Nepal communist party

प्रेस वक्तव्य (२०८३ असोज ०३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

आज नेपालको ११ औँ संविधान दिवस हो र त्यसबारे देशव्यापी रूपमा उत्सव मनाउने काम भइरहेको छ । तर त्यसरी संविधान दिवसको उत्सव मनाउने बेलामा त्यसलाई मृत्यु शैयामा पुर्‍याउन षडयन्त्र भइरहेको र त्यसको रक्षाको लागि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकताप्रति पनि नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
हामीले स्पष्ट शब्दमा यो बताउन चाहन्छौँ कि हाम्रो रणनीतिक उद्देश्य यो संविधान र त्यसमाथि आधारित संसदीय प्रणालीलाई समाप्त गर्ने हो । तर त्यसका साथै हामीले त्यसको रक्षामा पनि जोड दिइरहेका छौँ । हाम्रा यस प्रकारका दुवै नीतिहरूका बिचमा कुन प्रकारको तालमेल वा अन्तर्विरोध छ, त्यसबारे स्पष्टताको आवश्यकता छ ।
आजको रणनीतिक आवश्यकता वर्तमान संविधान वा व्यवस्थालाई समाप्त गरेर त्यसलाई अग्रगामी दिशा प्रदान गर्नु हो । त्यसको अर्थ हुन्छ विद्यमान पुँजीवादी व्यवस्थाका स्थानमा नयाँ जनवादी संविधान वा व्यवस्थाको निर्माण गर्नु । तर त्यसको ठाउँमा वर्तमान संविधान वा व्यवस्थालाई समाप्त गरेर देशलाई प्रतिगमनको दिशामा लैजानका लागि जुन प्रयत्न भइरहेका छन्, त्यसलाई रोक्नु पनि अहिले राष्ट्रिय आवश्यकता भएको छ । अग्रगामी उद्देश्य पूरा गर्नका लागि वर्तमान संविधानलाई समाप्त गर्नुपर्दछ । तर त्यसका साथै देशलाई प्रतिगमनको दिशामा लैजानका लागि वर्तमान संविधानलाई समाप्त गर्ने सबै प्रयत्नहरूका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नु पनि अहिलेको ऐतिहासिक आवश्यकता हो । त्यसैले आज संविधान दिवसलाई हामीले त्यही प्रकारको द्वन्द्वात्मक दृष्टिकोणले नै हेर्नुपर्छ भन्ने हाम्रो दृढ मत छ ।
राजावादीहरूले वर्तमान संविधानलाई खारेज गर्नको लागि सुरुदेखि नै सङ्गठित र योजनाबद्ध प्रकारले प्रयत्न गर्दै आएका छन् । त्यसका पछाडिको उनीहरूको उद्देश्य गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नु र देशलाई राजतन्त्र र हिन्दु राज्यको स्थापना गर्नु हो । नेपाली जनताको पुग–नपुग एक शताब्दी लामो सङ्घर्ष तथा त्याग र बलिदानको गौरवमय इतिहासपछि नै देशमा गणतन्त्र कायम भएको छ । त्यसकारण त्यो ऐतिहासिक उपलब्धिलाई समाप्त गर्ने र देशलाई पुन: राजतन्त्रको दिशामा फर्काउने कुनै पनि प्रयत्न नेपाली जनतालाई सह्य हुने छैन र त्यस प्रकारका कुनै पनि प्रयत्नका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नु नेपाली जनताको कर्तव्य हुन्छ । त्यसका साथै नेपाल बहुधार्मिक जनताको देश हो र त्यसैले सबै धर्महरूको स्वतन्त्रता र संरक्षण हुनु राष्ट्रिय आवश्यकता हो । धर्मनिरपेक्षताले नै देशका सबै धर्महरूको संरक्षण गर्दछ र स्वतन्त्रता पनि प्रदान गर्दछ । त्यसैले नेपाल जस्तो बहुधार्मिक देशका लागि धर्मनिरपेक्षतालाई समाप्त गरेर कुनै एउटा धर्मलाई राज्यको धर्म बनाउने