Nepal communist party

प्रेस वक्तव्य (२०८३ साउन १८ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

महान् पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानको काराकोरम हिम शृङ्खलामा अवस्थित ब्रडपिक हिमालयमा आरोहणको क्रममा निधन भएको छ । ने.क.पा. (मसाल)ले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै उहाँको शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
निर्मल पुर्जा नेपालको मात्र होइन, विश्वको नै महान् पर्वतारोही हुनुहुन्थ्यो । उहाँले पर्वतारोहणको क्षेत्रमा कैयौँ विश्व कीर्तिमानहरू कायम गर्नुभएको छ । जसमध्ये ६ दिनमा ८ हजाभन्दा अग्ला चौधवटा हिमालयको आरोहण गरेको विश्व कीर्तिमान उल्लेखनीय छ । उहाँका साथै ब्रडपिक हिमालयमा आरोहणको क्रममा मृत्यु भएका पृथ्वी बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिम्डु शेर्पा र ग्याल्जेन शेर्पा तथा अन्य चार जना विदेशी आरोहीप्रति पनि हामीले उच्च सम्मान प्रकट गर्दछौँ ।
निर्मल पुर्जाको त्यो निधन सम्पूर्ण नेपालको लागि नै ठुलो क्षति र दु:खको कुरा हो र उहाँको निधनको समाचारबाट सारा राष्ट्र नै स्तब्ध भएको छ । त्यस सन्दर्भमा मैले यो पनि बताउन चाहन्छु कि भौतिक रूपले म पर्वतारोही होइन । तैपनि भावनात्मक रूपले पर्वतारोहणसित व्यक्तिगत रूपमा मेरो घनिष्ठ, आत्मीय र लामो सम्बन्ध रहेको छ । कसैले मेरो उपन्यास कामरेड जलजला पढ्नु भयो भने त्यो कुरा थाहा पाउनु हुने छ ।
त्यो उपन्यास पूरा गर्न मलाई २३ वर्षको लामो समय लागेको थियो र त्यो पूरै अवधिभरि नै म पर्वतारोहणसित सम्बन्धित भएको थिएँ ।
कामरेड जलजला उपन्यासकी एउटी प्रमुख पात्र सुनन्दा हुन् । उपन्यासका अन्य प्रमुख पात्रहरू जस्तै कि जलजला वा अजित थोरै समयको लागि मात्र उपन्यासमा देखा पर्दछन् । तर सुनन्दा उपन्यासको प्रारम्भदेखि अन्तसम्म रहन्छिन् । उनी स्वयं एउटी पर्वतारोही थिइन् । पछि उनी समाजसेवी वा गान्धीवादी र माक्र्सवादी–लेनिनवादी हुँदै जलजलामा रूपान्तरित हुन्छिन् ।
जलजला एउटी वास्तविक पात्र हुन् र सुनन्दा एउटी काल्पनिक पात्र । सुनन्दाको चित्रण गर्ने सिलसिलामा मैले नेपालको हिमालयदेखि सबै महाद्वीपहरूका उच्च हिमालय पर्वतारोहण र संसारका महान् पर्वतारोहीहरू समेतको चित्रण गरेको छु । उपन्यासमा पर्वतारोहण सम्बन्धी सामाग्रीहरू जुटाउनका लागि भारतका धेरै पुस्तकालयमा गएर अध्ययन गरेको छु भने उत्तराखण्डका कैयौँ अग्ला पर्वतहरूमा पनि मैले भ्रमण गरेको छु । भारत र युरोपका कैयौँ पुस्तकालयमा गएर मैले संसारका उच्च पर्वत शिखरहरू महान् पर्वतारोहीहरू वा पर्वतारोहणको इतिहासको अध्ययन गरेको छु । मैले माउन्टेन फ्लाइटद्वारा नेपालका सगरमाथा सहित उच्च हिम शिखरहरूको भ्रमण गरेको छु । ती सबै सामाग्रीहरू कामरेड जलजला उपन्यासमा प्रस्तुत गरिएका छन् । त्यसरी म स्वयं पर्वतारोही नभए पनि पर्वतारोहणप्रति मेरो मनमा गहिरो आत्मीयता र भावनात्मक सम्बन्ध पनि रहेको छ । त्यसैले अहिले निर्मल पुर्जाको निधनको समाचार थाहा पाउँदा मलाई व्यक्तिगत रूपमा पनि धेरै दु:ख पुगेको छ । र आफ्नो पार्टीका साथै मैले व्यक्तिगत रूपले पनि उहाँप्रति उच्च श्रद्धाञ्जली प्रकट गर्दछु ।
