Nepal communist party

प्रेस वक्तव्य (२०८२ पौष १९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

अमेरिकाद्वारा भेनेजुएलामाथि भएको आक्रमणलाई ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछ । त्यसबाट अमेरिकाको साम्राज्यवादी र फासिस्ट स्वरूप नाङ्गो रूपमा अगाडि आएको छ । त्यसकारण त्यसका विरुद्ध आवाज उठाउन आज विश्वभरका न्याय र शान्तिप्रेमी जनताको दायित्व बन्न जान्छ ।
भेनेजुएला संसारको सबैभन्दा बढी पेट्रोलको खानी भएको देश हो । पहिले त्यहाँको पेट्रोलमाथि अमेरिकाका एकाधिकार पुँजीवादी कम्पनीहरूको प्रभुत्व थियो । तर भेनेजुएलामा समाजवादी सरकारहरूको स्थापनापछि त्यहाँको अमेरिकी कम्पनीहरूलाई राष्ट्रियकरण गरिएको थियो । त्यसपछि नै अमेरिकाले लगातार भेनेजुएलाको सरकारलाई अपदस्त गरेर त्यहाँ आफ्नो कठपुतली सरकार कायम गर्ने र त्यहाँ आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गर्दै आएको छ । भेनेजुएलाका विरुद्ध अमेरिकाले नाकाबन्दी लगाउँदै आएको छ र त्यसले गर्दा भेनेजुएलालाई आफ्नो पेट्रोलको बिक्री समेत धेरै बाधा पुगेको छ । त्यसबाट भेनेजुएलामा आर्थिक रूपले पनि धेरै गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।
अहिले अमेरिकाले भेनेजुएलामाथि ड्रगको तस्करीलाई प्रोत्साहित गरिरहेको भनेर आरोप लगाएको छ र भेनेजुएलाको सरकार नै तस्करीको व्यापारलाई प्रोत्साहित गरेको भनेर त्यहाँ सैनिक आक्रमण गरेको छ ।
वास्तवमा अहिले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको शान्ति, स्वतन्त्रता र लोकतन्त्रको लागि नै गम्भीर खतरा भएको छ । त्यो नै आज विश्वमा युद्धको मुख्य स्रोत बनेको छ । अमेरिकाको त्यस प्रकारको युद्ध नीतिले गर्दा संसारमा तेस्रो विश्वयुद्ध हुने खतरा बढ्दै गइरहेको छ । आजको युगमा विश्वयुद्ध हुन्छ भने त्यसले आणविक रूप लिने नै बढी सम्भावना छ । यदि आज आणविक युद्ध हुन्छ भने सम्पूर्ण मानव जाति नै नष्ट हुने खतरा रहने छ । त्यसकारण साम्राज्यवाद वा त्यसको युद्ध नीतिको विरोध गर्नु आज विश्वका सम्पूर्ण जनताको दायित्व हुन जान्छ । आज यो बाहेक हाम्रा अगाडि अन्य कुनै विकल्प छैन : या त साम्राज्यवादलाई पराजित गर्नुपर्छ वा त्यसले सम्पूर्ण विश्वलाई नै ध्वस्त पार्नेछ ।
भेनेजुएलामाथि अमेरिकाको आक्रमण खालि त्यो देशको मात्र समस्या होइन । त्यो विश्व शान्ति र सम्पूर्ण मानव जातिको रक्षासित जोडिएको प्रश्न हो । त्यसकारण जहाँ पनि अमेरिकाले त्यस प्रकारको कुनै हमला गर्दछ, विश्वका सम्पूर्ण शान्ति, स्वतन्त्रता र लोकतन्त्रप्रेमी जनताको कर्तव्य त्यसका विरुद्धको सङ्घर्षमा उत्रनु हुन जान्छ । त्यही प्रकारको अन्तर्राष्ट्रिय दृष्टिकोण राख्दै ने.क.पा. (मसाल)ले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलामा गरेको आक्रमणका विरुद्ध आवाज उठाउन सम्पूर्ण नेपाली शान्ति र न्यायप्रेमी जनतासित अपिल गर्दछ ।
अहिले अमेरिकी साम्राज्यवादले नेपालमा पनि आफ्नो प्रभुत्व कायम गर्न र त्यो उद्देश्य पूरा गर्न नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्न योजनाबद्ध प्रकारले कोसिस गरिरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा अमेरिकी साम्राज्यवादको विरुद्ध अरू व्यापक रूपले आवाज उठाउनु र सङ्घर्ष गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको कर्तव्य बन्न जान्छ ।

२०८२ पौष १९ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top