नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
१. नेकपा (मसाल)ले यही फागुन २१ गते हुन थालिरहेको प्रतिनिधिसभा चुनावलाई अत्यन्त गम्भीर र असाधारण रूपमा लिएको छ । अहिले त्यो चुनावलाई जसरी योजनाबद्ध प्रकारले अगाडि बढाउने प्रयत्न गरिएको छ, त्यो योजना सफल हुने हो भने नेपालमा अमेरिकी प्रभुत्व कायम हुने र त्यसको कठपुतली सरकार कायम हुने तथा नेपाल युद्धभूमिमा बदलिनेसमेत खतरा रहनेछ ।वास्तवमा भन्ने हो भने अहिलेको चुनावको प्रधान पक्ष अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्ष नै भएको छ ।त्यसकारण त्यो चुनावलाई नेपालका सबै वामपन्थी, लोकतान्त्रिक,शान्तिप्रिय र देशभक्त शक्तिहरूले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ र अहिलेको चुनावमा हाम्रो मुख्य जोड अमेरिकी साम्राज्यवादलाई हराउनेतर्फ नै केन्द्रित हुनुपर्दछ ।वास्तवमा अहिलेको चुनाव सम्पूर्ण नेपालीका लागि जीवनमरणको प्रश्न बनेको छ ।
२. अहिले देशमा जुन अन्तरिम सरकार बनेको छ, त्यो जेनजी आन्दोलनकै परिणाम हो र जेनजी आन्दोलनको परिणामस्वरूप नै अहिलेको चुनाव पनि हुन थालिरहेको छ तर यसबारे सर्वप्रथम यो कुरा प्रस्ट हुनुपर्ने आवश्यकता छ, अहिलेको सरकार वा चुनावका पछाडि जेनजी आन्दोलनको कति भूमिका रहेको छ र त्यसका पछाडि अमेरिकी साम्राज्यवादको षड्यन्त्रले कति काम गरेको छ ? गत भदौ महिनाको चौथो सप्ताहमा चलेको जेनजी आन्दोलन न्यायपूर्ण थियो ।जेनजी युवाहरूले भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धका विरुद्ध जुन आवाज उठाएका थिए, त्यो सही र न्यायपूर्ण दुवै थियो तर उनीहरूले जुन माग अगाडि सारेका थिए, त्यसमा प्रतिनिधिसभाको विघटन, त्यसको नयाँ चुनावजस्ता कुनै माग सामेल थिएनन् । ती माग जेनजी युवाले अगाडि सारेका माग नभएर पछि बाहिरबाट प्रस्तुत गरिएका माग थिए र तिनीहरूलाई नै अन्तरिम सरकारले कार्यान्वयन गरेको थियो । त्यसरी यदि संसद्को विघटन र नयाँ चुनावको माग जेनजीको थिएन भने कसको दबाबमा ती कार्य गरिएका थिए ? त्यो एउटा गम्भीर र विचारणीय प्रश्न हो ।
३. जेनजीको न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यवादले आफ्ना साम्राज्यवादी रणनीतिको पक्षमा प्रयोग गर्ने (हाइज्याक गर्ने) प्रयत्न ग¥यो । अमेरिकाको त्यही रणनीतिअनुसार जेनजी आन्दोलनको सञ्चालन वा नेतृत्व गरेको दाबी गर्ने कथित जेनजी तŒवको योजनाअनुसार नै अन्तरिम सरकार गठन भयो† प्रतिनिधिसभा विघटन भयो र नयाँ चुनावको समेत घोषणा भयो ।जेनजी भन्नाले १३ वर्षमाथिका र २८ वर्षमुनिका युवाहरू नै आउँछन् ।