सुनसरीबाट सुरु भएको तराईका कतिपय जिल्लाहरूमा भएको अशान्ति र त्यहाँ भएका घटनाहरूप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता प्रकट गर्दछ । नेपालमा कैयौँ धार्मिक सम्प्रदायहरू छन् । तर नेपालको इतिहास वा समाजको यो विशेषता रहेको छ कि नेपालका विभिन्न धार्मिक सम्प्रदायहरूका बिचमा सधैँधार्मिक सहिष्णुतारहने गरेको छ । संसारका अरू कैयौँ देश र हाम्रो छिमेकी भारतमा समेत साम्प्रदायिक हिंसाको लामो इतिहास रहेको पृष्ठभूमिमा नेपालको यो विशेषताले विश्वस्तरमा नै ठुलो महत्त्व राख्दछ । अहिले देशमा कतिपय भागहरूमा भइरहेका सद्भाव र्‍यालीहरूले त्यो प्रकारको ऐतिहासिक विशेषताको प्रतिनिधित्व गर्दछन् । तर त्यस प्रकारको ऐतिहासिक विशेषता भएको देशमा केही समयदेखि भइरहेका साम्प्रदायिक हिंसाहरू अत्यन्त दु:खका कुराहरू हुन् र त्यसका पछाडि कुन कारणले काम गरिरहेको छ ?त्यसबारे गहिरो विश्लेषण गरेर त्यसको कारण पत्ता लगाउने र त्यसको निवारण गर्नुपर्ने आवश्यकताप्रति हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनताको विशेष ध्यान आकर्षित गर्न चाहन्छ । केही दशक यता नेपालमा जसरी साम्प्रदायिक, हिंसाहरू देखापर्न थालेका छन्, ती नेपालको संस्कृति र नेपाली माटोका उपज अवश्य पनि होइनन् । नेपालमा प्रवेश गर्न थालेका विभिन्न विदेशी धार्मिक सम्प्रदायहरूका कारणले नै हाम्रो देशमा साम्प्रदायिक वैमनस्य वा हिंसाका लहरहरू देखापर्न थालेका छन् । सर्वप्रथमता भारतमा हिन्दु कट्टरपन्थी र साम्प्रदायिक राजनीति हाबी छ । मुस्लिमहरूको विरोधको आधारमा नै त्यो राजनीति टिकेको छ वा बलियो भएको छ । भारतको राष्ट्रिय स्वयंसेवक सङ्घ त्यसको मुख्य नेतृत्वदायी शक्ति हो । उनीहरूले भारतसँग जोडिएका नेपालको तराईका जिल्लाहरूमा घुसपैठ गरेर हाम्रो देशमा पनि योजनाबद्ध प्रकारले हिन्दु मुस्लिम साम्प्रदायिक दङ्गाहरू गराउन षडयन्त्र गर्दैछन् । त्यो कारणले अहिले मात्र होइन, गत दशकहरूमा पनि कैयौँपल्ट नेपालमा हिन्दु मुस्लिम दङ्गाहरू हुने गरेका छन् ।
भारतीय राष्ट्रिय स्वयंसेवक सङ्घ बाहेक नेपालमा प्रवेश गरेका इसाई वा मुस्लिम मदरसाहरूका कारणले पनि यस प्रकारका साम्प्रदायिक सङ्केतहरू देखापर्ने गरेका छन् । नेपाली जनता पनि त्यस प्रकारका विदेशी धार्मिक साम्प्रदायिक असरबाट केही न केही प्रभावित हुने गरेका छन् ।
