इरान र प्यालेस्टाइनमाथि इजरायल र अमेरिकाको आक्रमण विरुद्ध नौ वामपन्थी पार्टी तथा व्यक्तित्वहरूले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । ‘इरान र प्यालेस्टाइनमाथिको अमेरिकी र इजरायली आक्रमण बन्द गर’ नाराका साथ २०८२ असार ११ गते बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको आयोजना नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एकीकृत समाजवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेकपा, वाम बुद्धिजीवी निनु चापागाईं र राजनीतिक संवाद थालनीले गरेका थिए ।
कार्यक्रममा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत मन्तव्य केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले वाचन गर्नुभएको थियो ।
राजमो अध्यक्ष चित्रबहादुर केसीले पनि लिखित मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका चिरन पुन सी, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी राजेश्वरी, राजनीतिक संवाद थालनीका सङ्गीत स्रोताले सम्बाेधन गर्नुभएकाे थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेल, सञ्चालन नेकपा (एकीकृत समाजवादी) का बलराम बासकोटाले तथा स्वागत मन्तव्य नेकपाका चिरञ्जीवी सीले गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमले साङ्गीतिक प्रस्तुत दिएका थिए ।