत्पन्न भयो । देशमा बढिरहेको कुशासन र भ्रष्ट्राचारका कारणले पनि देशमा व्यापक असन्तोष र उकुसमुकुसको वातावरण छ । त्यही प्रकारको अवस्थामा सामाजिक सञ्जाल र भ्रष्टाचार समेतका मागहरूलाई लिएर युवकहरू सडकमा उत्रिए । उनीहरूका ती मागहरूलाई गलत भन्न सकिन्न् । तर ती मागहरूलाई न्यायसङ्गत र सन्तुलित प्रकारले समाधान गर्नका लागि पहल गर्नुको सट्टा ओली सरकारले प्रदर्शनकारीहरूमाथि कडा दमनको नीति अपनायो । त्यस प्रकारको दमनद्वारा ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरूको निधन भयो भने डेढ हजार भन्दा बढी मानिसहरू घाइते पनि भए । उनीहरूमध्येे कैयौँ जना सिकिस्त छन् । त्यस प्रकारको दमन नीतिका कारणले उत्पन्न भएको आक्रोशको परिणामस्वरूप दोस्रो दिनको प्रदर्शनले अत्यन्त उग्र र हिंसात्मक रूप लियो । जसको परिणामस्वरूप राष्ट्रिय सम्पत्तिको साथै व्यापारिक प्रतिष्ठान, निजी घर र विभिन्न राजनीतिक पार्टीका कार्यालयहरूलाई पनि ध्वस्त पारियो ।
३. जेन–जी पुस्ताको प्रदर्शनबाट देशका युवाहरूमा ठुलो मात्रामा ऊर्जा र शक्ति वा जुझारूपन भएको कुरा प्रस्ट भएको छ । त्यसले नेपालको उज्ज्वल भविष्यका लागि देशमा बलियो आधार भएको कुरालाई बताउँछ । तर त्यस प्रकारको युवा शक्ति सही सिद्धान्त र नीतिद्वारा निर्देशित भएन भने त्यसबाट देश र जनतालाई ठलो क्षति पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । उनीहरूको दुई दिनको आन्दोलनबाट पनि त्यो कुराको सङ्केत मिलेको छ । उनीहरूको त्यो आन्दोलनको सम्पूर्ण रूपले मूल्याङ्कन गर्दा के कुरा स्पष्ट भएको छ भने त्यो आन्दोलन कुनै नीति कार्यक्रम वा नेतृत्वद्वारा निर्देशित थिएन । त्यसैले त्यो आन्दोलनमा गम्भीर प्रकारको अवस्था वा अराजकता देखापर्न गयो । त्यसैको परिणाम हो कि त्यो आन्दोलनको सिलसिलामा सर्वाेच्च अदालत, सिंहदरबार, संसद भवन कैयांै मन्त्रालयहरू सहित देशका धेरै भागमा तोडफोड र आगलागीका घटनाहरू भएका छन् । त्यस प्रकारको स्थिति उत्पन्न हुनुको पछाडि युवकहरूको आन्दोलनमा कुनै नीति कार्यक्रम वा नेतृत्वको अभाव नै हो । त्यसले समग्र रूपमा के बताउँछ भने युवा शक्तिमा जतिसुकै ऊर्जा र शक्ति भएपनि सही सिद्धान्त वा निर्देशनको अभावमा त्यसले ध्वंशात्मक रूप लिने नै बढी सम्भावना हुन्छ र त्यसले सही दिशा लिने सम्भावना कम हुन्छ ।
