नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
तराईका केही जिल्लाहरूमा देखापरेको धार्मिक तनावको स्थितिप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । धनुषाको सामान्य घरेलु विवादबाट सुरु भएको त्यो विवादले हिन्दु–मुस्लिम तनावको रूप लिन पुगेको छ र अहिले त्यो तनाव तराईका कतिपय जिल्लाहरूमा सरिसकेको छ । त्यसबाट देशमा गम्भीर प्रकारको हिन्दु–मुस्लिम तनाव पैदा हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
भारतका कट्टर हिन्दुवादी तत्त्वहरूले बारम्बार नेपालमा हिन्दु र मुस्लिमहरूका बिचमा साम्प्रदायता बढाउन प्रयत्न गर्दै आएका छन् । नेपाल एउटा धर्मनिरपेक्ष देश हो र सबै धर्महरूको बिचमा सदभावना र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । तैपनि कतिपय कट्टर हिन्दुवादीहरूले, खास गरेर भारतका सिमावर्ती सहरहरूमा रहेका कट्टर हिन्दुवादीहरूले नेपालमा कुनै सामान्य विवाद पैदा हुने वित्तिकै त्यसलाई साम्प्रदायिक रूप दिने र हिन्दु–मुस्लिमहरूको बिचमा तनाव पैदा गर्ने प्रयत्न गर्दै आएका छन् र अहिले मधेस प्रदेशका केही जिल्लाहरूमा देखापरेको धार्मिक तनावका पछाडि पनि त्यो कारणले काम गरेको कुराको अनुमान गर्न सकिन्छ । धनुषाको सामान्य घरेलु विवाद पछि सुरु भएको हिन्दु–मुस्लिम तनाव मधेस–प्रदेशका कतिपय जिल्लाहरूमा फैलिएको छ । त्यो तनावलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नेतिर सबैको ध्यान जानुपर्ने आवश्यकता छ । अन्यथा त्यसले अरू व्यापक रूप लिँदै जाने सम्भावना रहनेछ । त्यस्तो हुन नपाओस् भन्नका लागि हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
नेपाल एउटा धर्मनिरपेक्ष देश हो र, त्यसैले, नेपालका सबै धर्महरूका बिचमा सहिष्णुतापूर्ण सम्बन्ध कायम राख्न सबैको ध्यान जानुपर्ने आवश्यकता छ । तर नेपालमा राजावादीहरूले धर्मनिरपेक्षतालाई समाप्त गरेर हिन्दु राष्ट्रको निर्माण गर्न चाहन्छन् । उनीहरूको त्यस प्रकारको कार्यमा भारतका कट्टरपन्थी हिन्दुहरू वा राष्ट्रिय स्वयम्सेवकको पनि पुन: समर्थन रहने गरेको आम रूपमा थाहा भएको कुरा हो । हाम्रो पार्टीले धर्मनिरपेक्षतालाई कायम राख्नुपर्ने र सबै धर्महरूका बिचमा मैत्रिपूर्ण सम्बन्ध वा सहिष्णुताको वातावरण कायम राख्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ र अहिले पनि त्यो कुरामा जोड दिन्छ । त्यसैले अहिले मधेसका कतिपय जिल्लाहरूमा देखापरेको धार्मिक तनावले नेपालको संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्षतासित मेल खाँदैन । त्यसकारण हाम्रो पार्टीले धर्मनिरपेक्षताको स्प्रिट अनुसार सबै धर्महरूको बिचमा मैत्रिपूर्ण सम्बन्ध कायम राख्दै शान्तिपूर्ण वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
२०८२ पौष २१ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)