Nepal communist party

प्रेस वक्तव्य (२०८२ असोज १७ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

१. गाजापट्टीमा शान्ति स्थापना गर्न गरिएका प्रस्तावबाट अमेरिकाको साम्राज्यवादी स्वरूप नाङ्गो प्रकारले प्रकट भएको छ । त्यसले गाजामा हमासलाई पूरै नि:शस्त्र हुनुपर्ने कुरामा जोड दिएको छ । त्यस प्रकारको प्रस्तावका पछाडि प्यालेस्टाइनको मुक्ति आन्दोलनलाई पूरै समाप्त गर्ने र गाजापट्टीमा अमेरिकाको प्रभुत्व कायम गर्ने उद्देश्यले काम गरेको कुरा प्रस्ट छ । प्यालेस्टाइनलाई त्यहाँबाट हटाउनका लागि त्यसले योजनाबद्ध प्रकारले काम गरिरहेको छ । अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी नीतिको रणनीतिको ने.क.पा. (मसाल)ले कडा शब्दमा भत्र्सना गर्दछ र त्यसका विरुद्ध व्यापक समर्थन प्रकट गर्न सम्पूर्ण देशभक्त र न्यायपूर्ण नेपाली जनतासित अपिल गर्दछ ।
२. जेनजीको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई भेटेर वर्तमान संविधानलाई खारेज गर्न र अन्तरिम संविधान बनाउनका लागि माग गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । वर्तमान संविधानका सङ्घीयता वा त्यसअन्तर्गतको प्रादेशिक संरचनाप्रति हाम्रो पार्टीको सुरुदेखि नै विरोध रहेको छ र हामीले तिनीहरूलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापनामा जोड दिँदै आएका छौँ । त्यो र त्यही प्रकारका अन्य कतिपय विषयमा हाम्रो मतभेद भए पनि मूल रूपमा हामीले वर्तमान संविधानलाई रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । नेपालका राजाले संविधानसभाको चुनाव हुन नदिन दशकौँदेखि प्रयत्न गर्दै आएका थिए । नेपाली जनताले दशकौँसम्म राजाको त्यस प्रकारको प्रतिक्रियावादी नीतिको विरुद्ध सङ्घर्ष गरेर नै संविधानसभाको चुनाव भएर वर्तमान संविधानसभा निर्माण भएको थियो । गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार त्यसका मुख्य विशेषता हुन् । एकातिर, राजावादी र अर्कातिर भारतपरस्त तत्त्वले लगातार वर्तमान संविधानलाई खारेज गर्नुपर्ने कुरामा जोड दिँदै आएका छन् । यो कुरा दिनको उज्यालो जत्तिकै स्पष्ट छ, त्यसरी उनीहरूले एकातिर, गणतन्त्र, धर्मनिरपेक्षता तथा अर्कातिर देशको राष्ट्रियता र अखण्डतामा आँच पुर्‍याउने कोसिस गरिरहेका छन् । अहिले संविधाननलाई खारेज गर्ने, पुनर्लेखन गर्ने वा अन्तरिम संविधान बनाउने जस्ता प्रयत्नबाट प्रतिगामी वा राष्ट्रघाती तत्त्वलाई नै मदत पुग्ने छ । हाम्रो पार्टीले संवैधानिक प्रक्रियाबाट आवश्यकता अनुसार संविधानमा संशोधन गर्ने कार्यलाई गलत मान्दैन तर वर्तमान संविधानलाई खारेज गर्ने, पुनर्लेखन गर्ने वा अन्तरिम संविधान बनाउने जस्ता कुनै पनि कार्यलाई गलत मान्दछ र विरोध गर्दछ ।
