नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
अहिले देशमा वाम एकताको कुरा निकै उठिरहेको छ । त्यसबारे नेपाल कम्युनिस्ट पार्टी (मसाल)को दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
१. हाम्रो सुरुदेखि नै वामपन्थी शक्तिहरू मात्र होइन, प्रजातान्त्रिक शक्तिहरू समेतको कार्यगत एकता वा गठबन्धनमा जोड दिने नीति रहँदै आएको छ र अहिले पनि हाम्रो त्यो नीति कायम छ । एकातिर, देशमा जनताको महान जनआन्दोलनद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता तथा मौलिक अधिकार र बहुदलीय व्यवस्था तथा, अर्कातिर, देशको राष्ट्रियता, सार्वभौमिकता र एकता समेतका विरुद्ध बढिरहेको खतरामाथि ध्यान दिँदै हामीले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनमाथि जोड दिँदै आएका थियौँ र अहिले पनि दिन्छौँ । तर एकातिर, देशमा विभिन्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूका बिचमा आवश्यक राजनीतिक स्पष्टताको कमी र, अर्कातिर, न्यूनतम इमानदारिता समेतको कमीका कारणले त्यो कार्यमा बाधा पुग्ने गरेको छ । अहिले पनि त्यसमा कैयौ“ कमजोरीहरू रहेका छन् । त्यसले गर्दा गणतन्त्र र राष्ट्रियता समेतको आन्दोलन सशक्त रूपले अगाडि बढ्न सकिरहेको छैन । त्यसबाट प्रतिगामी र साम्राज्यवादी शक्तिहरूलाई धेरै मद्दत पुग्ने गरेको छ । त्यसकारण हामीले सम्बन्धित विषयमा आवश्यक समझदारी बढाउँदै वा सहमति भएका विषयहरूमा अधिकतम इमानदारिताको प्रदर्शन गर्दै वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूका बिचमा संयुक्त आन्दोलनलाई अगाडि बढाउन जोड दिनुपर्ने आवश्यकता छ । अहिले त्यो आवश्यकता झन् बढेर गएको छ ।
२. गतकालमा प्रतिगमनका विरुद्धको सङ्घर्षमा कैयौँपल्ट गठबन्धन हुने गरेको छ र त्यसका ऐतिहासिक उपलब्धिहरू पनि हुने गरेका छन् । जस्तै कि २०४६ साल र २०६२–६३ साल । ०४६ सालको संयुक्त आन्दोलनको परिणामस्वरूप निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था समाप्त भएको थियो भने ०६२–६३ को संयुक्त आन्दोलनको परिणामस्वरूप राजतन्त्र नै समाप्त भएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले दुईदुईपल्ट संसद्को विघटन गरेपछि वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूको संयुक्त आन्दोलनको कारणले नै उनको प्रतिगामी कदममाथि विजय प्राप्त भएको थियो । चुनावमा भएको तालमेलका पनि कैयौँ महत्वपूर्ण उपलब्धिहरू भएका थिए । तर विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरूले अपनाएका गलत नीति वा अन्तर्घातका कारणले त्यस प्रकारको गठबन्धन वा चुनावी तालमेलमा धेरै बाधा पुगेको थियो । त्यसबाट खाली त्यो बेला मात्र क्षति पुगेको थिएन, त्यसको असर अहिलेसम्म पनि परेको छ र त्यसले गर्दा अहिले पनि कार्यगत एकता वा गठबन्धनको निर्माणमा उत्साहजनक वातावरण तयार हुन सकिरहेको छैन । त्यसकारण त्यस प्रकारको स्थितिमा सुधारको लागि वा त्यस प्रकारका प्रवृत्तिहरूलाई पुनरावृत्ति हुन नदिनका लागि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ । अन्यथा देशमा कुनै पनि प्रकारको कार्यगत एकता वा गठबन्धन बन्न सक्ने छैन । अहिले देशमा प्रतिगमन वा साम्राज्यवादको जुन खतरा बढेको छ, त्यो अरू गम्भीर हुने छ र त्यसबाट देशमा दुरगामी दुष्परिणामहरू हुने छन् ।
