Nepal communist party

प्रेस वक्तव्य (२०८३ श्रावण २७ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

ने.क.पा. (मसाल), नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) बिच आज सम्पन्न भएको बैठकमा ने.क.पा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह, नेकपाका संयोजक का. पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष का. केपी शर्मा ओलीको उपस्थिति रहेको थियो । त्यो बैठकमा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष का. रश्मिराज नेपाली र उपाध्यक्ष तथा प्रवक्ता का. दुर्गा पौडेल पनि सहभागी हुनुहुन्थ्यो । उक्त बैठकमा निम्नलिखित सहमति भएको छ :
१. लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने ।
२. राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने ।
हामीले लुम्बिनीमा नेकपा र नेकपा (एमाले)का बिचमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौँ । हाम्रो पार्टीको केन्द्रीय कार्यालयको केही दिन पहिले बसेको बैठकले त्यो निर्णय गरेको थियो र आज त्यसबारे औपचारिक रूपले निर्णय भएको छ । तर हामीले त्यो सरकारलाई समर्थन गरे पनि हामी त्यो सरकारमा सामेल हुने छैनौँ । हामी त्यो सरकारमा सामेल नभए पनि विभिन्न विकास कार्यक्रमहरूमा मिलेर कामगर्ने सहमति भएको छ ।
छलफलको दौरानमा यसबारे पनि हाम्रो समान दृष्टिकोण देखापरेको थियो कि तत्काल पार्टी एकताको सम्भावना छैन । त्यसका लागि हाम्रा बिचमा भएका विभिन्न सैद्धान्तिक, राजनीतिक वा सङ्गठन प्रणालीबारे भएका मतभेदहरूबारे लामो छलफल भएपछि नै सम्भव हुने कुरा हो । त्यस कारण अहिले देशका अगाडि देखापरेका गणतन्त्र र राष्ट्रियता सम्बन्धी गम्भीर समस्याबारे नै संयुक्त रूपले काम गर्नुपर्ने आवश्यकता छ भन्ने कुरामा हाम्रा बिचमा सहमति भएको छ ।
बैठकमा लुम्बिनी पुरातात्त्विक सहर, तिनाउ नदीको छेउमा रामापिथेकस सम्बन्धी पर्यटन स्थल र प्युठान ओखरकोटको रक गार्डेनबारे पनि मसालकातर्फबाट विचारहरू प्रस्तुत गरिएका थिए । उक्त पुरातात्त्विक सहरको निर्माण भएमा त्यो अन्तर्राष्ट्रिय महत्त्वको पुरातात्त्विक सहर बन्ने छ र त्यसले नेपालको पर्यटनमा उच्च आयाम थप्ने छ । त्यो सहरको निर्माणका लागि धेरै समय र खर्च लाग्ने छ । तैपनि तत्काल त्यो सहरको डीपीआर तयार पार्न पहलकदमी गर्नुपर्ने आवश्यकतामा मसालले जोड दिएको छ ।
त्यसै गरेर पाल्पाको तिनाउ नदीको छेउको जङ्गलमा रामापिथेकसको बङ्गाराको अवशेष पाइएको स्थान अन्तर्राष्ट्रिय पुरातात्त्विक महत्त्वको स्थान हो । त्यसलाई पर्यटकीय स्थानको रूपमा विकसित गरेमा त्यो स्थान अन्तर्राष्ट्रिय महत्त्वको पर्यटकीय स्थान बन्ने छ । पुरातात्त्विक बौद्ध सहर, रामापिथेकसको बङ्गाराको अवशेष सम्बन्धी, पर्यटक स्थल वा प्युठानको रक गार्डेनबारे बैठकमा विषय प्रस्तुत गरिए तर त्यसबारे कुनै समझदारी नभइसकेको कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौँ । तैपनि उक्त विषयहरूमा सबै पक्ष र लुम्बिनी सरकारबाट समेत उचित समर्थन, सहयोग र बजेट समेत प्राप्त हुने छ भन्ने हामीले आशा गरेका छौँ ।
प्युठानको ओखरकोटको ढाँडमा रक गार्डेनको डीपीआर तयार भइसकेको छ र त्यहाँ त्यस सम्बन्धी कार्यको पनि प्रारम्भ भएको छ । त्यो रक गार्डेनको निर्माण पूरा भएमा उक्त स्थान राष्ट्रिय महत्त्वको पर्यटन स्थल बन्ने छ ।
हामीले आशा गरेका छौँ, ने.क.पा. (मसाल), नेकपा र नेकपा (एमाले)का बिचको सहकार्यबाट लुम्बिनीका विकास सम्बन्धी कार्यहरूमा पनि धेरै मद्दत पुग्ने छ । त्यस प्रकारका विकास कार्यहरूका लागि हामीले आपसमा सहमति कायम गरेर बढीभन्दा बढी योगदान दिने प्रयत्न गर्ने छौँ ।
हामी तीनवटै पक्षहरूका बिचमा कैयौँ सैद्धान्तिक र राजनीतिक मतभेद भएको वास्तविकताप्रति पनि हाम्रो ध्यान छ । तर हाम्रो पहिलेदेखिको नै यो नीति रहेको छ कि आपसमा मतभेद भएका पार्टी वा सङ्गठनहरूका बिचमा कुनै विषयमा सहमति कायम हुन्छ भने त्यसलाई इमानदारिता र दृढतापूर्वक पालन गर्ने गर्नुपर्दछ । अहिले हाम्रा बिचमा जुन सहमति भएको छ, त्यसबारे पनि आपसमा रहेका मतभेदद्वारा बाधा पुग्न नदिइकन इमानदारिता र दृढतापूर्वक लागू गर्ने हाम्रो प्रयत्न हुने छ भने अन्य पक्षहरूबाट पनि हामीले त्यही प्रकारको आशा गर्दछौँ ।
अन्तमा, आजको बैठकमा कार्यगत एकता सम्बन्धी जुन सहमति भएको छ, त्यसबाट देशमा वामपन्थी र प्रजातान्त्रिक आन्दोलन उठाउनका लागि धेरै मद्दत पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ । यसका साथै यो कार्यगत एकतालाई अरू विस्तार गर्ने र त्यसलाई देशव्यापी रूप दिने पनि हाम्रो प्रयत्न हुने छ ।
२०८३ श्रावण २७ गते
मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top