कार्यलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । तर यहाँ यो स्पष्ट हुनुपर्दछ कि पूर्व राजा वा राजावादीहरूले राजतन्त्रको पुनस्र्थापना गर्नका लागि नै हिन्दु राज्यको विचारलाई हतियारका रूपमा प्रयोग गरिराखेका छन् र धर्मनिरपेक्षताको विरोध गरिरहेका छन् । नेपालको इतिहास यो कुराको साक्षी छ कि नेपालमा निरङ्कुश शासन वा राजतन्त्रको विरुद्धको सङ्घर्षमा बहुसङ्ख्यक हिन्दुहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसकारण हिन्दु धर्मको नाममा राजतन्त्रको पुनस्र्थापना गर्ने सोचाइ हिन्दुहरूको लागि पनि स्वीकार्य नहुने कुरा प्रस्ट छ ।
विद्यमान सरकारले पनि वर्तमान संविधान वा विद्यमान बहुदलीय व्यवस्थालाई समाप्त गर्नका लागि सुनियोजित प्रकारले षड्यन्त्र गरिरहेको छ । उनीहरूले संविधानमा संशोधनको लागि जुन आयोग बनाएका छन् त्यसको पनि मुख्य उद्देश्य विद्यमान संविधानलाई पूरै खारेज गर्नु र देशमा फासिस्ट शासन कायम गर्नु नै हो । वास्तवमा वर्तमान सरकारले संविधानमा संशोधन होइन, त्यसको पूरै पुनर्लेखनका लागि नै योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । संविधानमा संशोधनको पछाडिको उनीहरूको मुख्य उद्देश्य देशमा फासिस्ट शासन कायम गर्नु नै हो । त्यसका लागि उनीहरूको मुख्य जोड जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखमा रहेको छ । बताइरहनु पर्ने आवश्यकता छैन कि त्यसका पछाडिको उनीहरूको उद्देश्य देशमा फासिस्ट शासन कायम गर्नु नै हो । त्यसका साथै उनीहरूले छद्म रूपमा राजतन्त्रको पुनस्र्थापनाका लागि पनि प्रयत्न त गरिरहेका छैनन् ? त्यो प्रश्नलाई पनि नउठाइकन रहन सकिन्न । उक्त दुवै अवस्थामा फासिस्ट शासनको स्थापनाको उद्देश्य पूरा गर्नका लागि वर्तमान संविधानलाई समाप्त गर्न प्रयत्न भइरहेको छ । आज देशव्यापी रूपमा संविधान दिवसको उत्सव मनाउने कार्य भइरहेको बेलामा संविधानका विरुद्ध भइरहेको त्यस प्रकारको साङ्घातिक हमलाका विरुद्ध पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।
नेपालको संविधानमा सङ्घीयतालाई पनि समावेश गरिएको छ । हामीले वर्तमान संविधानको रक्षाका लागि पूरा जोड लगाए पनि सङ्घीयतालाई हामीले सुरुदेखि नै विरोध गर्दै आएका छौँ र अहिले पनि दृढतापूर्वक त्यसको विरोध गर्दछौँ । सङ्घीयता नेपाली जनताको माग वा आन्दोलनको परिणाम होइन र त्यसलाई विदेशी शक्तिहरूको दबाबमा नै पारित गरिएको हो र त्यसले नेपाली जनताको हितको प्रतिनिधित्व गर्दैन । हामीले सधैँ यो कुरा स्पष्ट गर्दै आएका छौँ कि त्यसको परिणाम स्वरूप नेपालको राष्ट्रियता र अखण्डताको विघटन र देशमा जातीय र क्षेत्रीय विग्रहको खतरा छ । सङ्घीयताका लागि हुने अनावश्यक आर्थिक बोझका कारणले देशको विकास पनि कुण्ठित हुने कुरा निश्चित छ । त्यसकारण नेपाली जनताको सर्वाङ्गीण हितका लागि सङ्घीयता नेपालको ऐतिहासिक र राष्ट्रिय आवश्यकता होइन ।
