नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
काठमाडौको त्रिपुरेश्वरस्थित राहादानी विभाग अगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाहप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनको मृत्युप्रति हामीले गम्भीर दु:ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
गणेश नेपालीको आत्मदाहबाट भएको मृत्यु कुनै सामान्य प्रकारको मृत्यु होइन । यसले देशको कुशासन, हत्याहिंसा र राज्य सञ्चालनको चरम असफलताको तस्बिरलाई गम्भीर रूपले प्रस्तुत गर्दछ । सरकारले सञ्चालन गरिरहेको प्रशासनले नागरिक जीवनमाथि पारेको गम्भीर नकारात्मक प्रभावको रूपमा यस प्रकारका घटनाहरू बारम्बार सतहमा आउने गरेका छन् । नागरिकप्रति अनुत्तरदायी प्रशासनिक क्रियाकलापले यस प्रकारको गम्भीर समस्यालाई पैदा गरेको कुरामा शङ्का छैन । यस घटनाका लागि सरकार र त्यसको गृहमन्त्री पनि गम्भीर रूपमा जिम्मेवार रहेका छन् । उनीहरूको अनुत्तरदायी प्रशासनिक शैलीले यस प्रकारका घटना दोहोरिँदै जाने निश्चित छ । पहिले अहिलेका व्यक्ति गृहमन्त्री हुँदा सुकुम्बासीहरू विरुद्ध चलाइएको अभियानको बेलामा कतिपय सुकुम्बासीले गरेको आत्महत्याका प्रकरण र अहिले उनै व्यक्ति पुन: गृहमन्त्री बनेपछि गणेश नेपाली आत्महत्याको घटना अगाडि आएको छ । यी घटनाहरूले सरकारको कुशासनको कुरूप पक्षलाई गम्भीर रूपमा उजागर गरेका छन् । हामीले सरकारको कुशासनको कडा शब्दमा विरोध गर्दछौँ ।
२०८३ असार २६
रामप्रकाश पुरी
प्रवक्ता