सबै समाजमा त्यो उमेरसमूहका मानिस हुन्छन्, यद्यपि अहिले तिनीहरूलाई जेनजी नामकरण गरिएको छ तर त्यो उमेर समूहभन्दा माथिको उमेरसमूहका जुन व्यक्तिले जेनजी आन्दोलनको नेतृत्व गरेको बताउँदैछन्, उनीहरू जेनजी होइनन् र उनीहरूलाई नै हामीले कथित जेनजी बताएका छौँ । उनीहरूले नै अमेरिकी साम्राज्यवादको रणनीति पूरा गर्नका लागि जेनजी आन्दोलनलाई उपयोग गर्ने प्रयत्न गरे र उनीहरूको निर्देशनअनुसार नै वर्तमान प्रधानमन्त्रीलाई नियुक्त गर्ने, संसद् विघटन गर्ने र नयाँ चुनावको घोषणासमेत गरियो । अमेरिकाले नेपाललाई आफ्नो सुरक्षा पङ्क्तिमा सामेल गर्न संसद्द्वारा एमसिसी पारित गर्न लगायो तर त्यतिले त्यसलाई पुगेको छैन ।त्यसले नेपालमा एसपिपीलाई पनि पारित गराउन चाहन्छ† तिब्बतमा दलाई लामाको पुनस्र्थापनाका लागि त्यहाँ सैन्य आक्रमण गर्न चाहन्छ र त्यसका लागि नेपालको भूमिलाई उपयोग गर्न चाहन्छ र त्यो अवस्थामा नेपाल युद्धभूमि नै बन्नेछ ।ती सबै कार्य गर्न त्यसले नेपालमा आफ्नो कठपुतली सरकार कायम गराउन चाहन्छ । त्यसैले अमेरिकाले पुरानो संसद्को विघटन गर्न लगाएर अहिले चुनाव गराउन थालेको छ र चुनावमा आफ्ना पक्षधर कैयौँ उम्मेदवार अगाडि सारेको छ ।त्यसका उम्मेदवारहरू मुख्य रूपले घण्टी चुनाव चिह्नको आधारमा अगाडि आएका छन् ।
चुनावको मुखैमा नेपाली कङ्ग्रेसमा जुन विद्रोह भयो, त्यसका पछाडि पनि मुख्य भूमिका अमेरिकी साम्राज्यवादको नै छ ।यो पनि अब कुनै लुकेको कुरा होइन कि बार्बरा फाउन्डेसनले पनि त्यस प्रकारका सबै गतिविधिका लागि ठुलो धनराशि खर्च गरिरहेको छ र अमेरिकी साम्राज्यवादको पक्षमा काम गर्ने व्यक्ति वा संस्थाहरूलाई त्यसले ठुलो आर्थिक सहयोग गर्ने गरेको छ ।त्यो फाउन्डेसनसित सम्बन्धित कैयौँ व्यक्ति पनि चुनावमा उम्मेदवारको रूपमा अगाडि आएका छन् ।अहिले प्युठानमा नेकाको तर्फबाट उठेका उम्मेदवार पनि बार्बरा फाउन्डेसनसित नै सम्बन्धित उम्मेदवार हुन् । अहिले नेकामा अमेरिकापरस्त नेतृत्व कायम भएपछि उनीहरूले बार्बरा फाउन्डेसनसित सम्बन्धित व्यक्तिलाई नै उम्मेदवार बनाएर प्युठानमा पठाएका छन् ।इसाई धर्मसित सम्बन्धित कतिपय पास्चर पनि प्रत्यक्षतर्फको चुनावमा उम्मेदवार बनेका छन् ।त्यसरी नेपाल अत्यन्त गम्भीर प्रकारले अमेरिकाको चौतर्फी घेराबन्दी र चक्रव्यूहमा समेत फसेको छ र त्यसको लागि यो महिनामा हुन थालेको चुनाव मुख्य माध्यम बनेको छ । त्यसैले हामीले स्पष्ट शब्दमा यो भनेका छौँ कि अहिलेको चुनावको प्रधान पक्ष अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्ष नै हो र त्यसका पक्षबाट उठेका सबै उम्मेदवारलाई पराजित गरेर अमेरिकाको त्यो चक्रव्यूहलाई असफल पार्न आजका लागि सम्पूर्ण नेपाली जनताको ध्यान जानु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।