३. गतकालमा मुख्य रूपले प्रतिगमनका विरुद्ध नै गठबन्धन बन्ने गरेका छन् । २०४६, २०६२–६३ वा ओलीको प्रतिगामी कदमका विरुद्धका गठबन्धनहरू त्यही प्रकारका थिए । तर देशका कतिपय प्रमुख वामपन्थी शक्तिहरू— माओवादी, एमाले वा नेका—मा देखापर्ने गरेको अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादपरस्त सोचाईहरूका कारणले पनि उनीहरूको साम्राज्यवादको प्रश्नमा कहिल्यै पनि सही समझदारी बन्न सकेन । त्यही कारणले राष्ट्रियताको प्रश्नमा पनि राष्ट्रिय स्तरमा कुनै कार्यगत एकता वा गठबन्धन बन्न सकेन । निश्चय नै ने.क.पा. (मसाल) सहित अन्य कतिपय वामपन्थी शक्तिहरूले राष्ट्रियताको प्रश्नमा पनि बारम्बार संयुक्त आन्दोलन सञ्चालन गर्ने प्रयत्न गर्दै आएका थिए । तर कतिपय “वामपन्थी” सङ्कीर्णवादी शक्तिहरूको “वामपन्थी” सङ्कीर्णवादी दृष्टिकोण, उनीहरूले विद्यमान गणतन्त्र वा बहुदलीय व्यवस्था समेतका बारे अपनाएको गलत समझदारी, र अंशतः राजावादीहरूलाई पनि संयुक्त आन्दोलनमा सामेल गर्ने नीतिका कारणले राष्ट्रियता वा साम्राज्यवादका विरुद्धको संयुक्त आन्दोलनमा पनि बाधा पुग्ने गरेको छ । त्यस प्रकारका गलत प्रवृत्तिहरू अहिले पनि विद्यमान छन् र प्रतिगमनका विरुद्ध वा राष्ट्रियताको प्रश्नमा संयुक्त आन्दोलनलाई सशक्त रूपले अगाडि बढाउनका लागि त्यस प्रकारका प्रवृत्तिहरूमा सुधारको आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ।
४. नया“ जनवादी क्रान्ति अहिलेको आधारभूत आवश्यकता हो । तर त्यो हाम्रो रणनीतिक उद्देश्य हो । तर कार्यनीतिक रूपमा विद्यमान गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थाको रक्षा तथा राष्ट्रियताको रक्षाका लागि साम्राज्यवादका विरुद्धको सङ्घर्ष अहिलेका तात्कालिक आवश्यकताहरू हुन् । तर कतिपय वामपन्थी शक्तिहरूले नेपालमा जनवादी क्रान्तिको आवश्यकता पूरा भइसकेको भन्दै समाजवादलाई अहिलेको रणनीतिक कार्यक्रमको रूपमा प्रस्तुत गरेका छन् भने कतिपय वामपन्थी शक्तिहरूले समाजवाद र नया“ जनवादलाई साथसाथै राखेर गम्भीर प्रकारका सैद्धान्तिक गल्तीहरू गर्दैछन् वा एक वा अर्को प्रकारले रणनीतिलाई नै कार्यनीतिका रूपमा प्रस्तुत गरेर क्रान्तिकारिताको प्रदर्शन गर्ने प्रयत्न गर्दैछन् । त्यसले गर्दा देशको तात्कालिक राजनीतिबारे उनीहरूको दृष्टिकोण माक्र्सवादी–लेनिनवादी सिद्धान्तका विरुद्ध वा अवस्तुवादी बन्न गएको छ । त्यस प्रकारका गलत धारणाहरूबाट देशको राजनीति वा संयुक्त आन्दोलनमा समेत धेरै बाधा पुग्ने गरेको छ । त्यसबाट प्रत्यक्ष रूपले फाइदा प्रतिक्रियावादी वा साम्राज्यवादपरस्त तवहरूलाई पुग्ने गरेको छ । त्यो अवस्थामा त्यस प्रकारका गलत सैद्धान्तिक सोचाइहरूका विरुद्ध दृढ सङ्घर्ष चलाउनुपर्ने आवश्यकता छ । त्यसरी नै देशमा संयुक्त आन्दोलनको पक्षमा सही चेतना उठाउन र आन्दोलनलाई सही धरातलमा स्थापित गर्नु सम्भव हुने छ।
