Nepal communist party

प्रेस वक्तव्य (२०८२ चैत्र ८)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

(२०८२ चैत्र ८ गते बुटवलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रेषित वक्तव्य)

आदरणीय पत्रकार मित्रहरू, अतिथिहरू र सबै सहभागीहरू,

३. फागुन २१ गते आम चुनाव सम्पन्न भयो । त्यो चुनावको जुन परिणाम अगाडि आएको छ, त्यो नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै सबैभन्दा गम्भीर र अवान्छित परिणाम हो । त्यो नेपालका लागि राणाशासन तथा राजाको निरङ्कुश शासन र पञ्चायती शासनभन्दा गम्भीर अभिशापको रूपमा अगाडि आएको छ । राणाशासन वा राजाको निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था देशभित्रका नै प्रतिक्रियावादी व्यवस्थाहरू थिए । निश्चय नै तिनीहरूमा पनि प्रतिगामी व्यवस्था थिए र तिनीहरूका विरुद्ध जनताले ठुलो सङ्घर्ष गरेर तिनीहरूलाई समाप्त गर्नुपरेको थियो । अहिले पनि एक वा अर्को प्रकारले प्रतिगमनले अगाडि आउने प्रयत्न गरिरहेको छ र हामीले तिनीहरूको पुनस्र्थापनालाई रोक्न सङ्घर्ष गर्नुपर्ने छ । तर अहिले चुनावको परिणाम स्वरुप देशमा जुन खतरा अगाडि आएको छ, त्यो पहिलेका सबै प्रतिक्रियावादी व्यवस्थाहरूभन्दा गम्भीर रहेको छ र त्यसका दीर्घकालीन प्रकारका दुष्परिणामहरू हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले चुनावद्वारा जुन परिणाम अगाडि आएको छ, त्यो स्पष्ट र निश्चित रूपले अमेरिकी साम्राज्यवादको नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्ने योजनाअन्तर्गत नै अगाडि आएको छ र त्यसका पछाडिको अमेरिकाको उद्देश्य नेपाल वा नेपालको भूमिलाई आफ्ना अन्तर्राष्ट्रिय उद्देश्यहरूको पक्षमा उपयोग गर्नु नै हो ।

५. अहिले अमेरिकाद्वारा परिचालित जुन तत्त्वहरूलाई जनताको अत्यधिक समर्थन प्राप्त भएको छ, त्यो जनताको वास्तविक समर्थन होइन । त्यो वास्तवमा लोकप्रियतावादको असर हो । हामीले संसारका विभिन्न देशहरूका उदाहरणहरूको चर्चा नगरौँ। स्वयं नेपालको कुनै राजनीतिक इतिहासको चर्चा गर्ने हो भने पनि देशमा कैयौँपल्ट यस्ता अवसरहरू आउँछन्, जुनबेला जनताको चेतना कुण्ठित वा विकृत हुन पुग्दछ र त्यसबाट प्रतिक्रियावादी शक्तिहरूलाई नै मद्दत पुग्दछ । राणाकालमा पनि जनताले त्यो बेलाका शासक वर्गहरूलाई समर्थन गरेका थिए र त्यसको परिणाम स्वरूप राणाशासन १०५ वर्षसम्म टिक्न सकेको थियो । जनताको चेतना कुण्ठित वा विकृत भएको हुनाले नै निरङ्कुश राजतन्त्र र पञ्चायती शासन पनि ३० वर्षसम्म कायम रहन सकेको थियो । तर जब जनताको चेतना सही रूपमा प्रकट हुन्छ । त्यस प्रकारका सबै प्रतिक्रियावादी व्यवस्थाहरू ढल्दछन् । त्यसकारण जनताको समर्थनलाई हामीले कहिल्यै पनि निरपेक्ष रूपमा लिनु हुँदैन । कुन बेला त्यो कुण्ठित हुन्छ वा कुन बेला त्यो जागृत हुन्छ ? त्यो निर्णयात्मक महत्त्वको कुरा हो । अहिले पनि देशमा अमेरिकी साम्राज्यवाद वा त्यसका सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू तथा कथित जेनजीहरूको प्रभावका कारणले जनमत धेरै नै कुण्ठित हुन पुग्यो वा लोकप्रियतावाद हावी हुन पुग्यो । त्यसैको परिणाम हो कि अमेरिकाद्वारा सञ्चालित तत्त्वहरू वा कथित जेनजीहरू बहुमतका आउन सफल भए । त्यसका साथै पुराना राजनीतिक पार्टीहरूले देशमा बहुदले व्यवस्था आएपछि वा गणतन्त्र कायम भएपछि पनि जसरी भ्रष्ट नीतिहरू अपनाउँदै गए, देशमा कुशासन कायम भयो र देशको विकास कुण्ठित भयो । त्यो कारणले जनतामा उत्पन्न असन्तोष र निराशाले पनि लोकप्रियतावादी जनमतलाई बल पुर्‍यायो । जनताको त्यस प्रकारको असन्तोष वा निराशालाई सही र अग्रगामी दिशा दिन सक्ने काम हुन सकेन । त्यसको परिणामस्वरूप जनतामा देखापरेको असन्तोष र निराशालाई प्रतिगामी शक्तिहरूले उपयोग गरेर देशलाई पुन: प्रतिगमनतिर लैजाने प्रयत्न गरेका थिए । त्यसका लागि अहिले पनि प्रयत्न गरिरहेका छन् । तर त्यो दौडमा अमेरिकी साम्राज्यवाद अगाडि आयो र त्यसले नेपालमा आफ्नो कठपुतले सरकार कायम गर्न आधार तयार पार्न सफल भयो । चुनावमा राजावादीहरूको पहिलेको तुलनामा पनि संसदमा जुन ठुलो हार भयो, त्यसबाट उनीहरू ठुलो पैमानामा असफल भएको कुरा स्पष्ट छ । आफ्ना साम्राजवादी स्वार्थहरू पूरा गर्न विभिन्न देशका सरकारहरूमा फेरबदल वा उलटफेर गर्ने अमेरिकी विश्वव्यापी रणनीति रहेको छ । हालैका घटनाहरूमा त्यसले भेनेजुएला र इरानमा चालेका कदमहरू उल्लेखनीय छन् । भेनेजुएलामा आक्रमण गरेर त्यसले त्यहाँको राष्ट्रपतिलाई नै अपहरण गर्यो भने इरानमा पनि आक्रमण गरेर त्यहाँ सत्ता परिवर्तन गर्ने प्रयत्न गरिरहेको छ र आफ्नो त्यो नीतिबारे त्यसले खुला प्रकारले नै बाहिर ल्याएको छ । तर इरानी जनताको वीरतापूर्ण प्रतिरोधको नीतिका कारणले त्यहाँ त्यसको नीति सफल हुन सकेको छैन । तर नेपालमा चुनावको माध्यमद्वारा नै त्यसले आफ्नो कठपुतली सरकार कायम गर्ने नीति सफल पार्दैछ । छिट्टै नेपालमा त्यस प्रकारको सरकार कायम हुँदैछ । बताइरहनुपर्ने आवश्यकता छैन कि नेपालका लागि त्यो अत्यन्त घातक कुरा हो र त्यसका दीर्घकालीन परिणामहरू हुने सक्ने छन् ।

