नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
आज देश गम्भीर सङ्कटको मुखमा उभिएको छ । एकातिर जनताको महान त्याग र वलिदानद्वारा प्राप्त गणतन्त्र र धर्मनिरपेक्षता समेतलाई प्रतिगमनबाट रक्षा गर्ने तथा देशको राष्ट्रियता र सार्वभौमिकतालाई रक्षा गर्ने जिम्मेवारीहरू ता हाम्रा अगाडि पहिलेदेखि नै थिए । अब अमेरिकी साम्राज्यवादको भूमिकाबाट देशको अस्तित्वको रक्षा र नेपाललाई युद्धभूमि हुनबाट बचाउने जिम्मेवारी पनि हाम्रो काँधमा थपिएको छ । त्यसका लागि नेपालका वामपन्थी, प्रजातान्त्रिक र देशभक्त शक्तिहरू र जनताका बिचमा व्यापक एकता राष्ट्रिय आवश्यकता भएको छ । ने.क.पा. (मसाल) ले त्यसका लागि सम्बन्धित सबै पक्षहरूसित अपील गर्दछ ।
माक्र्सवादी–लेलिनवादी सिद्धान्तले क्रान्तिकारी सङ्घर्षलाई अगाडि बढाउनका साथै कुनै खास अन्तराष्ट्रिय वा राष्ट्रिय राजनीतिक आवश्यकता पूरा गर्न दुश्मन वा विरोधी शक्तिहरुसित पनि संयुक्त मोर्चा गर्ने नीतिमा जोड दिने गरेको छ । संयुक्त मोर्चाको नीतिका कैयौँ रूपहरू हुन सक्दछन् । जस्तै कि कार्यगत एकता वा विभिन्न तहमा गठबन्धन र सहकार्यहरू । अन्तर्राष्ट्रिय र नेपालको राजनीतिमा पनि कम्युनिस्टहरूले त्यसरी एक वा अर्काे प्रकारले संयुक्त मोर्चा वा कार्यगत एकता गरेका थुप्रै उदाहरण छन् । वर्तमान स्थितिमा पनि त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनका लागि ने.क.पा. (मसाल) ले विभिन्न पक्षहरूसित व्यापक रूपले भेटघाट गर्ने वा छलफल गर्न एक प्रकारको अभियान नै चलाएको छ । त्यो क्रममा हाम्रो पार्टीका महामन्त्री का. मोहन विक्रम सिंहले अहिलेसम्म मोहन बैद्य र उहाँले नेतृत्व गरेको पार्टीका अरु कैयौँ नेताहरू, का. प्रचण्ड, का. केपी शर्मा ओली, का. घनश्याम भुसाल, का. माधव नेपाल, का. विप्लव, का. धर्मेन्द्र वास्तोला, पूर्व राष्ट्रपति का. विद्या भण्डारी, का. उमा भुजेल, का. चन्द्रदेब जोशी आदिसित भेटघाट र विस्तृत छलफल गरिसक्नु भएको छ । अब त्यस प्रकारको कार्यगत एकतालाई व्यवहारमा नै औपचारिक रूप दिनका लागि आवश्यक सहमति कायम गर्ने कार्य बाँकी नै छ र त्यसका लागि थप पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।
निश्चय नै राप्रपा जस्तो प्रतिगामी सङ्गठन र कथित राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता सङ्गठनहरूसित कार्यगत एकता वा तालमेल गर्ने हाम्रो कुनै नीति छैन र त्यसैले, उनीहरूसित त्यसका लागि हामीले कुनै पहलकदमी पनि गरेका छैनौँ । प्रजातान्त्रिक शक्तिहरूसित गतकालमा पनि हामीले कैयौँपल्ट तालमेल गर्दै आएका छौँ । देशमा जुन ऐतिहासिक उपलब्भिहरू प्राप्त भएका छन्, त्यसका पछाडि उनीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । अहिलेको समस्या के हो भने कुनै प्रजातान्त्रिक शक्तिसित तालमेल गर्नका लागि कुनै राजनीतिक अवस्था देखा परेको छैन । त्यस प्रकारको एउटा प्रमुख राजनीतिक शक्ति नेपाली काँग्रेस नै हो । तर अहिले त्यो विभाजित अवस्थामा छ र नीतिगत रूपले पनि त्यसले कुनै स्पष्ट आकार लिइसकेको छैन । त्यसैले नेका वा कुनै प्रजातान्त्रिक शक्तिसित कार्यगत एकता वा वा गठबन्धनको लागि हामीले कुनै पहलकदमी गर्न सकेका छैनौँ । भविष्यमा त्यस प्रकारको कुनै आधार तयार भएमा त्यससित पनि कार्यगत एकताका लागि पहलकदमी गर्न हाम्रो ढोका खुला हुने छ ।