३. संविधान निर्माणको बेलादेखि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा उठ्दै आएको छ तर सुरुदेखि नै हाम्रो के मत रहेको छ भने नेपाल जस्तो प्रजातान्त्रिक अभ्यास कम भएको देशमा प्र्रत्यक्ष रूपले निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको प्रणालीबाट देश अधिनायकवादी दिशामा जाने नै बढी सम्भावना रहनेछ । अमेरिका जस्तो लामो प्रजातान्त्रिक अभ्यासको इतिहास भएको देशमा पनि ट्रम्प जस्तो राष्ट्रपतिका कारणले अहिले त्यहाँ कति धेरै अधिनायकवादी वा फासिस्ट शासन प्रणाली अगाडि आएको छ र त्यसको प्रत्यक्ष अनुभव हाम्रा अगाडि छ । त्यस प्रकारको पृष्ठभूमिमा नेपालमा प्र्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको चुनाव प्रणाली नेपालका लागि गम्भीर प्रकारले अवाञ्छित हुने कुरा प्रस्ट छ । त्यसकारण त्यस प्रकारको चुनाव प्रणालीको पार्टीले कडा शब्दमा विरोध गर्दछ र त्यसतर्फ जनताको गम्भीर ध्यान आकर्षित गर्र्न चाहन्छ ।
४. अन्तरिम सरकारका प्रधानमन्त्रीले सत्तामा आएदेखि जेनजी आन्दोलनको दौरानमा भएका सबै तोडफोड, आगजनी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिमाथि निस्पक्ष छानबिन गरेर कडा कारबाही गर्ने कुरामा जोड दिँदै आएका थिए । तर अब नयाँ गृहमन्त्रीले त्यस प्रकारको कारबाहीलाई शिथिल पार्ने प्रकारको निर्देशन दिन थालेका छन् । त्यस प्रकारका निर्देशन अन्तरिम सरकारको घोषित नीतिका विरुद्ध छन् र जेनजी आन्दोलनको दौरानमा विभिन्न प्रकारका तोडफोड आगलागी वा ध्वंसात्मक कार्यका लागि दोषी व्यक्ति विरुद्धको कारबाहीलाई शिथिल पार्ने प्रकारको कुनै पनि नीतिको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।
५. जेनजी आन्दोलनसित सम्बन्धित कतिपय प्रवक्ताले उनीहरूको आन्दोलन पूरै शान्तिपूर्ण भएको र कुनै पनि प्रकारको हिंसात्मक कार्य गर्ने उनीहरूको नीति नरहेको कुरा बताएका छन् । उनीहरूले सरकारका गलत नीति वा त्यो आन्दोलन घुसपैठ गरेका व्यक्तिका कारणले नै त्यस प्रकारको ध्वंसात्मक कार्यका भएको बताएका छन् । उनीहरूको त्यो भनाइसित हाम्रो पनि सहमति छ । भदौ २३ गते प्रदर्शनकारीमाथि जुन निर्मम प्रकारको दमन गरियो, छाती र टाउकोमा समेत गोली हान्ने काम गरियो, त्यो कारणले पनि भदौ २४ गतेको आन्दोलन बढी उग्र बन्न गएको थियो भन्ने हाम्रो पनि मत छ । पूर्व प्रधाननमन्त्री ओलीले भदौ २३ गते प्रदर्शनकारीमाथि गरिएको त्यस प्रकारको कारबाहीमा प्रहरीको हात नभएको र कुनै बाह्य घुसपैठियाले नै त्यस प्रकारका कारबाही गरेको बताएका छन् । उनको त्यस प्रकारको दाबीबारे पनि गम्भीरतापूर्वक छानबिन गरिनुपर्दछ भन्ने हाम्रो मत रहेको छ तर त्यो कुरा जे भए पनि स्वयम् जेननजीका प्रवक्ताले पनि भदौ २४ गतेको तोडफोड वा ध्वंसाात्मक कार्य