नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
नेकाको इतर पक्षको सम्मेलनमा सनातन धर्मलाई राष्ट्रको पहिचान बनाउने विचार आएको छ, त्यसलाई हाम्रो पार्टीले गम्भीर अर्थमा लिन्छ । राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समेत समाप्त गरेर देशलाई प्रतिगमनतिर लैजानको लागि अभियान चलाइरहेका छन् । नेकाले स्पष्ट रुपमा त्यो शब्दावलीमा राजतन्त्र र हिन्दू राज्यको नीतिलाई अगाडि सारको त छैन । तर उनीहरुले पारित गरेको नीतिको मूल अभिप्राय नेपाललाई हिन्दू राष्ट्र बनाउने नै हो भनेर अनुमान गर्न गाह्रो पर्दैन ।
त्यस प्रकारको सोचाइले संविधानमा स्वीकृत धर्मनिरपेक्षताको सोचाइमाथि प्रहार गर्दछ । हाम्रो पार्टीले धर्मनिरपेक्षताको विरोध गर्ने कुनै पनि सोचाई वा प्रयत्नलाई गलत मान्दछ र त्यसको विरोध गर्दछ ।
नेपाली काङ्ग्रेसमा पहिलेदखि नै गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने सोचाइ प्रबल रूपमा देखा पर्दै आएको छ । नेकाले त्यस प्रकारको सोचाइलाई अनुशरण गर्न थालेको त होइन ? त्यसबारे गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सबै राजनीतिक शक्ति वा जनमतको समेत हाम्रो पार्टीले गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ । ने.का.भित्र पनि गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा एउटा ठुलो जनमत भएको कुरा प्रष्ट छ । त्यसकारण नेकाको त्यो पक्षले पनि धर्मनिरपेक्षताबाट विचलनको प्रयत्नको विरोध गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौं ।
२०८३ भाद्र ०२ गते
मोहनविक्रम सिंह
(महामन्त्री)