उपर्युक्त विषयमा विभिन्न सङ्गठनहरूसित छलफल गर्दा कतिपय पक्षहरूले पार्टी एकता गरेर एकीकृत कम्युनिस्ट पार्टीको निर्माण गर्नको लागि पनि जोड दिएको पाइन्छ । तर हाम्रो विचार के छ भने पार्टी एकताको प्रक्रिया एउटा लामो सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक प्रश्नहरूसित जोडिएको विषय हो । लामो प्रक्रियामा गएर नै त्यो कार्य पूरा हुन सक्दछ । गत कालमा कतिपय पल्ट संयुक्त मोर्चाको निर्माणका लागि पनि प्रयत्नहरू गरिएका छन् । तर त्यसको पनि सन्तोषजनक परिणाम निस्कन सकेको छैन । परस्परमा राजनीतिक सहमति वा एकअर्कामाथि विश्वासको वातावरण तयार हुँदै गएमा त्यसका लागि पनि आधार तयार हुँदै जाने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । तर हामीले यो कुरामा जोड दिने गरेको छौँ कि प्रारम्भिक तहमा न्युनतम सहमतिका आधारमा कुनै मोर्चा नबनाइकन आपसमा अधिकतम सहमति कायम गर्दै संयुक्त वक्तव्य दिने वा विभिन्न प्रकारका कार्यक्रमहरू अगाडि बढाउने पहलकदमी गर्नु पर्दछ । हामीले औपचारिक रूपले कुनै मोर्चा नबनाइकन पनि आपसका बैठकहरूमा कायम भएका सहमतिका आधारमा विभिन्न कार्यक्रम वा संयुक्त आन्दोलनहरूलाई अगाडि बढाउन सक्दछौँ वा बढाउने प्रयत्न पनि गर्नु पर्दछ । त्यस प्रकारको प्रारम्भिक र खुकुलो प्रकारको कार्यगत एकताले मोर्चा वा एकीकृत पार्टीको निर्माणका लागि पनि परस्परमा समझदारी विश्वासको वातावरण तयार पार्न सक्दछ । त्यो अवस्थामा पार्टी वा मोर्चाको लागि तत्काल सहमति हुन नसकेको कारणले कुनै पनि प्रकारको कार्यगत एकता वा गठबन्धनप्रति पूरै नै नकारात्मक दृष्टिकोण अपनाउनु सही हुने छैन भन्ने हाम्रो दृढ मत रहेको छ । त्यसैले न्यूनतम रूपमा जेजति सहमति कायम हुन सक्छ, त्यसलाई अगाडि बढाएर आन्दोलनलाई सशक्त रूप दिन पहल गर्नुपर्दछ भन्ने कुरामा हाम्रो जोड छ । विभिन्न पक्षहरूसित एकसरो छलफल गरेर सहमति कायम गर्ने हाम्रो प्रयत्न भएको छ । अब सबैको संयुक्त बैठक गरेर जेजति सहमति भएको छ, त्यसका आधारमा सहमति भएका विषयहरूमा संयुक्त वक्तव्य दिने वा आन्दोलनका कार्यक्रमहरूलाई अगाडि बढाउन हामीले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । यस सिलसिलामा लुम्बिनीमा प्रदेश सरकारको गठनका लागि ने.क.पा.(मसाल), नेकपा र नेकपा (एमाले)का बिचमा भएको सहमतिबारे पनि हामीले केही प्रकाश हाल्न चाहन्छौँ । जहाँसम्म ने.क.पा.(मसाल) को प्रश्न छ, त्यसले ता कुनै पनि चुनाव वा सरकार समेतमा भाग लिने गर्दैन तैपनि हामीले आफ्नो बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाद्धारा त्यस प्रकारको कार्यविधिलाई समर्थन गर्ने नीति अपनाउँदै आएका छौँ र त्यस अनुसार नै अहिले हामीले लुम्बिनीमा वामपन्थीहरूको सरकारको गठनका लागि पनि समर्थन दिने नीति अपनाएका छौँ । । अहिले लुम्बिनीमा राष्ट्रिय जनमोर्चाले नेकपा र नेकपा एमालेका बिचको गठबन्धनद्धारा बनेको सरकारलाई समर्थन गर्ने कुरा भएको छ । तर स्वयं राजमोले सरकारमा भाग लिने छैन । तर सरकार बाहेक विभिन्न संसदीय समिति वा विकासका कार्यक्रमहरूमा सामेल भएर काम गर्ने नीति अपनाउने छ । सरकारमा नजाने भएकाले त्यो प्रतिपक्षमा नै बस्ने छ ।