कुनै धार्मिक सम्प्रदायलाई आफ्नो आस्था अनुसार धार्मिक आचरण वा आजापुजा गर्नका लागि धार्मिक स्वतन्त्रता हुन्छ र त्यसलाई हामीले विरोध गर्दैनौँ । तर धर्मको नाममा कुनै पनि प्रकारको अशान्ति मच्चाउने वा कुनै पनि प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिको सेवा गर्ने कार्यलाई हामीले गलत मान्दछौँ र त्यसको कडा विरोध गर्दछौँ । त्यही कारणले नै नेपाल जस्तो धार्मिक सहिष्णुताको परम्परा भएको देशमा साम्प्रदायिक अशान्ति र हिंसात्मक घटनाहरू पनि हुने गरेका छन् । त्यस प्रकारको अवस्थामा देशमा सबै धर्महरूको बिचमा साम्प्रदायिक एकताका लागि प्रयत्न गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ र त्यो दिशामा भइरहेका सद्भावना र्‍यालीहरूलाई स्वागत गर्दछ ।
सुनसरीमा र पछि सिराहामा पनि प्रहरीहरूको गोलीबाट जसरी कतिपय व्यक्तिहरूको मृत्यु भयो र ठुलो सङ्ख्यामा मानिसहरू घाइते पनि भए, त्यसका लागि हाम्रो पार्टीले गम्भीर दु:ख र क्षोभ प्रकट गर्दछ । यो स्पष्ट छ कि प्रशासन वा प्रहरीहरूको गैरजिम्मेवारपनका कारणले नै त्यस प्रकारका दु:खद घटनाहरू भएका हुन् । त्यहाँ जसरी घुँडाभन्दामाथि समेत गोली प्रहार गरेर मानिसहरूको मृत्यु भयो वा घाइते भए त्यसका लागि प्रशासन वा प्रहरी नै जिम्मेवार छन् र त्यसका लागि मुख्य नैतिक जिम्मेवारी गृहमन्त्रीको नै हुन्छ । हामीले यो कुरा भाद्र २३ गतेको गोलिकाण्डका सन्दर्भमा पनि बताउँदै आएका छौँ र सुनसरी वा सिराहाका घटनाका सन्दर्भमा पनि त्यो कुरा स्पष्ट गर्न चाहन्छौँ । त्यस सन्दर्भमा गृहमन्त्रीले ती घटनाहरूको लागि नैतिक जिम्मेवारी लिएर राजीनामा दिनु पर्ने कुरा स्पष्ट छ । ती घटनाहरूप्रति गृहमन्त्री कति धेरै गैरजिम्मेवार रहेका थिए भन्ने कुरा कतिपय सानातिना घटनाहरूमा पनि भेस बदलेर घटनास्थलमा छानबिनका लागि पुग्ने गृहमन्त्री सुनसरी वा सिराहामा त्यति गम्भीर घटना घट्दा पनि उनी त्यहाँ पुगेनन् र कैयौँ दिनपछि मात्र सुनसरीमा पुगे । त्यसबाट गृहमन्त्रीजस्तो देशको शान्ति व्यवस्थासित सम्बन्धित गम्भीर पदका लागि उनी उपयुक्त नभएको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ ।
समाचार माध्यमहरूले सिराहामा गृहमन्त्री र त्यहाँको हिन्दु मोर्चाका बिचमा छलफल भएर सहमति समेत भएको समाचार बाहिर ल्याएका छन् । हिन्दु मोर्चाले प्रस्तुत गरेको माग पत्रमा कैयौँ साम्प्रदायिक प्रकारका मागहरू पनि राखिएका छन् । जसमा खास गरेर मुस्लिम विरोधी मागहरू नै मुख्य छन् । ती मागहरूमा भारतको राष्ट्रिय स्वयं सेवक सङ्घको गन्ध आएको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यस प्रकारका मागहरूबाट नेपालको सांस्कृतिक परम्परा अनुसारको धार्मिक सहिष्णुता कायम गर्नुभन्दा पुन: धार्मिक साम्प्रदायिकतालाई प्रोत्साहित गर्ने नै बढी देखिन्छ । त्यसका साथै ती मागहरूमा नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा पनि प्रस्तुत गरिएको छ । जो निश्चित रूपले नेपालको संविधानका विरुद्ध छ । हिन्दु मोर्चाका त्यस प्रकारका मागहरूमा सहमति भएको हो कि होइन ? त्यसबारे सरकारले तुरुन्त स्पष्टीकरण दिनुपर्ने आवश्यकता छ ।