५. हालैको चुनाव पछि देशमा जुन सरकार कायम भएको छ, त्यसबाट एकै साथ लोकतन्त्र र राष्ट्रियताका विरुद्धको खतरा धेरै नै बढेर गएको छ । वर्तमान सरकार अमेरिकी साम्राज्यवादको कठपुतली सरकार भएको कुराता प्रस्ट नै छ । त्यसका साथै त्यसले अपनाउ“दै गएका गतिविधिहरू र संविधानको संशोधनबारे त्यसले प्रकट गर्दै गरेका अभिव्यक्तिहरूबाट देश फासीवादतिर जाने सङ्केत स्पष्ट रूपमा नै देखा पर्दै गएको छ भने त्यसले योजनाबद्ध प्रकारले राजतन्त्रको पुनस्र्थापनाका लागिछद्म रूपले काम त गरिरहेको छैन? त्यो आशङ्का बढ्दै गइरहेको छ । कतिपय वामपन्थी वा प्रजातान्त्रिक राजनीतिक शक्तिहरूले वर्तमान सरकारले फासीवादको रूप लि“दै गएको कुरालाई त बुझ्दै गएको देखिन्छ, तर त्यसले साम्राज्यवाद, मुख्य रूपले अमेरिकी साम्राज्यवाद,को पक्षमा काम गरिरहेको कुरालाई सही प्रकारले बुझ्न सकिरहेको पाइ“दैन । त्यस प्रकारको राजनीतिक अस्पष्टताका कारणले पनि वर्तमान सरकारका विरुद्ध संयुक्त आन्दोलनलाई अगाडि बढाउन बाधा पुगिरहेको छ।
६. उक्त सबै प्रकारका सैद्धान्तिक, राजनीतिक समस्याहरूका बावजुद एकातिर, अधिकतम राजनीतिक स्पष्टता ल्याउनका लागि प्रयत्न गर्दै, अर्कातिर, वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरूको बिचमा जे जति प्रश्नमा सहमति कायम हुन सक्दछ, त्यसका आधारमा संयुक्त आन्दोलनलाई अगाडि बढाउनका लागि हामीले पहल गर्दै जानुपर्छ । कतिपय वामपन्थी शक्तिहरूले एकतर्फी रूपमा खाली वामपन्थी शक्तिहरूको बिचको एकतामा नै जोड दिने गर्दछन् । तर आज देशमा जुन प्रकारको राजनीतिक स्थिति छ, त्यो अवस्थामा वामपन्थी शक्तिहरूको बिचमा कार्यगत एकताको लागि अधिकतम प्रयत्न गर्दै, प्रजातान्त्रिक शक्तिहरूसित पनि बृहत्तर एकता गर्ने नीति अपनाउनुपर्दछ।
७. आज तात्कालिक रूपमा गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था समेतको रक्षाका लागि प्रजातान्त्रिक शक्तिहरू समेतसितको कार्यगत एकताले पनि गम्भीर अर्थ राख्दछ । गतकालमा विभिन्न चरणमा भएका कार्यगत एकता वा गठबन्धनलाई कमजोर पार्नका पछाडि देशका सबै प्रमुख वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरू पनि जिम्मेवार रहेका छन् । तिनीहरूमध्ये मुख्य रूपले माओवादी, एमाले र नेका नै आउ“छन् । उनीहरूको कार्यविधिको एउटा मुख्य समस्या इमानदारिताको हो । विभिन्न सैद्धान्तिक वा राजनीतिक मतभेद भएका राजनीतिक शक्तिहरूको बिचमा पनि कुनै प्रश्नमा सहमति भएपछि त्यसलाई दृढता र इमानदारितापूर्वक