Nepal communist party

प्रेस वक्तव्य (२०८२ चैत्र २४ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

अमेरिकाले इरानमाथि भोलिभयानक प्रकारले आक्रमण गर्ने र इरानलाई पूरै नै तहसनहस पार्ने धम्की दिएको छ । अमेरिकाले इरानलाई ४५ दिनको युद्धविरामको प्रस्ताव दिएको छ र त्यसलाई स्वीकार नगरेमा भीषण आक्रमण गर्ने चेतावनी दिएको छ । त्यो आक्रमण खाली सैनिक क्षेत्रमा मात्र नभएर नागरिक क्षेत्रमा पनि हुने बताएको छ । अमेरिकाले पहिले इरानमाथि आक्रमण गरेर त्यसलाई ढुङ्गे युगमा पुर्‍याइदिने धम्की दिएको थियो । अब त्यो धम्की अरू उग्र रूपमा अगाडि आएको छ ।
इरानले अमेरिकाको ४५ दिनको युद्धविरामको प्रस्तावलाई सिधै अस्वीकार गरेको छ र त्यसको ठाउँमा पूरै युद्ध बन्द गर्ने प्रस्ताव राखेको छ । यो कुरा बुझ्न गाह्रो पर्दैन कि अमेरिकाको ४५ दिने युद्धविरामको प्रस्ताव पुन: अरू ठुलो आक्रमणका लागि समय लिनु नै हो । त्यसकारण त्यसले वास्तवमा कुनै अर्थ राख्दैन । त्यसको बदलामा इरानले पूरै युद्ध बन्द गर्नुपर्ने जुन प्रस्ताव राखेको छ, त्यो बढी तर्कसङ्गत र न्यायसङ्गत पनि छ । पहिले कतिपयपल्ट त्यस प्रकारका युद्धविरामपछि अमेरिका वा इजरायलले पुन: इरानमाथि आक्रमण गरेका थिए । गाँजापट्टीमा गरिएका युद्धविरामपछि पनि बारम्बार पुन: आक्रमण गर्ने गरिएको थियो । त्यसरी यो स्पस्ट छ कि युद्धविरामको प्रस्तावका पछाडि वास्तवमा शान्ति कायम गर्ने होइन, युद्धलाई अरू उच्च रूप दिनु नै हो । त्यसैले त्यो युद्धको वास्तविक समाधान होइन । त्यसैले त्यसको जबाफमा युद्धलाई पूरै समाप्त गर्ने इरानले जुन प्रस्ताव राखेको छ, त्यसको औचित्यता स्पष्ट छ ।
अमेरिकाले अहिले संसारका कैयौँ देसलाई कब्जा गर्ने वा त्यहाँ आक्रमण गर्ने नीति अपनाइरहेको छ । त्यसले ग्रीनल्याण्डलाई कब्जा गर्ने, क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने वा पनामा नहरमा आधिपत्य कायम गर्ने जस्ता आक्रामक नीतिहरूको घोषणा गरिरहेको छ । त्यसले भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण गरेको छ र क्युवामाथि पनि आक्रमण गर्ने घोषणा गरेको छ । अमेरिकाको आडमा नै इजरायलले खाडीका कैयौँ देसमा आक्रमण गर्ने गरेको छ र साढे ७ दशकदेखि प्यालेस्टाइनको भूमिमा कब्जा गरेको छ । त्यसले गाँजामा करिब ७० हजार नागरिकहरू, जसमा ठुलो सङ्ख्यामा महिला र केटाकेटीहरू पनि छन्,को नरसंहार गरेको छ । त्यस प्रकारका युद्ध अपराधका लागि अन्तर्राष्ट्रिय अदालतले उसलाई युद्ध अपराधी घोषित गरेर त्यसका नाममा पक्राउ पुर्जी पनि जारी गरेको छ । त्यसले अहिले पनि अमेरिकाको मदतमा इरानमाथि लगातार आक्रमण गरिरहेको छ ।