४. युवाहरूमा उच्च प्रकारको ऊर्जा हुन्छ । तर उनीहरूमा आवश्यक वैचारिक स्पष्टता वा राजनीतिक परिपक्वताको कमी हुन्छ । त्यसको परिणाम हुन्छ कि उनीहरूलाई देशभित्रको वा विदेशको कुनै गलत शक्ति वा तत्त्वले दुरूपयोग गर्न सक्दछ । उनीहरूको आन्दोलनको बेलामा ठुलो पैमानामा जुन ध्वंसात्मक कार्यहरू भए, त्यसका लागि उनीहरू नै जिम्मेवार छन् भन्न सकिन्न । यो स्पष्ट छ कि उनीहरूको आन्दोलनको आडमा कैयौँ गलत तत्त्वहरूको घुसपैठ भयो र त्यसलाई युवाहरूले नियन्त्रण गर्न सकेनन् । सर्वाेच्च अदालत, सिंहदरबार वा संसद भवनमा आगलागी हुनु, कैयौँ व्यापारिक प्रतिष्ठानहरूमा लुटपाट हुनु, देशभरका कैयौँ जेलबाट हजारौँ कैदीहरू छुट्नु, आदि सामान्य कुराहरू होइनन् । त्यस प्रकारका कार्यहरूबाट देशमा दीर्घकालीन प्रकारको क्षति पुग्ने कुरा निश्चित छ । देश वा देशको विकासप्रति जिम्मेवार कुनै पनि व्यक्ति वा शक्तिले त्यस प्रकारका ध्वंसात्मक कार्यहरू गर्न सक्दैनन् । आखिर त्यसका लागिको जिम्मेवार छ ?
५. समाचार माध्यमहरूबाट यो कुरा थाहा भएको छ कि अन्तरिम सरकारमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने प्रश्नमा विवाद हुँदा जेनजी पुस्ताका बिचमा नै कुटपिट हुन गएको छ । हिजोको आज नै उनीहरूका बिचमा भएको त्यस प्रकारको कुटपिटले उनीहरूमा आवश्यक राजनीतिक परिपक्वता र अनुशासन नभएको कुरालाई बताउँछ । त्यस प्रकारको अवस्थामा उनीहरूभित्रको उर्जाले देशको विकास र निर्माणमा मदत पुर्‍याउने भन्दा पनि देशलाई अव्यवस्था वा दुर्दशातिर लैजाने नै बढी सम्भावना देखिन्छ । त्यसैले नयाँ युवा शक्तिलाई सही दिशामा लैजान र उनीहरूमा परिपक्वता ल्याउनका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
६. यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न कि यूवा शक्तिलाई देशभित्रका प्रतिगामी शक्तिहरूले वा विदेशी साम्राज्यवादी शक्तिहरूले आफ्ना निहित स्वार्थपूर्तिका लागि दुरूपयोग गर्न सक्दछन् । युवकहरूमा वैचारिक स्पष्टता र राजनीतिक परिपक्वता ल्याएर नै त्यस प्रकारका देशी वा विदेशी प्रतिगामी खतराबाट रोक्न सकिन्छ र रोक्नुपर्दछ । त्यही नै देश र जनताको हितमा हुने छ ।
७) जेन–जी पुस्ताका बिचमा एउटा निश्चित उमेरमा पुगेपछि कुनै व्यक्ति राजनीतिक नेतृत्वको लागि अयोग्य हुन्छ भन्ने विचार पनि निकै उठेको पाइन्छ तर कुशल र सही राजनीतिक नेतृत्वको लागि उमेर मुख्य प्रश्न होइन । त्यसको लागि आवश्यक सर्तहरू, वैचारिक स्पष्टता, राजनीतिक परिपक्वता तथा देश र जनताप्रतिको सेवामा समर्पणको लागि उच्च प्रकारको सेवा भावना र इमानदारिता हुन् । ती, नै ती कसौटी हुन् जसका आधारमा कुनै व्यक्ति नेतृत्वका लागि सही वा योग्य भएको वा नभएको छुटिन्छ र छुट्याउनुपर्दछ । उमेर मात्र कुनै कुराको योग्यताको कसौटी हुँदैन । हामीले देख्दछौँ कि ठुलो सङ्ख्यामा युवकहरू नै विभिन्न प्रकारका अपराधजन्य