४. अमेरिकाले एकैसाथ कथित जेनजी वा नेकाको ‘विद्रोही’ पक्षकातर्फबाट समेत प्रधानमन्त्रीका उम्मेदवार अगाडि सारेको छ । त्यसरी विभिन्न व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्नुका पछाडि अमेरिकाको उद्देश्य एउटा नभए अर्कोलाई प्रधानमन्त्री बनाउनु र प्रधानमन्त्रीका साथै विपक्षी दलको नेता पनि आफ्नै पक्षधर व्यक्तिलाई गराउने रहेको छ । त्यसरी अमेरिकाले सत्ता र प्रतिपक्ष दुवैतिर आफ्नो नियन्त्रण कायम गर्न खोजेको छ ।नेपालको सन्दर्भमा ‘स्वतन्त्र तिब्बत’का लागि नेपाललाई उपयोग गर्ने नीतिलाई अमेरिकाले उच्च प्राथमिकता दिएको देखिन्छ ।जेनजी आन्दोलनका दौरानमा पनि ‘स्वतन्त्र तिब्बत’ पक्षधर शक्तिको प्रमुख भूमिका रह्यो, वर्तमान अन्तरिम सरकार बन्नेबित्तिकै दलाई लामाले अन्तरिम सरकारलाई आफ्नो शुभकामना पठाए र दलाई लामाका प्रतिनिधिलाई काठमाडौँमा राजनीतिक सम्मान दिएर स्वागत गरियो ।तिब्बतीलाई ठुलो सङ्ख्यामा नेपालको नागरिकता दिने तयारी भइरहेको छ ।यी सबै कुराबाट अमेरिकाले तिब्बतमाथि आक्रमण गर्न र दलाई लामालाई पुनस्र्थापना गर्नका लागि नेपाललाई युद्धभूमि बनाउन योजनाबद्ध प्रकारले काम गरिरहेको कुराका कुनै शङ्का रहन्न ।त्यसबाट नेपाललाई कति धेरै जनधनको क्षति पुग्नेछ ? त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।अमेरिकाको त्यस प्रकारको षड्यन्त्रलाई असफल पार्न घण्टीपक्षका, अन्य कुनै चुनाव चिह्नद्वारा अगाडि आएका वा बार्बरा फाउन्डेसनको तर्फबाट समेत उम्मेदवार बनेका सबै व्यक्तिलाई पराजित गर्नु अहिलेको राष्ट्रिय महŒवको आवश्यकता भएको छ ।
५. पुराना सत्तारूढ बहुदलीय पार्टीहरूले एमसिसीलाई पारित गरेर अमेरिकी साम्राज्यवादको सेवा गरेको भए पनि अमेरिकाको रणनीतिको पक्षमा प्रभावशाली प्रकारले काम गर्न नसकेको, एसपिपीलाई पनि स्वीकार नगरेको, लगातार ‘एक चीन’ नीतिलाई समर्थन गरेर ‘स्वतन्त्र तिब्बत’को पक्षमा समेत खुला रूपले उभिन नसकेकाले समेत उनीहरू अमेरिकाका लागि अस्वीकार्य भए र अमेरिकाले उनीहरूलाई विस्थापित गर्ने नीति अपनायो । पहिले जेनजीहरूको पुरानो सरकारको विघटन वा संसद्को विघटनजस्ता कुनै मागहरू थिएनन् तर अमेरिकाको निर्देशनमा कथित जेनजीहरूले अमेरिकाले अस्वीकार गरेका सबै पुराना पार्टीका नेता वा उनीहरूको सरकारलाई हटाउन मुख्य भूमिका खेले । उनीहरूको उद्देश्य ती सबैलाई विस्थापित गरेर सत्तामा कब्जा गर्नु र त्यसरी प्रभावशाली प्रकारले अमेरिकी साम्राज्यवादको सेवा गर्नु थियो । त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ, बहुदलीय व्यवस्था आएदेखि नै बनेका विभिन्न सरकारहरूले जुन प्रकारका भ्रष्ट, गैरजिम्मेवार र जनविरोधी नीति अपनाउँदै वा क्रियाकलापहरू गर्दै गए, त्यसले गर्दा जनतामा व्यापक असन्तोष र निराशाको वातावरण तयार भयो ।