ट्रम्पको त्यस प्रकारका आतङ्कवादी नीतिका विरुद्ध त्यसको सम्पूर्ण विश्वसित नै अन्तर्विरोध बढेर गएको छ । रूस, चीन र उत्तर–कोरिया जस्ता देसहरूसित मात्र होइन, स्वयम् भारतसित पनि त्यसको अन्तर्विरोध बढेर गएको छ । स्वयम् नाटोका देसहरूसित पनि त्यसको अन्तर्विरोध तिब्र बन्दै गइरहेको छ । अमेरिकामा ट्रम्पको युद्ध नीतिका कारणले स्वयम् सेनामा पनि त्यसका विरुद्ध आक्रोश बढ्दै गइरहेको छ र त्यसको परिणामस्वरूप सेनाका कैयौँ उच्चपदस्त अफिसरहरूले सेनाबाट राजिनामा दिने काम गरिरहेका छन् वा ट्रम्पले उनीहरूलाई अपदस्त गर्दै गइरहेका छन् । अमेरिकामा ८०÷९० लाख जनता अमेरिकाका विरुद्ध प्रदर्शनमा उत्रेका छन् र उनका विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने कुरा पनि जोडदार रूपले उठिरहेको छ । त्यसरी जुन ट्रम्पले इरानलाई ढुङ्गे युगमा पुर्‍याइदिने कुरा गरिरहेका छन्, स्वयम् उनको स्थिति नै सम्पूर्ण विश्वमा र स्वयम् अमेरिकामा पनि कमजोर हुँदै गएको कुरा तथ्यहरूले बताउँछन् ।
यसको लागि हामीले इरानी जनतालाई बधाई दिन्छौँ कि उनीहरूले अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी आतङ्कको विरतापूर्वक प्रतिरोध गरिराखेका छन् । वास्तवमा उनीहरूको अमेरिकी साम्राज्यवादको युद्ध खाली इरानको मात्र होइन, सम्पूर्ण विश्वका जनताको साम्राज्यवादका विरुद्धको युद्धको अभिन्न अङ्ग हो । त्यसकारण त्यसलाई समर्थन गर्नु सम्पूर्ण विश्व र नेपालका जनताको पनि अन्तर्राष्ट्रिय दायित्व हुन्छ । हामीलाई विश्वास छ, अन्त्यमा अमेरिकी साम्राज्यवादको पराजय हुने छ र त्यो पराजयले सम्पूर्ण विश्वलाई विश्वयुद्ध र आणविक युद्धबाट पनि बचाउने छ ।
अहिले इरानी जनताबाट लगातार पराजयको सामना गरिरहेको अमेरिकाले इरानलाई ढुङ्गे युगमा पुर्‍याउन आणविक बमको पनि प्रहार गर्ने त होइन ? त्यो आशङ्का पनि धेरैतिर उठाउने गरिएको छ । यदि त्यसो भएमा विश्वमा आणविक युद्ध सुरू हुने छ र त्यसबाट सम्पूर्ण मानवजातिलाई ठुलो क्षति पुग्ने छ । त्यस प्रकारको कुनै प्रयत्नका विरुद्ध तथा विश्व शान्तिको पक्षमा पनि विश्वव्यापी रूपमा आवाज उठाउनु अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता भएको छ, सायद विश्व इतिहासको नै मानवजातिको सबैभन्दा ठुलो आवश्यकता । वास्तवमा अहिले इरानी जनताले जीवन मरणको लडाई लडिरहेका छन् । उनीहरूको त्यस प्रकारको लडाई सम्पूर्ण विश्वको जीवनमरणको लडाई बन्न पुगेको छ । त्यसकारण हामीले इरानी जनताको विजयको हार्दिक कामना गर्दछौँ ।
२०८२ चैत्र २४ गते

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top