उनीहरूले नगरेको र घुसपैठियाबाट नै त्यस प्रकारको कारबाही भएको स्वीकार गरेका छन् । त्यो अवस्थामा उनीहरूले त्यस प्रकारका कारबाहीको कडा शब्दमा निन्दा गर्नुपर्दछ र त्यस प्रकारको कारबाहीका लागि जिम्मेवार व्यक्तिमाथि कडा कारबाहीको माग गर्नुपर्दछ तर त्यस सन्दर्भमा स्वयम् उनीहरूकोतर्फबाट मनोनित भएका गृहमन्त्रीकातर्फबाट त्यस प्रकारको कारबाहीलाई शिथिल पार्ने वा रोक्ने प्रकारको जुन निर्देशन आएको छ, त्यो अत्यन्त रहस्यमय र शङ्काको विषय बन्न जान्छ । त्यसप्रति स्वयम् जेनजी युवाको पनि ध्यान जानुपर्ने आवश्यकता छ ।
६. भदौ २४ गते भएको व्यापक तोडफोड वा ध्वंसात्मक कार्यका लागि जेनजी युवा जिम्मेवार नभए पनि ती सबै कार्य उनीहरूको आन्दोलनको नाममा नै भएको कुरा सत्य हो । त्यसले के बताउँछ भने उनीहरू भ्रष्टाचार वा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धजस्ता सही विषयलाई लिएर आन्दोलनमा उत्रिएको भए पनि त्यो आन्दोलनको सिलसिलामा भएका सबै अवाञ्छित कार्यक्रमलाई रोक्न उनीहरू सफल भएनन् । त्यसको कारण के थियो भने उनीहरूको आन्दोलन सही सिद्धान्त, नीति, कार्यक्रम वा नेतृत्वको आधारमा चलेको थिएन र त्यो एक प्रकारको स्वत:स्फूर्त प्रकारको आन्दोलन थियो । त्यसरी कैयौँ गलत तत्त्व त्यसमा घुसपैठ गर्ने वा आफ्ना निहित स्वार्थको पक्षमा उपयोग गर्न सफल भए । त्यसबाट आवश्यक सैद्धान्तिक स्पष्टता, राजनीतिक परिपक्वता, पर्याप्त अनुभव र एउटा परिपक्व नेतृत्वविना चल्ने कुनै आन्दोलनले अराजकतावादी रूप लिने नै बढी सम्भावना हुन्छ भन्ने कुरा नेपालको जेनजी आन्दोलनको अनुभवबाटपनि प्रस्ट भएको छ । त्यसबाट सम्पूर्ण नेपाली जनताले शिक्षा लिनुपर्ने आवश्यकता छ । त्यस प्रकारको जेनजी आन्दोलनको बलमा बनेको वा उनीहरूको निर्देशनमा चल्ने अन्तरिम सरकारले पनि कहाँसम्म देशको हितमा काम गर्न सक्नेछ ? त्यो कुरा क्रमश: व्यवहारबाट प्रस्ट हुँदै जानेछ ।
७. जुन प्रकारको अवस्थामा जेनजी आन्दोलन भयो र त्यस दौरानमा देशव्यापी रूपमा ध्वंसात्मक कार्य भए, त्यसका लागि ओली सरकारका गलत नीति र क्रियाकलाप पनि जिम्मेवार छन् तर त्यसका लागि ओली सरकारलाई मात्र जिम्मेवार ठहर्‍याउनु अवस्तुवादी कुरा हुने छ । नेपालमा २०४६ सालपछि आएका विभिन्न सरकारका भ्रष्ट वा गलत नीति वा कार्यक्रमका कारणल नै जनतामा बहुदलीय व्यवस्था र गणतन्त्रप्रति पनि गम्भीर प्रकारको असन्तोष र एक प्रकारको निराशाको वातावरण तयार भएको थियो । त्यसले नै भदौ २३ र २४ गतेको आन्दोलनका लागि पृष्ठभूमि तयार पार्‍यो र त्यसलाई विभिन्न प्रतिगामी, साम्राज्यवादी वा असामाजिक तत्त्वले पनि बहुदलीय व्यवस्था, गणतन्त्र वा संविधानका विरुद्ध उपयोग गर्ने अवसर पाए । हामीले सुरुदेखि नै विभिन्न सत्तारूढ राजनीतिक पार्टीका त्यस प्रकारका गलत नीति र क्रियाकलापका विरुद्ध आवाज उठाउँदै र तिनीहरूका कारणले देश प्रतिगमनतिर जाने सम्भावनाबारे उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिँदै आएका थियौँ तर त्यसप्रति पर्याप्त ध्यान जान नसकेकाले कैयौँ प्रकारका अवाञ्छित गतविधि हुन गएका थिए ।