लुम्बिनी प्रदेशको सरकारको गठनको सन्दर्भमा हाम्रो वैधानिक मोर्चाले त्यो सरकारलाई आफ्नो समर्थन दिएपनि नेकपा र एमालेसितका हाम्रा जुन सैद्धान्तिक वा राजनीतिक मतभेदहरू छन्, तिनीहरूबारे हाम्रो पहिलेदेखिको अडान कायम रहने छ र ती प्रश्नहरूमा आवश्यकता अनुसार हाम्रा आलोचनाहरू अगाडि आउने छन् । त्यसकारण त्यहाँको त्यो सरकारलाई समर्थन गर्नुको अर्थ उनीहरूसितका हाम्रा सबै मतभेद वा आलोचनाहरूलाई परित्याग गर्नु हुने छैन ।
कतिपय पक्षहरूले नेकपा वा एमालेसित हाम्रा जुन गम्भीर प्रकारका मतभेदहरू छन्, त्यो अवस्थामा उनीहरूको सरकारलाई समर्थन नदिनु सही नभएको विचार पनि प्रकट गर्ने गरेका छन् । यस सन्दर्भमा हामी के कुरामा प्रष्ट हुनुपर्दछ भने संयुक्त मोर्चा, कार्यगत एकता वा गठबन्धन भनेको नै गम्भीर प्रकारका मतभेद वा सङ्घर्षहरू पनि भएका शक्तिहरूसितको एकता हो । साम्राज्यवादी शक्तिहरूसित गम्भीर र शत्रुतापूर्ण प्रकारका मतभेद वा सङ्घर्ष चलिरहेको अवस्थामा पनि स्टालिनले अमेरिका, ब्रिटेन वा फ्रान्ससित गठबन्धन गरेका थिए भने च्याङ्काइसेकले हजारौँ कम्युनिस्टहरूको हत्या गरेको अवस्थामा पनि माओले त्यससित कार्यगत एकता गरेर जापानका विरुद्ध लडेका थिए ।
२०४६, ०६२÷०६३ वा केपी शर्मा ओलीले दुई दुई पल्ट संसदको विघटन गरेको बेलामा पनि हामीले बिभिन्न वामपन्थी शक्तिहरू, मधेशवादी र नेका समेतसित जुन गठबन्धन वा पछि चुनावको बेलामा समेत तालमेल गरेका थियौँ, त्यो बेला ती सबैको चरित्र स्वच्छ छ भनेर होइन, देशको राजनीतिक आवश्यकताका कारणले नै हामीले उनीहरूसित गठबन्धन वा तालमेल गरेका थियौँ । अहिले पनि नेकपा वा एमालेको पूरै स्वच्छ र निष्कलङ्क चरित्र भएको भनेर उनीहरूको सरकारलाई समर्थन गर्ने निर्णय नगरेको कुरा प्रष्ट छ ।
यो आम रूपमा थाहा भएको कुरा हो कि संयुक्त मोर्चा वा गठबन्धनको प्रश्नमा अहिले मात्र विरोधको स्वर उठ्ने गरेको होइन । जब जब पनि कम्युनिस्टहरूले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको नीति अपनाउने गरेका छन्, स्वयं वामपन्थी पङ्क्ति भित्रबाट पनि त्यसको विरोध गरेका थुप्रै उदाहरणहरू पाइन्छन् । स्टालिनले हिटलरको आक्रमणको सामना गर्न साम्राज्यवादी शक्तिहरूसित संयुक्त मोर्चाको नीति अपनाएको बेलामा पनि ट्राटस्कीले स्टालिनमाथि गद्दारीको आरोप लगाएका थिए भने माओमाथि पनि वाङ्मिनले गद्दारी गरेको आरोप लगाएका थिए । नेपालमा पनि २०४६, ०६२÷०६३ वा पछि संसदको विघटनको बेलामा हामीले कार्यगत एकताको नीति अपनाउँदा पनि वामपन्थी पङ्क्ति भित्रबाट नै हाम्रो ठुलो आलोचना गरिएको थियो । प्रथमतः त्यस प्रकारको गठबन्धनको नीतिबाट प्रतिगामी शक्तिहरूलाई धेरै नै नोक्सान