कार्यहरूमा पनि लागेका हुन्छन् । भ्रष्टाचारमा संलग्न कैयौँ राजनीतिक नेता, कार्यकर्ता वा सरकारी कर्मचारीहरू पनि युवक नै हुन्छन् । अर्कातिर, हामीले संसारमा वृद्धावस्थामा पनि देश र समाज हितका लागि सम्पूर्ण रूपले समर्पित व्यक्तिहरूको पनि ठुलो सङ्ख्या देखेका छौँ । यी केही उदाहरणहरूबाट यो कुरा प्रस्ट हुन्छ कि कुनैपनि प्रकारको योग्यताका लागि उमेर नै एकमात्र कसौटी होइन् र हुन्न । यद्यपि उमेर पनि एउटा महत्त्वपूर्ण विशेषता भएको कुरालाई अस्वीकार गर्न सकिन्न । तर त्यसका साथै कुनै खास काम वा राजनीतिक नेतृत्वका लागि पनि अन्य कतिपय मानवीय वा चरित्रगत गुण वा क्षमताहरूको आवश्यकता पर्दछ । त्यही कारण हो कि विश्वको इतिहासमा वा संसारको कुनै देशमा अन्य गुण वा क्षमताहरूको ख्याल नगरिकन उमेरका आधारमा मात्र कुनै पद वा जिम्मेवारीका लागि योग्य ठहराउने वा वृद्ध भएको कारणले नै पूरै बहिस्कृत गर्ने नीति अपनाएको पाइँदैन ।
८. अहिले देशमा जुन प्रकारको असामान्य स्थिति उत्पन्न भएको छ, त्यसको तात्कालिक समाधान विद्यमान संविधानको सीमा भित्रबाट नै खोज्नुपर्दछ भन्ने हाम्रो मत छ । वर्तमान संविधानभित्रको सङ्घीयतासित हाम्रो सहमति छैन र त्यसलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्छ भन्ने हाम्रो मत रहेको छ । तैपनि वर्तमान संविधानमा व्यवस्था गरिएका गणतन्त्र, धर्मनिरपेक्षता, बहुदलीय व्यवस्था, मौलिक अधिकारहरूको रक्षा गरिनु पर्छ भन्ने हाम्रो मत रहेको छ । तिनीहरूमा आँच पुग्ने प्रकारको कुनै पनि कार्यविधिको हाम्रो पार्टीले कडाइपूर्वक विरोध गर्दछ । तर त्यसका साथै विद्यमान गणतन्त्र र बहुदलीय व्यवस्थासित हाम्रो सैद्धान्तिक र रणनीतिक मतभेद भएको कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यो कुरा हुँदाहुँदै पनि अहिलेको ठोस परिस्थितिमा गणतन्त्र वा बहुदलीय व्यवस्थाको प्रगतिशील महत्त्व भएकाले र तिनीहरूलाई समाप्त गर्न प्रतिगामी शक्तिहरूले सङ्घर्ष गरिरहेको हुनाले तिनीहरूलाई रक्षा गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
९. अहिलेको जेन–जीको आन्दोलनलाई प्रतिगमनको दिशामा मोड्नका लागि राजावादीहरूले शक्ति लगाएको पाइन्छ । तर यो खुसीको कुरा हो कि उनीहरूको प्रयत्न असफल भएको छ । तैपनि देशको अराजक र अस्थिर परिस्थितिबाट फाइदा उठाएर उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न जारी राखिराख्ने सम्भावनाप्रति हाम्रो उच्च ध्यान जानुपर्ने आवश्यकता छ ।