८. हाम्रो यो कुराप्रति पनि गम्भीर ध्यान गएको छ कि आज देशमा एकातिर, जनताको लामो आन्दोलन तथा त्याग र बलिदानद्वारा प्राप्त उपलब्धि र अर्कातिर देशको राष्ट्रियता र अखण्डतामािथ पनि गम्भीर खतरा उत्पन्न भएको छ । हामीले प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्तिका बिचमा कार्यगत एकता वा गठबन्धनका लागि बारम्बार जोड दिँदै आएका थियौँ र कैयौँपल्ट त्यो दिशामा सही कदम पनि उठाइएका थिए तर विभिन्न राजनीतिक पार्टीको नेतृत्व त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनप्रति इमानदार रहन सकेन र उनीहरूको जोड देशमा राष्ट्रिय समस्याप्रति भन्दा सत्ताको लुछाचुँडीतिर नै बढी केन्द्रित हुन गयो । त्यसैले त्यस प्रकारका कार्यगत एकता वा गठबन्धनना कार्य सफलतापूर्वक अगाडि बढ्न सकेनन् र त्यसका कैयौँ गलत दुष्परिणाम अगाडि आए । हामीले आउने दिनमा सही राजनीतिक समझदारीको आधारमा त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा पुन: जोड दिन्छौँ ।
९. नेपाल अहिले वास्तवमा गम्भीर सङ्कटको मुखमा उभिएको छ । देशमा देखापरेको यस प्रकारको स्थितिका लागि नेपालभित्र मात्र होइन, विदेशी साम्राज्यवादी शक्तिको पनि गम्भीर र खतरनाक प्रकारको भूमिका हुन सक्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कुनै पनि देशमा अमेरिकी साम्राज्यवाद कुन हदसम्म जान सक्दछ ? त्यो कुरा अहिले त्यसले गाजामा अपनाएको नीतिबाट पनि प्रस्ट हुन्छ । त्यसले आफ्नो इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई आफ्नो रणनीतिक अखडा बनाउने योजनाअन्तर्गत काम गरिरहेको छ र त्यसका कैयौँ एजेन्सीले नेपालमा काम गरिरहेका छन् । भारतीय साम्र्राज्यवादले पनि नेपाललाई भारतीय सङ्घमा सामेल गर्ने सरदार पटेलको राजनीतिलाई कार्यान्वयन गर्ने दिशामा काम गरिरहेको कुरा आम रूपमा थाहा भएको कुरा हो । उनीहरूले नेपालमा कैयौँ प्रतिगामी वा राष्ट्रघाती शक्तिलाई उपयोग गरेर पनि आफ्ना ती उद्देश्य पूरा गर्न प्रयत्न गर्न सक्दछन् । अहिले नेपालमा चलिरहेको जेनजी आन्दोलन वा अन्तरिम सरकारलाई पनि उनीहरूले आफ्ना निहित स्वार्थ पूरा गर्न घुसपैठ गर्ने वा उपयोग गर्ने सम्भावनातिर पनि गम्भीर ध्यान दिनुपर्ने आवश्यकताप्रति ने.क.पा. (मसाल)ले सम्पूर्ण नेपाली जनता वा राजनीतिक शक्तिको ध्यान आकर्षित गर्न चाहन्छ ।
२०८२ असोज १७ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top