केही दिन पहिले कतिपय समाचार माध्यमहरूले दिएको समाचार अनुसार सशस्त्र प्रहरीले सरकारलाई एउटा प्रतिवेदन दिएको थियो, जसमा नेपालमा कार्यरत कतिपय धार्मिक सम्प्रदायहरूका कारणले नेपालमा साम्प्रदायिकता वा अशान्ति फैलिने कुराको उल्लेख गरिएको थियो । त्यो प्रतिवेदनमा रूपन्देही, सर्लाही, धनुषा, बाँके, सप्तरी, मोरङ, बर्दिया, कपिलवस्तु, बारा, झापा, महोत्तरी, सुनसरी, रौतहट, वीरगन्ज आदि जिल्लाहरूमा तनावका घटनाहरू भएको हुनाले त्यसबारे विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिइएको थियो । त्यो प्रतिवेदनमा तराई मधेसमा साम्प्रदायिक र जातीय द्वन्द्व गराएर समाजलाई विभाजित गर्ने तत्त्वहरू सक्रिय रहेको निष्कर्ष समेतको गोप्य प्रतिवेदन सरकारलाई बुझाइएको थियो । त्यो प्रतिवेदनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ÷आईएनजीओ)को सहयोगका कारणले पनि त्यस प्रकारको स्थिति उत्पन्न भएको कुराको उल्लेख गरिएको थियो । तराईका विभिन्न जिल्लाहरूमा पैदा हुने त्यस प्रकारका साम्प्रदायिक घटनाबाट नेपालमा त्यस प्रकारको स्थिति उत्पन्न हुनका पछाडि विभिन्न विदेशी धार्मिक संस्थाहरूको नै मुख्य भूमिका रहेको कुरामा कुनै शङ्का रहन्न ।त्यो प्रतिवेदनमा तराईका त्यस प्रकारका घटनाहरू घटेका जिल्लाहरूको जो लामो सूची दिइएको छ, त्यसले स्थितिको गम्भीरतालाई नै बताउँछ । तर त्यसप्रति सरकारले समुचित ध्यान नदिएको हुनाले नै अहिले सुनसरी वा सिराहाका जस्ता घटनाहरू पनि हुन पुगेका छन् । तर स्पष्ट छ, त्यस प्रकारका घटनाहरूको पछाडि लामो सिलसिला रहेको छ र त्यसप्रति सम्पूर्ण नेपाली जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।
सङ्घीयताका कारणले पनि नेपालमा जातीय वा क्षेत्रीय वैमनस्यता वा तनाव बढेर गएको छ । नेपालमा पहिले सबै जातिहरू आपसमा मिलेर बसेका थिए र देशमा कुनै जातीय वा क्षेत्रीय वैमनस्यता थिएन । तर सङ्घीयताका कारणले देशमा जातीय र क्षेत्रीय वैमनस्यता धेरै नै बढेर गएको छ र त्यसका पछाडि पनि विदेशी शक्तिहरूको मुख्य भूमिका भएको कुरा प्रस्ट छ । त्यसकारण सङ्घीयतालाई खारेज गर्नु पनि अहिले देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।
अन्तमा हामीले सबै मृतकहरूका परिवारहरूलाई क्षतिपूर्ति र घाइतेहरूको समुचित चिकित्साका लागि समुचित ध्यान दिनका लागि सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।
२०८३ साउन १८ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top