त्यसबाट एकातिर राजावादीलाई राजतन्त्र र निरङ्कुश शासनको पक्षमा जनमत तयार पार्ने र अर्कातिर, अमेरिकी साम्राज्यवादलाई खुला रूपले नेपालको राजनीतिमा प्रवेश गरेर आफ्नो कठपुतली सरकारको स्थापना गर्नका लागि आधार तयार पार्न मदत पुगेको छ । त्यसैले सरकारमा पुगेर भ्रष्टाचार र कुशासन बढाउनका लागि जिम्मेवार राजनीतिक शक्तिका उम्मेदवारलाई पराजित गर्नका लागि हामीले पूरा जोड लगाउनुपर्ने आवश्यकता छ । त्यसरी नै देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुनेछ र देशको दिगो विकास हुन सक्नेछ ।
६. चुनावको बेलामा अमेरिकी साम्राज्यवादका साथै भारतीय साम्राज्यवाद वा युरोपियन साम्राज्यवादी शक्तिले पनि नेपालमा बेग्लाबेग्लै प्रकारको हस्तक्षेप बढाउँदै गइरहेका छन् । उनीहरूले नेपालका साम्राज्यवादी शक्तिद्वारा सञ्चालित विभिन्न एनजिओ, आइएनजिओ, क्षेत्रीयतावादी वा जातिवादी सङ्गठनले पनि चुनावलाई आआफ्ना निहित स्वार्थको पक्षमा उपयोग गर्ने प्रयत्न गरिराखेका छन् ।त्यस सन्दर्भमा राजावादीको तर्फबाट देशलाई प्रतिगमनको दिशामा लैजान भइरहेको प्रयत्नप्रति पनि हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ । एकातिर अमेरिकी साम्राज्यवाद र भारतका कट्टर हिन्दुवादी शक्तिसित साँठगाँठ गरेर र अर्कातिर, पुराना पार्टीका भ्रष्ट र गैरजिम्मेवार क्रियाकलापबाट पैदा भएको असन्तोष र निराशालाई उपभोग गरेर उनीहरूले राजतन्त्र वा राजाको निरङ्कुश शासनको पुनस्र्थापना गर्ने प्रयत्न गरिरहेका छन् ।उनीहरूको मुख्य जोड व्यवस्थामा परिवर्तन गर्ने कुरामा छ तर त्यसको अर्थ गणतन्त्रलाई समाप्त गरेर निरङ्कुश राजतन्त्रको पुनस्र्थापना नै हो । उनीहरूले वैधानिक राजतन्त्र कायम गर्ने कुरा गरिरहेका छन् तर जुन शासक वर्गको नेपालमा वैधानिक राजतन्त्रलाई खतम गरेर निरङ्कुश शासन कायम गरेको इतिहास छ, उनीहरूको हातमा सत्ता पुगेपछि प्रत्यक्ष रूपले नै निरङ्कुश शासन वा पुरानो प्रकारको पञ्चायती शासन कायम हुने कुरामा कुनै शङ्का रहन्न ।त्यसकारण हामीले चुनावको माध्यमद्वारा अगाडि आउन थालेका विभिन्न साम्राज्यवादी वा प्रतिगामी प्रयत्नका विरुद्ध पनि सम्झौताहीन सङ्घर्ष गर्दै तिनीहरूलाई असफल पार्ने प्रयत्न गर्नुपर्दछ ।
