Nepal communist party

प्रेस वक्तव्य (२०८३ साउन १३ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

सुनसरीको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । हामीले त्यहाँको घटनापछिको कारणहरूबारे वस्तुगत तरिकाले अध्ययनगर्ने प्रयत्न गरेका थियौँ । त्यसपछि हामी दुईवटा निष्कर्षमा पुगेका छौँ । प्रथम, त्यो क्षेत्रमा विभिन्न विदेशी धार्मिक सम्प्रदायहरूको गतिविधि निकै नै बढेर गएको छ । त्यहाँ सर्वप्रथम उच्च पहाडी क्षेत्रमा इसाई धर्मावलम्बीहरूको गतिविधि धेरै नै बढेर गएको छ र उनीहरूको बढी झुकाव जातिवादतिर नै छ । त्यसका साथै त्यो क्षेत्रमा भारतका कट्टर हिन्दुवादीहरू वा उनीहरूको संस्था राष्ट्रिय स्वयं सेवक सङ्घको क्रियाकलाप पनि बढेर गएको छ । उनीहरूले सधैँ खास गरेर नेपालको तराईमा मुस्लिमहरूका विरुद्ध साम्प्रदायिक गतिविधि बढाउने प्रयत्न गरिरहन्छन् । त्यसले गर्दा नेपालमा प्राय: साम्प्रदायिक दङ्गाहरू हुने वा अशान्तिको वातावरण पैदा हुने गर्दछ । त्यही प्रकारले त्यहाँ मदरसाहरूको क्रियाकलाप पनि बढेर गएको छ । तराईमा रोहिङ्गा मुस्लिमको घुसपैठ बढेको बारेमा कैयौँ सञ्चार माध्यमहरूले आशङ्का व्यक्त गरिरहेका छन् ।
उक्त कारणहरूले गर्दा सुनसरीमा प्राय:साम्प्रदायिक घटनाहरू घटिरहन्छन् र अहिलेको घटनाका पछाडि पनि मुख्य रूपले हिन्दु र मुसलमानका बिचको तनाव नै जिम्मेवार छ ।
द्वितीय, अहिले सुनसरीको घटनालाई पुलिस प्रशासनको अवाञ्चित प्रकारको कारवाहीले पनि बढी उत्तेजित बनाउने काम गर्‍यो । त्यहाँ हिन्दु र मुस्लिमहरूको सामान्य प्रकारको तनावको अवस्थामा प्रहरीले अनावश्यक रूपले बल प्रयोग गरेको कारणले पनि त्यहाँको अवस्था बढी गम्भीर हुन पुग्यो । त्यहाँ प्रहरीले पूर्व सूचना नदिइकन अन्धाधुन्ध प्रकारले गोलीचलाएको, त्यसका साथै प्रचलित नियमका विरुद्ध कैयौँ जनालाई घुँडामाथि पनि गोली हानेका तथ्यहरू बाहिर आएका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसका लागि नैतिक रूपले गृहमन्त्री नै जिम्मेवार छन् र हुन्छन् पनि ।
भदौँ २३को गोलीकाण्डमा प्रधानमन्त्री त्यहाँ उपस्थित नभएपनि नैतिक रूपले उनी नै जिम्मेवार हुनुपर्दथ्यो र त्यही कारणले उनले र गृहमन्त्रीले पनि राजिनामा दिएका थिए । सुनसरीको घटनाको लागि गृहमन्त्री नै जिम्मेवार भएको हुनाले के उनले पनि राजिनामा दिनुपर्ने आवश्यकता छैन ? यो गम्भीर रूपले विचारणीय प्रश्न हो ।

२०८३ साउन १३ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top