नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
देशमा भारी वर्षाका कारणले जनधनमा गम्भीर क्षति पुगेकोमा ने.क.पा. (मसाल) ले गहिरो दुःख प्रकट गर्दछ । बाढी पहिरोको कारणले मृत्यु भएका सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त बाढी पहिरोबाट क्षति पुगेका सम्पूर्ण जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछ । त्यसका साथै बाढी पहिरोबाट पुगेको क्षतिमा राहत र क्षतिपूर्तिका लागि शीघ्र कदम उठाउनका लागि सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।
संसारमा जलवायु परिवर्तनको जुन गम्भीर समस्या बढ्दै गइरहेको छ, त्यसबाट विश्वभरि नै अतिवृष्टि, अनावृष्टि, सुख्खा, आगलागी, सुनामी आदि जस्ता गम्भीर समस्याहरू देखा पर्दै गइरहेका छन् । अहिले नेपालमा देखा परेको अतिवृष्टि पनि विश्वव्यापी रूपमा देखा परेको त्यही प्रकारको जलवायु परिवर्तनको परिणाम हो । त्यसकारण तात्कालिक रूपमा अहिले नेपालमा भारी वर्षाका कारणले पुगेको क्षतिप्रति विशेष कदम उठाउन सरकारको ध्यान आकर्षित गर्दै विश्वव्यापी रूपमा देखा परेको जलवायु र पर्यावरणको समस्याको समाधानको लागि पनि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौ“ । यो हाम्रो राष्ट्रिय समस्या मात्र नभएर अन्तर्राष्ट्रिय दायित्वको विषय पनि बन्न जान्छ ।
पहिले हामीले कुनै प्राकृतिक विपद हु“दा व्यापक रूपले आर्थिक वा उपभोग्य सामग्रीहरूको सङ्कलन गरी जनतामा वितरणको लागि अभियान चलाउने गर्दथ्यौ“ । तर पछि त्यस प्रकारको वितरण सरकारको माध्यमद्वारा मात्र गर्ने सूचना जारी भयो र हामीले सङ्कलन गरेर जनतामा वितरणको लागि सरकारलाई दिने गरेको रकम वा सामग्रीहरूको पनि सही वितरण नभएको कुरा थाहा हुन गयो । त्यसपछि हामीले कुनै पनि प्राकृतिक आपातको बेलामा आर्थिक वा राहत सामग्री सङ्कलन गर्ने र जनतामा वितरण गर्ने कार्य गर्ने गरेका छैनौ“ । तैपनि अहिले भारी वर्षाका कारणले देशव्यापी रूपमा देखा परेको गम्भीर समस्याको समाधानका लागि समुचित पहलकदमी गर्न हामीले सरकार र आम जनताको समेत ध्यान आकर्षित गर्न चाहन्छौ“ ।
२०८२ असोज २० गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)