काठमाडौँ, असार २१। क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति (ICOR)ले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै विश्वभरका क्रान्तिकारी तथा प्रगतिशील शक्तिबीच अन्तर्राष्ट्रिय एकता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।
पत्रकार सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले आ–आफ्ना देशको समसामयिक राजनीतिक अवस्था, जनआन्दोलन, श्रमिक तथा किसान आन्दोलन र वामपन्थी राजनीतिक गतिविधिबारे जानकारी गराउनुभएको थियो। उहाँहरूले विश्वका विभिन्न क्षेत्रमा विकसित राजनीतिक घटनाक्रम, साम्राज्यवाद, युद्ध, लोकतान्त्रिक अधिकार तथा जनसंघर्षका विषयमा समेत धारणा राख्नुभएको थियो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, ICOR का एसिया संयोजक तथा भारतको मासलाइनका प्रतिनिधि अतिक चक्रवर्ती, ICOR का मुख्य संयोजक तथा जर्मनीको मार्क्सवादी–लेनिनवादी पार्टी (MLPD)की प्रतिनिधि मोनिका गार्टनर–एन्जेल, ICOR का एसिया सहायक संयोजक फिरोज (बङ्गलादेश) तथा भारतको सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया (SUCI)का नेता अरुण कुमार सिंहले सम्बोधन गर्नुभएको थियो।
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक विषयमा राखेका जिज्ञासाको प्रतिनिधिहरूले जवाफ दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन सुवास जी.सी.ले गर्नुभएको थियो।