Nepal communist party

तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलनबारे राजमोको अन्तरक्रिया

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलनको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित “नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन” विषयक अवधारणापत्रको प्रस्तुतिसँगै सो कार्यक्रम सम्पन्न भएको हो ।

२०८२ मङ्सिर ६ गते शनिबार बागबजारस्थित हार्दिक होटलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले तथा सञ्चालन महासचिव मनोज भट्टले गर्नुभएको थियो ।

केन्द्रीय सल्लाहकार आनन्द शर्माको स्वागत मन्तव्यसँगै अगाडि बढेको कार्यक्रममा महामन्त्री सिंहको अवधारणा राजमो नेता वासु पोखरेलले वाचन गर्नुभएको थियो ।

वैदेशिक हस्तक्षेप निम्त्याउन जेनजी आन्दोलन : गुरुङ

अवधारणापत्रमाथि विचार राख्दै नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले वैदेशिक हस्तक्षेप निम्त्याउनका लागि अमेरिकाले जेनजी आन्दोलन उठान गरेको बताउनुभयो ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपालले अस्वीकार गरेपछि चीन र भारतलाई बाइबास गरेर नेपालमा द्वन्द्व निम्त्याउन अमेरिका लागिपरेको आरोप उहाँको थियो ।

यदि नेपालमा आन्तरिक द्वन्द्वको अवस्था भए पहिले अनमिन आएजस्तै संयुक्त राष्ट्र सङ्घको सेना नेपाल भित्र्याउने अमेरिकी योजना रहेको खुलासा उहाँले गर्नुभयो ।

राष्ट्र सङ्घमा अमेरिकाको वर्चस्व रहेको स्मरण गराउँदै उहाँले नेपालमा वैदेशिक सेना भित्रिनुको अर्थ अमेरिका भित्रिनु भएको धारणा उहाँको थियो ।

देशलाई नियमित राजनीतिक कोर्समा ल्याउन चुनाव हुनुपर्ने, चुनाव नभए प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने धारणा गुरुङको थियो ।

देश तदर्थवादमा चलेको छ : थापा

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता परि थापाले देश अझै पनि तदर्थवादमा चलेको बताउनुभयो ।

एक्काइसौँ शताब्दीको एकचौथाइ समय बितिसक्दा पनि नेपालका सत्तासञ्चालकसित राष्ट्रनिर्माणको ब्ल्युप्रिन्ट नरहेको उहाँको आरोप थियो ।

देशमा बहुदलीय व्यवस्था आएपछिका पाँच मुख्य उपलब्धि भएको व्यङ्ग्य गर्दै उहाँले ती उपलब्धि भनेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, नातावाद र कृपावाद भएको बताउनुभयो ।

देश विभिन्न बेथिति र कुशासनको बारुदी सुरुङमुनि सुतिरहेको बताउँदै नेता थापाले यस्तो अवस्थामा देशमा बेथिति ल्याउन कसैले सलाइ पार्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

देश अहिले पनि अर्धसामन्ती, अर्ध तथा नवऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण उहाँले अगाडि सार्नुभयो ।

अन्धकार विरुद्ध एकजुट होऔँ : लामा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता माइला लामाले जेनजी आन्दोलनपछि देश अन्धकार सुरुङतर्फ जाने अवस्थामा रहेको विचार व्यक्त गर्नुभयो ।

अहिले देश एकातिर अन्धकार सुरुङतर्फ जाने अवस्थामा रहेकाले त्यसका विरुद्ध अग्रगमनतर्फ अगाडि जान नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

जेनजी आन्दोलनबाट लुटको स्वर्ग भत्किएको बताउँदै उहाँले सत्तासिन दलहरूले आफूलाई दलाल साबित गरेकाले यो स्थिति देखा परेको उहाँको भनाइ थियो ।

देशमा ज्युँदा लास मात्रै नभएको तथा बलिदानी गर्ने वीर जनता पनि रहेकाले देशलाई अब अगाडितर्फ बढाउनुपर्ने विचार उहाँको थियो ।

सामाजिक न्यायमा ध्यानकेन्द्रित गरौँ : अधिकारी

जनता समाजवादी पार्टी नेपालका नेता प्रकाश अधिकारीले सामाजिक न्यायतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

२०४६ सालपछि सरकार चलाएका राजनीतिक दलहरू नसुध्रिएका कारण गत भदौमा जेनजी आन्दोलनको रूपमा विस्फोट भएको धारणा उहाँले राख्नुभयो ।