१०. जेन–जी आन्दोलनको दौरानमा ठुलो सङ्ख्यामा मानिसहरूको जुन निधन भयो । त्यसका लागि ओलीको सरकार नै जिम्मेवार भएको कुरा प्रस्ट छ । तर त्यो आन्दोलनको दौरानमा राष्ट्रिय सम्पत्तिका साथै सार्वजनिक, राजनीतिक दलहरू र व्यावसायिक वा निजी सम्पत्तिको पनि ठुलो मात्रामा जुन क्षति भयो, त्यो अनियन्त्रित प्रकारले चलेको जेनजी आन्दोलनको नै परिणाम हो । जेनजीका युवाहरूले त्यति ठुलो मात्रामा ध्वंसात्मक कार्वाही गर्न नसक्ने कुराको अनुमान गर्न सकिन्छ । तर उनीहरूको कमजोरी यो हो कि उनीहरूले आफ्नो आन्दोलनलाई नियन्त्रित वा अनुशासित राख्न सकेनन् । उनीहरूको राजनीतिक अपरिपक्वता, कुनै कार्यक्रम, नीति वा नेतृत्वको अभावका कारणले उनीहरूको आन्दोलन बढी स्वस्फूर्त वा अराजक रूपमा नै देखापर्‍यो । त्यसैले उनीहरूको आन्दोलनमा गलत तत्त्वहरूले प्रवेश गर्ने मौका पाए र देशव्यापी रूपमा ठुलो पैमानामा ध्वंसात्मक कार्यहरू भयो । अब त्यसको जिम्मा सरकारले नै लिनुपर्दछ । प्रथमत: राष्ट्रिय सम्पत्तिको जुन क्षति भएको छ त्यसको पुर्ननिर्माणको कार्य ता सरकारले गर्ने नै छ र गर्नुपर्ने छ । त्यसको लागि ठुलो धनराशी खर्च हुने छ । त्यसका साथै जनताको सम्पत्तिको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति गर्ने जिम्मा पनि सरकारले नै लिनुपर्दछ । किनभने सरकारले सुरक्षा दिन नसकेको हुनाले नै जनताको त्यति धेरै क्षति हुन पुगेको हो ।
११. अहिले युवाहरूमा जुन आक्रोश देखापर्‍यो । त्यसका लागि मुख्य रूपले ओलीको सरकारता जिम्मेवार छ नै, त्यो सरकारअन्तर्गत देखापरेको भ्रष्ट्राचार, कुशासन, जनविरोधी वा राष्ट्रघाती क्रियाकलापहरू तथा सर्वाेच्च अदालतको फैसलालाई गलत प्रकारले प्रयोग गरेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको हुनाले पनि त्यस प्रकारको आक्रोश देखापरेको हो । त्यस प्रकारको आक्रोश यूवाहरूमा मात्र देखापरेको ठान्नु सही हुने छैन । देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र आएदेखि नै बनेका सबै सरकारहरूले त्यही प्रकारका गल्तीहरू गर्दै आएका छन् । त्यसैले नै जनतामा त्यस प्रकारको आक्रोश देखापरेको हो र अहिले यूवा पुस्तामा त्यो आक्रोश व्यक्त भएको छ । गत कालमा बहुदलिय व्यवस्था आएदेखि बनेका सरकारहरूका गलत नीति र क्रियाकलापहरूलाई देखाएर राजावादीहरूले बहुदलीय व्यवस्था आउनु भन्दा पहिलेको राजाको निरङ्कुश शासन प्रणाली राम्रो भएको बताउँदै त्यसको पुनस्र्थापनामा जोड दिइरहेका छन् । तर वास्तविकता यो हो कि राजाको निरङ्कुश शासनअन्तर्गत कैयौँ गुणा बढी भ्रष्ट्राचार र कुशासन मात्र होइन, व्यापक दमन पनि थियो । त्यसैले अहिलेका सरकारहरूका भ्रष्ट्राचार वा कुशासनको विरोध गर्ने नाममा कुनै पनि रूपमा राजाको शासनको पुनस्र्थापना गर्ने प्रयत्नका विरुद्धका उच्च प्रकारको जनचेतना वा आन्दोलन उठाउन हामी सँधै कटिबद्ध हुनुपर्दछ ।