६. भाद्र २३ र २४ गतेका हिंसात्मक घटनाहरूको छानबिन गर्नको लागि सरकारले जाँचबुझ आयोगको गठन गरेको थियो र त्यसले आफ्नो प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ । तर त्यो प्रतिवेदन अझै सार्वजनिक भएको छैन र स्वयं जेनजीहरूले पनि त्यसलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । त्यो प्रतिवेदन अझै सार्वजनिक नगरेको हुनाले त्यो आयोगले कहाँसम्म निष्पक्ष, न्यायचित वा निर्भिकतापूर्वक भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन गरेको छ  ? त्यो प्रतिवेदन सार्वजनिक भएपछि नै थाहा हुने छ । त्यो कुरा के भएपनि भाद्र २३ र २४ गतेका घटनाहरूबारे सहित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता छ । प्रथम: २३ गते सामान्य र कलिला छात्रछात्रहरूमाथि जुन निर्ममतापूर्वक हत्या गरियो, त्यो अत्यन्त जघन्य र क्रूर अपराध हो । त्यो बेला विद्यार्थीहरूलाई छाती र टाउकोमा समेत ताकीताकी गोली हान्ने काम गरिएको छ । त्यस प्रकारका क्रूर, अमानवी र बर्बर अत्याचारका लागि जिम्मेवार दोषीहरूमाथि कडा र न्यायचित कारबाही गर्नुपर्ने आवश्यकता छ । त्यससित जोडिएको अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । जिनजीहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण भएको बताएका थिए भने त्यसले हिंसात्मक रूप लिन थालेपछि आन्दोलनकारीहरूलाई फर्केर जान पनि आÞवान गरेका थिए । त्यसरी स्पष्ट छ जेनजीहरू त्यो दिनको तोडफोड वा हिंसात्मक गतिविधिका लागि जिम्मेवार थिएनन् । त्यो अवस्थामा यो प्रश्न उठाउने ठाउँ छ : त्यो दिनको आन्दोलनलाई तोडफोड वा हिंसात्मक कार्यका लागि उक्साउने तत्त्वहरू को थिए ? उनीहरूबारे पनि छानबिन गरेर उनीहरूमाथि पनि कारबाही गरिनुपर्दछ । भाद्र २४ गते देशव्यापी रूपमा जुन तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यहरू भए त्यो कार्यहरू जेनजीहरूद्वारा गरिएका थिएनन् र उनीहरूद्वारा हुन पनि सक्दैनथ्यो । त्यस प्रकारका अपराधजन्य कार्यहरूका लागि तालिम प्राप्त व्यक्तिहरूद्वारा नै हुन सक्दथे । त्यसका लागि लामो पूर्व तयारीको आवश्यकता थियो । स्पष्ट छ कि सीआइए, “रअ”, कथित जेनजी, राजावादीहरू र सामाजिक अपराधीहरूले नै त्यस प्रकारका ध्वन्सात्मक कार्यहरू गरेको कुरा स्पष्ट छ । के जाँचबुझ आयोगले ती सबैबारेपनि निष्पक्ष तरिकाले छानबिन गरेर तिनीहरूका विरुद्ध न्यायचित र निर्भिकतापूर्वक सिफारिस गरेको छ ? हाम्रो जोड २३ गते युवाहरूमाथिको गोली प्रहारका लागि जिम्मेवार दोषीहरू, त्यो दिनको जेन्जीहरूको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने तत्त्वहरू र २४ गतेको तोडफोड आगलागी र ध्न्सात्मक कार्यहरूको लागि जिम्मेवार तत्त्वहरू समेतका विरुद्ध कडा र न्यायचित कारबाही गर्नुपर्छ भन्ने कुरामा छ ।