जनताले पटक पटक आक्रोस र असन्तुष्टि पोख्दा पनि राजनीतिक दल पुरानै तरिकामा रहेका कारण अब यसबारे गम्भीर हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

उहाँले जेनजी आन्दोलन असङ्गठति र विचारविहीन भएको स्पष्ट पार्दै त्यसमा कुत्सित मनसाय भएका असामाजिक तŒव पनि सामेल भएको बताउनुभयो ।

जेनजी प्रदर्शन नियन्त्रित विध्वंस : त्रिपाठी

वरिष्ठ पत्रकार तथा बुद्धजीवी देवप्रकाश त्रिपाठीले जेनजी प्रदर्शनलाई नियन्त्रित विध्वंसको संज्ञा दिनुभयो ।

खालि सरकार मात्रै फाल्ने तर अन्य चिज यथावत् राख्ने गरी उक्त विध्वंस भएको बताउँदै उहाँले जेनजी आन्दोलनका पछाडि गम्भीर षड्यन्त्र रहेको बताउनुभयो ।

देश यतिखेर विदेशी घुसपैठको गम्भीर अवस्थामा पुगेको उहाँको धारणा थियो ।

नेपाली टोपी लगाएका राष्ट्रघाती सत्ता र सरकार सबैतिर बसेको स्पष्ट पार्दै उहाँले यिनै राष्ट्रघातीलाई उपयोग गरेर जेनजी आन्दोलनमा विध्वंस मच्याइएको बताउनुभयो ।

एसपिपी अराजकता राम्रो छ भनेर पूर्व प्रधान सेनापति बोलेको उदाहरण बताउँदै उहाँले अब देशको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने धारणा उहाँको थियो ।

जल्दाबल्दा समस्यातर्फ ध्यान गएन : डा. पौडेल

कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता डा. विजय पौडेलले देशमा सत्तासिनले जल्दाबल्दा समस्याबारे कहिल्यै बहस नगरेको आरोप लगाउनुभयो ।

खाद्यान्नमा आत्मनिर्भर हुन कृषिनीति कस्तो हुने ? बेरोजगारी रोक्न युवानीति कस्तो हुने भनेर सत्तासिन राजनीतिक पार्टीमा कहिल्यै छलफल नचलेको बताउँदै उहाँले यस्ता कुरा गर्नेहरू सो पार्टीमा कर्नरमा पर्ने गरेको अनुभव सुनाउनुभयो ।

सत्तामा रहेका दलका नेताको निवासमा आगजनी, तोडफोड र विध्वंस हुँदा पनि कार्यकर्ताले बचाउन नआउनुका पछाडि ती पार्टीका सत्तामुखी चरित्र जिम्मेवार रहेको धारणा उहाँको थियो ।

राजनीतिक दलका नेताले आह्वान गरे धेरै काम हुन सक्ने बताउँदै उहाँले नेतृत्वमा विकास निर्माणका ठोस योजना हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

जेनजी आन्दोलन होइन, असङ्गठित विद्रोह : भण्डारी

सीमाअध्येता तथा पत्रकार रतन भण्डारीले जेनजीको प्रदर्शनलाई आन्दोलन भन्न नसकिने धारणा आफूले पहिलेदेखि नै धारणा राख्ने गरेको बताउनुभयो ।

आफूले सुरुदेखि नै जेनजीलाई आन्दोलन नमानेको स्पष्ट पार्दै उहाँले सिंहदरबार र सर्वोच्च अदालतका ऐतिहासिक दस्तावेज खरानी पारेको सन्दर्भ जोड्नुभयो ।

यतिखेर कतिपयले सिंहदरबार भत्किए पनि अर्को बनाउन सकिनेजस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको उहाँको टिप्पणी थियो ।

सत्तासिन राजनीतिक दलको कुशासनप्रति फ्रस्टेसनको एउटा स्वरूप जेनजी विध्वंस भएको विचार उहाँले व्यक्त गर्नुभयो ।

मन्तव्यको क्रममा जेनजी आन्दोलनको क्रममा विध्वंस मच्याउनेप्रति कानुनअनुसार कारबाही गर्न सरकारसित माग गर्नुभयो ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ महामन्त्री सिंहले दिनुभएको थियो ।

पार्टी गतिविधि

Translate »
Scroll to Top