७. लोकप्रियतावाद अहिले सारा संसारको लागि नै गम्भीर समस्या बनेको छ र नेपालमा पनि त्यस प्रकारको सोचाइ व्यापक बन्दै गइरहेको छ । लोकप्रियतावादको आधारमा विभिन्न प्रकारका प्रतिक्रियावादी शक्तिले सत्तामाथि कब्जा जमाउँदै गइरहेका छन् । अमेरिकी साम्राज्यवादले योजनाबद्ध प्रकारले, खास गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमको माध्यमद्वारा त्यसलाई फैलाउने गर्दछ । त्यस प्रकारको लोकप्रियतावादी सोचाइको आधारमा त्यसले विभिन्न देशमा जेनजी आन्दोलनलाई उठाउन प्रयत्न गरेका, त्यसरी सत्ता उल्टाउन वा त्यहाँ आफ्ना कठपुतली सरकार बनाउन प्रयत्न गरेका उदाहरण संसारमा धेरै छन् । अमेरिकाले त्यही पद्धति नेपालमा पनि अपनायो र आफ्ना न्यायपूर्ण माग पूरा गराउन सडकमा उत्रिएका जेनजीको आन्दोलनलाई हाइज्याक गरेर त्यसले नेपालमा पनि आफ्नो साम्राज्यवादी रणनीति पूरा गर्न वा कठपुतली सरकार बनाउने प्रयत्न ग¥यो । अहिले चुनावद्वारा पनि अमेरिकाले त्यही उद्देश्य पूरा गर्नका लागि योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेको छ ।
वास्तवमा जनप्रियतावाद विभिन्न प्रकारका असन्तोष, निराशा वा कुण्ठाको आधारमा जनतामा उत्पन्न भएको नकारात्मक प्रकारको सोचाइ नै हो । त्यस प्रकारको सोचाइ कुनै सिद्धान्त, सही नीति, कार्यक्रम वा राजनीतिक लाइनको आधारमा बनेको हुँदैन । त्यसैले साम्राज्यवादी वा प्रतिक्रियावादी शक्तिले त्यसलाई सजिलैसित आफ्ना निहित स्वार्थको पक्षमा उपयोग गर्दछन् र त्यसका कैयौँ गम्भीर दूरगामी प्रकारका दुष्परिणाम पनि हुन्छन् ।सही सिद्धान्त वा राजनीतिक लाइनको आधारमा प्रशिक्षित नबनेको अवस्थामा कलिला युवाविद्यार्थी वा अहिलेको भाषामा जेनजीलाई पनि देशी वा विदेशी प्रतिक्रियावादी शक्तिले सजिलैसित उपयोग गर्ने गर्दछन् ।संसारका धेरै देशमा त्यस्तै भयो र नेपालमा पनि त्यस्तै भयो ।नेपालको राजनीतिक इतिहासमा राणाशासन, पञ्चायती निरङ्कुश शासन, राजतन्त्र वा विदेशी हस्तक्षेप र अतिक्रमणसमेतका विरुद्धमा नेपालका युवाविद्यार्थीले महŒवपूर्ण सङ्घर्ष गर्दै आएको गौरवपूर्ण इतिहास छ तर उनीहरू सही सिद्धान्त, नीति, कार्यक्रम वा राजनीतिक लाइनद्वारा दीक्षित नबनेमा उनीहरूलाई कुनै पनि देशी वा विदेशी शक्तिले उपयोग गर्न सक्दछ ।त्यसैको परिणाम थियो कि अमेरिकी साम्राज्यवादले नेपालको जेनजी आन्दोलनलाई पनि सजिलैसित हाइज्याक ग¥यो र अहिले राजावादीले जेनजीहरू उनीहरूको पक्षमा भएको दाबी गरिरहेको छ ।नेपालका युवाहरूमा त्यस प्रकारको घुसपैठ कति व्यापक रूपमा देखा परेको छ, त्यो कुरा नेपालस्थित अमेरिकी दूताबासले युथ काउन्सिलअन्तर्गत हजारौँ नेपालीलाई सङ्गठित गरेको र त्यसमा अहिले घण्टीको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार र प्रधानमन्त्रीको उम्मेदवार भएका र प्रधानमन्त्रीको दाबेदार भएको तथ्यबाट पनि प्रष्ट हुन्छ ।