Nepal communist party

प्रेस वक्तव्य (२०८३ असोज १२ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

अविरल वर्षा र बाढीका कारणले देशका विभिन्न भागमा ठुलो जनधनको क्षति भएको छ । कैयौँ मानवबस्ती बाढीद्वारा बगाइनुका साथै कैयौँ जनाको ज्यान पनि गएको छ । हामीले त्यसरी भएको जनधनको क्षतिको लागि गहिरो दु:ख प्रकट गर्दछौँ । ती भवितव्यमा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली र सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । यसका साथै बस्ती पुनर्निर्माण र पीडितहरूलाई आवश्यक राहतको शीघ्र व्यवस्था मिलाउन हामीले सरकारसँग माग गर्दछौँ ।
विश्वमा जीवन विनाशका ठुला ठुला प्राकृतिक घटनाहरू भइरहेका छन् । यसरी घटना हुनुमा पर्यावरणीय सन्तुलनमाथि गरिएको आक्रमण नै सबैभन्दा बढी जिम्मेवार रहेको छ । व्यापक कार्वन उत्सर्जनका कारण वायुमण्डलीय ओजनतहमा परेको गम्भीर असर र हरितगृहका भयानक परिणामबारे वैज्ञानिकहरूले धेरै पहिलेदेखि नै सचेत गराउँदै आएका छन् । तर साम्राज्यवादी राष्ट्रहरूले कार्वन उत्सर्जनका गतिविधिलाई तीव्र पार्दै लगेका छन् र उनीहरूको त्यस प्रकारको अपराधजन्य कार्यबाट निर्दोष मानवजातिले ठुलो विपत्ति भोग्नु परेको छ । हरितगृह ग्यासको मात्रा बढ्नाले पृथ्वीको तापक्रममा निरन्तर वृद्धि हुँदै गएको र त्यसबाट पर्यावरण तथा मानव जीवनमा गम्भीर असर पर्न थालेका परिणामहरू स्पष्ट रूपमा अगाडि आउन थालेका छन् । हिमनदी तथा धु्रवीय बरफ तीव्र रूपमा पग्लिने क्रमबाट समुद्री सतह बढ्ने सम्भावना प्रबल बन्दै गएका छन् । बाढीको जोखिम व्यापक भएका छन् र कतिपय क्षेत्रमा खेडेरी तथा पानीको अभाव हुने सम्भावना बढेर गएको छ । जलवायुमा आएको यस प्रकारको परिवर्तनले अत्यधिक गर्मी, अनियमित वर्षा, बाढी, पहिरो, हुरीबतास, आँधी, डढेलो जस्ता घटना बढिरहेका छन् । एकातिर, जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्रमा पनि पर्न गएको छ, जसका कारण कृषि उत्पादनमा धेरै नै कमी आउन थालेको छ । कृषिमा उत्पादनमा आउने यस प्रकारको समस्याले खाद्य असुरक्षाको स्थितिलाई गम्भीर बनाउने निश्चित जस्तै छ । अर्कातिर, वनस्पति र वन्यजन्तुको प्राकृतिक वासस्थान ध्वंस हुँदै जाने र त्यसबाट जैविक विविधता घट्न सक्ने गम्भीर समस्यालाई पनि मानवजातिले भोग्नुपर्ने त छँदैछ, तर त्यसका साथै पर्यावरणलाई सन्तुलित गर्न नसकेमा मानवजाति र सम्पूर्ण प्राणी जगतको नै विनाश हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
