नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
स्पष्टीकरण
यही पौष २४ गते हाम्रो पार्टी र नेकपाका सह–संयोजक का. माधव कुमार नेपालसित भेटघाट र कैयौँ विषयमा लामो छलफल भएको थियो । त्यसबारे हाम्रो पार्टीका तथा बाहिरका पनि कैयौँ मित्रले उत्सुकता प्रकट गरेर प्रश्नहरू सोध्नु भएको छ । त्यसबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
अमेरिकाद्वारा भेनेजुएलामाथि आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मदुरोको अपहरणका बिरुद्ध विरोधको कार्यक्रम बनाउनका लागि यही पौष २३ गते राष्ट्रिय जनमोर्चाको कार्यालयमा एउटा संयुक्त बैठक बसेको थियो । त्यो बैठकमा का. मोहन बैद्यको नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चुनावमा भाग लिने कुनै पार्टीसित कुनै पनि विषयमा संयुक्त भएर कुनै कार्यक्रममा सामेल नहुने निर्णय गरेको कुरा थाहा भयो । हामीले उहाँहरूलाई पनि अमेरिकाको भनेनेजुएलामाथिको आक्रमणका बिरुद्धको संयुक्त बैठकमा सामेल हुनका लागि आमन्त्रित गरेका थियौँ । तर हामीले चुनावलाई उपयोग गर्ने नीति अपनाएको भनेर उहाँहरूसित संयुक्त भएका सबै समूहहरूले हामीले आयोजना गरेको बैठकमा उपस्थित हुनु भएन । त्यो बैठकमा नेकपाका कतिपय केन्द्रीय नेताहरू पनि उपस्थित हुनु भएको थियो । त्यो बैठकमा अमेरिकाको भनेजुएलामाथिको आक्रमणका बिरुद्ध संयुक्त विरोध कार्यक्रम दिनका लागि मैले का. प्रचण्ड र का. माधवसित पनि भेटघाट वा टेलिफोनद्वारा कुराकानी गर्ने भन्ने समझदारी भएको थियो । त्यो समझदारी अनुसार मैले उहाँहरू दुवै जनासित सम्पर्क गरेको थिएँ र पौष २४ गते उहाँहरू दुवैजनाले भेट गर्न आउने कुरा गर्नु भएको थियो । तर पछि कामरेड माधव जी मात्र आउनुभएको थियो । त्यसपछि त्यही बेलुका मैले का. प्रचण्ड जीसित पनि फोनमा कुरा गरेको थिएँ । त्यसबारे कामरेड माधव जीसितको कुराकानीमा पार्टी एकता, क्रान्तिकारी संयुक्त मोर्चा र चुनावमा तालमेल गर्ने समेतबारे विस्तृत रूपले कुराकानी भएको थियो । त्यस सन्दर्भमा उहाँले आफ्ना बिचारहरू प्रस्तुत गर्नु भएको थियो र मैले पनि आफ्ना विचारहरू राखेको थिएँ ।
त्यो संयुक्त वैठकमा अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको विरोध गर्नेबारे हाम्रा बिचमा पूरै सहमती भएको थियो । तर अन्य विषयहरूमा खाली छलफल मात्र भयो र कुनै सहमती हुन सकेन । त्यही पनि अन्य विषयहरूमा पनि बिचबिचमा भेट गरेर कुराकानी गर्दै जाने का. प्रचण्ड र का. माधव जीसँग पनि सहमती भएको थियो । आवश्यकता अनुसार आउने दिनहरूमा हाम्रो बिचमा त्यस प्रकारको भेटघाट र छलफल हुँदै जान सक्नेछ ।
हाम्रो यो स्पष्ट विचार छ कि पार्टी एकता सैद्धान्तिक राजनीतिक वा सङ्गठनात्मक प्रश्नहरूमा सहमती भएपछि नै हुन सक्दछ । तर अहिले कुनै पक्षसित त्यस प्रकारको पार्टी एकताका लागि आधार तयार भएको छैन । तैपनि पारस्परिक सहमतीका आधारमा कैयौँ पक्षसित कार्यगत एकता वा गठबन्धन हुन सक्दछ र त्यसो गर्दा सम्बन्धित पक्षहरूले परस्परमा भएको सहमतिलाई इमानदारितापूर्वक पालन गर्नु आवश्यक हुन्छ । तर गतकालमा खास गरेर चुनावको बेलामा भएको समझदारीलाई अन्य कतिपय पक्षहरूले पालन नगरेको वा अन्तरघात समेत गर्ने गरेको अनुभव हाम्रा अगाडि छ । त्यसैले हाम्रो पार्टीको नवौँ महाधिवेशनले चुनावहरूमा कुनै पक्षसित तालमेल वा गठबन्धन नगरिकन एक्लै चुनावमा जाने नीति ठेगान गरेको छ ।
हाम्रो पार्टीको २०८२ कात्तिकमा बसेको केन्द्रीय कमिटीद्वारा पारित राजनीतिक प्रस्तावमा लेखिएको छ : “हाम्रो पार्टीको नवौँ महाधिवेशनले अपवादको रूपमा कुनै स्थानीय तहमा बाहेक अन्य पक्षहरूसित चुनावका लागि कुनै तालमेल नगर्ने नीति निर्धारित गरेको छ ।” (बुदा नं. २१ – पृष्ठ ३१) हाम्रो चुनावमा एक्लै जाने त्यस प्रकारको नीति गठवन्धन वा चुनावी तालमेललाई नीतिगत रूपमा नै अस्वीकार गर्नु होइन । त्यही प्रकारले २०४६ सालमा, २०६२÷०६३ सालमा वा ओलीद्वारा दुई÷दुई पल्ट संसदको विघटन गर्दा कायम भएको पाँच दलीय गठबन्धनको नीति गलत थिए भन्ने पनि होइन । बेग्लाबेग्लै राजनीतिक सन्दर्भमा ती नीतिहरू सही थिए र कुनै खास राजनीतिक परिस्थितिको आवश्यकता अनुसार हामीले आगामी दिनहरूमा पनि पारस्परिक सहमतिका आधारमा त्यस प्रकारका नीतिहरू अपनाउने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । गतकालमा चुनावी तालमेलको नीति नै गलत भएको हुनाले होइन, अन्य पक्षहरूले चुनावी तालमेल गरेपनि अन्तर्घात गर्ने गरेको हुनाले नै हामीले चुनावमा एक्लै जाने नीति अपनाएका हौँ । तर कुनै खास अवस्थामा अन्य पक्षहरूले चुनावमा इमानदारिता देखाउँछन् भन्ने विश्वसनीय आधार बनेमा कुनै स्थान विशेषमा चुनावी तालमेलको सम्भावनालाई पनि हामीले पूरै अस्वीकार गर्दैनौँ । तर हाम्रो मुख्य नीति राष्ट्रिय स्तरमा कसैसित चुनावी तालमेल नगर्ने र त्यसरी चुनावमा एक्लै जाने नै हुने छ ।
भेनेजुएलामा भएको अमेरिकी कारबाहीका विरुद्ध संयुक्त रूपले विरोध कार्यक्रम संचालन गर्नका लागि हाम्रो विभिन्न वामपन्थी पक्षहरूसित छलफल चलिरहेको छ । त्यसबारे कुन प्रकारको कार्यक्रम दिने छिट्टै निर्णय हुने छ र त्यो कार्यक्रमलाई हामीले सार्वजनीक गर्ने छौँ ।
२०८२ पौष २६ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)