Nepal communist party

प्रेस वक्तव्य (२०८२ असोज १४ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

नेपाल कम्युनिस्ट पार्टी (मसाल) केन्द्रीय कार्यालयको बैठक २०८२ असोज १४ गते बस्यो । बैठकले अहिलेको देशको राजनीतिक स्थितिमा अन्तरिम सरकारको निम्नलिखित विषयमा गम्भीर ध्यान आकर्षित गर्ने निर्णय गरेको छ ।
१.यही २०८२ भाद्र २३ गते जेन्जीको आन्दोलनका क्रममा भएको ठुलो पैमानाको गोली प्रहार र हत्यालाई ने.क.पा. (मसाल)ले गम्भीरतापूर्वक लिएको छ । त्यस प्रकारको दमनका लागि जिम्मेवार व्यक्तिहरूमाथि उच्चस्तरीय र निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
२.पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गतेको गोलीकाण्डमा उनले दिएको आदेशभन्दा बेग्लै अन्य तत्त्वहरूबाट अनाधिकृत प्रकारले गोली हानिएको भन्ने दाबी गरेका छन् । त्यसबारे पनि हामीले निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गर्दछौँ।
३.जेन्जी आन्दोलनका दौरानमा कतिपय विदेशी तत्त्वहरूको घुसपैठ भएको भन्ने कुरा पनि गम्भीर रूपमा उठिरहेको छ । त्यसबारे पनि निष्पक्ष र उच्चस्तरीय छानबिनको लागि हामीले माग गर्दछौँ ।
४.गृह मन्त्रालयले भाद्र २४को ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई त्यसको छानबिनका लागि बनेको आयोगबाट सिफारीस नआउँदासम्म कुनै कारबाही नगर्ने जुन निर्देशन दिएको छ, त्यसलाई हामीले गलत मान्दछौँ । त्यो अवस्थामा उक्त अपराधजन्य गतिविधिका लागि जिम्मेवार व्यक्तिहरूलाई उम्कने अवसर प्राप्त हुने छ र त्यस सन्दर्भमा गिरफ्तार भएका कैयन् व्यक्तिहरू थुनामुक्त भइसकेको भन्ने समाचार पनि प्राप्त भएको छ । त्यसैले हामीले गृहमन्त्रालयको उक्त निर्देशनलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ ।
५.जेन्जी आन्दोलनको एउटा मुख्य माग भ्रष्टाचारबारे छानबिन र त्यसबारे कडा कारबाही रहेको छ । यो आम रूपमा थाहा भएको कुरा हो कि राजनीतिक वृत्तका साथै प्रशासन यन्त्रमा पनि पहिलेदेखि नै व्यापक भ्रष्टाचार हुने गरेको छ । त्यसबारे वर्तमान सरकारले कहाँसम्म प्रभावशाली प्रकारले कारबाही गर्न सक्नेछ, त्यसमा नै वर्तमान सरकारको सफलता निर्भर रहनेछ ।
६.अहिले २०४६ सालदेखि यताका सरकारी वा सार्वजनिक पदमा भएका मानिसहरूको सम्पत्ति र भ्रष्टाचारको छानबिन गर्ने कुरा उठिरहेको छ । तर त्यति मात्र पर्याप्त हुने छैन । २०१७ सालदेखि नै सरकारी वा सार्वजनिक पदमा भएका मानिसहरूको सम्पत्ति र उनीहरूले गरेको भ्रष्टाचारको छानबिन गरेपछि मात्र भ्रष्टाचारको वास्तविक चित्र अगाडि आउनेछ ।
७.जेन्जीका युवाहरूले पुराना पुस्तावा राजनीतिज्ञहरूलाई पूरै बहिष्कार गर्ने आवाज उठाइरहेका छन् । तर जेन्जी आन्दोलनपछि सत्तामा आएका सबै व्यक्तिहरू पुराना पुस्ताहरूका मानिसहरू नै रहेका छन् । त्यसबाट कुनै पनि राजनीतिक जिम्मेवारीका लागि राजनीतिक परिपक्वता, क्षमता र अनुभवको आवश्यकता हुन्छ भन्ने कुरा पुन: सावित भएको छ । त्यो कुरा सम्पूर्ण विश्वको अनुभवबाट प्रमाणित हुँदै आएको छ र नेपालको जेन्जी आन्दोलनपछिको प्रयोगबाट पनि त्यो कुरा प्रस्ट भएको छ ।
८.जेन्जी आन्दोलनका दौरानमा भएको घुसपैठ अपराधजन्य कार्यहरू र ध्वंसात्मक कारबाहीहरू जेन्जी युवाहरूद्वारा भएका छैनन् भन्ने नै हाम्रो धारणा छ । तर ती सबै कार्यहरू जेन्जी आन्दोलनकानाममा नै भएका थिए । उनीहरू त्यस प्रकारका ध्वंसात्मक कार्यहरूलाई रोक्न सफल नभएको तथ्यबाट आवश्यक अनुभव, परिपक्वतावा नेतृत्वदायी क्षमता नभएका जेन्जी पुस्ताबाट कुनै ठुलो आन्दोलन वा राजनीतिक जिम्मेवारी पूरा गर्नु सम्भव हुँदैन भन्ने कुरा व्यवहारले नै प्रमाणित गरेको छ ।
९.उमेरका दृष्टिकोणले परिपक्व भएको कारणले मात्र नै कुनै व्यक्ति राजनीतिक नेतृत्वको लागि योग्य हुँदैन भन्ने कुरा नेपालका पुराना राजनीतिक नेताहरूको शासनकालमा देशमा भएको भ्रष्टाचार र कुशासनबाट अव्यवस्था पनि प्रस्ट भएको छ । त्यसकारण उमेर कसैको क्षमता वा राजनीति परिपक्वताको कसौटी हुन सक्दैन वा हुनु हुँदैन र उसमा देश र जनताप्रतिको सेवाभाव, देशभक्ति र इमानदारिता नै कस्तो छ ? त्यसका आधारमा नै कोही राजनीतिक नेतृत्वको लागि योग्य छ वा छैन त्यो कुरा निर्णयात्मक हुनुपर्दछ ।