नेपालको राजनीतिक इतिहास यो कुराको साक्षी छ कि नेपालमा संविधान सभाको चुनाव वा संविधानको निर्माणमा मुख्य भूमिका नेपाल कम्युनिस्ट पार्टी (मसाल)को नै रहेको छ । २००७ सालको अन्तरिम संविधानमा संविधान सभाको चुनावको व्यवस्था गरिएको भए पनि पछि तत्कालीन राजाहरूले देशमा आफ्नो निरङ्कुश शासन कायम गर्नका लागि त्यसको चुनावलाई खारेज गर्न लगातार प्रयत्न गरिरहे । सुरुमा नेपाल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेस सहित विभिन्न राजनीतिक पार्टीहरूले संविधान सभाको चुनावका लागि संयुक्त रूपले सङ्घर्ष गरेका थिए र पछि अन्य सबै राजनीतिक पार्टीहरूले संविधान सभाको नारालाई छाड्दै गए । प्रधानमन्त्री पदका लागि टङ्कप्रसाद आचार्य र केआईसिंहले त्यो नारालाई छाडिदिए । बीपीकोइरालाको नेतृत्वको नेपाली काङ्ग्रेसले पनि त्यो नारालाई परित्याग गर्‍यो । पछि त्यसको असर हाम्रो पार्टीमा पनि पर्‍यो । डाक्टर केशरजङ्ग रायमाझीले राजावादी लाइन अपनाएर उनको नेतृत्वमा हाम्रो पार्टीको बहुमतले पनि त्यो नारालाई त्याग्यो । तर कमरेड पुष्पलाल, कमरेड शम्भुराम र कमरेड मोहनविक्रम समेतको अल्पमतले पार्टीभित्र संविधान सभाको पक्षमा लगातार सङ्घर्ष गर्‍यो । तर दरभङ्गा प्लेनममा आउँदा पुष्पलाल र शम्भुरामले पनि त्यो नारालाई छाडिदिए र केन्द्रीय कमिटीमा मोहनविक्रम एक्लैले त्यो नाराको पक्षमा अडान लिए । तर केन्द्रीय कमिटीमा कमरेड मोहनविक्रम एकजना मात्र भए पनि कमरेड निर्मल लामा र कमरेड हिरण्यलाल सहित देशभरका कमरेडहरूको अत्यधिक बहुमतले संविधान सभाको चुनावको नारालाई पारित गर्‍यो । त्यसपछि पनि संविधान सभाको पक्षमा हाम्रो सङ्घर्ष लगातार चलिरह्यो । २०४८ सालमा भएको संसदको चुनावको बेलामा संयुक्त जनमोर्चा नेपाल, एमाले, नेपाली काङ्ग्रेस आदिले राजाले दिएको संविधानको आधारमा संसदीय चुनावमा भाग लिए तर हाम्रो पार्टीले संविधान सभाको चुनावको माग गर्दै त्यो चुनावको बहिष्कार गरेको थियो । त्यसैले माथिका केही उदाहरणहरूबाट प्रस्ट हुन्छ कि संविधान सभाको चुनावको पक्षमा ने.क.पा.(मसाल)को अत्यन्त लामो र गौरवपूर्ण इतिहास रहेको छ । अर्का शब्दमा नेपालको राजनीतिक इतिहासमा ने.क.पा.(मसाल) मात्र एउटा यस्तो राजनीतिक पार्टी हो जसले सधैँ एक्लै दृढतापूर्वक र लगातार संविधान सभाको चुनावका लागि सङ्घर्ष गर्दै आएको छ ।
पहिलो संविधान सभामा संविधानको निर्माणको क्रममा देशलाई जातिवाद वा क्षेत्रीयतावादतर्फ लैजानका लागि धेरै प्रयत्न गरिएका थिए । तर त्यो बेला हाम्रो पार्टी वा राष्ट्रिय जनमोर्चाले जातिवाद वा क्षेत्रीयतावादी प्रकारको संविधानको निर्माणका विरुद्ध लगातार सङ्घर्ष गरेको थियो ।