७. जेनजीहरूको नाममा जुन कथित जेनजीहरू अगाडि आएका छन् र अहिले सत्तामा जाने तयारी समेत भइरहेको छ । उनीहरू राजनीति व्यक्तित्वहरू नै होइनन् । राजनीतिक व्यक्तित्व, नेता वा कार्यकर्ता भन्नाले उनीहरू नै हुन्छन् जो देश र जनताको सेवाको लागि पूरै समर्पित हुन्छन् तथा त्यसका लागि सबै प्रकारका सङ्घर्ष, त्याग र बलिदान गर्न पनि तयार हुन्छन् । नेपालको राजनीतिलाई भ्रष्टीकरण गर्ने काम पनि अत्यधिक रूपमा भएको छ । कैयौँ पार्टीका नेता वा कार्यकर्ताहरूले व्यक्तिगत पेसा फाइदा र भ्रष्टाचार समेतका लागि राजनीतिक पार्टीहरू वा राजनीतिको दुरूपयोग गर्ने गरेका छन् । त्यसैले जनताको पनि राजनीति वा राजनीतिक पार्टीमाथि वितृष्णा बढ्दै गएको पाइन्छ । संसारमा र नेपालमा पनि जुन महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू भएका छन्, ती कार्यहरू राजनीतिक पार्टीद्वारा नै हुने गरेका छन् र त्यसका लागि राजनीतिक नेता वा कार्यकर्ताहरूको लामो योगदान वा इतिहास भएको आम रूपमा थाहा भएको कुरा हो । तर अहिले कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएका व्यक्तिहरू देशको राजनीतिमा हावी हुन थालेको देखिएको छ । यस प्रकारका व्यक्तिहरूमा कति जेनजी वा अमेरिकी साम्राज्यवादद्वारा परिचालित तत्त्वहरूको ठुलो सङ्ख्या छ । तिनीहरूमध्ये २३ गतेको जेनजीको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने वा २४ गतेको देशव्यापी तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरू पनि ठुलो सङ्ख्यामा सामेल भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यदि त्यस प्रकारका तत्त्वहरू नै सत्तामा जान्छन् भने त्यो अवस्थामा देशमा शान्ति, सुव्यवस्था, सुशासन वा विकासमा मद्दत पुग्ने होइन, देशमा गम्भीर प्रकारको अवस्था अराजकता वा दण्डहिनताको स्थिति नै उत्पन्न हुने बढी सम्भावना रहनेछ । युक्रेनमा कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएको जेनेस्की जस्तो व्यक्ति सत्तामा जाँदा त्यहाँ युद्ध र विनाशको स्थिति उत्पन्न भएको उदाहरण हाम्रा अगाडि छ । नेपालमा पनि त्यस प्रकारको स्थिति उत्पन्न हुने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । आखिरमा देश कुन दिशामा जान्छ ? त्यसका लागि निर्णयात्मक व्यक्ति जनता नै हुन्, तर जनताले सही भूमिका त्यो बेला नै खेल्न सक्दछन् जब उनीहरूमा सही राजनीतिक चेतना हुन्छ । तर जनताको चेतना एक वा अर्को प्रकारले विकृत हुन गयो भने लोकप्रियतावादी जनमत हावी हुन्छ र त्यसबाट लोकप्रियतावादी शक्तिहरूलाई नै मद्दत पुग्दछ । संसारमा धेरै देशमा त्यस्तो हुँदै आएको छ । त्यस प्रकारको लोकप्रियतावादी मतले नै जर्मनीमा हिटलर विजय भएको थियो र स्वयं जर्मनी र विश्वमा पनि त्यसको कति भयानक परिणाम भएको थियो ? विश्वको इतिहास त्यसको साक्षी छ । अहिले नेपालमा पनि त्यस प्रकारको लोकप्रियतावादी जनमत भएको हुनाले नै गै जेनजीहरू वा अमेरिकाद्वारा सञ्चालित तत्त्वहरू चुनावमा ठुलो परिमाणमा विजय हुन पुगेका छन् । त्यसको अन्तिम समाधान भनेको जनताको उच्च प्रकारको राजनीतिक चेतना नै हो । देशमा त्यस प्रकारको चेतना उठाउनका लागि हामीले योजनावद्ध र सङ्गठित रूपले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top