पुग्दछ । त्यसैले त्यस प्रकारको नीतिमाथि उनीहरुले सँधै कडा प्रहार गर्ने गर्दछन् र त्यसरी वामपन्थीहरूका बिचमा फुट पारेर उनीहरूका विरुद्धको गठबन्धनलाई कमजोर पार्ने प्रयत्न गर्दछन् । त्यो बाहेक वामपन्थी आन्दोलनभित्र पनि सङ्कीर्ण “वामपन्थी” सोचाइ देखा पर्ने गर्दछ । त्यो गैर माक्र्सवादी–लेनिनवादी सोचाइ हो र त्यसले माक्र्सवादी–ललिनवादी सिद्धान्तसित मेल खाँदैन र, त्यसैले, त्यसले संयुक्त मोर्चाको क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी स्प्रिटलाई ठिकसित बुझ्न सक्दैन । सबै कम्युनिस्टहरूले संयुक्त मोर्चाको माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई सही प्रकारले बुझेर त्यसलाई ग्रहण गर्नुपर्दछ किनभने त्यस प्रकारको सही दृष्टिकोणले नै देशमा गम्भीर रूपमा देखा परेका प्रतिगमन वा साम्राज्यवादका विरुद्धको सङ्घर्षलाई सही र सशक्त प्रकारले अगाडि बढाउन सकिने छ ।
माथि हामीले जुन विषयहरूको लागि कार्यगत एकता वा गठबन्धन गर्ने विषयमा जोड दिइरहेका छौँ त्यसबारे सबै पक्षको सहमति नहुन पनि सक्दछ । हामीले जनताको महान आन्दोलनद्वारा प्राप्त जुन उपलब्धिहरुको कुरा गरिरहेका छौँ, जस्तै कि गणतन्त्र, त्यसबारे कतिपय पक्षहरूको बेग्लाबेग्लै मत पनि हुन सक्दछ । साम्राज्यवादबाट सम्भावित खतराबारे पनि बेग्लाबेग्लै व्याख्या वा दृष्टिकोणहरू हुन सक्दछन् । त्यसले गर्दा हाम्रा बिचमा हुने सहमति वा गठबन्धनमा बेग्लाबेग्लै मतहरु हुन सक्दछन् । त्यो अवस्थामा हाम्रो सुझाव यो छ कि जुन बिषयमा जसका बिचमा सहमति छ उनीहरुले बेग्लाबेग्लै सहमति गरेर पनि आफ्ना नीति वा आन्दोलनहरुबारे विचार गर्न सक्दछन् । अथवा पारस्परिक समझदारीका आधारमा बेग्लाबेग्लै पक्षहरुले आपसमा मोर्चाको गठन पनि गर्न सक्दछन् वा सैद्धान्तिक, राजनीतिक वा संगठनात्मक विषयहरुमा पारस्परिक रूपमा सहमत हुने पक्षहरूले आपसमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढाउन सक्दछन । तर त्यस प्रकारका मतभेदहरुका कारणले विभिन्न पक्षहरुका बिचमा परस्परमा सहमति कायम भएका विषयहरुमा कार्यगत एकताको निर्माणलाई बाधा पुग्न दिन हुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ । हाम्रो जोड यो कुरामा छ कि अन्य विषयहरूमा हाम्रा बिचमा जेजति मतभेद भएपनि अहिले देशका अगाडि देखा परेका साझा समस्याहरुबारे सबै पक्षहरुले अधिकतम सहमति कायम गरेर एकता वा गठबन्धन कायम गर्न संयुक्त रूपले आफ्ना नीति कार्यक्रम वा आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्नु पर्दछ अन्यथा आज देशमा राष्ट्रिय वा अन्तराष्ट्रिय कारणले जुन खतरा बढ्दै गइरहेको छ, त्यसबाट पूरै कम्युनिस्ट आन्दोलन मात्र होइन, लोकतन्त्र र गणतन्त्र तथा देशको राष्ट्रियता, सार्वभौमिकता र अस्तित्व समेत समाप्त हुने खतरा छ । अहिलेका सबै वामपन्थी, प्रजातान्त्रिक र देशभक्त शक्तिहरू त्यस प्रकारको राष्ट्रिय क्षति हुन नदिन एकतवद्ध भएर अगाडि आउनुपर्ने आवश्यकतामा ने.क.पा.(मसाल)ले विशेष जोड दिन्छ ।
२०८३ भाद्र ०५ गते
मोहनविक्रम सिंह
(महामन्त्री)