यो पनि कम विडम्बनाको कुरा होइन, त्यस्ता व्यक्तिलाई पनि नेपाली जनताले ठुलो सङ्ख्यामा स्वागत गरिरहेका छन् ।बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसका पछाडि सही प्रकारको जनचेतना होइन, लोकप्रियतावादीजस्तो विषाक्त, दूषित मानसिकताले नै काम गरेको छ । राजावादीहरूले पनि जेनजीहरूको ठुलो सङ्ख्या उनीहरूको पुनरुत्थानवादी राजनीतिक लाइनको पक्षमा भएको दाबी गरिरहेका छन् ।जेनजीमाथि त्यस प्रकारको दाबी सबै प्रकारको निरङ्कुश शासन, राजतन्त्रको विरोध वा देशको राष्ट्रियता र स्वाधीनताको पक्षमा गौरवमय इतिहास भएको युवाविद्यार्थी वा जेनजीमाथि कलङ्क लगाउनु नै हो ।
८. नेपालको चुनाव प्रणाली अत्यन्त भ्रष्ट भएर गएको छ ।त्यसको परिणाम यो हुन्छ कि चुनावमा भोटको किनबेच अत्यन्त बढी मात्रामा हुने गर्दछ । चुनावका त्यस प्रकारको भ्रष्ट प्रकृतिका कारणले खालि भ्रष्ट तŒव मात्र होइन, राजनीतिक रूपले कुनै सिद्धान्त, नीति र कार्यक्रम वा जनसेवाको कुनै पृष्ठभूमि नभएका, यहाँसम्म कि कतिपय अपराधी, तस्कर तŒवले पनि चुनाव जित्ने दुस्साहस गर्दछन् र पैसाको बलमा कतिपय त्यस प्रकारको सफलता पनि प्राप्त गर्ने गर्दछन् । जनताको पिछडिएको वा जनप्रियतावादी सोचाइका कारणले पनि विभिन्न प्रकारका गलत तŒव पनि चुनाव जित्न पुग्दछन् र उनीहरू सरकारको उच्च पदमा पुग्नसमेत सफल हुने गर्दछन् ।त्यसैको परिणाम हो कि बारम्बारको चुनावका बाबजुद भ्रष्टाचार र कुशासनको अन्त्य हुँदैन र देशको विकास कुण्ठित हुन जान्छ । त्यस प्रकारको परम्परालाई तोड्नका लागि चुनावमा हुने सबै प्रकारको भ्रष्टाचारलाई रोक्नुपर्दछ र त्यसका लागि सबैभन्दा महŒवपूर्ण भूमिका जनताको नै हुन्छ र हुनुपर्दछ । जब जनताले पैसा लिएर भोट किन्न आउने पार्टी वा उम्मेदवारलाई अस्वीकार गर्नेछन्† त्यो अवस्थामा चुनाव स्वतन्त्र र निष्पक्ष हुनेछ र सही राजनीतिक कार्यक्रम वा स्वच्छ राजनीतिक पृष्ठभूमि भएका पार्टी वा उम्मेदवारले नै चुनाव जित्नेछन् र त्यही प्रकारको सरकार बन्नेछ र त्यसपछि मात्र भ्रष्टाचार र कुशासनको अन्त्य हुनेछ र देशको विकास हुनेछ ।
९. चुनावको बेलामा कैयौँ व्यक्तिले नयाँनयाँ पार्टी बनाएर, भ्रष्टाचार र कुशासनका विरुद्ध चर्का नारा लगाएर वा आकर्षक सपना बाँडेर चुनाव जित्ने कोसिस गर्दछन् । त्यस सन्दर्भमा उनीहरूले अब पार्टी वा सरकारको नेतृत्व पुरानाले होइन, नयाँले नै गर्नुपर्दछ भन्ने प्रचार पनि निकै गरिरहेका छन् । त्यस प्रकारको प्रचारले पुराना पार्टीका भ्रष्टाचार र कुशासनबाट असन्तोष र निराश भएका जनता वा नयाँ पिँढीलाई बढी आकर्षण गर्ने गरेको छ तर त्यस प्रकारको सोचाइ अपरिपक्व र अदूरदर्शितापूर्ण सोचाइ हो ।