नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
नेपालका विभिन्न कम्युनिस्ट समूह वा वामपन्थी गु्रपहरूको बिचमा तिव्र बनेको विभाजन, एकीकरण वा पुनर्विभाजन समेतको प्रक्रियाप्रति ने.क.पा. (मसाल)को दृष्टिकोण र व्याख्या प्रस्तुत गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
त्यस सन्दर्भमा प्रधान महत्त्वको कुरा त यो हो कि त्यो सम्पूर्ण प्रक्रिया कैयौँ सिद्धान्त, नीति वा कम्युनिस्ट रूपान्तरणका लागि भइरहेको छैन । त्यो प्रक्रिया पारस्परिक अन्तर्विरोध वा आगामी चुनावका लागि शक्ति सञ्चयका लागि नै भइरहेको छ । त्यसकारण सैद्धान्तिक र राजनीतिक दृष्टिकोणले त्यसको कुनै महत्त्व नभएको कुरा प्रस्ट छ ।
यस सन्दर्भमा अर्को महत्त्वपूर्ण कुरा ता यो छ कि हालै देशमा भएको जेनजी आन्दोलन र त्यसले ल्याएको उभारलाई आधार बनाएर चुनाव जित्ने दृष्टिकोणले पनि उनीहरूमा सबैभन्दा बढी काम गरेको पाइन्छ । त्यो पनि हददर्जाको अवसरवादी विचार हो । जेनजी आन्दोलन प्रथमतस् कुनै सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन वा नेतृत्वमाथि आधारित कुनै आन्दोलन होइन । त्यो बाहेक त्यो कैयौँ गु्रपमा बाँडिएको छ र त्यसको कुनै एकीकृत स्वरूप पनि छैन । त्यो अवस्थामा त्यसले दिशाहीन र अराजक रूप लिने नै बढी सम्भावना छ । त्यो अवस्थामा जेनजीको डुङ्गामा चढेर सत्ता प्राप्त गर्ने उनीहरूको प्रयत्न कहाँसम्म सफल हुने छ ? त्यो कुरा कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।
अहिलेको बिभाजन, एकीकरण वा पुनर्विभाजनको केन्द्रमा प्रचण्ड नै देखिन्छन् । नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिको इतिहासबाट यो कुरा छर्लङ्ग भइसकेको छ कि उनी नेपालको सबैभन्दा सिद्धान्तहीन र अवसरवादी व्यक्ति हुन् । त्यसकारण उनको नेतृत्वमा हुन थालिरहेको एकीकरण एउटा अर्थहीन दुष्प्रयास मात्र हो, इतिहासले त्यो कुरा सावित गर्ने छ ।
निश्चय नै देशमा सही माक्र्सवादी–लेनिनवादी दर्शन, सिद्धान्त, कार्यक्रम वा सङ्गठन प्रणालीको आधारमा देशमा कम्युनिस्टहरूको एकीकरण र शक्तिशाली कम्युनिस्ट आन्दोलनको आवश्यकता छ । तर तत्काल त्यस प्रकारको कुनै सम्भावना देखिदैन । तैपनि भविष्यमा त्यस प्रकारको स्वस्थ प्रयत्न भएमा त्यसमा बढी भन्दा बढी सहयोग गर्ने ने.क.पा. (मसाल)को प्रयत्न हुने छ ।
माथि लेखिएको कुरा जे भएपनि आज देशमा एकातिर, जनआन्दोलनका महान उपलब्धिहरू, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्थाको रक्षा र, अर्कातिर राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरू तथा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्ने ऐतिहासिक आवश्यकता छ । जेनजी आन्दोलनले पनि, जो स्वयम् कुनै सिद्धान्तनिष्ट र एकताबद्ध आन्दोलन होइन,ले पनि उक्त दिशामा कुनै योगदान दिएको छैन र त्यसबारे बढी समस्या, अराजकता र अनिश्चितताको नै स्थिति उत्पन्न गरेको छ । त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि उनीहरूको असङ्गठित र कैयौँ गु्रपमा विभाजित जनमतलाई आफ्ना निजी स्वार्थका पक्षमा उपयोग गर्न कैयौँ विदेशी साम्राज्यवादी शक्तिहरू, देशभित्रका प्रतिगामी शक्तिहरू वा देशभित्रका विभिन्न अवसरवादी राजनीतिक शक्तिहरूका बिचमा एक प्रकारको होडबाजी नै चलेको छ । त्यस पनि देशको राजनीतिलाई अरू अस्थिर बनाएको छ । त्यो अवस्थामा देशमा लोकतन्त्र तथा राष्ट्रियता र सार्वभौमिकता समेतको सुरक्षाको लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एकताबद्धताको आवश्यकता पहिले भन्दा कैयौँ गुणा बढेर गएको छ । ने.क.पा. (मसाल)ले सही समझदारीका आधारमा त्यो दिशामा आफ्नो प्रयत्नलाई जारी राखिरहनेछ र आफ्नातर्फबाट पनि सम्भव भएसम्म बढी भन्दा बढी योगदान दिने प्रयत्न गरिरहने छ ।
माथि, देशका कतिपय कम्युनिस्ट समूह र वामपन्थी गु्रपहरूका बिचमा चलिरहेको विभाजन वा एकीकरणको प्रक्रियाबारे केही उल्लेख गरियो । उनीहरूको त्यो प्रक्रिया कम्युनिस्ट रूपान्तरणको लागि नभएको र त्यसको प्रकृति मूल रूपमा सिद्धान्तहीन र अवसरवादी भएको कुरामा कुनै शङ्का छैन । तैपनि ती सबै गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार र बहुदलीय व्यवस्था तथा देशको राष्ट्रियता वा सार्वभौमिकताका पक्षमा सङ्घर्षको इतिहास भएका शक्तिहरू नै हुन् भन्ने हाम्रो धारणा छ । त्यसैले हामीले उनीहरूसित देशमा बढिरहेको प्रतिगमनको खतरा तथा बढ्दो विदेशी हस्तक्षेप वा अतिक्रमणका विरुद्ध अगाडि आउनका लागि उनीहरूको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ ।
२०८२ कार्तिक २० गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)