नेपालले जनवायु परिवर्तनको गम्भीर परिणामको अहिले सामना गरिरहेको छ । भोटेकोशी बाढी हिमनदी र हिमतालको विष्फोटको परिणामका रूपमा हामी सबैको अगाडि छ । त्यसबाट भएको अकल्पनीय क्षतिले देखाउँछ कि पर्यावरणीय असन्तुलनले भविष्यमा मानवजातिका साथै सम्पूर्ण प्राणीजगतको अस्तित्वलाई समाप्त गर्न सक्दछ । यदि पर्यावरण संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा अहिलेको यो स्थितिमा वृद्धि भएर अरू भयानक परिणाम अगाडि आउने कुरा निश्चित जस्तै छ ।
हाम्रो पार्टीले धेरै वर्ष अगाडिदेखि पर्यावरण विषयलाई लिएर सशक्त आवाज उठाउँदै आएको छ । विगतमा हामीले यो कुरामा जोड दिएका थियौँ कि जलवायु परिवर्तन मानवजातिका लागि गम्भीर समस्या हो र यसले विनाशतर्फ धकेलिरहेको छ । हामीले पर्यावरणीय समस्या हाम्रो देशका लागि गम्भीर हुने छ भनेर जुन कुरा विगतदेखि नै भन्दै आएका थियौँ, त्यो अहिले व्यवहारमा पनि प्रमाणित हुँदै गइरहेको छ । त्यसरी समस्याहरूको समाधानका लागि पूर्व सतर्कता अपनाउनु आवश्यक छ । पहिलो कुरा त पर्यावरण सन्तुलनमा समस्या आउनुमा साम्राज्यवादी मुलुकहरू नै मुख्य दोषी छन् र उनीहरूको त्यस प्रकारको अपराधका विरुद्ध विश्व मानवजातिले सशक्त आवाज उठाउनुपर्छ, र नेपालको सरकारले पनि साम्राज्यावादीहरूको उक्त अपराधका विरुद्धमा आफूलाई खडा गर्न सक्नुपर्दछ । दोस्रो कुरा, पर्यावरणीय सङ्कट आउनु पूर्व नै उचित पहलकदमी लिएर सरकारले जनधनको रक्षा गर्नुपर्दछ । तेस्रो कुरा, पर्यावरण रक्षाका लागि भएका मानवसङ्घर्षहरूसित ऐक्यवद्ध हुनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।
विश्वव्यापी रूपमा पर्यावरणीय सन्तुलनमा आएको गडबडीलाई न्यूनीकरण गर्न स्वयं मानवजाति नै अग्रपङ्क्तिमा उभिनुको विकल्प छैन । यो सन्दर्भमा हामीले यो बताउन चाहन्छौँ कि विगतमा हाम्रो पार्टीको आयोजनमा अन्तर्राष्ट्रिय स्तरका पर्यावरण सम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन् । नेपालमा सार्क देसहरूको सम्मेलन भइरहेको बेलामा सम्पन्न उक्त अन्तर्राष्ट्रिय पर्यावरणीय सम्मेलनले सार्क सम्मिलित राष्ट्रहरूको ध्यान आकर्षण गराउने उद्देश्यले काठमाडौ घोषणापत्र समेत जारी गरेको थियो । उक्त घोषणापत्रले पर्यावरणीय सङ्कट र त्यसका गम्भीर परिणामलाई स्पष्ट रूपमा उल्लेख गरेको थियो । त्यो सन्दर्भमा यो पनि बताउन चाहन्छौँ कि पर्यावरण सङ्कटको विषयलाई लिएर विभिन्न देशका साम्राज्यवाद विरोधी सङ्गठनहरू सम्मिलित अन्तर्राष्ट्रिय सङ्गठन आइकोरले छिट्टै अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गर्दै छ र उक्त सेमिनारमा हाम्रो पार्टीले पनि आफ्ना प्रतिनिधिहरू पठाउँदै छ । हामीले आशा गर्दछौँ कि उक्त सेमिनारले विश्वमा बढ्दो पर्यावरणीय समस्याका विषयमा गम्भीर अन्तरक्रिया गर्ने छ र पर्यावरण अपराधका विरुद्धको सङ्घर्षलाई व्यापक बनाएर लैजान महत्त्वपूर्ण योगदान दिनेछ ।
२०८३ असोज १२ गते ।

रामप्रकाश पुरी
(प्रवक्ता)

पार्टी गतिविधि

Translate »
Scroll to Top