वास्तवमाको पुरानो हो र नयाँ भन्ने आधारमा होइन, कसको सिद्धान्त, नीति, कार्यक्रम वा राजनीतिक पृष्ठभूमि निष्कलङ्क छ ?त्यसको मूल्याङ्कन गरेर नै कुनै पार्टी वा उम्मेदवारलाई समर्थन गर्नुपर्दछ ।देशको राजनीतिक इतिहासले बताउँछ कि कतिपय पुराना पार्टी वा नेताले पनि कुनै प्रकारको भ्रष्टाचार नगरीकन देश र जनताको सेवा गर्दै आएका छन् । त्यस सन्दर्भमा राष्ट्रिय जनमोर्चा र त्यसका अध्यक्ष क. चित्रबहादुर केसीलाई उदाहरणको रूपमा लिन सकिन्छ । राष्ट्रिय जनमोर्चा पुरानो पार्टी हो र त्यसका नेता क. केसी पनि धेरै पुरानो र वृद्ध नेता हुनुहुन्छ तर उहाँको सम्पूर्ण राजनीतिक पृष्ठभूमिको मूल्याङ्कन गर्दा उहाँ कुनै पनि प्रकारको भ्रष्टाचारमा संलग्न नभएको र निष्कलङ्क छवि भएको नेता हुनुहुन्छ भन्ने कुरा सर्वविदितै छ ।अर्कातिर, कतिपय नयाँ पार्टी वा नेताहरूले पनि ठुलो पैमानामा भ्रष्टाचार गरेका कैयौँ उदाहरण छन्, जस्तै कि सहकारीको क्षेत्रमा ठुलो पैमानामा गरिएको भ्रष्टाचार ।त्यसका साथै कुन पार्टी वा उम्मेदवार सही हो, त्यो कुरा कुनै पार्टी वा उम्मेदवारको कुन प्रकारको राजनीतिक पृष्ठभूमि वा इतिहास रहेको छ ?त्यसका आधारमा नै मूल्याङ्कन गर्नुपर्दछ । कुनै पार्टी वा नेता कति सही वा गलत छ, त्यो कुरा कसैले गरेको भाषणको आधारमा होइन, ऊ लामो व्यवहार र परीक्षाका बिचबाट गएपछि नै थाहा हुने कुरा हो । त्यस प्रकारको परीक्षाविना कसैलाई विश्वास गरेमा देश र जनताका अगाडि ठुलो धोका हुन सक्दछ ।यो लोकप्रियतावादी सोचाइको नै परिणाम हो, कतिपय नयाँ र कुनै पनि प्रकारको राजनीतिक योग्यता नभएका र प्रधानमन्त्रीको समेत दाबेदार भएका व्यक्तिले जनताको ठुलो भिड जम्मा गर्न सफल हुने गरेका छन् र खालि आफ्नो हात हल्लाएर आफ्नो अयोग्यतामाथि पर्दा हाल्ने प्रयत्न गर्दछन् । त्यस प्रकारका व्यक्तिको स्वागतमा जसरी ठुलो जनसमूह अगाडि आउने गरेको छ, त्यसले नेपाली जनतामा गहिरोसँग घर जमाएको लोकप्रियतावादलाई नै बताउँछ ।त्यस प्रकारका व्यक्तिहरू सत्तामा आएमा त्यो देशका लागि कति धेरै दुर्भाग्यको कुरा हुनेछ ? त्यो कुरा कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ वा अहिले त्यसप्रति सचेत नरहेमा भविष्यमा हुने दुष्परिणामबाट हामीलाई त्यो कुरा ज्ञात हुनेछ तर देशको व्यापक हितमा अहिले नै त्यसबारे सही जनचेतनाको विकास हुन सकेमा देश भविष्यमा हुने दुर्घटनाबाट बच्न सक्नेछ ।