कार्यान्वयन गरिनुपर्दछ । त्यो कुरा चुनावी तालमेलका सन्दर्भमा पनि सत्य हो । तर माओवादी र एमाले दुवैमा त्यस प्रकारको इमानदारिताभन्दा छलछाम वा अन्तर्घातको प्रवृत्ति नै बढी रह्यो । त्यस प्रकारका धेरै उदाहरण छन् । नेकाको तत्कालीन संस्थापन पक्षले त्यसबारे अपेक्षाकृत इमानदारिता देखाउने गरेको थियो । तर त्यसभित्रको प्रतिपक्षले आफ्नै पार्टीको गठबन्धन र चुनावी तालमेलको नीतिलाई सधै“ नीतिगत रूपमा नै विरोध गर्ने गर्यो । त्यही नीतिलाई आधार बनाएर त्यसले विशेष महाधिवेशन ग¥यो र त्यसपछि बनेको नया“ नेतृत्वको घोषित नीति नै कसैसित गठबन्धन वा तालमेल नगर्ने रहेको छ । बताइरहनु पर्ने आवश्यकता छैन कि त्यसको त्यस प्रकारको नीति अहिले वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरुको बिचको एकतामा पनि ठुलो बाधा पुगिरहेको छ । त्यसबाट प्रतिगमन वा वर्तमान फासिस्ट दिशा लि“दै गइरहेको सरकारलाई नै मद्दत पुर्याउने कुरा स्पष्ट छ।
८.अहिले देशमा जुन प्रकारको राजनीतिक स्थिति तयार भएको छ वा सरकार बनेको छ, त्यसको मूल दिशा अग्रगामी नभएर प्रतिगमन नै हो । त्यसका पछाडि मुख्य भूमिका अमेरिकी साम्राज्यवादको नै रहेको छ । तर त्यस सन्दर्भमा यो वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ कि पहिलेका सत्तारूढ राजनीतिक शक्तिहरू, जसमा प्रमुख वामपन्थी र प्रजातान्त्रिक शक्तिहरू आउ“छन्,का भ्रष्ट, गैरजिम्मेवार र नोकरशाही कार्यप्रणालीका कारणले वा बहुदलीय व्यवस्था आएदेखि नै उनीहरूले देशमा कायम गरेको कुशासनका कारणले जनतामा बहुदलीय व्यवस्था र गणतन्त्रप्रति नै व्यापक असन्तोष र निराशाको वातावरण तयार हु“दै गयो । त्यसले गर्दा देशमा लोकप्रियतावादी जनमत व्यापक बढेर गयो । त्यस प्रकारको जनमतबाट नै राजावादीहरू वा अमेरिकाद्वारा सञ्चालित तत्वहरूलाई पनि आफ्नो स्थिति मजबुत पार्न बल प्राप्त भयो । त्यसले गर्दा अहिले कार्यगत एकता वा गठबन्धनको निर्माणमा ठुलो समस्या पैदा भएको छ । पुराना प्रमुख राजनीतिक शक्तिहरूको एउटा मुख्य सकारात्मक पक्ष यो हो कि उनीहरूले देशमा बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षता ल्याउनका लागि लडेका शक्तिहरू हुन् र अहिले पनि मूल रूपमा उनीहरूको त्यो दृष्टिकोणमा अन्तर आएको छैन । त्यसरी, एकातिर उनीहरूले पहिलेको शासनकालमा अपनाएका भ्रष्ट क्रियाकलाप र कुशासनका विरुद्धको भण्डाफोर गर्दै, अर्कातिर, उनीहरूसित गणतन्त्र, धर्मनिरपेक्षता वा बहुदलीय व्यवस्थाको रक्षाका लागि कार्यगत एकता गर्नुपर्ने आवश्यकता पनि छ । यद्यपि ती दुवै बिन्दुहरूको बिचमा सन्तुलन कायम गर्दै देशमा वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूको कार्यगत एकता वा गठबन्धनलाई ठोस रूप दिनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ।
मिति २०८३ असार २२ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)