१२. अहिले जेन जी पुस्ताको आन्दोलनका कारणले देशमा देखापरेको असामान्य राजनीतिक स्थितिका कारणले देशको राजनीतिमा सेनाको भूमिका बढेर गएको छ । त्यसलाई राम्रो लक्षण भन्न सकिन्न् । त्यस प्रकारको भूमिकाका कारणले जनताले लामो सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र वा लोकतन्त्रमा कुनै पनि प्रकारले आँच पुग्न नपाओस्, त्यसप्रति पनि हाम्रो उच्च ध्यान जानुपर्ने आवश्यकता छ ।
१३. अहिले एउटा अन्तरिम सरकारको गठन गर्ने र संसद बाहिरबाट नै कुनै प्रधानमन्त्री मनोनित गर्ने दिशामा छलफल भइरहेको छ । हाम्रो के स्पष्ट मत छ भने अहिले देशमा देखापरेको राजनीतिक समस्याको समाधानका लागि कुनै पनि प्रयत्न संविधानमा गरिएको व्यवस्था अनुसार नै हुनुपर्दछ । तैपनि अहिलेसम्म त्यसरी कुनै प्रधानमन्त्री नियुक्त गर्ने काम भएको छैन । त्यसैले त्यस प्रकारको कुनै कार्य गरेपछि नै हामीले त्यसबारे आफ्नो दृष्टिकोण प्रकट गर्ने छौँ ।
१४. अहिले कतिपय पक्षहरूबाट संसदको विघटन गर्ने कुरा पनि उठिरहेको छ । हामीले त्यस प्रकारको विचारलाई पनि सहि मान्दैनौँ । त्यो अवस्थामा देश प्रतिगनको दिशामा जाने सम्भावना रहनेछ । त्यसैले हामीले जब जब पनि संसदको विघटनको कुरा उठ्यो, हामीले त्यसका विरुद्ध आवाज उठाउँदै वा सङ्घर्ष गर्दै आएका छौँ । कतिपय पक्षहरूले संविधानको पनरलेखन गर्ने कुरामा जोड दिँदै आएका छन्, त्यो विचारलाई पनि हामीले सही मान्दैनौँ । निश्चय नै, संविधानमा कतिपय संशोधनहरूको आश्यकता छ भन्ने कुरालाई हामीले स्वीकार गर्दछौँ । त्यसबारे बेग्लाबेग्लै मतहरू हुन सक्दछन् । जे भएपनि संविधानको संशोधन गर्दा गणतन्त्र, बहुदलीय व्यवस्था, लोकतन्त्र वा मौलिक अधिकारहरूमाथि कुनै आघात नपुग्ने गरेर नै हुनुपर्दछ भन्ने हाम्रो मत रहेको छ ।
१५. जेन–जी पुस्ताको आन्दोलनद्वारा देशमा एक प्रकारले उथलपुथल स्थिति उत्पन्न भयो तर उनीहरूको पहलमा चलेको आन्दोलन, त्यसमा देखापरेको अवस्था, उनीहरूका बिचमा उठेका विवाद वा उनीहरूका बिचमा भएका कुटपिट सम्मका घटनाहरूबाट त्यो कुनै सङ्गठित समूह नभएको कुरा प्रस्ट भएको छ । त्यस प्रकारको असङ्गठित समूहबाट देश सही दिशामा अगाडि बढ्ने कुराको आशा गर्नु अवश्य पनि सही हुने छैन ।