१०. हामीले सुरुदेखि सङ्घीयता नेपालका लागि उपयुक्त नभएको, त्यो कारणले देशमा राजनीतिक विखण्डन तथा क्षेत्रीय र जातीय विग्रह उत्पन्न हुने तथा देशको विकास धेरै नै कुण्ठित हुने कुरा स्पष्ट गर्दै आएका छौँ ।सङ्घीयता वा त्यसको प्रादेशिक संरचनामाथि जुन ठुलो धनराशि व्यय हुँदै आएको छ, त्यो देशका लागि अनावश्यक आर्थिक बोझ हो ।सङ्घीयतालाई खारेज गर्नेबित्तिकै त्यसमा खर्च भइरहेको अनावश्यक आर्थिक रकमबाट शिक्षा र स्वास्थ्यलाई उच्च तहसम्म निःशुल्क गराउन सकिन्छ ।स्थानीय पालिकाहरूको बजेट बढाउन सकिन्छ र देशको विकासमा धेरै नै मदत पुग्नेछ । त्यसैले हाम्रो पार्टीले सुरुदेखि नै सङ्घीयतालाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । राजावादीले सङ्घीयता वा प्रादेशिक संरचनालाई खारेज गर्ने कुरामा जोड दिँदै आएका छन् तर त्यसरी उनीहरूले सङ्घीयताको ठाउँमा पुरानै प्रकारको निरङ्कुश शासन वा सामन्ती र केन्द्रीकृत प्रकारको एकात्मक प्रणाली कायम गर्नेछन् । त्यसैले हामीले त्यस प्रकारको एकात्मक प्रणालीको पनि विरोध गर्दछौँ ।
११. माथि एकातिर, अमेरिकी साम्राज्यवाद पक्षधर र अर्कातिर, भ्रष्टाचार र कुशासनका लागि जिम्मेवार पक्षका उम्मेदवारलाई चुनावमा पराजित गर्ने कुरा गरेपछि यो प्रश्न पनि हाम्राअगाडि आउँछ ः त्यसको विकल्प के हो ?त्यसको विकल्प हो– नेपालप्रतिको साम्राज्यवादी रणनीति तथा सबै प्रकारको भ्रष्टाचार र कुशासनसित कहिल्यै कुनै रूपमा संलग्न नभएको राजनीतिक शक्तिले नै देशका लागि सही विकल्प दिन सक्दछ ।त्यसबारे कुन पार्टीले कुन प्रकारको प्रचार गर्दछ भन्ने आधारमा होइन, कुन पार्टीको व्यवहारमा नै कुन प्रकारको पृष्ठभूमि रहेको छ, त्यसका आधारमा नै कुनै पार्टीको मूल्याङ्कन गरेर त्यसको विरोध वा समर्थन गर्ने नीति अपनाउनुपर्दछ ।नेपालमा राष्ट्रिय जनमोर्चा नै यस्तो पार्टी हो, जसले कुनै साम्राज्यवादी शक्तिको पछि लागेर कहिल्यै कुनै गलत काम गरेको छैन र सधैँ देशको राष्ट्रियता र सार्वभौमिकताको पक्षमा दृढतापूर्वक सङ्घर्ष गर्दै आएको छ भने अर्कातिर त्यसका नेता वा कार्यकर्ताले सरकारको उच्चपदमा पुग्दा, सांसदमा निर्वाचित हुँदासमेत कहिल्यै कुनै आर्थिक हिनामिना वा भ्रष्टाचार नगरेको गौरवमय इतिहास छ । त्यही प्रकारले उनीहरूले स्थानीय निकायमा निर्वाचित हुँदा पनि कुनै प्रकारको भ्रष्टाचार गर्ने गरेका छैनन् ।त्यस प्रकारको पार्टी नै देशको लागि सही विकल्प हुन सक्दछ र त्यस्तो पार्टीकाउम्मेदवारहरूलाई भोट दिएर विजयी बनाएमा नै देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षा, भ्रष्टाचारको अन्त हुनेछ र देशको दिगो विकासमा मदत पुग्नेछ । त्यसैले नेकपा (मसाल)ले राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष वा समानुपातिक उम्मेदवारहरूलाई आफ्नो मत दिएर विजयी बनाउन सम्पूर्ण जनतासित अपिल गर्दछ ।
२०८२ फागुन ९ गते
मोहनविक्रम सिंह
(महामन्त्री)