१०.आखिरमा जनता नै कुनै पनि देशको भाग्यविधाता हुन् । त्यही प्रकारले नयाँ पुस्ताको पनि कुनै देशको भाग्यको निर्धारणमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । तर विश्वको र नेपालको पनि इतिहासले बारम्बार यो बताउँदै आएको छ कि जनता वा नयाँ पुस्ताले सही र गलत राजनीतिमा अन्तर गर्न सकेनन् वा उनीहरू एक वा अर्को प्रकारको गलत राजनीतिको असरमा परे भने देश बर्बादीतिर नै जान्छ । भदौ २४ गतेको घटनाबाट पनि त्यो कुरा प्रस्ट भएको छ । सम्पूर्ण जनता वा युवा पुस्ताले भदौ २४ गतेको घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता छ ।
११.हाम्रो यो स्पष्ट मत रहेको छ कि भाद्र २४ गते देशव्यापी रूपमा भएका विध्वंसात्मक कार्यहरू युवा पुस्ताबाट अवश्य पनि गरिएका थिएनन् । तैपनि ती कार्यहरू जेन्जी आन्दोलनका नाममा नै भएका थिए । त्यसकारण युवा पुस्ताले यो पत्ता लगाउने प्रयत्न गर्नुपर्दछ, त्यस प्रकारका ध्वंसात्मक कार्यहरूका पछाडिको थिए ? वा ती कार्यहरूका पछाडि कसले नेतृत्व गरेको थियो ? कसले योजना बनाएको थियो ? वर्तमानका लागि मात्र होइन, भविष्यमा पनि देशलाई सबै प्रकारका दुर्दशाहरूबाट बचाउनको लागि त्यसबारे स्पष्टताको आवश्यक छ ।
१२.युवा पुस्ताको जोश र उत्साहप्रति उच्च प्रकारको सम्मान प्रकट गर्दागर्दै पनि जुन देशीय वा विदेशी तत्त्वहरूले भदौ २४को आन्दोलनमा विध्वंसात्मक भूमिका खेले उनीहरूका विरुद्ध उच्च प्रकारको चेतना र सम्झौताहीन सङ्घर्षको आवश्यकताप्रति ने.क.पा. (मसाल)विशेष जोड दिन्छ ।
१३.सेनाले स्थितिमाथि नियन्त्रण गरेपछि भाद्र २५ गतेदेखि ध्वंसात्मक गतिविधिहरू रोकिएका थिए । तर त्यस सन्दर्भमा यो अनुमान गर्नका लागि आधार छ कि सेनाले त्यही प्रकारले ध्यान दिएको भए २४ गतेको राजधानी र देशव्यापी रूपमा भएका ध्वंसात्मक कार्यहरूलाई पनि रोक्न सकिन्थ्यो । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन आदि समेत नष्ट हुनबाट बचाउन सकिन्थ्यो । त्यसप्रति सेनाले किन ध्यान दिएन ? वा किन कुनै प्रयत्न गरेन ? त्यो एउटा गम्भीर प्रश्न हो ।
१४. त्यो दिन काठमाडौँ महानगरपालिकाकातर्फबाट आगो निभाउन दमकल किन पठाइएन ? काठमाडौँ महानगरपालिकाले त्यसको पनि जबाफ दिनुपर्ने छ ।
१५. देशमा भ्रष्टाचार वा कुशसनका लागि जिम्मेवार व्यक्तिहरूको सम्पत्तिको छानविन गरेर उनीहरूमाथि कारबाही गर्नुपर्दछ भन्ने हाम्रो पहिलेदेखि नै मत रहँदै आएको छ र अहिले पनि त्यो मतमा हामी दृढ छौँ । जेन्जी पुस्ताको पनि त्यो एउटा मुख्य माग थियो । तर भ्रष्टाचारको विरुद्ध कारबाही गर्ने नाममा कतिपय व्यक्तिहरूमाथि कुटपिट गर्ने, घरमा आगो लगाइदिने वा तोडफोड गर्ने जस्ता जुन कार्य गरियो, ती गैरकानुनी कार्यहरू हुन् र त्यस प्रकारकाअपराधजन्यकार्यहरूको हामीले कडा शब्दमा विरोध र भत्र्सना गर्दै त्यस्ता कारबाहीहरूका लागि जिम्मेवार व्यक्तिहरूमाथि कानुन अनुसार कडा सजाय गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
१६. नेपालको अहिलेको राजनीतिक घटनाक्रमका पछाडि मुख्य भूमिका जेन्जी युवाहरूको भएपनि त्यसलाई आफ्ना निहीत स्वार्थका पक्षमा प्रयोग गर्न अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र राजावादीहरूको भूमिकाले पनि काम गरेको वास्तविकताप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आउने दिनहरूमा पनि उनीहरूले अहिलेको घटनाक्रम र राजनीतिक अस्थिरतालाई आफ्ना स्वार्थका पक्षमा उपयोग गर्ने प्रयत्न गरिरहने छन् । त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमसत्ता तथा गणतन्त्र र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना रहन्छ । त्यसैले ने.क.पा. (मसाल)ले त्यस प्रकारका सबै सम्भावनाहरूप्रति नेपाली जनताको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छ ।
२०८२ असोज १४ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top