१६. हाम्रो पार्टीले बारम्बार प्रतिगमनको गम्भीर खतरा तथा प्रतिगमनका विरुद्ध भएका शक्तिहरूसित तालमेलको आवश्यकतामा जोड दिँदै आएको छ । हामीले व्यवहारमा पनि त्यस प्रकारको नीति अपनाउँदै आएका छौँ । अहिले देशको राजनीतिको मुल्याङ्कन गर्दा पनि त्यस प्रकारको खतरा गम्भीर नै भएको कुरा प्रस्ट भएको छ । त्यसकारण हामीले आगामी दिनहरूमा पनि पारस्परिक सहमतिका आधारमा त्यस प्रकारको तालमेलको नीतिलाई कायम राख्ने र अगाडि पनि बढाउने हाम्रो नीति हुने छ । तर त्यसो गर्ने बेलामा अन्य पक्षहरूसित भएका हाम्रा मतभेदहरूलाई जारी राख्ने र मतभेद भएका विषयहरूमा आवश्यकता अनुसार सङ्घर्ष गर्ने हाम्रो नीति कायम रहनेछ ।
१७. जेन–जी आन्दोलनको सिलसिलामा देशमा ठुलो पैमानामा ध्वंसात्मक कार्यहरू भएका छन् । हाम्रो यो विचार छ कि त्यस प्रकारका अपराधजन्य कार्यहरू जेन–जी युवकहरूका घोषित नीतिहरूअन्तर्गत आउने कुराहरू होइनन् । त्यस प्रकारका कार्यहरूको जेन–जी युवकहरूले पनि छानविन गरेर तिनीहरूको आलोचना गर्ने छन् भन्ने हामीले आशा गरेका छौँ । त्यसका साथै सरकारले त्यस प्रकारका अपराधजन्य कार्यहरूका लागि जिम्मेवार व्यक्तिहरूलाई पत्ता लगाएर उनीहरूलाई कानुनको घेरामा ल्याउने आवश्यकतातिर पनि हामीले जोड दिन्छाँै । त्यसका साथै जेन–जी आन्दोलनको सिलसिलामा १४ हजार भन्दा बढी बन्दीहरू जेलहरूबाट भागेको भन्ने कुरा आएको छ । उनीहरूलाई बाहिरबाट ताला फोरेर छुटाउने काम कसरी गरियो र त्यसका लागिको जिम्मेवार छ ? त्यसबारे पनि छानविन गरेर कानुन अनुसार कार्वाही गर्नुपर्ने आवश्यकतमा हामीले जोड दिन्छाँै ।
१८. अहिले भ्रष्टाचार सम्बन्धी कार्यहरूका लागि कुनै छानविन समिति बनाउने वा नबनाउने ? त्यसबारे मतभेद भएको भन्ने कुरा थाहा भएको छ । वास्तवमा आज भ्रष्टाचार देशको अत्यन्त गम्भीर समस्या बनेको छ । त्यसले गर्दा देशको सम्पूर्ण विकास कार्य नै कुण्ठित हुन गएको छ र त्यसैको परिणाम हो कि देशमा कृषि र उद्योग धन्दाको विकास हुन सकिरहेको छैन र त्यसको परिणामस्वरूप युवाशक्तिको ठुलो सङ्ख्यामा विदेशमा पलायन भइरहेको छ । त्यसको पछाडिको मुख्य कारण उच्च राजनीतिक तह वा उच्च प्रशासन तहदेखि तल्लो तहसम्म व्याप्त भ्रष्टाचार नै हो । जेन–जी युवकहरूले त्यो मागलाई अगाडि ल्याएर महत्त्वपूर्ण कार्य गरेका छन् र त्यसका लागि हामीले उनीहरूलाई धन्यवाद दिन्छौँ । हामीले भ्रष्टाचारको छानविन र निवारणको लागि गरिने कुनै प्रयत्नलाई दृढतापूर्वक समर्थन गर्ने छौँ । तर हामीले यो कुरामा पनि जोड दिन्छौँ कि त्यसरी कसैका विरुद्ध भ्रष्टाचार सम्बन्धी छानविन वा कारबाही गर्दा कुनैपनि प्रकारको पूर्वाग्रह वा राजनीतिक प्रतिशोधको दृष्टिकोण नअपनाइकन उच्च स्तरीय र निष्पक्ष तरिकाले छानविन र कार्वाही गरियोस् ।
२०८२ भाद्र २७ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top