पहिलो संविधान सभाको विघटन भएपछि संविधानको निर्माण कसरी गर्ने, त्यसबारे बेग्लाबेग्लै प्रकारका मतहरू देखापरेका थिए । तर त्यो अवस्थामा पनि हाम्रो पार्टीले अन्य सबै विकल्पहरूलाई अस्वीकार गरेर संविधान सभाको चुनावमा नै जोड दिएको थियो र अन्तमा संविधान सभाको चुनाव भएर त्यसद्वारा संविधानको निर्माण भएको थियो । त्यसरी नेपालमा संविधान सभाको चुनाव र संविधानको निर्माणमा ने.क.पा. (मसाल), हाम्रो पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा वा हाम्रा नजिकका जनवर्गीय सङ्गठनहरूको अत्यन्त ठुलो र ऐतिहासिक योगदान रहेको कुरामा कुनै शङ्का रहन्न । त्यस प्रकारको पृष्ठभूमिमा अहिले विभिन्न प्रतिगामी शक्तिहरूबाट संविधानमाथि प्रहार भएको बेलामा त्यसको रक्षाका लागि हाम्रो पार्टी अग्रिम मोर्चामा अगाडि आउनु स्वाभाविक नै हुन जान्छ ।
हामीलेमाथि राजावादी वा फासीवादी दिशाबाट पनि संविधानमाथि प्रहार भइरहेको कुराको चर्चा गर्‍यौँ । त्यसका साथै क्षेत्रीयतावादी वा जातिवादी तत्त्वहरूले पनि वर्तमान संविधानमाथि हमला गर्ने कार्य गरिरहेका छन् । त्यस सन्दर्भमा “वामपन्थी” सङ्कीर्णवादी दिशाबाट पनि संविधानमाथि हमला भइरहेको कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कतिपय वामपन्थी साथीहरूले नयाँ जनवाद वा समाजवादी संविधानको निर्माणमा जोड दिँदै वर्तमान संविधान वा त्यसमाथि प्रतिक्रियावादी दिशाबाट भइरहेको आक्रमणप्रति ध्यान दिने गरेका छैनन् । त्यसबारे उनीहरूले यो दृष्टिकोण सार्वजनिक गर्ने गरेका छन् कि वर्तमान संविधान वा व्यवस्था रहे पनि वा गए पनि त्यो उनीहरूको सरोकारको विषय होइन । त्यसरी उनीहरूले प्रकारान्तरले वर्तमान संविधानमाथि भइरहेको प्रतिगामी हमलालाई मद्दत पुर्‍याउने काम गरिरहेका छन् । प्रकट रूपमा उनीहरूको त्यस प्रकारको सोचाइ क्रान्तिकारी जस्तो देखिन्छ तर उनीहरूको त्यस प्रकारको सोचाइ माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा द्वन्द्ववादलाई ठिकसँग नबुझ्नुको परिणाम हो । तर हामीलाई के लागिरहेको छ भने उनीहरूको त्यस प्रकारको चिन्तनका पछाडि कुनै गलत नियतले भन्दा उनीहरूको चिन्तनमा भएको अधिभूतवादी सोचाइको असरको परिणाम हो । तर देशमा अहिले जसरी पुनरुत्थानवादी वा फासिस्ट शक्तिहरूको क्रियाकलाप बढ्दै गइरहेको छ र संविधानद्वारा प्रदत्त सामान्य प्रकारका पुँजीवादी अधिकारहरूमाथि पनि आक्रमण बढ्दै गइरहेको छ, त्यसले गर्दा उनीहरूको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तन हुन थालेको देखिन्छ । त्यो स्वागतयोग्य कुरा हो र त्यसबाट प्रतिगमनका विरुद्धको सङ्घर्षमा योगदान पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ ।
अन्तमा, आज देशमा संविधान दिवसको उत्सव मनाउने बेलामा संविधानमाथि भइरहेको हमलाप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । अग्रगामी उद्देश्यहरू पूरा गर्न हामीले अझै लामो सङ्घर्ष गर्नुपर्ने छ । तर त्यसका साथै नेपाली जनताले लामो सङ्घर्ष तथा त्याग र बलिदानद्वारा प्राप्त गरेका उपलब्धिहरू नखोसिउन् त्यसप्रति पनि गम्भीर ध्यान जानुपर्ने आवश्यकताप्रति ने.क.पा. (मसाल)ले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
२०८३ असोज ०३ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top